प्रतिक्रियावादीहरु कतिसम्म नरभक्षी हुन्छ्न् भन्ने कुरा पछिल्लो पटक टर्कीको प्रतिक्रियावादी सत्ताले देखाएको छ । स्वतन्त्रताको गला रेटेर बाँचिरहेको टर्कीको प्रतिक्रियावादी सत्ताले २८ वर्षिया क्रान्तिकारी गायिका हेलेन बोलेकलाई निल्यो । २८८ दिनसम्म भोक हड्तालमा रहेकी बोलेकलाई मर्नदिनुमा नै टर्कीको प्रतिक्रियावादी सत्ताले उचित देख्यो ।
टर्की सरकारले कसैको कुरा सुनेन । हेलेन बोलेकहरुको आवाजसँग डराएको टर्की सरकारले त्यो आवाजलाई समाप्त गर्ने दुस्साहस गर्यो । यसले नयाँ हेलेनहरु जन्माउने छ र टर्किश प्रतिक्रियावादीहरुलाई चिहानमा पुर्याउनेछ ।
हेलेनहरुले गाउने क्रान्तिकारी गीतले जनतामा ल्याएको जागरण कोरोना भाइरसको संक्रमणभन्दा अझ द्रुत गतिमा थियो । त्यही भएर टर्की सरकारले हेलेनहरुको दारुण मृत्यु पर्खिरह्यो ।
आमरण अनसनको २८८औँ दिन, यही अप्रिल ३ तारिख शुक्रबार हेलेनले यो धर्तीबाट विदा लिइन् । भौतिक रुपमा हेलेन यो धर्तीबाट विदा भए पनि हेलेनका गीतहरु सँधै गुन्जिरहनेछन् र हेलेनका आवाजहरुले उनलाई विदा गर्ने क्रुर प्रतिक्रियावादी टर्की सरकारलाई विदा गर्नेछ ।
टर्की सरकारले जेलमा हेलेनहरुलाई यातना दिने जुन अभियान चलायो, त्यो अमानवीय यातनाका विरुद्ध हेलेन लगायतका साथीहरू जेलभित्रै अनसन बस्नुपर्यो । हेलेनहरुमाथि आतंकवादी संगठन बनाएर राज्य विरुद्ध विद्रोहको योजना बनाएको अभियोग लगाइएको थियो । जनताको माझमा दिनप्रतिदिन लोकप्रियता बढ्दै गएपछि टर्की सरकारले योरम समूहमाथि जुन प्रतिबन्ध लगायो, त्यो स्पष्ट लोकतान्त्रिक मूल्य-मान्यता माथि कै प्रतिबन्ध थियो ।
सन् १९५५देखि नै अमेरिकी सेना रहेको टर्कीमा अमेरिकी सेनाले टर्कीको सम्पति दोहन गरेकोमा टर्कीका जनतालाई मन परेको थिएन र छैन । त्यसका विरुद्ध योरम समूहले गीतहरु, नाटकहरु, फिल्महरु प्रदर्शन गर्यो । टर्की सत्ताले आफ्ना नागरिकहरुको मुखमा ताल्चा लगाएको हर्कत कुनै पनि क्रान्तिकारीलाई मनपर्ने विषय भएन । राष्ट्रिय स्वाधीनता, देशभक्ति र जनताको पक्षमा योरम समूहबाट बनाइएका गीत, नाटक र फिल्महरु जनताद्वारा औधी रुचाइए ।
योरम समूहका गीतमा टर्कीका जनताले आफ्नै मुक्तिको आवाज भेटे । टर्कीको प्रतिक्रियावादी सत्ताले जनता भड्किने डरले योरम संगीत समूहमाथि धरपकड सुरु गर्यो।
हतियार र कानुनको डण्डाले क्रान्तिकारी गीतको गला रोक्नसक्ने स्थिति बनेन । गीतहरु झनपछि झन् जनताको माझमा बुलन्द बन्दै घन्किन थाले । लाखौँ जनसमुदाय योरम समूहको कन्सर्टमा उपस्थिति भएर आफ्नो आवाजमा आफै झुम्न थाले । योरम टर्कीमा मात्र नभएर यसको वरपर युरोप र एसियाका केही देशहरुमा समेत लोकप्रिय बन्दै गयो । त्यो कुरा अमेरिकी साम्राज्यवाददेखि युरोपेली संघलाई मन परेन । त्यसपछि अमेरिकी साम्राज्यवादको सहयोग र मिलेमतोमा टर्कीको प्रतिक्रियावादी सत्ताले योरम समूहमाथि आतंकवादीको बिल्ला लगाएर दमन सुरु गर्यो ।
विश्वभरका लेखक, बुद्धिजीवीहरु, मानव अधिकारवादीहरुले हेलेनहरुको रिहाइको लागि टर्कीको सरकारसँग माग गरे । वकिलहरुको समूह रिहाइको माग गर्दै अनसनमा बस्यो । गएको नोभेम्बर १९ मा हेलेनलाई रिहा गरियो । तर योरम समूहमाथि लगाइएको प्रतिबन्ध नहटाएसम्म हेलेनहरुले अनसन जारी राख्ने निश्चय गरे । असनकै क्रममा स्वास्थ्य एकदमै बिग्रन थालेपछि मार्च ११ मा हेलेन बोलेक र इब्राहिम गोचेकलाई प्रहरीले अस्पताल लग्यो । तर हेलेनहरुले आफ्ना मागहरु पूरा नभएसम्म उपचार स्वीकार नगर्ने भनी अडान लिएपछि पुन: घर फिर्ता गरियो ।
पहिलो विश्वयुद्धपछि सन् १९२३ मा स्थापना भएको र राजनीतिक अस्थिरतामा रुमलिएको टर्कीमा सन् १९८० मा सैनिक ‘कू’ भयो । सबैतिर प्रतिबन्ध र चारैतिर अँध्यारो छायो ।अध्याँरोप्रति असहमति जाहेर गर्ने चार जनाको योरम ब्याण्ड बन्यो, जुन पिर सुल्तान तथा नाजिम हिक्मत जस्ता हिम्मतीला तुर्केली कविहरुलाई आफ्ना आदर्श ठान्थ्यो ।
टर्कीको प्रतिक्रियावादी सरकारको फासीवादी रवैयासँग शान्तिपूर्ण लडाइँ लडेकी हेलेनलाई प्राण त्याग्न बाध्य बनाइयो । कठोर अठोटका साथ तड्पाइ भोग्दै आएर अप्रिल ३ मा संसारसँग बिदा लिएपनि हेलेनको भौतिक मृत्युले साम्राज्यवादको कथित मानवअधिकारको मुकुण्डो थप उदाङ्गो पारेको छ ।
उनको गीत सुनेका र कला देखेका समस्त विश्वका करोडौँ समर्थक बाहेक वर्गपक्षरतामा अडिग संसारभरका अरबौँ जनसमुदायले उनको आवाज गुन्जाइरहेका छन् । हेलेन तिमी अमर छौ । लाल सलाम हेलेन ।
(राजमोका युवा नेता कुँवर रक्तिम सांस्कृतिक अभियन्ता हुनुहुन्छ।)