आजभन्दा नौ महिना अगाडि जुन १८, २०२३ (३ असार २०८०) नेपालका चार पार्टीहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी, नेपाल मिलेर समाजवादी मोर्चा नेपालको घोषणा गरेका थिए । हिजो मार्च २, २०२४ (चैत्र २०, २०८०) मा त्यही समाजवादी मोर्चा नेपालले काठमाडौँको राष्ट्रिय सभागृहमा ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रम गर्यो । विज्ञवक्ता, आयोजक र अतिथि गरी १३ वक्ताले आ-आफ्ना धारणा राखेका थिए । समाजवादी मोर्चामाको अन्तर्क्रिया कार्यक्रममा संविधान, निर्वाचन प्रणाली, जातिय मुद्दा, संघीयता, गणतन्त्र, लोकतन्त्र, विज्ञान-प्रविधि, शिक्षा, स्वास्थ्य, न्याय, कानुन, भागबण्डा, भ्रष्टाचार, संसद, सडक, सत्ता, जनता, वामपन्थी एकता धेरै कुरा उठे तर नेपाली विशेषताको समाजवादबारे कोही प्रष्ट देखिएनन् । आखिर के रहेछ नेपाली विशेषताको समाजवाद ?
छिमेकी मुलुक चीनमा ‘चिनियाँ विशेषताको समाजवाद’बारे ४० वर्षदेखि धेरै चर्चा चलिरहेका छन् । विषयबारे विविधता बढी देखिन्छ । यसलाई माओको निरन्तरता भनिन्छ भने यसैलाई माओको क्रमभङ्गता भन्नेहरूको पनि कमी छैन । चिनियाँ विशेषताको समाजवादबारे धेरै किताबहरू लेखिएका छन् । मैले पढेका केही किताबहरूको आधारमा यहाँ सानो धारणा राख्नु उपयुक्त नै होला ।
सन् १९७६ मा माओ त्सेतुङको मृत्युपछि प्रकारान्तरले तेङ सियाओपिङको अभ्युदय भयो । तेङ सियाओपिङले सेप्टेम्बर १, १९८२ देखि नोभेम्बर १, १९८४ सम्म विभिन्न फोरममा गरेका भाषणहरूको संग्रह पुस्तकका रूपमा चिनियाँ भाषामा डिसेम्बर १९८४ र अंग्रेजीमा १९८५ मा फरेन ल्याङ्वेज प्रेस बेइजिङबाट प्रकाशित भयो । यो पुस्तकमा तेङका २२ वटा भाषण संग्रहित रहेका छन् । २२ भाषणमध्ये १४औँ भाषण जुन ३०, १९८४ चीन भ्रमणमा रहेका जापानी प्रतिनिधिहरूलाई सम्बोधन गरिएको ‘बिल्ड सोसलिज्म विथ चाइनिज क्यारेक्टरस्टिक्स’ भाषणका नाममा नै पुस्तकको नाम राखिएको छ । सवा पाँच पृष्ठको यो भाषणको सुरुवात नै तेङले ‘ग्याङ अफ फोर’को आलोचनाबाट सुरु गरेका छन् । भाषणमा तेङले महान चिनियाँ सांस्कृतिक क्रान्तिको पनि आलोचना गरेका छन् । समग्रमा ३५ वर्षको चिनियाँ कम्युनिस्ट पार्टीको गौरवमय गाथालाई तेङले अवमूल्यन गरेका छन् ।
सन् १९७९ मा जापानी प्रधानमन्त्री माशायोसी ओहिरा चीन आएको बेला चिनियाँहरूको वार्षिक प्रतिव्यक्ति आय ८०० अमेरिकी डलर मात्र रहेको त्यसलाई द्रुत गतिमा बढाउने चिनियाँ योजना रहेको तेङको भनाइ थियो तर चीनले माओको नेतृत्वमा महान छलाङ मारेका मुद्दाहरू लुकाइए । सन् १९६६-७६ सांस्कृतिक क्रान्तिको बेला चीनको आर्थिक वृद्धि दर ७.४९ प्रतिशत थियो, जबकि अमेरिकाको १.३४, बेलायतको १.६०, पश्चिम जर्मनी २.७ र जापान ६.६ प्रतिशतको आर्थिक वृद्धि दर थियो । तेङले जति बेला विश्व खुला भइरहेको थियो, चीन बन्द रहेको आलोचना गर्न पनि पछि परेनन् । गाउँले सहरलाई घेर्ने, मार्क्सवाद र समाजवादको भिन्नता बुझ्ने, पछौटे चीनलाई उत्पादक शक्तिहरूको विकास गर्ने आफ्नो योजना रहेको बताए । तेङको यही पुस्तक प्रकाशनपछि चिनियाँ विशेषताको समाजवादको चर्चा चलिरहेको छ ।
रोनाल्ड बोएरको पुस्तक ‘सोसलिज्म वीथ चाइनिज क्यारेक्टरस्टिक्स’ सन् २०२१ मा प्रकाशित भयो । यो पुस्तकमा लेखकले चिनियाँ विशेषताको समाजवादबारे विदेशीहरूको सोच लेखेका छन् । सन् २०२० मा ‘ग्लासनोस्त र पेरेस्त्रोइका’का लेखक हरपाल बरारको पुस्तक ‘सोसलिज्म वीथ चाइनिज क्यारेक्टरस्टिक्स’ माओलाई समर्पण गरेका छन् । यो पुस्तकमा लेखकले अहिले पनि चिनियाँ जनताहरूको सर्वप्रिय नेता माओ नै रहेको उनको धारणा देखिन्छ । लेखकले चीनका गाउँमा माओका फोटाहरू घरघर देखिन्छ भने तेङको फोटो बिरलै चिनियाँहरूका घरमा पाइन्छन् लेखेका छन् । यो पुस्तक चिनियाँ विशेषताको समाजवादबारे आलोचनात्मक रूपमा लेखिएको छ ।
चीनमा माओपछि सबैभन्दा चर्चामा रहेका व्यक्ति हाल चीनका राष्ट्रपति सी जिनपिङ हुन् । उनले चिनियाँ जनतालाई दुई चरणको विकासका सपना देखाएका छन् । पहिलो चरण २०२०-२०३५ सामाजिक आधुनिकरण जसमा बीआरआइ पनि रहेको छ । दोस्रो चरण २०३५-२०५० चीन महान् आधुनिक सामाजिक सुन्दर देशको सपना रहेको छ ।
सी नोभेम्बर २०१२ मा सत्तामा आएपछि चीनले विकासको निकै फड्काहरू पार गरेको छ । ७.२ प्रतिशतको आर्थिक वृद्ध दर, प्रतिवर्ष १ करोड ३० लाख सहरी रोजगारीको सिर्जना, १.५७ ट्रिलियन युआन अनुसन्धान र विकासमा खर्च, ४० करोड चिनियाँहरूको मध्यम वर्गमा उन्नयनले सुखसुविधाको उपलब्धता छ । तर चिनियाँ विशेषताको समाजवादबारे समस्याहरू देखिएका छन् । चीनको स्वास्थ्य नीति असमान छ, पीपीपी मोडेलको उच्च शिक्षा सबैलाई सुलभ र उपलब्ध छैन, गाउँ र सहरको असमानता बढ्दो छ, वातावरण दिगोपनको कुनै नीति छैन, विश्वमा सबैभन्दा बढी खानीमा मर्नेको संख्या चीनमा रहेको छ, आत्महत्या गर्ने चिनियाँहरूको संख्या बढिरहेको छ ।
नेपालमा त्यही अनुकरणका माओवादी पार्टीहरू तेङको तोता बोल्न थालेका छन् । नेपाली विशेषताको समाजवादका वैचारिक आधार के हो ? यसको संगठनात्मक स्वरूप के रहने हो ? नक्कल गर्ने अक्कलले परिणाम के ल्याउँछ ? थाहा चाहियो ।