केपी बा, Prime Minister KP Sharma Oli Left Review Online
 

सम्माननीय प्रधानमन्त्रीज्यू,
नमस्कार ।

तपाईंको सु-स्वास्थ्यको कामना ।

मेरो नाम प्रकाश चन्द । म अहिले चितवन मेडिकल कलेजमा एमबिबिएस इन्टर्नसिप गर्दैछु । वैचारिक हिसाबले म पनि एक सच्चा कम्युनिस्ट सेवक हुँ । पारिवारिक हिसाबले म प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को छोरा हुँ ।

विभिन्न सञ्चारमाध्यममार्फत् तपाईंको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको हुन्छु । तपाईंका अभिव्यक्ति पनि सुन्छु । म आफै स्वास्थ्य क्षेत्रमा भएकाले पनि होला तपाईंको स्वास्थ्य अवस्थाबारे अलि बढी नै चासो दिन्छु । तपाईंको स्वास्थसँगै मुलुकमा स्वास्थ्य सेवाको स्थितिप्रति पनि हामी चिन्तित छौँ । मुलुकमा स्वास्थ सेवाको स्थिति भयावह र बिकराल नै छ। त्यस्तै समस्याग्रस्त छ, चिकित्सा शिक्षा । विद्यार्थीहरूले भोगिरहेको यही चिकित्सा शिक्षाको समस्यालाई लिएर सम्माननीय प्रधानमन्त्रीज्यू तपाईंलाई यो पत्र लेख्दैछु ।

यो संवेदनशील विषयमा तपाईंलाई पूरै जानकारी नहुन सक्छ । तपाईंलाई यो विषयको सही जानकारी नगराइएको पनि हुन सक्छ । विषयवस्तु तोडमोड गरिएको पनि हुन सक्छ किनभने, मेडिकल शिक्षा क्षेत्रका माफिया धेरै बलिया छन् । सही मुद्दालाई गुमराहमा पार्ने क्षमता उनीहरू राख्छन् । सत्तामा भएका मानिसहरूसँगको मिलिभगतमै उनीहरूले यस्तो गरिदिन्छन् ।

Prakash Chanda, son of Biplab
लेखक

मैले ‘माफिया’ भनेको के हो सुनेको थिएँ । थाहा भने थिएन । चितवन मेडिकल कलेजलगायत देशैभरिका निजी मेडिकल कलेजहरूमा विद्यार्थीमाथि चरम शोषण हुन थालेपछि मैले ‘माफिया’ भनेको के रै’छ भनेर खोजेँ । हामीमाथि दमन भएपछि पनि खोजेँ ।

माफिया इटालीबाट उत्पत्ति भएको शब्द रै’छ। माफियाको प्रभाव सडकदेखि सत्तासम्म हुँदो रहेछ । उनीहरूको पहुँच कर्मचारी, प्रशासन, प्रहरी, राजनीतिज्ञ सबैसम्म हुँदो रहेछ । सत्ता पनि उपयोग गरेर उनीहरू आफ्नो स्वार्थ पूरा गर्दा रहेछन् । उनीहरूविरूद्धका आवाज दबाउँदा रहेछन् ।

प्रधानमन्त्रीज्यू,

नेपालको मेडिकल माफिया पनि त्यस्तै छ । उसको पनि पहुँच व्यापक छ। उनीहरूविरूद्ध हाम्रो संघर्ष आज महिना दिन नाघ्यो । पठनपाठन नै रोकिएको दुई साताभन्दा बढी भइसक्यो । दिनहुँजसो विरोधसभा चलेको छ । प्रहरी प्रशासनले हामीलाई न्याय दिनुको सट्टा उल्टो दमन गरेको छ । यो अवधिमा हामीलाई धेरै पटक प्रहरीले लाठी हाने । लगेर थुने । धेरै धम्की आयो ।

अझै विडम्बना नै भनौँ प्रधानमन्त्रीज्यू, समाजवाद उन्मुख सरकारको प्रधानमन्त्रीको कार्यालय, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, त्रिभुवन विश्वविद्यालय, डिनको कार्यालय चिकित्सा शिक्षा आयोग र चिकित्सा शिक्षाको संसदीय समितिको वरपर लहरै बसेर मेडिकल माफियाले विद्यार्थीको आवाज दबाइरहेका छन् ।

हामीले हाम्रो कुरा भन्न जाँदा सरोकारवाला निकाय किन माफियाको खल्तीमा लुकेझैँ गर्छन् ? किन हाम्रो कुरा सुन्दैनन् । आम नागरिकले तिरेको करको पैसाले चलेको न्यायालय, प्रशासन र सरकारी निकायलाई उनीहरूले पनि ठूलो वैकल्पिक बजेट छुट्याउँछन् कि के हो, हाम्रो कुरै सुन्दैनन् । हामीलाई न्याय दिँदैनन् । हामी विद्यार्थीले त अन्याय भयो भन्ने ठाँउ पनि पाएनौँ ।

प्रधानमन्त्रीज्यू,

तपाईंकै मन्त्रिपरिषद्‌ले एमबिबिएस, नर्सिङ पढ्ने विद्यार्थीले मेडिकल कलेजलाई कति शुल्क तिर्ने भनेर अंक तोकेको छ । विद्यार्थी भर्ना हुन कलेज पुग्दा सरकारले तोकेको शुल्कले हुँदैन, तिमीहरू थप पैसा तिर भन्छन् । ‘तिमीहरूले नतिरे अर्काले तिर्छ, सिट सीमित छ,’ भन्छन् । विद्यार्थी र अभिभावकलाई चेपुवामा पारेर अतिरिक्त शुल्क तिराउँछन् ।

यसरी एमबिबिएस पढ्ने एकजना विद्यार्थीबाट १२ लाख रुपैयाँ ठगिएको छ। १०० जना विद्यार्थी भर्ना हुँदा वर्षेनी १२ करोड भयो । यो एक किसिमको डकैती नै हो किनभने यो प्रहरी, प्रशासन, न्यायालय र सरोकारवाला निकायको अगाडि हाकाहाकी गरिएको छ । कुनै डर र निसंकोच गरिएको छ।

गण्डकी मेडिकल कलेजमा हाम्रा विद्यार्थी साथीहरूले झन्डै दुई महिना आन्दोलन गरेपछि शिक्षा मन्त्रालयले मेडिकल कलेजहरूले लिएको शुल्क फिर्ता गर्न लिखित निर्देशन दियो । त्यो निर्देशन दिएको आज छ महिनाभन्दा बढी भयो। कार्यान्वयन भएको छैन । मेडिकल माफियाहरू त शिक्षा मन्त्रालयको निर्देशन नै अवैधानिक हो भन्दैछन् । यहाँ माफिया वैधानिक, सरकार अवैधानिक हो र ?

यही ताल हो भने प्रधानमन्त्रीज्यू नेपालको चिकित्सा क्षेत्र तपाईंले सोचेजस्तो सागरमाथा हेर्दै औषधी खाने र सगरमाथाको काखमा शल्यक्रिया गर्ने विश्वको उदाहरणीय क्षेत्र बन्न सक्दैन । लुटतन्त्रको उदाहरण भने यो अहिले नै बनिसक्यो ।

प्रधानमन्त्रीज्यू,

हामी हृदयदेखि तपाईंलाई अनुरोध गर्न चाहन्छौँ – कृपया पत्रलाई अन्यायमा परेका विद्यार्थीको उजुर मानेर तपाईंले पहल गरिदिनोस् । सबै सरोकारवाला निकाय र पीडित विद्यार्थीलाई सँगै राखी हामीलाई न्याय दिनुहोस् ।

विद्यार्थी र अभिभावकलाई मेडिकल माफियाको पञ्जाबाट छुटकारा दिलाइदिनुहोस् । तपाईंमा अडिएको हाम्रो आसलाई मर्न नदिनुहोस् । नत्र न्याय मर्नेछ । देश मर्नेछ ।

अन्यायमा परेका विद्यार्थीहरूको प्रतिनिधि,
प्रकाश चन्द

(प्रस्तुत पत्र हामीले सामाजिक सञ्जान फेसबुकबाट लिएका हौँ ।)