नेपालको लकडाउन, mohammad jakir hussain, ex state minister and leader ncp
 

सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियो चित्रमा एकजना इटालियन महिला रुँदै मानव समुदायलाई अपिल गरिरहेकी छिन्, “Stay Home, Stay Home, Please Stay Home” । एकदिनमा आठ-आठ सय इटालियन नागरिकहरूको मृत्यु देखेकी ती महिला भन्छिन्, “महामारीले राष्ट्रियता, जाति, रंग, भाषा…. केही देख्दैन ।” बडो हृदयविदारक छ भिडियोको दृश्य ।

विश्व आज साँघुरिएको छ । पृथ्वी नै एउटा बस्तीको रूपमा देखिएको छ – “Global Village” बनेको छ पृथ्वी । साझा समस्यासँग सबै गम्भीर भएर लडिरहेका छन् । अन्तर्राष्ट्रियवाद र मानवतावाद आज सबैको हृदयमा समान रूपले बसेको छ । मानवतालाई जोगाउनु सबैको चासोको विषय बनेको छ । महिला आफ्नो नातेदारलाई अपिल गर्दै रोएकी होइनन् । ती महिला त सम्पूर्ण मानव सभ्ययता जोगाउन मानव समुदायलाई गुहारिरहेकी छिन्, “घरमै बस्नुहोस्, घरमै बस्नुहोस्, कृपया, घरमै बस्नुहोस् !”

कोरोना भाइरसको सङ्क्रमणबाट सिर्जित समस्याले सम्पूर्ण विश्व नै चिन्तित र भयभित छ । सम्पूर्ण मानवता नै भयङ्कर विषम परिस्थितिबाट गुज्रिरहेको छ । अमेरिका, यूरोप, चीन, अरब राष्ट्रजस्ता विकसित देशहरू स्वयं यस महामारीको चपेटामा परेर ठूलो स्वास्थ्य सङ्कट सामना गर्दै आर्थिक सङ्ककटको भूमरीमा डुब्दै गएको छ । विश्वका लगभग सम्पूर्ण देशहरूमा सङ्क्रमण फैलिसकेको छ । यस परिवेशमा नेपालजस्तो गरीब देशको अबस्था के हुने हो सहजै अनुमान गर्न सकिन्छ ।

हाम्रा पाँच चुनौतीः

नेपालमा लकडाउन भएको आज चौधौँ दिन बितिरहेको छ । एक हप्ता अवधि लकडाउन सकेर दाश्रो हप्ता पनि सकिनै लागेको छ । यो लकडाउनको अवधि यति नै हुने भन्ने हुँदैन । यसको अवधि जहिले पनि अनिश्चित नै हुनसक्ने देखिन्छ । यस परिवेशमा पाँचवटा कुरा महत्त्वपूर्ण देखिन्छन्‌ ।

पहिलोः लकडाउन लम्बाई घरमै बसेर भाइरसलाई जित्ने चुनौती; दोस्रोः लकडाउनको समयमा आम जनताको दिनचर्या कसरी चल्ने चुनौती; तेस्रोः सङ्क्रमित व्यक्तिको उपचारमा आउने चुनौतीहरू; चौथोः विभिन्न मुलुकमा काम गरिरहेका प्रवासी नेपालीले भोग्ने समस्याको निकास र पाँचौँः सङ्क्रमणसँग जितिसकेपछिको जर्जर आर्थिक अवस्थासँग सामना गर्दै सामान्य अवस्थामा मुलुकलाई फर्काउन गर्नुपर्ने पुनर्निर्माण सम्बन्धी चुनौती । यी पाँचवटै चुनौती नेपालजस्तो गरिब देशका लागि महाचुनौती हुन् ।

Five Challenges of COVID-19 in Nepal
कोभिड-१९ नियन्त्रणका लागि गरिएको लकडाउनसँगै सामना गर्नुपर्ने ५ चुनौतीहरू

लकडाउनः

हालसम्म विश्वमा सङ्क्रमण घट्दो होइन, बढ्दो नै देखिन्छ । अमेरिका, युरोपका देशहरूमा यसको प्रभाव अझ बढ्दो छ । चीनमा मात्र घट्दो सङ्क्रमण देखाएको छ । विश्वको अधिकांश भूगोलमा लकडाउन चलिरहेको छ । सङ्क्रमितको संख्या घट्दै गएर शून्यमा नपुगुञ्जेल लकडाउनको अवस्थामा बस्नु आवश्यक हुनेछ । अर्थात् लकडाउनको स्थिति अनिश्चित छ ।

नेपालले भारतसँग समानान्तरीय रूपमा लकडाउन गर्नुपर्नेछ । खुला सीमा र आवतजावतले यो बाध्यात्मक स्थितिको सिर्जना भएको हो । के भारतको तुलनामा लामो अवधिको लकडाउन नेपालले धान्न सक्नेछ त ? लकडाउनको सम्बन्धमा यो सवाल निकै जटिल छ ।

चीन, भारत र सङ्क्रमणको जोखिमः

कोभिड–१९ को इपिसेन्टर चीनको उआन सहर बन्यो । चीनले महामारी झेल्दै लकडाउन गरेर र उच्च-सतर्कता चिकित्सक टोलीहरू खटाउँदै कोरोना भाइरसको सङ्क्रमणलाई आफ्नो नियन्त्रणमा लियो । चीनमा सङ्क्रमितको संख्या कम हुँदै गएको छ, मृत्यु पनि हुन छोडेको छ । भारतमा पछिल्लो समयमा संक्रमितको संख्या बढ्दै गएको छ र मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ ।

चीन र भारत हाम्रा दुई विशाल छिमेकी राष्ट्रहरू हुन् । उत्तरतर्फको चीनले सङ्क्रमणको संख्यालाई न्यूननीकरण गरिसक्यो । चीनसँग हाम्रो खुल्ला सीमा छैन, जोडिएका नाकाहरू कम छन्, भौगोलिक विकटताले गर्दा मानिसहरूको आवतजावत कम छ । यसरी चीनसँग नेपाललाई जोखिम कम छ । तर, दक्षिणतर्फको छिमेकी भारतसँग नेपालको नाकाहरूको संख्या धेरै छ, खुला सीमा छ, आवतजावत बाक्लो छ; भारतमा सङ्क्रमण बढ्दो छ । यसरी भारतसँग हाम्रो जोखिम सबैभन्दा बढी छ ।

चीन, भारत र आपूर्तिः

नेपाल परनिर्भर र भूपरिवेष्टित मुलुक हो । नेपालमा उपभोगका लागि आउने अधिकांश वस्तु भारत र चीनबाट आपूर्ति हुने गर्दछन् । अहिले पनि दैनिक उपभोग्य वस्तुदेखि अन्य कुराहरूको अधिकांश आपूर्ति यिनै दुई मुलुकबाट हुने हो । यी दुई देश आफै महामारीको चपेटामा छन् ।

अमेरिकाको एक म्यागेजिनमा प्रकाशित रिपोर्ट अनुसार भारतमा करोडौँ मानिसहरू कोरोनाको सङ्क्रमणको शिकार हुने अनुमान छ । भारत पूर्णरूपमा लकडाउनमा छ । उसको लकडाउन अझै लम्बिन्छ । लकडाउनले गर्दा उसको उत्पादन ठप्प छ ।

चीन पनि आंशिक लकडाउनमा छ । चीनबाट हुने आपूर्तिमा पनि हामी भारतमाथि निर्भर छौँ । चीनको सामुद्रिक बन्दरगाह पनि भारतसँग नै जोडिन्छ । चीनको स्थलमार्गबाट हुने न्यून आपूर्तिले हामी धेरै दिन धान्न सक्दैनौँ पनि ।

त्यस्तै अन्य मुलुकबाट हुने आपूर्तिमा पनि हामी भारतमाथि नै निर्भर छौँ । सबैको बन्दरगाह भारतसँग नै जोडिन्छ । यसरी दैनिक रूपमा हुने आयातमा हामी लगभग पूर्णरूपमा भारतमाथि निर्भर छौँ । पारवहन, आयात-निर्यात र उत्पादनसँग जोडिएको विषयमा जाँदा नेपालले आपूर्तिको ठूलो अभाव झेल्नुपर्ने अवस्था कुनैबेला पनि सिर्जना हुन सक्दछ । हाम्रो स्टकले हामी कति समयसम्म धान्न सक्छौँ ? हामीसँगको स्टक क्षमता निकै कमजोर छ । हाम्रो राष्ट्रिय स्टकमा धेरै मालसामानको उपलब्धता छैन । २–३ महिनाभन्दा बढी हाम्रो स्टकले धान्न पनि सक्दैन ।

तसर्थ, लकडाउन लम्बिने अवस्थामा हाम्रो जनजीवन झन् समस्याग्रस्त हुने अवस्था छ । एकातिर भारतसँगै हाम्रो लकडाउन समानान्तरीय हुनु आवश्यक छ भने अर्कोतिर भारतमा उत्पादन बन्द हुनुले हाम्रो आपूर्तिको वैकल्पिक व्यवस्था गर्न हाम्रो सरकार सफल होला भन्ने अवस्था छैन । पूरै विश्व नै लकडाउनमा गएको बेला वैकल्पिक व्यवस्था झन् जटिल त छ नै ।

उपचारसँग जोडिएको विषयः स्वास्थ्य क्षेत्रमा रहेको हाम्रो भौतिकपूर्वाधार कमजोर छ । अन्य देशमा जुन आकारमा महामारी फैलियो त्यो आकारमा हाम्रो देशमा सङ्क्रमण बढ्यो भने यसले अनियन्त्रित परिस्थितिको सिर्जना गर्न सक्दछ । हामीसँग न त्यस आकारमा अस्पतालहरू छन्, न उपलब्ध अस्पतालहरूमा उपकरणहरू छन् र न हामीसँग त्यति ठूलो संख्यामा चिकित्सक, सह चिकित्सकहरू छन् । औषधी र अन्य केमिकलहरूको आपूर्ति आफैमा जटिल छँदैछ । सरकारले यसको तयारी कुन स्तरमा गरेको छ ? के विकल्पहरू छन् सरकारसँग ?

जनजीवनको व्यवस्थापनः

पहिलो चरणकै लकडाउनले गरिबीको रेखामुनि रहेका जनताको जनजीवन निकै कष्टमय बनिसकेको थियो । दास्रो चरणमा स्थिति झन् नाजुक बनिसकको छ । विपन्न ज्यालादारी मजदुरहरूको अवस्था निकै दयनीय छ ।

सीमान्तकृत समुदाय र दलित बस्तीहरूका जनता पैसा नभएर खाद्यान्नको अभावले भोकमरीको शिकार हुन थालेका छन् । महंगी बढेको छ । खाद्यान्नको अभाव छ । औषधीमुलोको अभाव छ । कालोबजारी सुरु भएको छ । लुटमार र अराजकता बढ्ने प्रवल सम्भावना देखिन्छ ।

सरकारले लकडाउनको अवधि बढाएसँगै जनतालाई विभिन्न सहुलियत दिनु र विपन्न जनताको दैनिकी चल्ने गरी उद्धारको व्यवस्था मिलाउनु आवश्यक छ । त्यसो हुन नसकेको खण्डमा सङ्क्रमणभन्दा भयावह भोकमरी र त्यसबाट सिर्जित अवस्था हुन जान्छ ।

अझ स्थानीय तहमा जाने उद्धारका सामाग्रीको वितरण व्यवस्थापन आफैमा जटिल कार्य हो । केही समयअघि गृहमन्त्रीले भनेका थिए कि स्थानीय तहमा भ्रष्टाचारीहरूलाई कारवाही गरियो भने स्थानीय तहहरू नै खाली हुनेछन् । यो सामान्य विषय होइन । भोलि सरकारले पठाउने उद्धारको व्यवस्थापनमा व्यापक अनियमितता हुने कुरा सहजै अनुमान गर्न सकिन्छ ।

यस प्रकारको अनियमिततालाई नियन्त्रण गर्ने संयन्त्रसमेत सरकारले उद्धार बजेट बिनियोजन गर्‍यो भने यो प्रभावकारी हुनेछ अन्यथा यसले भ्रष्टाचार मौलाउनेछ र अराजकतालाई प्रश्रय मिल्ने छ ।

प्रवासी नेपालीको व्यवस्थापनः

नेपालको कुल जनसंख्याको एकतिहाइ हिस्सा भारत र अन्य देशहरूमा छरिएर रहेका छन् । अर्थात् झण्डै ८०–९० लाख जति नेपाली प्रवासमा छन् । यो जनसंख्या सक्रिय जनसंख्या पनि हो । यसले अर्थ उपार्जन गरिरहेको छ । तर, विश्वव्यापी महामारीको यस विश्व संकटमा जहाँ ती नेपालीहरू काम गर्दछन् त्यहाँको स्थिति बिग्रँदै गयो भने यसले हामीलाई ठूलो संकट थपिने देखिन्छ ।

खास गरी खाडी मुलुकहरूमा सबैभन्दा ठूलो संख्यामा नेपाली कामदारहरू काम गर्दछन् । ती देशहरूमा पनि सङ्क्रमण बढ्न थालेको छ । ती मुलुकहरूमा पनि लकडाउन घोषणा हुन थालेका छन् । ती देशहरूमा कम्पनीहरूले कामदारहरूलाई पाल्नु सजिलो छैन । काम नगराई तलब, खाना, आवासीय सुविधा, औषधोपचार आदि उपलब्ध गराउनु नीजि कम्पनीहरूका लागि सहज हुने छैन ।

यसले हाम्रा प्रवासीहरूलाई विषम परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । कतिपय देशहरूले उनीहरूलाई कुनैबेला पनि देश फर्कने आदेश जारी गर्न सक्दछन् । कतिपय नेपाली प्रवासीहरू पनि त्यहाँ सङ्क्रमणको शिकार होलान्, मृत्युवरण गर्लान् । प्रवासमा हुने यस जटिल परिस्थितिको सामना नेपालले कसरी गर्ला यो पनि निकै महत्त्वपूर्ण विषय हो । सरकारको ध्यान यता पनि जाओस् ।

मानव सभ्यता रक्षाप्रतिको चिन्ताः

मानवसभ्यता नै जोखिममा त छैन भन्ने सवाल पनि उठ्ने गरेको छ । एउटा सूक्ष्म जीवाणुले मानव सभ्यतालाई नै चुनौती दिएको अवस्थामा मानव आफ्नो सभ्यता जोगाउन पनि उत्तिकै चिन्तित छ ।

विश्व एक बस्ती हो र मानवले मानव सभ्यताको विरुद्धमा कुनै काम गर्नु भनेको मानव सभ्यताकै अन्त गर्नु हो भन्ने कुराको पाठ यस कोरोना घटनाले मानव समुदायलाई अवगत गराएको छ । अहिले सम्पूर्ण विश्व एउटा समाधानको खोजीमा छ । यसले मानव एकताको नयाँ युगको प्रारम्भ गर्न सक्दछ । यसले मानव समुदायको अन्तर्राष्ट्रियवाद र मानवतावादलाई थप मजबुत गरेको छ ।

(लेखक पूर्व मन्त्री तथा नेकपाका नेता हुनुन्छ ।)