daljit shripali, daljeet shreepali, prashanta, rukum, EX-PLA Commander
 

२०६४ साल फागुन ९ गते मलाई यस धर्तीमा जन्मदिनु हुने मेरो पुजनीय आमा सुकैदेवी विश्वकर्माको निधन भएको थियो । त्यो दिन मेरो जीवनमा बज्रपात भएको दिन थियो भने त्यो रात मेरो निम्ति कालरात्रिझैँ बन्यो ।

त्यही दिनको बिहान र साँझपख आमासँग फोनबाट कुरा गरेको थिएँ । आमा भन्नुहुन्थ्यो, “छोरा तिमी एकचोटि आऊ । मेरो एक मुठी सास त भेट । जनयुद्ध कालमा तिमीलाई भेट्न गाह्रो थियो तर अहिले त आउन सक्छौ नि । म मरेपछि आएर के अर्थ ?”

आमालाई जिन्दगीको अन्तिम क्षणमा युद्धमा होमिएको कान्छो छोरा भेट्ने इच्छा थियो । उता मलाई पनि आफूलाई जन्म दिनुहुने प्यारी आमालाई भेट्ने इच्छा थियो । क्यान्टोन्मेन्टको बसाई । जनमुक्ति सेनाको महत्त्वपूर्ण जिम्मेवारी सम्हालेर बसेको कमाण्डर । समय मिलाउन सजिलो थिएन । म अप्ठेरो अवस्थामा परेँ । मैले समय मिलाउन सकिन । फेरि अर्को थप जिम्मेवारी – हामीले पश्चिम कमाण्ड स्तरीय खेलकुद प्रतियोगितासहित विभिन्न कार्यक्रमहरुको आयोजना गरी जनयुद्ध दिवस मनाइरहेका थियौँ छैठौँ डिभिजन दशरथपुर सुर्खेतमा । त्यसलाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने अभिभारा हाम्रो डिभिजनलाई थियो । खेलकुदको मुख्य जिम्मेवारी मेरै काँधमा थियो ।

कार्यक्रम छोडेर जानसक्ने अवस्था रहेन । आमाको अन्तिम वचन पूरा गर्न सकिन । सम्झँदा गहिरो पीडाबोध हुन्छ अझैपनि । गह्रुँगो मनका साथ जिम्मेवारी बहन गरिरहेँ दिनभर । डिभिजन कमाण्डर क. प्रतीकलाई आमाको अवस्थाको जानकारी दिइसकेको थिएँ – अन्तिम अवस्था छ भनेर ।

रात पर्‍यो । निद्रा पटक्कै लागेन । काइँलो दाइको फोन आयो । उहाँ फोनमै भक्कानो छोडेर रुनुभयो र भन्नुभयो, “आमाले हामीलाई छोडेर जानुभयो भाइ ।” मध्यरात, अप्रिय समाचार । आफूलाई सम्हालेर अरुलाई असर नपर्ने गरी दाइसँग कुराकानी भइरह्यो ।

आमाको इच्छा – आफू मरेपछि गाडून् भन्ने थियो । दाइसँग त्यही निष्कर्ष निकालियो । मैले मेरी जीवनसंगिनी र प्यारा बच्चाहरु कसैलाई सुनाइन । सबै सुतिसकेका थिए । मन रोयो । जति गरेपनि थाम्न सकिन । सबैलाई थाहा भयो । तर पनि जनयुद्धबाट पैदा भएको तागतको कारण हामी सबै सम्हालियौँ । चिन्ताका साथ रात बित्यो ।

Father and mother of Daljit Shripali, rukum
क. दलजीत श्रीपालीका माता-पिता

आमाको इच्छा – आफू मरेपछि गाडून् भन्ने थियो । दाइसँग त्यही निष्कर्ष निकालियो । मैले मेरी जीवनसंगिनी र प्यारा बच्चाहरु कसैलाई सुनाइन । सबै सुतिसकेका थिए । मन रोयो । जति गरेपनि थाम्न सकिन । सबैलाई थाहा भयो । तर पनि जनयुद्धबाट पैदा भएको तागतको कारण हामी सबै सम्हालियौँ । चिन्ताका साथ रात बित्यो ।

फागुन १० गते बिहान उज्यालो भयो । भारी मनका साथ नियमित सैन्य कार्यक्रम र खेलकुद प्रतियोगिताका कार्यक्रममा सहभागी भएँ । हामी सबै दाजुभाइ बिच फोनमै सरसल्लाह गरी आमाको अन्तिम संस्कार मिलायौँ । म यता बिदा मिलाई छिट्टै घर आउने बचन दिएँ । आमाको इच्छा अनुसार गाड्ने भनिएकोले चौकाबाङ लगेर अन्तिम संस्कार गरिएको थियो । जनयुद्धकी एउटी महान आमाको निधनमा पार्टीले हँसिया हथौडा अंकित झण्डा ओढाई श्रद्धाञ्जली व्यक्त गरेको थियो । जनसमुदायको विशाल उपस्थितिमा आमाको अन्तिम संस्कार भयो ।

केही दिनपछि म र मेरो जीवनसंगिनी गुनाम घरमा पुग्यौँ । भावविह्वल अवस्था थियो । घर पुगेको लगत्तै मेरी आमालाई गाडेको चिहानमा पुगेँ र अन्तिम श्रद्धाञ्जली दिएँ । जन्म दिनुहुने आमालाई ज्युँदो भेट्न सकिन । मरेपछि उहाँको चिहान पुगेर श्रद्धाञ्जली दिएँ र चिहानको फोटो लिएँ ।

आमालाई जनयुद्धकालमा राज्यसत्ताका भक्षकहरुले राइफलका कुण्दाले हानेर अशक्त बनाएका थिए । पटक-पटक यतना दिएका थिए । सेना र प्रहरीको कुटाइबाट बाँचुञ्जेलसम्मका लागि रोगी बनाइदिएका थिए । समयमा उपचार हुन नपाउँदा, एक टयाव्लेट औषधी खुवाउन नसक्दा आमाको निधन भएको थियो । त्यो पीडाको गहिरो चोट मेरो दिमागमा परेको छ ।

Daljit Shripali, Father mother funeral
क. दलजीत श्रीपालीका माता-पिताको दाहसंस्कार भएको ठाउँ

बुवालाई पनि प्रहरीले पटक-पटकको यातना र कुटपिटबाट ज्यान लिएको थियो । २०५३ जेठ १ गते प्रहरीको निर्मम कुटपिटबाट शख्त घाइते बुवाको ३ गते राति नाक र मुखबाट रगत बगेर निधन भएको थियो । बुवाको समयमा उपचार गराउन सकिएन ।

टाउको काटी ल्याउने सरकारको आदेशले बुवाको मृत्युपछि पनि चिहानसम्म पुग्न सकिएन । दुरबिनबाटै हेरिरहेँ बुवाको चिहान । हेर्दाहेर्दै अन्तिम खरानी ।

बुवाको अन्तिम इच्छा उहाँको पार्थिव शरीरलाई जलाउने थियो । हामीले त्यही गरिदियौँ । जेठ ४ गते मँगरा खोलामा अन्तिम संस्कार भयो । जनयुद्धमा होमिएको मेरो जीवनमा आमा र बुवा गुमाएको दुःखद क्षण छ । जनयुद्धमा बलिदान गर्ने शहीद,बेपत्ता योद्धा, घाइते, अपांग र उहाँका परिवारलाई देखेर आफूलाई सम्हाल्नुको बिकल्प थिएन र छैन । हामी आफै पनि शहीद परिवार हौँ ।

आमा-बुवा हुनुहुन्न तर उहाँ दुवैको चिहानको तस्वीर र सम्झनाको बिसौनी छ हामीसँग । सम्झनामा सीमित आमाबुवा ! तपाईंहरुलाई धेरै-धेरै सम्झन्छु र सम्झिरहनेछु म बाँचुञ्जेल । सम्झिरहनेछन् तपाईंका सन्तानहरुले सदैव तपाईंहरुलाई।