baldev ram, baldeb ram, बलदेव राम
 

“शिक्षित होऔँ, संगठित बनौँ, संघर्ष गरौँ” सामाजिक आन्दोलनका नेता स्व. बलदेव रामले सधैँ भन्ने गरेको सन्देश हो यो । २००७ साल पुस ७ गते सप्तरीको बनिगाँवा भन्ने ठाउँमा जन्मेका बलदेव राम पृतम दास र दुलारी देवी चमेनीका जेठा सुपुत्र हुन्‌ । आधारभूत तहसम्मको औपचारिक शिक्षा लिएका बलदेव राम आँट, जाँगर र ज्ञानको अनुपम उदाहरण हुन्‌ ।

‘पीडाको बोझ सहनुभन्दा संघर्षको भारी स्वीकार गर्नुपर्छ’ भन्ने मान्यताका साथ सामाजिक लडाइँमा जीवन बिताएका बलदेव सामाजिक उत्पीडन र मुक्ति आन्दोलनको इतिहास हुन्‌, जसले जातीय समानता, वर्गीय मुक्ति र सम्मानका लागि सामाजिक, राजनीतिक परिवर्तनका आन्दोलनहरूमा अतुलनीय योगदान गरे ।

परिस्थिति नै प्रेरणाको स्रोतः

बलदेव राम दलित परिवारमा जन्मिए । बुवा सरकारी कर्मचारी भएका कारण आधारभूत तहसम्मको औपचारिक शिक्षा लिने मौका त पाए तर त्यही मौका उनका लागि पीडा बन्यो । गाईवस्तु चराउन जानुपर्ने, सिनो फाल्नु पर्ने मान्छेले पढ्न थालेपछि विभेदकारी समाजका लागि यो सहन सक्ने कुरा थिएन । त्यही भएर उनीपनि जमिन्दारको नजरमा खराब मान्छे देखिन थाले ।

nari ram lohar, नरी राम लोहार, नरिराम लोहार
लेखक

बलदेव राममा अन्याय सहन नसक्ने स्वभाव थियो । जमिन्दारको गाईवस्तु चराउने कामलाई इन्कार गर्दै उनी पढ्न थाले । उनको यो स्वभावलाई दबाउन जमिन्दारहरूले बलदेव राम सहित २०-२५ परिवार दलित बसेको बस्ती बनिगाँवामा आगो लगाइदिए । त्यतिबेला बलदेव राम १०-११ वर्षका थिए ।

बस्ती जलाएपछि त्यहाँका दलित परिवार कनकपुर भन्ने ठाउँमा सरे । त्यहाँ पनि उनकै आश्रयमा बस्नु पर्‍यो, जसले बस्ती जलाएका थिए । त्यतिबेला खाली जग्गा थियो । झाडी फाँडेर दलितहरूले खेतीयोग्य जग्गा बनाउँथे । तर राणाहरूका मान्छे कर्मचारी भएर जान्थे । उनै पटवारी हुन्थे । दलितहरूका बस्ती भएको जग्गा आफ्नो नाममा राखेर उनीहरूलाई हरवा-चरवा बनाउँथे । यसको विरुद्धमा बोल्ने बलदेव राम पीडा भोग्दै र संघर्षबाट सिकाइ लिई अगाडि बढ्न सफल भए ।

गौहत्याको आरोपमा मुद्दाः

कसैको घरमा गाईवस्तु मर्‍यो भने दलितहरूले फाल्नु पर्ने चलन थियो । त्यस वापत कुनै पारिश्रमिक थिएन । उनीहरूले मरेका गाईवस्तुको छाला काडेर बेच्थे । त्यो नै उनीहरूको आम्दानीको स्रोत हुन्थ्योे । एक दिन गाउँको जमिन्दार बलदेव रामको घरमा आएर ‘गाई मर्‍यो, फाल्दिनु पर्‍यो’ भनी बोलाए । बलदेव रामसहित गाउँका केही मानिसहरू गाई फाल्न गए । छाला निकाल्ने बेला ‘गाई मारेर काट्दैछन्‌’ भनी प्रहरीमा खबर गरिदिए । बलदेव राम केही दिन थुनामा परे । छानबिन गर्दा ‘गाई मारेको हैन, मरेको हो’ भन्ने पक्षमा बढी जनमत भएपछि थुनामुक्त भए ।

बलात्कारको मुद्दाः

दलित महिलाहरूले सुडेनीको काम गर्नुपर्थ्यो । जतिबेला पनि मान्छे बोलाउन आउँथे । जानै पर्थ्यो । कहिलेकाँही राती पनि सुत्केरी स्याहार्न जानु पर्थ्यो । त्यस्तो समयमा बलात्कारका घटना हुन थालेपछि बलदेव रामले यसको विरोध गरे । आफ्नो आमालाई पनि सुडेनी काम नगर्न दबाब दिए । यस विषयमा टोल टोलमा बैठक गर्न थाले । युवाहरूलाई शिक्षित बन्न र विभेदका विरुद्ध लड्न आह्वान गर्न थाले । त्यो कुरा जमिन्दारहरूले थाहा पाएपछि उनका विरोधी झनै बढ्न थाले ।

उनलाई फसाउन एक जना महिलालाई सिकाएर बलात्कारको आरोप लगाउन खोजियो । त्यसको प्रमाण जुटाउन परेवा काटेर त्यसको रगत महिलाको लुगामा फालियो । त्यसपछि प्रहरी बोलाई ‘बलदेव रामले बलात्कार गर्‍यो’ भनी थुन्न लगाईयो । केही दिनपछि छानबिन भयो । ‘छानबिन हुँदा महिलाको लुगामा लागेका रगत मान्छेको होइन’ भन्ने निष्कर्ष आएपछि बलदेव राम थुनाबाट मुक्त भए ।

मोही प्रमाण नष्टः

भूमि सम्बन्धी ऐन २०२१ लागु भएपछि तराईमा मोहीयानी फाराम भरियो । सरकारले मोही हक सुनिश्चित गर्ने उद्देश्यले फाराम भर्न लगाए पनि त्यहाँका जमिन्दारहरूलाई यो कुरा मन परेको थिएन । उनीहरूले झरीलाल दास भन्ने व्यक्तिलाई सिकाएर कदमहा, दौलतपुर, करहरवामा संकलन भएका फाराम जलाउन लगाए । जलाउने व्यक्तिलाई भारततिर भगाइदिए । बलदेव रामको बुवा पृतम दास मोही फाराम भर्ने काममा संलग्न हुनुहुन्थ्यो । उहाँले कदमहा, दौलतपुर, करहरवामा फाराम जलाएको थाहा पाएपछि मधुपट्टीमा भरिएको मोही फाराम बलदेव रामको घरमा राखियो र उनकै नेतृत्वमा युवाहरूले पहरा दिई फाराम जोगाएर मोही हक कायम गर्न सफल भए । प्रमाण नष्ट गरेकै कारण अहिले कदमहा, दौलतपुर, करहरवामा मोही छैनन् ।

आफ्नै समुदायलाई विरोधी बनाई दिएः

मोही हक कायम गर्न नेतृत्व गरेको घटनाले बलदेवप्रति जमिन्दारहरूको असन्तुष्टी बढ्दै गयो । उनीहरूले फसाउने षडयन्त्र पनि गरि नै रहे । यही बिचमा बलदेव रामले आफ्नो भूमिकालाई सामूहिक अभियानको रूपमा अगाडि बढाउन थाले । बलदेव राम गाउँगाउँ गएर ‘पढ्नुपर्छ, आफ्नो इच्छाअनुसारको काम गर्न पाउनुपर्छ’ भन्दै हिड्न थालेपछि जमिन्दारहरूले दलितहरूलाई नै आपसमा लडाउने नीति लिए । उनीहरूले दलितहरूलाई प्रलोभन देखाएर बलदेव रामको विरुद्ध बोल्न सिकाउन थाले । साथै बलदेव रामको भनाइअनुसार काम गरेमा मुद्दा लगाइदिने धम्की दिन थालेपछि दलितहरू डरले जमिन्दारको काम गर्न बाध्य भए । बलदेव रामको आफ्नै भाइ लखन रामलेसमेत जमिन्दारहरूको काम गरिदिएर समस्याबाट जोगिने प्रयास गरे ।

जमिन्दारबाट परिवारै कुटिएः

चलनअनुसार रोपाइँ गर्दा जमिन्दारको खेतमा पहिला रोपाइँ हुन्थ्यो । त्यसपछि अरुले आ-आफ्नो खेतमा रोपाइँ गर्न पाउँथे । बलदेव रामले यसलाई पनि अमान्य गरी आफ्नो खेतमा रोपाइँ सुरु गरे । त्यसबेला जमिन्दारहरू खेतमै आएर बलदेव रामको परिवारलाई नै कुटपिट गरे । यस क्रममा उहाँको आमा दुलारी देवी चमेनीको हात समेत भाँचियो ।

मोही लागेको जग्गा विद्यलायलाईः

बलदेव रामले मोही वापत जग्गा कमाउँथे । २०२१ सालको मोही फाराम भरेपछि ५ बिघा जग्गामा उहाँको मोहीयानी हक कायम भयो । एउटा एक ठाउँमा चार बिघा र एक ठाउँमा एक बिघा थियो । एक बिघा जग्गा भएको जमिन्दारले बलदेव रामलाई मोही हकबाट बञ्चित गर्न त्यो जग्गा विद्यालयलाई दान गरिदिए । त्यसले गर्दा अहिले पनि उक्त जग्गाको मोही हक प्राप्त भएको छैन । मुद्दा चलिरहेको छ ।

किसान क्रान्तिमा सहयोगः

पञ्चायतकालमा राजनीतिक दलहरूमाथि प्रतिबन्ध लागेपछि नेताहरूले भूमिगतरूपमाा संगठन निर्माण गर्ने, पञ्चायत विरोधी सचेतना फैलाउने काम गर्थे । त्यसबेला सिपी मैनाली, राधाकृष्ण मैनाली लगायत काँग्रेस, कम्युनिष्ट पार्टीका नेताहरूको आश्रयस्थल बन्ने गर्थ्यो बलदेव रामको घर । अधिकांश समय भूमिगत नेताहरू सुरुंगा खोलामा बिताउँथे । उनीहरूका लागि खाना, पानीको व्यवस्था गर्ने, सूचना आदान-प्रदान गर्ने, अप्ठेरो पर्दा जोगाउने काम बलदेव रामले गर्नु हुन्थ्यो । यतिबेला पनि बलदेव रामलाई नियन्त्रणमा लिन जमिन्दारहरूले थुप्रै प्रयास गरेका थिए । तर उनी बच्न सफल भए ।

जनचेतना दलित संगम गठनः

किसान अधिकार र दलित अधिकारका लागि संघर्ष गरिरहेका बलदेव राम विरुद्ध मुद्दा लगाउने, कुटपिट गर्ने धम्की दिने कामसँगै आफ्नै समुदायका व्यक्तिहरूलाई उनी विरुद्ध भड्काउने काम हुन थालेपछि बलदेव रामले सामूहिक अभियान र प्रतिकारका लागि साझा संगठनको आवश्यकता महसुस गरे । त्यसैले २०५५ सालमा दलित जनचेतना संगम नामको सञ्जाल निर्माण गरे । दलित अगुवाहरूलाई एकजुट गर्नु, दलित अधिकारका लागि योजनाबद्ध आन्दोलन गर्नु यस संगमको मुख्य उद्देश्य थियो भने ज्याला, नागरिकता र भूमि अधिकार यसको मुख्य सवाल थियो ।

सिनो बहिस्कार आन्दोदनः

परम्परागत प्रथाका नाममा दलितहरूमाथि अन्याय बढ्न थालेपछि २०५६ साल सिनो बहिस्कार आन्दोलन घोषणा भयो । जसको नेतृत्व बलदेव रामले लिएका थिए । त्यस आन्दोलनका क्रममा दलितहरूले सिनो नउठाउने, सुडेनी नपठाउने घोषणा गरेका थिए । यसको बिस्तारका लागि गाउँ-गाउँमा संगठन निर्माण, बैठक, भेला, जुलुसदेखि सडक जामसम्मका अभियान भए । जसको परिणाम स्वरूप तत्कालीन गृहमन्त्री पूर्णबहादुर खड्कासमेत त्यस क्षेत्रको अवस्था बुझ्न बाध्य भए । सञ्चार माध्यममा पनि यस आन्दोलनले निकै चर्चा पाएको थियो ।

नाकाबन्दीको सामनाः

दलितहरूले सिनो बहिस्कार आन्दोलन गरेपछि जमिन्दारहरूले दलितहरूका विरुद्ध नाकाबन्दी गरे । दलितहरूलाई बाटो हिँड्न नदिने । मिल, पसलहरूमा जान नदिने । उनीहरूलाई पसलको सामान नबेच्ने । ज्याला मजदुरीमा नलगाउने जस्ता कार्यहरू समेत भए । तथापि बलदेव रामको नेतृत्वमा भएको यस आन्दोलनमा दलितहरूले हार खाएनन्‌ । जीविका लागि विकल्प खोज्न थाले । युवाहरू आन्दोलनमा झन सक्रिय भए । बाह्य सहयोग पनि खोज्न थालियो । परिणामस्वरूप उनीहरूले चाहेको परिवर्तन भयो । आन्दोलनको प्रभाव अरु जिल्लाहरुमा फैलियो ।

जनचेतना दलित संगम दर्ताः

दलितहरूको आन्दोलन जमिन्दारहरूका लागि सहिनसक्नु भएको थियो । उनीहरूले दलितहरूलाई फसाउन हरेक जुक्ति लगाइरहेका थिए । २०५६ सालदेखि त्यस क्षेत्रमा माओवादी जनयुद्धको प्रभाव बढ्न थालेपछि दलितहरूलाई माओवादीका बिल्ला भिराई याताना दिने प्रयास हुन थाले । जनचेतना दलित संगमलाई पनि त्यही रूपमा हेर्न थालेपछि सञ्जाललाई संस्थाको रूप दिई २०५८ सालमा दर्ता गरियो ।

संस्थाका कारण सम्बन्ध बिस्तारमा सहयोगः

दलित जनचेतना संगम दर्ता भएपछि यस संस्थाले एक्सन नेपालको सहयोगमा दलित अधिकार अभियान, भूमि अधिकार अभियान, महिला अधिकार अभियानसँग सिकाइ आदान-प्रदान गर्ने अवसर प्राप्त गर्‍यो । यस क्रममा बलदेव रामले भूमि अधिकारको क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरूसँग भेटघाट गर्ने अवसर पाए ।

राष्ट्रिय भूमि अधिकार मञ्च गठन र नेतृत्वमा बलदेव रामः

विभिन्न सवालगत आन्दोलनलाई वर्गीय आन्दोलन बनाउने, त्यसका लागि साझा आन्दोलनको रूपमा भूमि अधिकार आन्दोलन गर्ने । त्यसलाई अहिंसात्मक सामाजिक आन्दोलनको रूपमा अगाडि बढाउने सोचका साथ भई राष्ट्रिय भूमि अधिकार मञ्च, नेपाल गठन भयो । २०६१ पुस ४ देखि ६ गतेसम्म काठमाडौँमा भएको पहिलो सम्मेलनले बलदेव रामको अध्यक्षतामा राष्ट्रिय समिति बनाई काम अगाडि बढायो । २०६४ फागुनमा दाङमा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट पनि बलदेव राम सर्वसम्मत रूपमा अध्यक्ष चयन हुनुभयो ।

रुपान्तरणकारी अभियानको नेतृत्वः

बलदेव राम राष्ट्रिय भूमि अधिकार मञ्चको अध्यक्ष भइसकेपछि लैङ्गिक र जातीय सवाललाई वर्गीय सवाल बनाउने महत्त्वपूर्ण आन्दोलन भए । यस अवधिमा जल, ज‍ङ्गल र जमिनमा सबै नागरिकको समान अधिकार हुनु पर्ने मुद्दा उठाई दलित अधिकार, महिला अधिकार, भूमि अधिकार, खाद्य अधिकार तथा मानव अधिकारको क्षेत्रमा क्रियाशील नागरिक आन्दोलनलाई साझा बनाउने प्रयास भयो । भूमिमा महिला अधिकार कायम गर्न काठमाडौँमा भूमि अधिकारका लागि प्रथम महिला सम्मेलन सम्पन्न गरियो । जसको प्रमुख अतिथि किसान नेता भीमदत्त पन्तको धर्मपत्नी पार्वती पन्त रहनु भएको थियो ।

२०६२-६३ को जनआन्दोलनमा भूमि अधिकार मञ्चको सक्रिय सहभागिता रह्यो । जसका कारण विस्तृत शान्ति सम्झौता, अन्तरीम संविधान र अन्तरीम तीन वर्षीय योजनामा पनि भूमि अधिकारको सवाल व्यवस्थित रूपमा उल्लेख भयो । लोकतान्त्रिक शासन प्रणालीको वकालत सहित १३ दिने जनयात्रा यसै अवधिमा सम्पन्न भयो ।

भूमि समस्या समाधानका लागि भएको अनिश्चितकालीन धर्ना भयो । जसको परिणाम स्वरूप वेज्ञानिक भूमि सुधार आयोग गठन भई त्यसको सदस्यमा बलदेव राम पनि नियुक्त हुनु भयो । भूमिमा महिला अधिकारका लागि ११ दिने पैदल यात्रा र काठमाडौँमा एक हजार ग्रामीण महिलाको सहभागितामा भूमिमा महिला अधिकार आन्दोलनको नेतृत्व पनि बलदेव रामले गर्नुभएको थियो । जसको परिणामा संयुक्त पूर्जा नीति आई हाल श्रीमान्‌-श्रीमतिको नाममा संयुक्त पुर्जा बनाउन थालिएको छ ।

समस्याप्रतिको बुझाइः

बलदेव रामले भन्नुहुन्थ्योः समस्याका केवल दुई कारण छन् । एक विभेदकारी नीतिः राज्य जसको लागि सहयोगी हुनुपर्ने हो, उसका लागि योजना छैन, बजेट छैन, जो आफै सम्पन्न छन्, उसका लागि नीति, योजना, बजेट सबै छ । सरकार उल्टो बाटो हिँडिरहेको छ । काठमाडौँमा बिउ रोप्छ, बुटवलमा बाली काट्न खोज्छ । कसरी विकास हुन्छ ? कसरी न्याय हुन्छ ?

अर्को विभेदकारी नियतः गरिब, भूमिहीन, दलित, महिलाको पक्षमा बनेको नीतिहरू अपूर्ण र अस्पष्ट छन्‌ । त्यहाँ अगर, मगर, लेकिन तर तापनि लगाइन्छ । यस भाषाले एक ठाउँमा ठिक भनेको कुरा अर्को ठाउँमा गलत देखाइदिन्छ । कर्मचारीतन्त्र खोजीखोजी नहुने बाटो समात्छ । अनि काम हुँदैन । यो नियतवश गरिएको हो । त्यसकारण हामीले नीति निमार्ण गर्न र नियतमा सुधार ल्याउन दुवै कामका लागि लड्नु आवश्यक छ ।

अन्तिम शक्ति राजनीतिः

बलदेव रामले सँधै सामाजिक आन्दोलनको पक्ष लिनुभयो । अवसर आउँदा पनि राजनीतिमा जान चाहनु भएन । तर उहाँको बुझाइ भने राजनीतिप्रति नकारात्मक थिएन । उहाँले भन्नुहुन्थ्यो, दलका नेताहरूप्रति असन्तुष्टि बढेपनि अन्तिम निर्णय गर्ने शक्ति रानीतिक दलमै छ ।

निस्वार्थ आन्दोलनः

बलदेव रामको स्पष्ट बुझाइ थियोः मुक्तिका लागि वर्गीय समानता । त्यसका लागि सामाजिक आन्दोलनलाई नै आधार बनाए । उहाँको नेतृत्वकालमा भूमि अधिकार आन्दोलनमा राजनीतिक नेतृत्वलाई प्रभाव पार्ने गरी ठुला अभियान भएका थिए । त्यस अवस्थामा उहाँले व्यक्तिगत स्वार्थ चाहेको भए, थुप्रै अवसर थिए, तर त्यसो गर्न चाहनु भएन । महिला, दलित, मजदुर, किसान तथा वञ्चितीकरणमा पारिएको समुदायको पक्षमा लडिरहनु भयो । आफूले सुरु गरेको आन्दोलनमै अडिग रहनु भयो । व्यक्तिगत स्वार्थका लागि आफ्नो विचार त्याग्नु भएन । यो नै उहाँको महानता थियो ।

स्वभावः

बलदेव रामको अध्ययनमा धेरै रुची थियो । झोलामा धार्मिक र कानुनी किताबहरू हुन्थे । राति खानापछि ११ बजेसम्म र बिहान ४ बजे उठेर अध्ययन गर्ने बानी थियो । हिन्दी र नेपाली भाषामा शास्त्रीय श्लोकहरू कण्ठ थिए । त्यसैले उहाँले बोल्ने भाषा तथ्यपूर्ण, तर्कपूर्ण हुन्थ्यो । आफ्नो धारणा राख्दा तीन कुरालाई आधार बनाउनु हुन्थ्यो । सामाजिक परिवेश, कानुनी प्रक्रिया र शास्त्रीय मान्यता । त्यसैले होला उहाँले तर्क गर्नमा कहीँ पनि हार खाएको देखिँदैनथ्यो । लवाइ-खवाइ साधारण थियो । धोती, कुर्था लगाउनु हन्थ्यो । एउटा गम्छा हुन्थ्यो । झोला सधैँ साथमा हुन्थ्यो । झोलामा सातु, सुर्ति र किताब मात्र हुन्थ्यो । खाली खुट्टा हिँड्नु हुन्थ्यो । जुुन समुदायमा जन्मियो र हुर्कियो, त्यही समुदायको शैलीमा बाँच्ने उहाँको मान्यता थियो । उहाँले भन्नुहुन्थ्योः म दलितको मान्छे, भूमिहीनको मान्छे । मेरो कपडा फेरिएर दलित भूमिहीनको जिन्दगी फेरिँदैन ।

परिवारमा सुधारः

बलदेव रामले सामाजिक कार्यसँगै परिवारिक व्यवस्थापनलाई पनि सहज बनाउनु भएको थियो । ४ छोराछोरीमध्ये ३ जनालाई राम्रो शिक्षा दिनुभएको थियो । जेठो छोरा ईन्द्र राम स्नातकोत्तरसम्म अध्ययन गरी समाजिक अभियानमै संलग्न हुनुहुन्छ । कान्छो छोरा गणेश रामले डिप्लोमा अध्ययन गरी जनचेतना दलित संगमको नेतृत्व लिनुभएको  छ । कान्छी छोरी प्रमिलाकुमारी रामले स्नातकोत्तर अध्ययन गरी प्राथमिक शिक्षकको स्थायी जागिर पाउनुभएको छ । जेठी छोरीको विद्यालय जाने उमेरमा भने आर्थिक अवस्था नाजुक थियो, गाउँमा विद्यालय थिएन । जसले गर्दा राम्रो शिक्षा प्राप्त हुन सकेन ।

सम्मानः

बलदेव राम, सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान गरे वापत २०५८ मा राष्ट्रिय मानव अधिकार आयोगबाट सम्मानित हुनुभएको थियो । त्यस्तै २०६१ मा टिकाराम मानव मर्यादा पुरस्कारबाट सम्मानित हुनुभयो । २०६२ मा जनउत्थान पुरस्कार, २०६३ मा डा. भीमराव अम्बेडकर पुरस्कार, २०६९ सालमा समाज कल्याण परिषद्‌बाट र २०७३ मा २४ प्रकाश स्मृति तथा मानव अधिकार पुरस्कारबाट सम्मानित हुनुभएको थियो । यसै गरी दलित सेवा संघ, दलित पत्रकार सरोकार समाज लगायत विभिन्न गाविसले समेत सम्मान गरेको थियो ।

सम्झनाः

जातीय, लैङ्गिक र वर्गीय उत्पीडनमा रहेका समुदायको मुक्तिका लागि अनवरत संघर्ष गरेका बलदेव रामको ६७ वर्षको उमेरमा २०७४ साल साउन १७ गते मंगलवारका दिन असामयिक निधन भयो । उहाँले दिनु भएको सन्देश अहिले पनि उत्तिकै सान्दर्भिक छन् । उहाँले भन्नुहुन्थ्योः ‘समाज स्वार्थी छ । आफू अघाएपछि अरुले खानुपर्छ भन्नेमा हेक्का राख्दैन । पेट र सम्मानका लागि संघर्ष गर्नुछ । जहाँ दमन शोषण हुन्छ, त्यहाँ शक्तिको जन्म हुन्छ । त्यसले हिंसात्मक वा अहिंसात्मक गति लिन्छ । यो ऐतिहासिक नियम हो । जुन संसारका कुनै पनि मुलुकमा लागु हुन्छ र भइरेहको छ । तर, हामीले अहिंसात्मक तवरले अन्यायको विरुद्ध संघर्ष जारी राख्नुपर्छ । मान्छेमा रिस हुनुपर्छ । त्यो रिसलाई अहिंसात्मक शक्तिमा बदल्यो भने मात्र जीत सम्भव छ । कौवा जहाँको भए पनि कालै हुन्छ । त्यसैले हामी सबै मिलेर सामन्ती व्यवस्था, शोषण र भ्रष्टाचारको विरोध गर्नुपर्छ ।’

(बलदेव रामका जेठा छोरा इन्द्र रामसँग भएको कुराकानीमा आधारित यस लेखका लेखक भूमि अधिकारकर्मी हुनुहुन्छ ।)