नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, झण्डा, Flag, Communist Party of Nepal, CPN Maoist Centre,
 

१. नेपालका कतिपय राजनीतिक पार्टीहरू त्यसका केही कुबेरहरूको लगानीबाट चले पनि (विद्रोहका लागि) हतियार किन्ने जस्ता ठुला खर्च जुटाउन जहाज अपहरण गर्ने जस्ता काम गर्न वाध्य भएका थिए । कतिपय अरु पार्टीहरूले यसैका लागि (क्रान्ति गर्नका लागि) बैङ्क आदि लुट्ने र धनाढ्यहरूबाट दबाबमूलक चन्दा र दण्ड-जरिवानाहरू असुल्ने कामहरू पनि गरे। संसारका कतिपय गैरराजनीतिक वा आतंककारी संगठनहरूले धनको आर्जनका लागि उपरोक्त तरिकाहरू बाहेक लागु औषधिको व्यापार, हतियारको व्यापार, फिरौती असुली आदिसम्म पनि गरेका देखिन्छन्।

२. राजनीतिक पार्टीहरू सार्वजनिक हितको काम गर्न खडा भएका संस्थाहरू भएकाले उसको आर्थिक श्रोत पनि सार्वजनिक जीवनका लागि पाच्य र जनतामा आधारित हुनु जरुरी हुन्छ, अन्यथा उसले राजनीतिक चरित्र गुमाउँछ। गैरराजनीतिक वा आतंककारी संगठनहरूले बनाउने आर्थिक स्रोतहरू राजनीतिक पार्टीहरूका नियमित आर्थिक स्रोतहरू हुनुहुँदैन, अन्यथा उनीहररी पनि गैरराजनीतिक वा आतंककारी चरित्र बहन गर्न पुग्छन्।

dr shambhu kattel, डा. सम्भु कट्टेल, शम्भु कट्टे
लेखक

३. राजनीतिक पार्टीहरू आफ्नो वर्गीय चरित्रअनुसार आर्थिक स्रोतका लागि वर्ग छान्दछन् । धनी वर्गको राजनीति गर्नेहरूले धनी वर्गलाई आर्थिक स्रोत बनाउँछन् भने गरिब वर्गको मुक्तिका लागि काम गर्नेहरूले गरिब वर्गलाई नै आर्थिक स्रोतको आधार बनाउँदछन्। पार्टीलाई जसले वा जुन वर्गले पाल्यो, त्यो पार्टीले त्यसकै हित हेर्छ भन्ने कुरा स्वतःसिद्ध कुरा हो । कुन पार्टीले आर्थिक स्रोत कस्तो बनायो भन्ने हेरेर पनि त्यो पार्टी कुन वर्गको प्रतिनिधि हो भन्ने छुट्याउन सकिन्छ (उठाएको रकम कस्तो कुरामा खर्च गर्छन्, यसले पार्टीभित्र नवधनाढ्य जन्माउँछ/जनमाउँदैन भन्ने पनि अर्को नापो हुन सक्छ तर त्यो सहायक नापो हो। आतंककारी गतिविधि, धार्मिक द्वन्द आदिले वर्गीय राजनीतिक परिवर्तनको लक्ष्य नराख्ने हुँदा अन्ततः त्यसले यथास्थितिकै सेवा गर्दछ र उनीहरूको आर्थिक स्रोत पनि वर्गीय नहुने प्रष्ट देखिन्छ)।

४. गरिब वर्गको राजनीतिको कुरा गर्ने कतिपय नेताहरूमा गरिब वर्गसँग अपार स्रोत छ भन्ने ज्ञान नभएर पनि आर्थिक स्रोतका लागि धनीहरू खोज्दै हिँड्छन्‌ । गरिब वर्गले नै धनी वर्गलाई पालेको छ भन्ने उनीहरू देख्न सक्दैनन् । सयले थुके नदी बन्छ भन्ने चेत उनीहररूमा हुँदैन । जुन पार्टीमा यो चेत भएर गरिब जनतामा जान्छ र गरिब जनताकै आर्थिक आड भरोसामा पार्टी संचालन गर्दछ, त्यो पार्टीले मात्र गरिब जनताको स्वार्थ वा हितको प्रतिनिधित्व गर्न सक्दछ । धनी वर्गको पक्षधर पार्टी नजिकका थोरै धनाढ्यले सहयोग गर्दा पनि ठुलो धन जम्मा हुन्छ भने गरिब वर्गीय पार्टी नजिकका गरिबहरूसँग सहयोग गर्ने धन कम हुने हुँदा थोरैजना गरिबहरूको मात्र सहयोगले पुग्दैन, गरिबहरूको ठुलो संख्याले सहयोग गरे मात्र ठुला खर्च धान्ने कोष जम्मा हुन सक्छ (यो संख्या आर्थिक जोगाडका लागि मात्र हैन, आन्दोलनकारी शक्ति निर्माणका लागि पनि जरुरी हुन्छ)। एक जना वा एक गरिब परिवारसँग थोरै आर्थिक सहयोग लिने र त्यस्ता परिवार लाखौँको संख्यामा हुने हो भने ठुलो र दिगो आर्थिक स्रोत बन्छ । कमिटी प्रणालीलाई व्यापक बनाएका पार्टीहरू आर्थिक रूपले मजबुत हुनुको कारण पनि यही हो । त्यसैले पार्टी सदस्यता बढाउने मात्र परिवर्तनकामी राजनीतिक पार्टीको आर्थिक समस्या हल गर्ने दिगो उपाय हो । गरीब वर्गका परिवारहरूलाई सामूहिक उत्पादनमा लगाएर त्यसको केही अंश पार्टीले आर्थिक सहयोगको रूपमा लिने गरे सुनमा सुगन्ध थपिन्छ।

५. त्यसैले, गरिब वर्गको कुरा गर्ने पार्टीका नेता कार्यकर्ताहरू नीति वा योजना बनाएर गरिब वस्तीहरूमा जाने, त्यहाँ सदस्यहरू बनाउने, कमिटीहरू बनाउने, उत्पादन इकाइहरू बनाउने, सबैबाट थोरथोरै बचत गराएर कोष बनाउने र त्यसबाट मितव्ययी रूपमा पार्टी खर्च चलाउनेजस्तो ‘शीत उबाएर घैला भर्ने’ तरिका गरिन्छ गरिँदैन भन्ने कुराले त्यो पार्टीले गरिखान्छ कि खाँदैन भन्ने देखाउँछ। गरिबलाई शोषेर संकलन भएको धनाढ्यहरूको हातको केही धन लिएर कोष निर्माण गर्नु अन्याय नभए पनि ढङ्ग वा तरिका नपुर्‍याउँदा त्यसले कहिलेकाँही आतंकवादी स्वरूप लिने र आर्थिक विश्रृंखलता ल्याउन सक्ने हुँदा धनाढ्यको हातको केही धन लिने तरिका सहायकमात्र हुनुपर्छ, प्रमुख स्रोत होइन । प्रमुख स्रोत ’शीत उबाएर घैला भर्ने’ नै हुनुपर्छ।

६. कतिपय पार्टीहरूले पार्टी भित्रका धनाढ्य सदस्यहरूको सम्पत्ति पार्टीकरण गरेर पार्टीको आर्थिक स्रोत बनाउन खोजेको देखिन्छ तर यो पनि दिगो तरिका होइन। यसले केही वर्ष चल्छ, सधैँ चल्दैन । यसले पार्टीलाई गरिब जनतासँग जोड्ने काम गर्दैन। निजी सम्पत्ति बिहीन समाज चाहने पार्टीका नेता कार्यकर्ता स्वयम्‌मा निजी सम्पत्तिप्रतिको लिप्सा घटाउनु अनिवार्य छ र यसका लागि उनीहरूको निजी सम्पत्तिलाई क्रमशः सामूहिक काममा लगाउन आवश्यक हुन्छ तर त्यो होशियारी साथ नीति बनाएर सबै नेता कार्यकर्ताहरूमा लागु हुने गरी क्रमिक रूपमा गर्नु पर्छ, झ्वाट्ट गर्नु हुँदैन । सम्पत्ति पार्टीकरण गरेर सुकुम्बासी भएर न पार्टी न सम्पत्ति भएर हलचल गर्न नसकेको र ती नेता वा कार्यकर्ताहरूको उत्पादकत्व घटेका उदाहरणहरू प्रशस्त भएकोले यसलाई दूरगामी नीतिमार्फत योजनाबद्ध तरिकाले गर्नुपर्छ, जथाभावी तरिकाले गर्नु हुँदैन ।

(लेखक वामपन्थी नेता हुनुहुन्छ ।)