माओवादी जनसंगठन , चित्रबहादुर श्रेष्ठ, जगत सिम्खडा, दलजित श्रीपाली, अमर परियार
 

काठमाडौँ । लघुवित्त पीडितहरूको संघर्षमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघले ऐक्यबद्धता जारी गर्दै गिरफ्तार गरिएका लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समिति, नेपालका सम्पूर्ण अभियन्ताहरूलाई बिनाशर्त अविलम्ब रिहाइ गर्न माग गरेका छन् ।

आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेकपा (माओवादी केन्द्र) निकट ४ वटा प्रभावशाली जनवर्गीय संगठनहरूले लघुवित्तीय संस्थाहरूको शोषण र अत्याचारबाट पीडित जनसमुदायको संघर्षबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समिति नेपालको न्यायपूर्ण संघर्षको पक्षमा दृढ ऐक्यबद्धता जाहेर गरेका छन् भने नेपाल सरकारसमक्ष लघुवित्त पीडितहरूका मागहरू यथाशीघ्र सम्बोधन गर्न माग गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)का प्रभावशाली जनवर्गीय संगठनहरूका अध्यक्षहरूद्वारा हस्ताक्षर गरिएको संयुक्त प्रेस विज्ञप्तिमा मणिराम ज्ञवालीसहित आमरण अनसनमा बसेका लघुवित्तीय संस्था पीडितहरूसँगको वार्तापश्चात नेपाल सरकारले गठन गरेको तर समस्या समाधानमा कुनै पहल नगरेको असक्षम, गैरजिम्मेवार र अकर्मण्य वार्ता समिति तत्काल भंग गरी नयाँ उच्चस्तरीय वार्ता समिति गठन गर्न माग गरिएको छ भने नेपाल सरकारले लघुवित्त सम्बन्धी समस्या समाधान गर्न गठन गरेको वार्ता समितिमा आफ्नो प्रतिनिधि समेत नपठाउने र लघुवित्तहरूलाई नियमन नगरी लाखौँ जनतालाई पीडित बनाई हजारौँ जनतालाई सडकमा आउन वाध्य बनाउने नेपाल राष्ट्र बैंकका गभर्नर र अन्य पदाधिकारीलाई अविलम्ब बर्खास्त गर्न माग गरेका छन् ।

जनसमुदायको आधारभूत वर्गका किसान, मजदुर, दलित र सुकुम्बासी सम्बद्ध जिम्मेवार जनवर्गीय संगठनहरूले आफ्नो संयुक्त प्रेस विज्ञप्तिमा राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै समाजवादको आधार तयार गर्ने जनपक्षीय र गरिबमुखी मौद्रिक नीति जारी गर्न पनि सरकार समक्ष माग गरेका छन् ।

विज्ञप्तिमा लघुवित्तहरूले लगाउने ब्याजदर १ अंकमा झार्न, लघुवित्तहरूले चक्रिय ब्याज र हर्जानाको नाममा मासिक ३६% भन्दा बढी ब्याज लगाउने कार्य अविलम्ब रोक्न, लघुवित्तको नाममा चलाइएको संस्थागत मिटरब्याजको धन्दा बन्द गर्न, लघुवित्तहरूबाट कालो सूची (कर्जा सूचना केन्द्र)मा नाम राखिएका सबैको नाम तत्काल हटाई धितो लिलामी प्रक्रिया रोक्न माग गर्दै लघुवित्तबाट लिएको ऋणको कोरोनाकालदेखि हालसम्मको सम्पूर्ण ब्याज र हर्जाना मिनाहा गर्न, बाँकी साँवा चुक्ता गर्न बढीमा ५ वर्षको अवधि दिई ऋणको पुनर्तालिकीकरण (नयाँ किस्ता जारी) गर्न र नेपाल राष्ट्र बैंकको निर्देशिका पालना नगर्ने लघुवित्तहरूलाई अविलम्ब कडा कारबाही गर्न पनि माग गरिएको छ ।

संयुक्त प्रेस विज्ञप्तिको पूर्णपाठः

हामी अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघको लघुवित्तीय संस्थाहरूको शोषण र अत्याचारबाट पीडित जनसमुदायको संघर्षबारे गम्भीर ध्यानाकर्षण भएको छ । हामी लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समिति नेपालको न्यायपूर्ण संघर्षको पक्षमा दृढ ऐक्यबद्धता जाहेर गर्दछौँ र नेपाल सरकारसमक्ष निम्म मागहरू प्रस्तुत गर्दै यी मागहरू अविलम्ब पूरा गर्न जोडदार माग गर्दछौः

१. लघुवित्त पीडितहरूका मागहरू यथाशीघ्र सम्बोधन गरियोस् । गिरफ्तार गरिएका लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समिति नेपालका सम्पूर्ण अभियन्ताहरूलाई बिनाशर्त अविलम्ब रिहाइ गरियोस् ।

२. मणिराम ज्ञवालीसहित आमरण अनसनमा बसेका लघुवित्तीय संस्था पीडितहरूसँगको वार्तापश्चात नेपाल सरकारले गठन गरेको तर समस्या समाधानमा कुनै पहल नगरेको असक्षम, गैरजिम्मेवार र अकर्मण्य वार्ता समिति तत्काल भंग गरी नयाँ उच्चस्तरीय वार्ता समिति गठन गरियोस् ।

३. नेपाल सरकारले लघुवित्त सम्बन्धी समस्या समाधान गर्न गठन गरेको वार्ता समितिमा आफ्नो प्रतिनिधि समेत नपठाउने र लघुवित्तहरूलाई नियमन नगरी लाखौँ जनतालाई पीडित बनाई हजारौँ जनतालाई सडकमा आउन वाध्य बनाउने नेपाल राष्ट्र बैंकका गभर्नर र अन्य पदाधिकारीलाई अविलम्ब बर्खास्त गरियोस् ।

४. राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै समाजवादको आधार तयार गर्ने जनपक्षीय र गरिबमुखी मौद्रिक नीति जारी गरियोस् ।

५. लघुवित्तहरूले लगाउने ब्याजदर १ अंकमा झारियोस् । लघुवित्तहरूले चक्रिय ब्याज र हर्जानाको नाममा मासिक ३६% भन्दा बढी ब्याज लगाउने कार्य अविलम्ब रोकियोस् र लघुवित्तको नाममा चलाइएको संस्थागत मिटरब्याजको धन्दा बन्द गरियोस् ।

६. लघुवित्तहरूबाट कालो सूची (कर्जा सूचना केन्द्र)मा नाम राखिएका सबैको नाम तत्काल हटाई धितो लिलामी प्रक्रिया रोकियोस् ।

७. लघुवित्तबाट लिएको ऋणको कोरोनाकालदेखि हालसम्मको सम्पूर्ण ब्याज र हर्जाना मिनाहा गरियोस् । बाँकी साँवा चुक्ता गर्न बढीमा ५ वर्षको अवधि दिई ऋणको पुनर्तालिकीकरण (नयाँ किस्ता जारी) गरियोस्।

८. नेपाल राष्ट्र बैंकको निर्देशिका पालना नगर्ने लघुवित्तहरूलाई अविलम्ब कडा कारबाही गरियोस् ।

हार्दिक क्रान्तिकारी अभिवादनसहित ।

चित्रबहादुर श्रेष्ठ
अध्यक्ष
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

जगतबहादुर सिम्खडा
अध्यक्ष
अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)

दलजित श्रीपाइली
अध्यक्ष
नेपाल दलित मुक्ति मोर्चा

अमर परियार
अध्यक्ष
अखिल नेपाल सुकुम्बासी संघ

मितिः २०८०/११/१५ 

press release by kisan, majdoor, sukumbasi, dalit on microfinance victims