नवउदारवाद, novel coronavirus (Covid-19) defeats neoliberalism. failure of capitalism
 

सन् १९७० मा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले घोषणा गरेका थिए – अब हामी सबै किन्सियन हौँ । सन् १९८० को दसक अन्त्यतिर अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र बेलायती प्रधानमन्त्री मार्ग्रेट थ्याचरले घोषणा गरे – अब हामी सबै नवउदारवादी हौँ । र, नवउदारवादको आँधी अहिले संसारमा चलिरहेको छ ।

नवउदारवाद शब्दको पहिलो प्रयोग पहिलो विश्वयुद्धपछि जर्मनीमा फ्रेबर्ग स्कुलसँग आबद्ध अर्थशास्त्री र कानुनबेत्ताहरूले गरेका थिए । नवउदारवादलाई संस्थागत गर्नेकाम अष्ट्रियन अर्थराजनीति दार्शनिक फ्रेडरिक भन हाएकले सन् १९४७ मा मन्ट पेलेरिन समाजको स्थापनासँगै भयो, जसमा सदस्यहरू लुडविक भन माइसेज, मिल्टन फ्राइडम्यान, कार्ल पोपरहरू थिए । रेगन र थ्याचरका गुरु फ्राइडम्यानले नवउदारवादलाई वैश्विकीकरण गर्न सघाए ।

सेप्टेम्बर ११, १९७३ मा चिलीमा साल्भाडोर एलेन्डेको सरकार ढालेपछि अगस्तो पिनोचे सरकारसँगै फ्राइडम्यानको नेतृत्वमा सिकागो केटाहरूले नवउदारवादको प्रयोग सुरु गरे । चिलीका पचासभन्दा बढी अर्थशास्त्रीहरूलाई सिकागो विश्वविद्यालयमा प्रशिक्षण दिइयो । त्यतिले नपुगेर चिलीको राजधानी स्यान्टीयागोमा नवउदारवादका नीति निर्माण गर्न निजी क्याथोलिक विश्वविद्यालय नै खोलियो । अमेरिकाको क्युनी विश्वविद्यालयमा निःशुल्क पढाउने व्यवस्था खारेजगरी शुल्क लगाइयो ।

भरत पोखरेल, bharat pokharel, economist, tu, professor, भरत पोखरेल
लेखक

नेपालमा नवउदारवाद अपनाउन विश्व बैंकका जागिरेलाई त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिमा नियुक्त गरियो । नेपाली जनताका छोराछोरीले सुविधा पाएको शुल्कमा वृद्धि गरियो र त्यसैलाई उपकुलपतिको सफलताको मानक मानियो । त्यतिले नपुगेर नवउदारवादको सहयोगका लागि सारथीको रूपमा काठमाडौँ विश्वविद्यालयको स्थापना भयो तर यसले नाफा आर्जनको काम बाहेक अरु क्षमता नै आर्जन गर्न सकेन । यसैको एउटा कडी हो आजको बी एन्ड सी मेडिकल कलेजको सम्बनधनको विवाद । मार्सी चामलको मेजमानीले नवउदारवादका अनुयायीहरूका लागि यो बुमर्‍याङ भएको छ । नवउदारवादको छिद्रहरूबाट छिरेर स्वार्थ सिद्ध गर्न मदन भण्डारी विश्वविद्यालय, योगमाया विश्वविद्यालय, नेपाल विश्वविद्यालय आदि चाकरीको लाइनमा लम्पसार छन् ।

नवउदारवादी आवरणमा अमेरिकी रोनाल्ड रेगन, बेलायती मार्ग्रेट थ्याचर, चिलियन अगस्तो पिनोचे, रसियन बोरिस एल्तसिन, जापानी जुनिकिरो कोइजुमी, अष्ट्रेलियन जोन हवार्ड, चिनियाँ देङ स्याओ-पिङ, भारतीय मनमोहन सिंह, नेपाली गिरिजाप्रसाद कोइराला थिए भने यिनलाई सिकाउने सिकागो स्कुलका फ्राइडम्यान र अमेरिकी फेड अध्यक्ष पौल भोल्कर ।

नवउदारवादले बजारको नेतृत्वमा सरकारको भूमिका बिना समाज सञ्चालन गर्ने सिफारिस गर्छ । सरकारको भूमिका श्रमिकसँग कमजोर र पुँजीसँग दरो बनाउने माग गर्छ, निष्कर्षमा यसले सबै कुरालाई वित्तीयकरण गर्छ । नवउदारवादले विश्वमा पहिला राजनीतिक पार्टीहरू र अन्ततः सरकारमा हस्तक्षेपसँगै कब्जा गर्दछ । नवउदारवादीहरूले जस्तोसुकै तर्क गरे पनि परिणाम संतोषजनक छैन ।

सन् १९६० को दसकमा विश्वमा आर्थिक वृद्धि ३.५ प्रतिशत, १९७० को दसकमा २.४ प्रतिशत, १९८० को दसकमा १.४ प्रतिशत, १९९० को दसकमा १.१ प्रतिशत र सन २००० पछि १ प्रतिशतभन्दा पनि कम देखिएको छ । सन् २००७-८ को वित्तीय संकट र हाल कोभिड-१९ ले थिलथिलो भएको अर्थतन्त्र उकास्न नवउदारवादको सामर्थ्य छैन ।

(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ।)