दक्षिण अमेरिकी स्वतन्त्रता आन्दोलनका नायक सिमोन बोलिभारको जन्मभूमिका रुपमा चिनिने भेनेजुएला क्षेत्रफलको हिसाबमा नेपालभन्दा धेरै ठूलो रहेता पनि जनसंख्यामा लगभग नेपालकै जति भएको ब्राजिल र कोलम्बियाको छिमेकी देश हो । करिब ३०० वर्ष पश्चिमा उपनिवेश र त्यसपछि सैनिक शासन बेहोर्नु परेकोले भेनेजुएलामा स्पेनिस भाषा बोलिन्छ । यो अत्यन्तै सुन्दर र प्रकृतिको वरदान रहेको विश्वकै ठूलो तेल र ग्याँसका साथै सूनको भण्डार समेत रहेको देश हो ।
सिमोन बोलिभारको भूमिमा जन्मिएका ह्युगो राफेल चाभेज फ्रियास (ह्युगो चाभेज) समाजवादी, अन्तर्राष्ट्रियवादी, राजनीतिज्ञ र क्रान्तिकारी हुन् । सन् १९९९ देखि २०१३ सम्म भेनेजुएलाका राष्ट्रपति रहेका चाभेज एक्काइसौँ शताब्दीका साम्राज्यवाद विरोधी आन्दोलनका पर्याय बनेका थिए । उनले भेनेजुएलामा एक्काइसौँ शताब्दीमा समाजवादी क्रान्ति सम्पन्न गरे भने बृहत सामाजिक परिवर्तनबाट श्रमजीवी जनताको हक, हित र समृद्धिको सुनिश्चित गरे ।
साम्राज्यवादीहरुको व्यापक घेराबन्दी, चरम नाकाबन्दी र लगातार हस्तक्षेपको डटेर सामना गर्दै उनले व्यापक रुपमा कम्युनहरु स्थापना गर्ने, रोगजारीको सुनिश्चित गर्ने, तेल खानी र कलकारखानाको राष्ट्रियकरण गर्ने तथा सेना लगायत राज्यका संयन्त्रको समेत पुनःसंरचना गर्ने नमूना कार्य गरेका थिए । पाँचौ अन्तर्राष्ट्रियको सोचले उनलाई विवादमा ल्याएपनि उनले अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनमा निकै महत्त्वपूर्ण योगदान पुर्याए । त्यही बोलिभारियन क्रान्तिकै जगमा हाल भेनेजुएलामा साम्राज्यवाद विरोधी निकोलस मादुरोको समाजवाद उन्मुख सरकार निर्मम हस्तक्षेप र चरम नाकाबन्दीको पनि डटेर सामना गर्दै छ ।
जन्म र बाल्यकालः

२८ जुलाई १९५४ मा भेनेजुएलाको ग्रामीण क्षेत्रको सबनेटा भन्ने सहरमा जन्मिएका चाभेज एक शिक्षित परिवारमा परिवारको जीवित छ दाजुभाइ मध्येका माइलो सन्तानको रुपमा रहेका थिए । बाबुआमा दुवै शिक्षक रहे पनि उनको परिवारको कमजोर आर्थिक अवस्थाका कारण उनले हजुरआमासँग बसी शिक्षा आर्जन गरे । स्कुले जीवनमै कार्ल मार्क्स र इस्टेवन रुइज गेभाराबाट प्रभावित उनी त्यतिबेला भेनेजुयलामा चलिरहेको क्रान्तिबाट प्रभावित थिए । महान क्युवाली क्रान्ति तथा त्यसको जगमा सञ्चालित भेनेजुयाली गुरिल्ला युद्ध एफएएलएन (FALN) बाट समेत उनी निकै प्रभावित भए । तर पनि उनी पार्टी र क्रान्तिको अभियानमा अलि पछि सामेल भए ।
सैनिक प्रतिष्ठानमा भर्नाः
सन् १९७१ मा चाभेज राष्ट्रिय सैनिक प्रतिष्ठानमा भर्ना भए । उनी त्यहाँ खास सेनामा भर्ती हुनुभन्दा पनि बेसबल खेलाडी बन्ने हेतुले गएका थिए । तर त्यहाँ उनी खेलभन्दा पढाइमा लागे र १९७५ मा स्नातक शिक्षा प्राप्त गरे । त्यसपछि उनी सेकेण्ड लेफ्टिनेन्ट बने । तर उनको पहिलो मिसन नै गुरिल्ला विरोधी मिसन भयो । उनी त्यसमा काम गर्दा मात्र होइन, बाल्यकालदेखि नै क्रान्तिकारीहरुप्रति सहानुभूति राख्दथे । पछि उनको दाजु समेत उक्त क्रान्तिकारी आन्दोलनमा सरिक भएकोले उनले गुरिल्ला सिध्याउने भन्दा पनि सैनिकको जागिर छाड्ने सोच समेत लिएका थिए । तर यसै बिच सन् १९७७ मा उनले भेनेजुएला क्रान्तिकारी पार्टीका प्रमुख डग्ल्यास ब्राभोसँग भेट गर्न पाएँ । यसबाट चाभेज निकै प्रभावित भए । उनले जागिर छाडेनन् । उनको मनमा क्रान्तिप्रति अझ बढी सकारात्मक भावना जाग्यो ।
क्रान्तिकारी समूहदेखि राष्ट्रपतिसम्म
सन् १९८२ मा चाभेज र केही सैनिक अधिकृतहरुले बोलिभारियन आन्दोलन २०० भन्ने क्रान्तिकारीहरुको एक समूह गठन गरे । उनीहरुको उद्देश्य सत्ता कब्जा गर्नु थियो । सन् १९९२ मा उनीहरुले कार्लोस पेरेस निरंकुश सत्ता विरुद्ध हमला गरी ढाल्ने प्रयास गरे । तर उनीहरु असफल भए । त्यसैबेला उनले २ मिनट पत्रकार र सञ्चार माध्यममा ‘कमरेडहरु अहिलेलाई माफ गर्नुहोला तर हामीले भेनेजुएलामा परिवर्तन ल्याएरै छाड्ने छौँ’ भनेको भनाइ आम जनताको बलियो आशा बन्न पुग्यो । उनी २ वर्ष जेलमा बसे पनि जनतामाझ निकै लोकप्रिय बन्दै गए । उनले पाँचौ गणतन्त्र (फिफ्थ रिपब्लिक) पार्टीको स्थापना गरे । त्यही पार्टीबाट उनी १९९८ को निर्वाचनमा राष्ट्रपतिको उम्मेदवार बने र ५६ प्रतिशत मतका साथ निर्वाचित भए ।
बोलिभारियन क्रान्ति र समाजवादी आन्दोलन
विश्वकै उदाहरणीय क्रान्तिको रुपमा बोलिभारियन क्रान्ति रहेको छ । सन् १९९९ देखि नै चाभेजले व्यापक सुधारका कार्यक्रम अघि सारे । सन् २००३ मा बोलिभारियन मिसन मार्फत ल्याएका सामाजिक न्याय र कल्याण, गरिबी निवारण, समाजवादी व्यवहारिक शिक्षा, सर्वसुलभ स्वास्थ्य र सैनिक सुधार लगायतका कररिब ३० महत्त्वपूर्ण कार्यक्रमहरुलाई कार्यान्वयन गरेरै छाडे ।
उनी भेनेजुएलामा मात्र होइन, विश्वमै समाजवादी आन्दोलनलाई मजबुत बनाउन लागि परे । उनले पुँजीवादको मुख्य हतियार विश्व व्यापार संगठन विरुद्ध क्युवा, बोलिभिया, ब्राजिल, भेनेजुएला, निकारागुवा, होण्डुरस सहभागी छुट्टै व्यापार सञ्जाल स्थापना गरी सञ्चालनमा ल्याए । उनले पेट्रो क्यारिब र मर्कोसुर व्यापार सञ्जालमार्फत क्षेत्रीय व्यापार अघि बढाए । साम्राज्यवादसँग पौँठेजोरी खेल्दै उनले साम्राज्यवादका सबै खाले हस्तक्षेपविरुद्ध लडे ।
उनले क्युवासँग मिलेर समाजवादी अन्तर्राष्ट्रिय आन्दोलनलाई अगाडि बढाउने क्रममा थुप्रै अफ्रिकी आन्दोलनका साथै साम्राज्यवाद विरोधी मोर्चा समेत निर्माण गरे जसबाट हैटी, इरान, सिरिया र रूससँग समेत राम्रो सम्बन्ध कायम गरे । अमेरिकी महादेशीय जनताका लागि बोलिभारियन सञ्जाल, जनताको व्यापार सम्झौता, अल्बा, एक अन्तरसरकारी क्षेत्रीय संगठनको स्थापना गरी क्षेत्रीय सहयोग बढाए । अल्बालाई समाजवाद पक्षत्रर सरकारहरुको दक्षिण अमेरिकी सञ्जाल पनि भनेर चिनिन्छ ।
उनी दक्षीण अमेरिकी समाजवादी तरङ्गको आधार मानिन्छन् । उनी सत्तामा आएपछि नै अन्य दक्षिण अमेरिकी देशहरु ब्राजिल, बोलिभिया, अर्जेन्टिना, इक्वेडर आदि देशका वामपन्थीहरुको सरकार बन्यो । यसैको जगमा अल्बाका समेत कुनै समय १३ राष्ट्र सहभागी बने । साम्राज्यवादसँग डटेर सामना गरेका उनी विश्व बैंकलाई साम्राज्यवादको दलाल संगठन मान्दथे । उनले विश्व बैंकको विरोध गरे । अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकबाट भेनेजुएलालाई मुक्ति दिलाए । विश्व बैंकको अरबौँ ऋण तिरेर देशलाई ऋणमुक्त बनाए । साथै लण्डनमा रहेको भेनेजुएलाको १६० टन सून फिर्ता ल्याएर विश्व पुँजीवाद र साम्राज्यवादलाई घुँडा टेकाए । उनले वैकल्पिक सञ्चार माध्यमको रुपमा टेलिसुरलाई स्थापना गरी स्थापित गरे जुन आज पनि जनमुखी सञ्चार माध्यमको रुपमा चिनिन्छ ।
क्रान्ति, ‘कू’ तथा हत्या प्रयासको श्रृंखला
सन् १९९८ मा ह्याुगो चाभेजले चुनाव जितेपछि उनले सन् १९९९ मा संविधान सभाको निर्वाचन गरे । संविधान सभाले नयाँ संविधान बनायो । नयाँ संविधानमार्फत भेनेजुएलालाई बोलिभारियन गणतन्त्र भेनेजुएलाको रुपमा परिवर्तन गरियो । भेनेजुएलाको क्रान्ति विश्वको पछिल्लो र नमूना क्रान्ति हो । चाभेजले त्यहाँको तेलबाट विश्वकै धनाढ्य मालिक बनेकाहरुको तेलखानी राष्ट्रियकरण गरे । उनले संविधानमा न्यायपालिका र संसदको शक्तिमा संशोधन गरे । खुल्ला बजार अर्थतन्त्र, पुँजीवादी हस्तक्षेप र नवउदारवादको विपक्षीमा तथा वैकल्पिक विकास नीतिको वकालतमा समाजवादी आय वितरण, समान हैसियतको वैदेशिक नीति र लोक कल्याणको पक्षमा व्यापक सुधार मार्फत बोलिभारियन क्रान्ति सम्पन्न गरे । साम्राज्यवाद र पुँजीवादीहरुको सातो जानेगरी चाभेजले गरेको आमूल परिवर्तनले उनीहरुलाई त्रसित गरायो । उनीहरु षडयन्त्रका तानाबाना बुन्न थाले । साम्राज्यवादीहरुको सहयोगमा सन् २००२ मा उनी र बोलिभारियन क्रान्तिविरुद्ध पहिलो निरंकुश ‘कू’ भयो । तर व्यापक जनसमर्थनका कारण लामो समय टिक्न सकेन । लाखौँ जनता सडकमा आई उनलाई फेरि पदमा बहाली गरे । सन् २००४ मा जनमत संग्रह गरी उनी फेरि पूर्नबहाली भए ।
भेनेजुएलाली क्रान्तिबारेका भ्रम र यथार्थ
भेनेजुएलाबारे बुझ्नुपर्ने पहिलो सत्य मूलधारका भनिएका सञ्चारमाध्यम टिभी, रेडियो, पत्रपत्रिका, सामाजिक सञ्जाल तथा इन्टरनेट मार्फत भेनेजुएलाको अवस्थाको बारेमा आएको जस्तो न त त्यहाँ संकट छ, न मादुरो कमजोर छन् । धेरै जसो बुर्जुवा समाचारमा कुनै सत्यता छैन र यी सूचनाहरु सुनियोजित रुपमा त्यहाँको अवस्थाको बारेमा भ्रम फैलाउन तथा त्यहाँको सरकारको बदनाम गर्ने उद्देश्यले प्रेसित भएका छन् ।
भनेजुएला विकासको हिसाबले दक्षिण एसियाका देशभन्दा निकै अघि छ । त्यहाँ न खाद्य संकट छ, न त कुनै आवश्यकीय सामग्रीको । चरम नाकाबन्दी र साम्राज्यवादी घेराउको बाबजुद व्यापक जनसमर्थन र लोकप्रियतामा निकोलस मादुरोको नेतृत्वमा भेनेजुएला सम्पूर्ण षडयन्त्र र घेराउको सामना गर्दैछ । त्यसैले पनि साम्राज्यवादीहरुले चाभेजको मृत्युपछि आज या भोलि भेनेजुएलामा मादुरोको सरकार ढल्छ भनेको आज ७ वर्ष बित्दा पनि भेनेजुएला समाजवादको यात्रामा अग्रसर छ । मादुरोको नेतृत्वमा कैयन पटक विभिन्न निकायका निर्वाचन भए । तर लोकतान्त्रिक अभ्यासबाटै मादुरो निर्वाचित भए । डलरको राजनीति र वित्तीय पुँजीवादका कारण मुद्रास्फितिको समस्या भएपनि भेनेजुएला क्रान्ति र जनमतको जगमा उभिएको देश भएका कारण भेनेजुएला विश्व साम्राज्यवाद विरुद्धको अभियानको केन्द्रमा छ ।
अन्त्यमा,
ह्युयो चाभेजको निधन मार्च ५ सन् २०१३ मा भयो । भेनेजुएलाको विकास र समृद्धिमा ह्युगो चाभेजको योगदान निकै ठूलो थियो । उनको सामाजिक सुरक्षा कार्यक्रम अनुकरणीय छ । जनताको आवासका लागि उनले लाखौँ घर बनाई हस्तान्तरण गरे । ह्युगो चाभेजले सत्तामा आएपछि कैयौँ तेल कम्पनीहरुलाई राष्ट्रियकरण गरे । करहरु बढाए । र, त्यसरी आर्जन गरेको आम्दानीलाई गरिबी निवारण, शिक्षा र जनताको आवासमा खर्च गरे । सरकारी खर्चको भरपुर प्रयोग गरेर उनले देशको मुहार बदले । सामाजिक परिवर्तनसँगै चाभेजले तेल कम्पनीको राष्ट्रियकरण गरी यसैबाट प्राप्त आम्दानीबाट देशको विकास गरे । अझै पनि विश्वका समाजवादी सामु भेनेजुएलाको समाजवादी क्रान्ति आजको युगको क्रान्तिको रुपमा परिचित छ । चाभेज समाजवादी नेता थिए । उनी असंलग्न राष्ट्र आन्दोलनका सक्रिय सदस्य थिए, जहाँ १०० भन्दा बढी देशको सहभागिता थियो । उनको जन्म दिवसको अवसरमा उनप्रति हार्दिक श्रद्धासुमन ।
(लेखक अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य हुनुहुन्छ ।)