माओ, Maotsetung, Mao Zedong, mao tse tung, क. माओत्सेतुङ
 

संसार अहिले राम्रो र नराम्रो पक्षमा विभाजित छ । यद्यपि राम्रो पक्ष के हो र नराम्रो पक्ष के हो भनेर छुट्याउनका लागि परिणाम नै पर्खनुपर्ने अवस्थाले समाज यदाकदा दूर्घटनामा फस्ने गरेको पनि पाइन्छ ।

राम्रो के हो त ? राम्रो भन्ने बित्तिकै समाजमा शान्ति, शुख, सुविधा, विभेदरहित मान्यता, समान व्यवहार, समुन्नत विचारले गाँजिएको शासन सत्ता सञ्चालन जस्ता कुरा नै त पर्ने भए नि । यो सबै समाजको उज्यालो पक्ष हो । उज्यालोमा घाम जुन-तारा जे जति ताकत दिएर उज्यालो दिन सक्छन् ती सबै सकारात्मक र राम्रो अनुभूति दिने पक्षहरु हुन् ।

राम्रोसँगै टाँसिएर आउने नराम्रो चाहिँ के त भन्ने कुराको ब्याख्या लामो चाहिँदैन । यो त समाजको पीडाको गठरी हो । कथामा ‘पाण्डोरा बक्स’ खोल्दा छताछुल्ल भएर समाजलाई डस्न आउने विकृत पक्ष जस्तै जे जति छन् ती सबै नराम्रा नै हुन् । भन्नै पर्दा नराम्रो भनेको हत्या, लुट, काटमार, चोरी, डकैती, बलात्कार, युद्ध, विध्वंस सबै हुन् । यसको ब्याख्या लामो हुन्छ तर पनि नराम्रो गरिएका घटना भने प्रस्तुतिमा जताततै छरिएर आए पनि यसलाई समेट्न सक्ने अवस्थाको सिर्जना सहज हुँदैन । वास्तवमा नराम्रोजति समाजको अन्धकार पक्ष हो । यति भने पुग्छ ।

Shiva Adhikari Shiba Adhikari Darhi shiba
लेखक

यसरी बुझेपछि अन्धकार हटाएर सर्वत्र प्रकाश छर्न के गर्ने ? लामा-लामा समाजिक संघर्षको इतिहास बनेका छन् । त्यस्ता कठिन संघर्षका इतिहासमा विद्यार्थी त फेल भैरहेका हुन्छन् भने अल्पज्ञानले अहम्‌ पलाएका नेताहरुले शासन गरिरहँदा उनीहरु त के देशै फेल हुन के बेर लाग्छ र ? यस्ता उदाहरणहरु धेरै हदसम्म साक्षी भइसकेका छन । हामीले त्यस्ता उदाहरणबाट धेरै सिक्नुपर्ने हुन्छ । अन्यथा हामी अगाडि जानका लागि बनाउन खोजेको बाटो अँध्यारोमै हिँड्नुपर्ने अवस्था अवश्यम्भावी छ ।

अब हामीले रोज्नुपर्ने कहालीलाग्दो अन्धकारको बाटो हो वा सँधै उज्यालिएको उत्साहजनक यात्रा सम्पन्न गर्ने बाटो । यसरी बाटो बनाउन र कहाँ पुग्दा राम्रो ठाउँमा पुगिन्छ भनेर अगुवाई गर्ने कुनै अगुवाको खाँचो हामीलाई सँधै परिरहन्छ । आज यसरी उदाहरणीय रुपमा अगुवाई गर्ने माओको सम्झना र उनको सामाज सुधार र समाज रुपान्तरणको अभियानको अगुवाईको सह्राना मात्र होइन, उनले गरेको सफल अगुवाईको प्रेरणा समेत लिने दिनको रुपमा यो दिनलाई सम्झना गर्नु आवश्यक छ ।

क्रान्ति र आन्दोलन सामाजिक रुपान्तरणका लागि हुन्छ । माओको युग संघर्ष तथा क्रान्तिको युग बन्न पुगेको थियो किनभने उनी जन्मेर समर्थवान भएपछिको विकृत समस्याको निदान कुनै न कुनै नेतृत्वले गर्नुपर्ने अवस्था बनेको हो । उनको समयको त्यो विकराल समस्या र समाजिक उत्पीडन र विदेशी हस्तक्षेपलाई चुनौती दिन साहसिक नेतृत्वको खाँचो थियो । जुन नेतृत्व माओले दिएको कारण नै उहाँ ऐतिहासिक व्यक्तित्व बनेर विश्वमा चर्चित नेताको रुपमा परिचित छन् ।

माओको जन्म २६ डिसेम्बर १८९३ मा चीनको हुनान प्रान्तमा भएको थियो । यसै प्रान्तको शाओसान काउण्टीको छाङ्शामा जन्मेका माओको जीवनशैली अत्यन्त सरल र लजालु स्वभावको थियो । जन्मस्थलमा आफ्ना कृषि पेशामा कृयाशील पिताको व्यायवसायिक आधारमा हुर्केका माओले आफ्नो आठ बर्षको उमेरमा स्थानीय प्राथमिक विद्यालयको शिक्षा सुरु गरेका थिए । उनले प्राथमिक चरणमा उजिङ (कम्फ्युसियन) शिक्षाको अध्ययन पश्चात १३ बर्षको उमेरमा आफ्ना पिताको कृषि व्यवसायमा साथ दिन पुगेका थिए । त्यतिबेलाको शिक्षा कृषि उत्पादन तथा त्यसको लेन देनको हिसाब राखे पर्याप्त हुने खालको थियो ।

माओ चीनका महान क्रान्तिकारी, साम्यवादी विचारक तथा चिनियाँ समाजको परिवर्तनकारी शक्तिको नेतृत्वदायी भूमिकालाई दर्विलो बनाएर चीनलाई आजको शक्तिशाली अवस्थामा पुर्‍याउन अगुवाई गर्ने नेता हुन् । उनले जनवादी चीनको स्थापना सन् १९४९ देखि सेप्टेम्बर ९, १९७६ अथवा मृत्युपर्यन्त नेतृत्व गरिरहे । यसरी नेतृत्व गर्ने क्रममा जिन्हाई क्रान्तिको बेला हुनानको स्थानीय रेजिमेण्टमा भर्ती भएर क्रान्तिकारीहरुको तर्फबाट युद्धमा सामेल भएका थिए ।

जब कुइङ राजवंशको समाप्ति भयो माओ सेना छोडेर आफू फेरी विद्यालयमा शिक्षा आर्जन गर्न थाले । सन् १९१८ मा स्नातक गरेपछि सन् १९१९ को मे ४ मा आन्दोलनको निम्ति प्रध्यापक याङ च्याङजीसँग बेइजिङ गएका थिए । प्राध्यपक उनका ससुरा पनि हुन पुगे । उनी निकै प्रभावकारी प्राध्यापक भएको कारण उनकै सिफारिसमा माओले विश्वविद्यालयको पुस्तकालयमा काम गर्दै आफ्नो अध्ययनलाई समेत निरन्तरता दिन थालेका थिए । यसपूर्व उनी लुओ यिक्सिनोसँग विवाह बन्धनमा बाँधिएका थिए, तापनि यो विवाह उनले स्वीकार गरेका थिएनन् । त्यसपछि उनकै प्राध्यापककी छोरी याँग काइहुईसित बिहे गरेका थिए । पछि सन्‌ १९३० मा कोमिन्ताङले यांग काइहुई र उनको छोरा एनिङलाई समेत पक्राउ गरेको थियो । पछि बन्दी अवस्थामा नै याँग काइहुईलाई मारेर उनका छोरा एनिङलाई भने आफन्तकहाँ पठाइएको थियो ।

चीन क्रान्तिको उत्कर्षको अवस्थामा थियो । यसै क्रममा २३ जुलाई १९२१ म माओले २७ बर्षको उमेरमा साङ्घाईमा चीनको कम्युनिस्ट पार्टीको राष्ट्रिय काँग्रेसमा भाग लिए । दुई बर्षपछि उनी पार्टीको तेश्रो काँग्रेस अधिवेशनबाट पाँच कमिसार मध्यमा एक प्रतिनिधिको रुपमा छानिएका थिए । त्यसै बर्ष माओ हुनान शाखा सञ्चालन गर्नका निम्ति हुनान फर्किएका थिए । सन् १९२४ मा उनी कोमिन्ताङको राष्ट्रिय अधिवेशनका प्रतिनिधि भएपछि केन्द्रीय समितिका प्रमुख पनि हुन पुगेका हुन् ।

यसरी माओको जीवनी पढ्दै जाँदा धेरै उतार चढावहरु भए पनि उनी कहिल्यै हतोत्साही भएनन् । उनी चीनको महान क्रान्तिको नेतृत्वमा रही सफलतापूर्वक कार्यक्रम सञ्चालन गरिरहे । उनी भन्छन् विश्व हाम्रै हो । यो देश हाम्रै हो । समाज हाम्रै हो । हामी बोल्दैनौँ भने को बोल्छ ? हामी गर्दैनौँ भने को गर्छ ? भन्ने दृढताका साथ अग्रसर महान क्रान्तिका नायक माओले अक्टोबरको महान चिनियाँ क्रान्तिको सफल नेतृत्व दिएका थिए ।

अहिले नेपालमा मात्र नभएर विश्व परिवेशमा अभावग्रस्त अधिकार बिहीन जनता माओको सम्झना भइरहेको छ । यसरी पीडित जनताको नेतृत्व गर्ने सामर्थ्य राख्ने नेताहरु विभिन्न कार्यक्रमका आयोजना गर्दै माओको सफल नेतृत्वको शिक्षा दिइरहेका छन् ।

नेपालमा पनि माओको जन्म दिवस मनाइरहँदा यहाँका इतरका शक्तिहरु विदेशी नेताको प्रशंसा र भक्तिबाट के पाइन्छ भनिरहेका छन् । यद्यपि माओकै प्रेरणाप्रद ताकतले क्युवाले सफलता पाएको हो । भेनेजुएलाका ह्युगो माओ कै प्रेरणावाट अगुवा बनेर देशलाई साम्राज्यवादी शक्तिबाट पृथक राख्न सफल थिए । अहिले सोही राष्ट्रका राष्ट्रपति मादुरो पनि प्रतिकृयावादीको जमातलाई परास्त गर्दै साम्राज्यवादी अमेरिकासँग पौँठेजोरी खेल्न सकिरहेका छन् । उत्तर कोरिया क्रान्तिकारी नेतृत्वकै तहबाट आफ्नौ हैसियत उच्च राख्न सफल भएको छ ।

क्रान्तिको आवश्यकता तत्कालीन समयमा सबै देशहरुमा थियो । भारतीय जनता अंग्रेजहरुको शासनबाट मुक्त हुन खोजिहेको अवस्थामा भारतमा दुई किसिमका नेताको अग्रसरता रह्यो । अहिंसावादी नेतामा महात्मा गान्धी थिए भने क्रान्तिकारी नेतृत्वमा सुभाषचन्द्र बोसकै अग्रसरता थियो । करिब माओकै समकालीन नेता बोस २३ जनवरी १८९७ मा जन्मेका थिए भने उनको मृत्यु भयो वा भएन सायद, उनी १८ अगष्ट १९४५ देखि नै यो संसारमा देखिन छाडे । यसरी सुभासचन्द्रले आफ्नो छोटो जीवनकालमा गरेका संघर्षको महत्त्व यदाकदा ओझेलमा परे पनि उनी दक्षिण एसियाका महान् क्रान्तिकारी नेता थिए ।

भनिन्छ महात्मा गान्धीको सत्याग्रहले अंग्रेजहरु परास्त भएका हुन् तर पनि सुभाषचन्द्र बोसको क्रान्तिकारी सेनाको आक्रामक ताकत नभएको भए भारतमा अंग्रेजहरुको अहिलेसम्म शासन चलिरहेको हुने थियो । अन्यथा महात्मा गान्धीले स्वतन्त्र भारतको स्थापनापछि पाकिस्तानको पृथकीकरणको पीडाका साथै उनलाई नाथुराम गोड्सेको गोलीको प्रहार किन खेपिरहनुपर्ने थियो । यसर्थ दक्षिण एसियाली जनताले सुभाषचन्द्र बोसजस्तो क्रान्तिकारी ताकतको जगेर्ना गर्न नसक्दाको परिणाम आज भारतले मात्र होइन समग्र दक्षिण एसियाली मुलुकले समस्या बेहोरिरहेको छ ।

यसैगरी पेरुमा गोञ्जालोको नेतृत्वमा आयाच्युतो क्षेत्रमा चुनाब भइरहेको बेला ब्यालेट बक्स जलाउने र चुनाब बहिस्कारको कार्यक्रमसहित क्रान्तिमा अगाडि आएको वामपन्थी आन्दोलन समेत बुद्धिमतापूर्ण नेतृत्वको अभावमा त्यतिकै तुहिन पुग्यो । उदाहरणका लागि त्यहाँको सरकारले १२ सेप्टेम्बर १९९२ का दिन साइनिङ पाथको नेतृत्व गरिरहेका गुज्मानलाई गिरफ्तार गरेर त्यहाँको वामपन्थी आन्दोलनलाई करिब करिब समाप्त नै गरेको घटना जनताको मुक्तिका लागि लडिरहेको नेतृत्वका लागि गम्भीर गल्ति र जनताले भोग्नुपरेको ठूलो नोक्सानी बनेको छ ।

नेपालमा पनि कमरेड प्रचण्डको नेतृत्वले ठूलो हलचल ल्याएको हो । ठूला ठूला सैन्य शक्तिको आडमा हुर्किरहेको शाही सेनालाई परास्त गर्दै दश बर्षसम्मको महान् जनयुद्ध धानिरहेको अवस्थामा देशलाई स्वतन्त्र रुपमा विकासको बाटोमा लैजान युद्धको पृष्ठभूमिामा सबै परिवर्तनकारी शक्ति एकाकार हुनुपर्छ भनेर प्रचण्डले चतुरतापूर्वक दोस्रो जनआन्दोलनको मोडमा माओवादी जनयुद्धलाई अवतरण गराएका हुन् । यदी यो चतुरता नदेखाएको भए सायद नेपालको क्रान्ति पनि भारतीय जनताको अधुरो स्वतन्त्रता र हैकमवादी तानाशाही र पेरुको साम्राज्यवादी तानाशाहीको जस्तै स्वरुपको हुने थियो । यसरी माओ जति चीनलाई स्वतन्त्र र शक्तिशाली राष्ट्रको रुपमा स्थापित गर्न सफल भए त्यसैगरी प्रचण्ड नेपाललाई दक्षिण एसियामा सशक्त शक्तिशाली शान्ति क्षेत्र बनाउन लागि परेका छन् ।

अहिले प्रचण्ड क्रान्तिकारी शक्ति एकतृत गर्नेतर्फ अग्रसर देखिन्छन् भने राष्ट्रको रक्षाका लागि सबै राष्ट्रवादी शक्तिलाई एकाकार गरेर देशलाई सम्बृद्ध बनाउने अभियानमा समेत उनी अग्रसर छन् ।

प्रचण्डको नेतृत्वमा भएको जनयुद्धमा १७ हजार हताहत भए । यति ठूलो संख्यामा जनयुद्ध नभएको भए हताहत भएर नाहकमा जनताले ज्यान गुमाउनु पर्ने थिएन की ? यो प्रश्न माओवादी इतरका समूहको हो । यद्यपि यदि यो जनयुद्ध नभएको भए राजतन्त्रको मनोमानी पाखा लाग्न सक्थ्यो ? जनताले आत्मनिर्णयको अधिकार लिन सक्थे ? यसर्थ माओले आफ्नो दर्विलो अडानका साथ जसरी चीनका क्रान्तिकारीहरुको नेतृत्व गरिरहे त्यसैगरी प्रचण्ड पनि यहाँका क्रान्तिकारीको नेतृत्व गरिरहेका छन् । यसो भनिरहँदा उनी मात्र यो देशका क्रान्तिकारी हुन् त भन्ने प्रश्न अगाडि आइरहन्छ । अरु पनि छन्‌ तर आफूलाई परिवर्तनको आँधीबेहेरीमा चतुरतापूर्वक नेतृत्वदायी भूमिकामा उभ्याउन प्रचण्डलाई साँच्चै कुशल नेताको रुपमा लिनुपर्छ ।

अबका दिनमा प्रचण्डले जसरी आफू प्रधानमन्त्री भएको अवसरमा चीनसँग बेल्ट एण्ड रोडको समझदारी गरेर त्रिदेशीय सहकार्यको अवधारणा अगाडि ल्याए । यो अवधारणा सी चिनफिङले ल्याएको बेल्ट एण्ड रोड जतिकै सशक्त अवधारणा हो । यद्यपि यो अवधारणालाई सहज रुपमा बहसमा नल्याएर ‘टु प्लस वन’मा पुगेर अल्झिएको पाइन्छ । फेरि प्रचण्ड स्वयं पनि आफूले लिएको अवधारणालाई अग्रसर गराउन अझै जोड्दार रूपले लाग्नुपर्ने देखिन्छ । यसैले अबका दिनमा ‘टु प्लस वान’ होइन त्रिदेशीय सहकार्यको अवधारणामा एसियाली क्षेत्रको विकास तथा समृद्धिको स्वरुप सी चिनफिङको बेल्ट एण्ड रोडको अवधारणासँगै लानुपर्छ । यो कार्यक्रमलाई नेपाल-भारत-चीन सहकार्यको केन्द्रमा अन्य देशहरु थप्दै बरु ‘थ्री प्लस वान’ गर्दै अगाडि बढ्दा पनि फलदायी हुन्छ ।

आज भारत आफ्नै मिचाहा प्रवृत्तिको कारण नराम्रो खाडलमा फस्दै गएको छ । भारतलाई कालापानीको एकमुठी माटोले केही हुँदैन । सुस्तमा आएर पिल्लर भत्काउनु, सीमा क्षेत्रका नेपालीलाई दुःख दिनु के भारतको राम्रो काम कसैले भन्न सक्छ ? के अर्घेल्याँई छ र नेपालको भारतप्रति । भारतीयले नेपालमा मजदुरीदेखि व्यापार-व्यवसाय गरेर भारतलाई विश्वस्तरबाट प्रप्त हुने विप्रेषण (रेमिट्यान्स)को पाँचौ स्थानमा योगदान दिइरहेको छ । भारतले बन्दरगाहको कब्जाबाट पारबाहन सुविधा दिएको होला तर पनि नेपालको भारतप्रति योगदानको हिसाब हुँदैन ? नेपालले नदिए भारतलाई के हुन्छ ? भारतले नेपालको पानी बिना शुल्क उपभोग गरिरहेको छ । के कुनै पनि देशको श्रोत सित्तैमा प्रयोग गर्न सकिने कुरा हो र ? यसैले अब त महाकालीको पानी गण्डक र कोसी लगायतका पानीको राजश्व भारतले कहिले तिर्ने हो ? यो हिसाब किताब नेपाली जनताले खोज्न नपाउने ? यस अवस्थामा ६० हजारभन्दा बढी वर्ग किलोमिटर भूभाग हडपिरहेको अवस्थामा भारत फेरि कालापानीमा कब्जा जमाउन पुग्नु कहाँको न्यायसंगत कुरा हो ? के अब भारत नेपालमाथि मिसाइल हान्न तयार भएको हो त ?

साँच्चै हो भने हामी पनि सिलगुडिदेखि बंगलादेशसम्मको निकासाका लागि त्यस क्षेत्रको कब्जा गर्छौ  । त्यो हामीलाई अति आवश्यक भएको निकास हो । मान्छ त भारत ? यसैगरी दार्जिलिङ, सिक्किमका जनता भारतीय हुनुभन्दा नेपाली हुन रुचाउँछन । के भारतले यो उनीहरुको भावना बुझेको छ त ? कुमाउँ-गडवाल नेपाली वीरताको गाथा गाइरहेको छ । भारतीय हुनुभन्दा नेपाली हुनुमा उनीहरु गर्व गर्छन् । के त्यो स्वीकार्य हुन्छ त भारतलाई ? यी सबै समस्या केलाउँदै देशको समृद्धिका लागि नेपाल अहिले रणनैतिक आधारशीलामा उभिएको छ । यसरी समृद्धिको अभियानमा लागेका जनतालाई माओले जस्तै प्रचण्डले नेतृत्व दिएका छन र उनले दिनुपर्छ ।

यी सबै परिवेशमा प्रचण्डले त्रिदेशीय सहकार्यबाट सबैको समस्या समाधान गर्ने आधार बनाउन खोजेको कुरालाई भारत स्वयंले प्रशंसायोग्य कदम भनेर कार्यक्रमसहित अगाडि आउनुपर्ने थियो । किन यो कुरालाई पटक्कै चासो राखिरहेको छैन ? यो कुरा विश्व समुदायमा विचारणीय बन्दै गएको छ । अहिले नेपाल समृद्धिको अभियानमा लागिरहेको छ । अब नेपालको समृद्धिलाई कुनै पनि शक्तिले रोक्न सक्दैन र नेपालीको अबको क्रान्ति भनेको समृद्धि हासिल गर्ने क्रान्ति हो । यो क्रान्तिको नेतृत्व पनि अब प्रचण्डले नै गरिरहेका छन् र सफलतापूर्वक सम्पन्न हुँदै जान्छ भन्ने कुरामा क्रान्तिकारीहरु विश्वस्त पनि छन् ।

यस अवस्थामा हामी आज माओ जन्मजयन्ती मनाइरहेका छौँ । एउटा सफल क्रान्तिकारी नेताको जन्मजयन्ती मनाइरहेका छौ । यो जन्मजयन्ती मनाउन पाउनु हाम्रा लागि मात्र नभएर विश्व उत्पीडित जनताका लागि गर्वको कुरा हो । यसै अवसरमा माओले लिएको पञ्चशीलको सिद्धान्तमा अडिग भएर समृद्धिको बाटो हुँदै विश्वशान्तिमा पुग्ने प्रयास गरौँ । अब अध्याँरोमा हिँड्ने होइन उज्यालो बाटोमा सबै समृद्धिको बाटोमा हिँड्नुपर्छ । भारतले पनि यस कुरामा संकोच मानिरहनु पर्दैन । अहिलेकै अवस्थामा अगाडि बढ्ने हो भने भारतले एकीकृत भएर निरन्तरता पाउने संभावन कम हुँदै गएको छ । यसर्थ अबका दिनमा दक्षिण एसियाका जनताको मात्र नभएर विश्वसमुदायकै शान्ति र समृद्धिमा हाम्रो योगदान रहनुपर्छ । यस अर्थमा माओवाद जिन्दावाद भन्न कुनै संकोच मान्नु पर्दैन । अहिलेलाई यति नै ।

यो पनि पढ्नुहोस्ः

मोदीको नेपाल हडप्ने चाहना र भारत विघटनको संभावना

(लेखक वरिष्ठ अर्थशास्त्री तथा राजनीतिक विश्लेषक हुनुहुन्छ ।)