प्रचण्ड, Pushpa Kamal Dahal Prachanda,
 

मैले पुष्पकमल दाहाल अर्थात ‘प्रचण्ड’को बारेमा कलम नचलाई सुख्खै पाइन । कारण के हो त भन्दा उनको बारेमा यत्ति धेरै गालीगलौज गर्न, गराउन लागिपरेका नेकपाका केही नेता तथा कार्यकर्तालाई प्रचण्ड के हुन् त भनेर चिनाउन जरूरी नै भयो ।

कार्ल मार्क्सको स्थान कसैले लिन सक्दैन । उनको स्थान ग्रहण गर्न एङ्गेल्सले पनि सकेनन् । म कार्ल मार्क्सको रूपमा ‘प्रचण्ड’लाई प्रस्तुत गर्ने धृष्टता पनि गर्न सक्दिन किनकि कार्ल मार्क्स त कम्युनिस्टका मुहान हुन् । त्यही मुहानको एउटा बलियो हाँगा हुन् क. प्रचण्ड । त्यस्तै रूसका लेनिन हुन् भने नेपालका प्रचण्ड हुन् । चीनका माओ हुन् भने नेपालका प्रचण्ड हुन् । उत्तर कोरियाका किम इल सुङ हुन् भने नेपालका प्रचण्ड हुन् । यत्ति कुरा बुझ्नु जरूरी छ नेपालका कम्युनिस्टहरूले । कसरी ?

कार्ल विक्रम थापा, karl bikram thapa
लेखक

२०५२ सालमा प्रचण्डको पूरै परिवार मृत्युको च्यादर टाउकोमा बाँधेर जनयुद्धमा होमिएका थिए । त्यो समाजवादका लागि संघर्षको पहिलो चरण थियो । मारिएका भए अहिले देशमा गणतन्त्र हुन्थ्यो वा हुन्नथ्यो ? शहीद कहलाउँथे वा गुमनाम हुन्थे ? यी नसोचिएका विषयहरु हुन् । तर अनवरतरुपमा सशस्त्र युद्ध गरिरहेको तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष नै आजको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पनि हुन् ।

नेकपा (माओवादी) ले सशस्त्र विद्रोह गरेको हुन्थेन भने आज देश गणतन्त्रात्मक हुने थिएन । किनकि अरू कुनै पनि पार्टीको एजेन्डा गणतन्त्र थिएन । कांग्रेसको त प्रभु नै थियो । सँगसँगै तत्कालीन ठूला वामपन्थी दल पनि राजतन्त्र भित्रै रमाउने पार्टी थिए  । अरू पार्टीहरूको चर्चा गर्नु नै उपयुक्त ठानिन । यस्तोमा नेकपा (माओवादी) एक्लै गणतन्त्रको एजेन्डा बोकेर अनवरतरुपमा संघर्षशील रहिरह्यो ।

युद्ध नीति, युद्धविराम हुँदै अघि बढिरहेका प्रचण्ड लगायत सिङ्गो पार्टीलाई आतंककारी भन्दै टाउकाको मोल तोकेर बसिरहेका नेपाली काँग्रेस र वामपन्थी दलहरूले सामन्ती राजा ज्ञानेन्द्रको माघ १९ को कदमपछि मात्र गणतन्त्रलाई आफ्नो कार्यक्रमको अंग बनाए । त्यो पनि काँग्रेसले आफ्नो विधानमा गणतन्त्र राखेपछि वामपन्थी पार्टीहरूले राखेका हुन् । त्यतिखेर वामपन्थी पार्टीहरू समेत जनतामाझ ढुलमुले पार्टीका रूपमा परिचित थिए ।

समग्रमा इतिहासलाई साक्षी राख्ने हो भने दुई ठूला संसदवादी पार्टी नै पहिलो पटक नेकपा (माओवादी) को गणतन्त्रात्मक एजेन्डामा प्रवेश गरे । भन्ने गर्छन् जङ्गलबाट माओवादीलाई सहरमा ल्याउने काँग्रेस र नेकपा (एमाले) हो तर त्यसो होइन । बरू सहरमा रमाइरहेका यी दुई नेपालका पार्टीको एजेन्डा नै माओवादीले परिवर्तन गर्न बाध्य तुल्याइदियो । एकजना नेता त पछिसम्म पनि भन्दै थिए बयलगाढा चढेर अमेरिका पुग्नु र नेपालमा गणतन्त्र आउनु उस्तै उस्तै हो । यसकारण पनि म गर्वका साथ भन्छु कि प्रचण्ड नै गणतन्त्रका पिता हुन् ।

प्रचण्ड, Pushpa Kamal Dahal, Chairman Prachanda
महान जनयुद्धको क्रममा अध्यक्ष प्रचण्ड

“संविधान सभा” तत्कालीन नेकपा माओवादीको एजेन्डा नै हो । त्यही एजेन्डालाई अन्य राजनैतिक पार्टीले पनि स्विकार गरेर संविधान सभाको निर्वाचन भयो । त्यही संविधान सभाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्‍यो । यो सबै आँधीबेहरी श्रृजना गर्ने नेतृत्व नै प्रचण्ड हो । उनको हरेक कदममा मैले देश देखेको छु, समाजवादी यात्रा देखेको छु । उतिबेला गणतन्त्रमा स्खलित हुने अनि अहिले फेरि समाजवादमा स्खलित हुनेहरूसँग कडा संघर्ष गरिरहेका छन्‌ प्रचण्ड ।

संविधान सभा मार्फत गणतन्त्र घोषणा गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका प्रचण्डले समाजवादी यात्रामा अनवरतरुपमा संघर्षशील कम्युनिस्टहरूको विचारलाई नेतृत्व दिइरहेका छन्, समाजवादी यात्रामा सघाउनु पर्‍यो नि सच्चा कम्युनिस्टहरूले ।

सामान्य भाषामा बुझाउनुपर्दा एउटा शिशु जन्मँदा जसरी एउटी आमाले रगतको खोलो बताउँछिन्, त्यसैगरी गणतन्त्र नेपाल जन्मँदा १७,००० नेपालीले रगत बगाए । त्यसको नेतृत्व प्रचण्डले गरेका हुन् । यी हुन् प्रचण्ड, गणतन्त्र नेपालका पिता ।

(लेखक क. तुलसीलाल अमात्य निकट रहेर काम गर्नु भएका स्वतन्त्र वामपन्थी हुनुहुन्छ र लेखमा प्रस्तुत विचार लेखकका निजी हुन् ।)