काठमाडौँ । निवर्तमान सभामुख तथा नेकपाका नेता क. कृष्णबहादुर महरा आइतबार आफूले रोल्पाको थबाङमा पुगेपछि एउटा भग्नावशेष मात्रै बाँकी रहेको घर देखेर भावुक हुनुभएको बताइएको छ ।
स्रोतका अनुसार रोल्पाको थवाङमा एउटा भत्किएको घरमा पुगेपछि अचानक उहाँ भावुक हुनुभयो र फोटो खिच्न लगाउनुभयो । त्यो देखेर सँगै रहेका थवाङबासी जनता भने अलमल्लमा परे । त्यो देखेपछि क. महराले वास्तविकता उजागर गर्दै भन्नुभयो, “यही घरको एउटा कोठामा बसेर २०३७ सालमा तत्कालीन नेताद्वय क. मोहन बैद्य ‘किरण’ र क. वासुदेव गौतमले मलाई कम्युनिस्ट पार्टीको विचार, आदर्श तथा दर्शन सुनाउँदै पार्टीको सदस्यता दिनुभएको थियो ।”
क. महरा किशोर अवस्थादेखि नै क्रान्ति र विद्रोहको चेतना भएका एक जुझारु युवा हुनुहुन्थ्यो । गृह जिल्ला रोल्पा रहेका क. महरा महान जनयुद्धको नेतृत्व गर्ने वरिष्ठ नेताहरूमध्ये एक हुनुहुन्छ । रोल्पाली जनताका बिचमा लोकप्रिय नेता क. महरा नेपाली कम्युनिस्ट आन्दोलनमा एउटा महत्त्वपूर्ण उचाइ बनाउन सफल नेता हुनुहुन्छ । उहाँ क्रान्तिकारी युवाहरूका लागि आशा र भरोसाका केन्द्र समेत हुनुहुन्छ ।
पूर्वसभामुख महरालाई देशी-विदेशी प्रतिक्रियावादीहरूले झुठो मुद्दामा फसाए पनि अदालतबाट सफाइ पाउनुभयो । सो लगत्तै उहाँ दाङ हुँदै रोल्पा पुग्नुभएको हो । दाङ र रोल्पाका जनताले उहाँको भव्य स्वागत गरेका छन् ।