प्रचण्ड-वाङ यी भेट
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) श्रद्धेय अध्यक्ष तथा क्रान्तिनायक क. प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यी बिच गत मंगलवार शिष्टाचार भेट भयो । भेटवार्ताका क्रममा उहाँले ‘एक चीन नीति’ प्रति नेपाल प्रतिबद्ध रहेको बताउनु भएको थियो ।
अध्यक्ष प्रचण्डले भेटवार्ताका क्रममा विदेशमन्त्री वाङ यीले राखेको एक जिज्ञासाको जवाफ दिँदै विवादित मानिएको इण्डो–प्यासिफिक एलायन्समा नेपाल नरहेको प्रष्ट पार्दै नेपाल असलंग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको प्रष्ट्याउनु भएको थियो । त्यस लगत्तै नेपालस्थित अमेरिकी राजदूतावासले नेपालको परराष्ट्र मन्त्रालयसँग स्पष्टीकरण सोधेको कुरा सञ्चार माध्यममा आएको छ ।
स्पष्टीकरण कि कूटनीतिक मर्यादाको उलंघन
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यी बिच भएको शिष्टाचार भेटबारे साम्राज्यवादी अमेरिकाले प्रश्न उठाएको विषय गम्भीर छ । सो विषयमा अमेरिकी दूतावासले नेपालको परराष्ट्र मन्त्रालयसँग प्रश्न उठाउनु एक कूटनीतिक मर्यादा विपरित कदम हो ।
यो अमेरिकी दूतावासको कार्यक्षेत्र र अधिकारभित्रको कुरा होइन । अमेरिकी साम्राज्यवादको नेपालस्थित आधिकारिक प्रतिनिधि संस्थाको यो कदम विवादित मात्रै नभएर भर्त्सनायोग्य छ । यस घटनाले आम नेपाली जनताको सामु साम्राज्यवादी अमेरिकाको मुकुण्डो च्यातिएको छ र नेपाली जनताले त्यसको सक्कली अनुहार देख्न पाएका छन् ।
नेपाल एक सार्वभौम देश हो । इतिहासमा कहिल्यै कसैको उपनिवेश नभएको यो देश आज पनि एक स्वतन्त्र, स्वाधीन र सार्वभौमसत्तासम्पन्न मुलुक हो । कुन देशसँग कस्तो सम्बन्ध बनाउने, कुन अन्तर्राष्ट्रिय संस्था वा संगठनमा सामेल हुने वा नहुने, कस्तो विचारधारा बोकेको देशसँग कस्तो निकटता कायम गर्ने भन्ने कुरा नेपालको नितान्त आन्तरिक र स्वैच्छिक विषय हुन् । नेपालका नेताहरूले कुन देशका कुन नेतासँग भेट्ने र नभेट्ने, भेटघाटमा कसरी प्रस्तुत हुने, कति खुलेर कुरा गर्ने, कति कूटनीतिक कुरा गर्ने, कोसँग गहिरो मित्रता कायम गर्ने र कोसँग देखावटी विनम्रता मात्रै जाहेर गर्ने आदि विषय सम्बन्धित नेताका नितान्त निजी मामिला हुन् । यी विषय पूर्ण रूपमा नेपाल र नेपाली जनताका आन्तरिक मामिला हुन् । यसमा न कुनै देशको अनुमति जरूरी छ, न त कसैलाई त्यसमाथि प्रश्न उठाउने अधिकार छ ।
नेपाली जनताका आशा र भरोसाका केन्द्रको रूपमा रहेका अध्यक्ष प्रचण्डले यसपटक चिनियाँ विशिष्ट नेता तथा विदेश मन्त्री वाङ यीसँग नेपाल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चीन नीतिबारे खुलेर आफ्नो स्पष्ट अडान राखेपछि साम्राज्यवाद र त्यसका स्थानीय दलालहरूको टाउको दुखेको छ । वर्ग पक्षधरताको दृष्टिबाट हेर्दा यो स्वभाविक कुरा हो तर दुई देशको कूटनीतिक सम्बन्ध र त्यसको मर्यादाको हिसाबले भने यो गलत र अस्वीकार्य कुरा हो ।
विगतमा नेपाली नेताहरूले साम्राज्यवादी अमेरिका र विस्तारवादी भारत रिसाउने डरले चिनियाँ, उत्तर कोरियाली, क्युवाली, भियतनामी वा अरू समाजवादी देशका नेताहरूसँग खुलेर कुरा गर्न सक्दैनथे । तिनले डराई डराई मुटु कमाउँदै भेटघाट गर्थे, मुटुमाथि ढुङ्गा राखेर ङिच्च हाँस्थे । भारत र अमेरिकापरस्त त्यस्ता शक्तिहरू र नेताहरू ‘भित्र एउटा कुरा र बाहिर अर्को कुरा’ गर्थे । नक्कली राष्ट्रवादको मुकुण्डो ओडेर नेपाली जनतालाई झुक्याउँथे ।
त्यस्ता नेताहरूमा कतिपय कम्युनिस्ट पार्टीका नेताहरू पनि थिए र अझै पनि छन् । तिनले आफ्नो कमजोर र दास मानसिकताका कारण न मुलुकको भाइचारा र कूटनीतिक सम्बन्ध दह्रो ढंगले स्थापित गर्न सके, न त कम्युनिस्ट पार्टीको भाइचारा सम्बन्धलाई बढाएर व्यापकता दिए ।
परन्तु अध्यक्ष प्रचण्ड भने यी विषयमा सँधै अपवाद रहने गर्नु भएको थियो । सँधैभरि देश र जनताको, राष्ट्र र राष्ट्रियताको विषयमा निर्भिकतापूर्वक आफ्ना दृष्टिकोणहरू राख्दै आउनुभएका अध्यक्ष प्रचण्डले यतिबेला अन्तर्राष्ट्रिय सम्बन्ध र ऐक्यबद्धताको दायरालाई थप फराकिलो, स्पष्ट र मजबुद बनाउनु भएको छ ।
छिमेकी देशहरू नेपाल, भारत र चीन बिचमा स्वस्थ र सन्तुलित त्रीपक्षीय सम्बन्धमा जोड दिँदै आउनुभएका अध्यक्ष प्रचण्डले यतिबेला छिमेकीहरू मात्र नभई भेनेजुयला, क्युवा र उत्तर कोरियासहित विश्वभरका समाजवादी देशहरू, सरकारहरू र पार्टीहरूसँगको सम्बन्धलाई मजबुद बनाउँदै एक्काईसौँ शताव्दीको सर्वप्रिय सर्वहारा वर्गको नेता बन्न सफल हुनुभएको छ ।
पार्टी एकतापछि पार्टीमा दुई जना अध्यक्ष भएकोले सरकारको कामका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भएकोले पार्टीको तर्फबाट उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध र क्रान्तिकारी भाइचाराको विस्तारमा महत्त्वपूर्ण कामहरू गरिरहनुभएको छ, जसले गर्दा उहाँले एसिया मात्र नभई दक्षिण अमेरिका, युरोप र अफ्रिकामा समेत लोकप्रिय र क्रान्तिकारी नेताको छवी बनाउन सफल हुनुभएको छ ।
पछिल्लो समय अध्यक्ष प्रचण्डको स्पष्ट अडान, खुला वर्ग पक्षधरता र समाजवादी अन्तर्राष्ट्रिय ऐक्यबद्धताका कारण विदेशीका दलालहरू मात्रै नभएर विभिन्न देशका दुतावासहरू समेत तिलमिलाउन थालेका छन् भने विश्वभरका श्रमजीवी जनता उत्साही र थप आशावादी बनेका छन् । यो नेपाली जनताका लागि गौरवको कुरा हो ।
अध्यक्ष प्रचण्डको भनाइ र पार्टी नीति
चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटवार्तामा अध्यक्ष प्रचण्डले दिएको टिप्पणी नेपाल सरकार र पार्टीको नीति अनुसार रहेको छ । देशी-विदेशी प्रतिक्रियावादीहरू र तिनका एजेन्टहरूलाई उहाँको धारणा पार्टी नीति अनुरूप छ वा छैन भन्ने भ्रम होला, तर आम नेपाली जनतालाई छैन ।
अमेरिकी दुतावासले पहिले भेनेजुयलासम्बन्धी अध्यक्ष प्रचण्डको विज्ञप्तिमा र अहिले चिनियाँ विदेशमन्त्रीसँगको भेटमा राखेको विषयलाई लिएर नेपालको परराष्ट्र मन्त्रालयमा स्पष्टीकरण सोध्ने धृष्टता गरेको छ ।
नेपालको राजनीतिमा ३० वर्षभन्दा धेरै समय अविछिन्न रूपमा पार्टी प्रमुखको रूपमा नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्व गरेको, दश वर्षे महान जनयुद्धलाई सर्वोच्च कमाण्डरको रूपमा नेतृत्व गरेको, शान्तिप्रक्रियाको नायकको रूपमा विश्वभर स्थापित रहेको, दुई-दुई पटक देशको प्रधानमन्त्री बनिसकेको र सत्तारूढ दलको शक्तिशाली अध्यक्षको भनाइ पार्टी नीति वा सरकारको नीति अनुरूप हो कि होइन भनेर प्रश्न उठाउनु आफैमा विवेकहीनताको परकाष्टा हो ।
यो घटनाले नेपालका लागि अमेरिकी राजदूत एक अपरिपक्क र राजनीति तथा कूटनीतिको न्यूनतम् ज्ञान नभएका मानिस भएको देखिन्छ । यसरी आफूलाई महाशक्ति राष्ट्र ठान्ने (जो अब सत्य होइन) अमेरिकी राजदूतले आफ्नै देशको बद्नाम गरिरहेको महशुस हुन्छ ।
हुन त जुन देशका राष्ट्रपतिलाई विश्व प्रसिद्ध सगरमाथा र गौतम बुद्धको देश नेपालको बारेमा थाहा छैन र अरूले नाम बताउँदासमेत राम्ररी उच्चारण गर्न आएन, त्यही देशको राजदूतसँग राजनीतिक र कूटनीतिक ज्ञानको के नै पो अपेक्षा गर्न सकिन्छ र ? झन् सर्वहारा अन्तर्राष्ट्रवाद र सर्वहारा वर्गपक्षधरताको त कुरै के गर्नु ?
नेपालको विदेश नीति पञ्चशीलमा आधारित ‘असंलग्न परराष्ट्र नीति’ हो । नेपालको चीनसम्बन्धी आधिकारिक नीति नै ‘एक चीन नीति’ हो । अध्यक्ष प्रचण्ड त्यही भन्नुभएको हो । यसमा कुनै नौलो कुरा छैन । बरू अमेरिकी राजदूतावास वा अरू त्यस्ता मानिसहरू वा संस्थाहरूलाई ज्ञान होस् भने जुन विषयमा पार्टीको नीति प्रष्ट छैन, त्यस्ता विषयमा पार्टी प्रमुखको विचार नै पार्टीको आधिकारिक विचार हुन्छ ।
नेकपाको चीन नीति
नेपालका दुई ठूला कम्युनिस्ट पार्टीहरू नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को एकीकरणपश्चात बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नीतिगत दस्तावेजको रूपमा राजनीतिक प्रतिवेदन प्रकाशित भएको छ । सो दस्तावेजमा नेकपाको चीन नीतिबारे प्रष्टसँग उल्लेख छ ।
राजनीतिक प्रतिवेदनको पृष्ठ ६ मा लेखिएको छः
“विश्व वित्तीय पुँजीवाद गम्भीर सङ्कट र मन्दीबाट गुज्रिरहेको बेला जनवादी गणतन्त्र चीनलगायतका मुलुकहरूले भने अर्थतन्त्रको क्षेत्रमा गुणात्मक फड्को मारेका छन् । चीन विश्वको दोस्रो आर्थिक शक्तिको रूपमा स्थापित भएको छ र निकट भविष्यमै पहिलो आर्थिक शक्तिका रूपमा स्थापित हुने दिशामा अग्रसर छ । केही दशकभित्रै चीनले हासिल गरेको चमत्कारिक उपलब्धि प्रेरणादायी छ । आर्थिक विकास, यातायातलगायत आवागमन सम्पर्क (कनेक्टिभिटी) र विभिन्न मुलुक र सभ्यताका बिचमा सम्बन्ध जोड्ने उद्देश्यका साथ चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’लाई विश्वका ७० भन्दा बढी मुलुकहरूले समर्थन गरेका छन् ् विकासका नयाँ अवधारणाहरू विकास गर्दैछन् । चीनको यो अभूतपूर्व विकास, चीन, रूस, ब्राजिल, दक्षिण अफ्रिका र भारत बिच खडा गरिएको ‘ब्रिक्स’ संयन्त्र, एसियाली पूर्वाधार विकास बैंकलगायत वित्तीय संस्थाहरू र विभिन्न पहलकदमीहरूले नीति निर्माण र निर्णय प्रक्रियामा पश्चिमा शक्ति राष्ट्रहरूको बर्चस्व कमजोर बन्दै गएको छ । एसिया क्रमशः आर्थिक विकासको केन्द्र बन्दै गएको छ र भूमण्डलीकृत पुँजीवादको ध्यान पनि त्यतै केन्द्रित हुँदैछ । एक ध्रुवीय शक्तिलाई चुनौती दिँदै विश्व बहुध्रुवीय दिशातर्फ अग्रसर भइरहेको छ । यससँगै नयाँ-नयाँ अवसर र चुनौतीहरू पनि सिर्जना भएका छन् ।”
यसमा नेकपाको चीनप्रतिको मात्रै नभई भूमण्डलीकृत विश्व, विभिन्न बहुराष्ट्रिय संस्थाहरू र पश्चिमा राष्ट्रहरूप्रतिको दृष्टिकोण पनि प्रष्ट छ । त्यति मात्रै होइन, दस्तावेजमा अझ विस्तारमा लेखिएको छः
“यी अन्तर्राष्ट्रिय परिदृश्यहरूका अतिरिक्त हामीले हाम्रो भूराजनीतिक सन्दर्भमा विकसित भइरहेका घटनाक्रमहरूलाई पनि नजिकबाट नियाल्नु पर्दछ । दक्षिण चीन सागर र मलक्का जलडमरुलगायत समुद्री मार्गहरूमा उत्पन्न समस्या, प्रशान्त र हिन्द महासागरमा बढ्दो अमेरिकी सैन्य तैनाथी, चीनको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ र यसका विरुद्ध कतिपय देशका प्रयास, कोरियाली प्रायद्वीपको तनाव र पछिल्ला विकसित घटनाक्रम, चीन विरुद्धका कथित स्वतन्त्र तिब्बत गतिविधिहरूलगायत एसिया-प्रशान्त क्षेत्रका घटनाक्रमहरूलाई पनि हामीले ध्यानमा राख्नुपर्दछ ।”
यही सन्दर्भमा जोडेर सोही हरफमा लेखिएको छः
“यस क्रममा नेपालको राष्ट्रिय स्वाधीनतामा पर्नसक्ने प्रभावका बारेमा आवश्यक सजगता अपनाउनु पर्दछ ।”
पार्टी दस्तावेजको पृष्ठ ८ मा स्पष्ट लेखिएको छः
“पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसंघको वडापत्रको आधारमा समानता, स्वतन्त्रता र पारस्परिक राष्ट्रिय हितका आधारमा कूटनीतिक सम्बन्ध विस्तार गर्ने, उत्पीडित राष्ट्रहरू तथा श्रमजीवी वर्गका हक-हित र मुक्तिका आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्ने र आफ्नो ठाउँबाट विश्व शान्ति, न्याय र समानताको आन्दोलनलाई सघाउने हाम्रो नीति हुनु पर्दछ ।”
नेपालीमा लोकप्रिय भनाई छः बुझ्नेलाई ईशारा काफी छ । नेकपाको दस्तावेजमा त सारा इतिवृतान्त नै छ । ब्याख्यात्मक तरिकाले सत्तारूढ पार्टीको धारणा प्रष्ट छ । यो सबैलाई अमेरिकी राजदूतले भाषाको कारणले बुझेनन् भन्ने मान्न सकिएला । तर कुनै नेपाली पढेलेखेको मान्छेले पनि अध्यक्ष प्रचण्डको धारणाको आधिकारिकता खोज्छ र मिडियामा हल्लाखल्ला गर्छ भने त्यसले विभिन्न दूतावासको ‘सिता’ खाएर निर्लज्ज तरिकाले उसैको ‘गीता’ गाइरहेको छ भन्ने प्रमाणित हुन्छ ।
विगतमा नेपाल र नेपालीहरूलाई कसैले वास्ता गर्दैनथ्यो । यो ऐउटा कमजोर र वास्ता गर्नु नपर्ने मुलुकको रूपमा रहेको थियो । महान् जनयुद्ध र गणतन्त्रको स्थापनापछि र मूलतः नेकपाको एकतापछि इतिहासमा पहिलो पटक हामी यस्तो अवस्थामा पुगेका छौँ कि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले भेनेजुयलाका जननिर्वाचित राष्ट्रपति, सरकार र जनताको पक्षमा एउटा वक्तव्य दिँदा साम्राज्यवादको मुटु काँप्छ र ऊ आक्रोससहित स्पष्टीकरणको नाममा आफ्नो डर लुकाउन खोज्छ र आफ्नो दादागिरीलाई कायमै राख्ने प्रयत्न गर्छ । उहाँले चीनबारेको धेरै पुरानो अडान दोहोराउँदा पनि ऊ अतालिन्छ । यो स्वाभिमानी नेपालीहरूका लागि गौरवको कुरा हो र हुनुपर्दछ ।
सायद अमेरिकी साम्राज्यवादले बल्ल नेपालको क्रान्तिकारी नेता चिन्दैछ, क्रान्तिकारी शक्ति चिन्दैछ । विश्वभरका श्रमजीवी जनताको आस्थाको केन्द्र चिन्दैछ । सायद उसले क्रान्तिनायक प्रचण्डको हुर्मत लिएर क्रान्तिको दियो निभाउने सपना देखेको छ । तर उसको त्यो सपना कदाचित पूरा हुने छैन । हामी नेपाली क्रान्तिकारीहरू सर्वहारा क्रान्ति, सर्वहारा अन्तर्राष्ट्रवाद र ऐक्यबद्धताको रक्षा गर्दै समाजवाद निर्माण गर्न प्रतिबद्ध छौँ र शरीरको अन्तिम थोपा रगत रहेसम्म साम्राज्यवादका विरूद्ध लडिरहने छौँ ।
र अन्त्यमा, भियतनामी क्रान्तिनायक हो ची मिन्हलाई उल्लेख गर्नु सान्दर्भिक होलाः “हामी हजार वर्ष साम्राज्यवादका विरूद्ध लड्यौँ र आवश्यक परे अर्को हजार वर्ष लड्न तयार छौँ ।”