ऋषिराम शर्मा, rishi ram sharma
 

राज्यको जन्म र विकास

राज्य भनेको सत्ता हो। वर्गीय हित रक्षाका लागि विरोधी वर्गमाथि नियन्त्रण र दमन गर्ने राजनैतिक संगठन हो । लेनिनले राज्यलाई ‘वर्गीय दमनको हतियार र असाध्यवर्गहरूको उपज’ भन्नुभयो (Lenin’s State and Revolution, Selected Works. p. 265. Published Moscow 1977) । राज्यको उदय समाजका वर्गहरूको विभाजित भएका कारणले नै भएको हो ।

एङ्गेल्सका अनुसार ‘राज्य अनादिकालदेखि नै अस्तित्वमा रहेका होइनन्, त्यस्ता समाजहरू पनि थिए जहाँ राज्य र राज्यशक्तिबारे कुनै सोच नै थिएन । यो बिना नै काम चलाइन्थ्यो । आर्थिक विकासको एउटा निश्चित चरणमा पुगेपछि समाज स्वभावतः वर्गहरूमा विभाजित हुन पुग्यो । त्यस विभाजनको परिणामस्वरूप राज्य एक आवश्यकता बन्न पुग्यो । राज्यको उत्पत्ति वर्गीय विरोधी मानिसहरूलाई नियन्त्रणमा राख्नका निम्ति मात्र नभएर वर्गहरू बिचको द्वन्द्वका कारणले समेत हुन गएको हो (Engels, Origin of Family, Private Property & State (Foreign Language Press Peking 1978-P. 250, 208)।

एङ्गेल्सका उक्त भनाइहरू सटीक, घनीभूत र सारभूत ढङ्गले अभिव्यक्त भएका छन् । वास्तवमा प्राचीन कालको समाजमा राज्यसम्बन्धी सोच र धारणाहरू मानव जातिमा विकास भएको थिएन । तर आर्थिक उत्पादनका कारणहरूले नै मानव समाजलाई त्यो दिशातर्फ उन्मुख गरायो । धनी र गरिब, हुने र नहुने, बलियो र निर्बलियो, शासक र शासित, उत्पीडक र उत्पीडितको रूपमा समाज विभक्त हुने थालेपछि नै राज्यले विस्तारै आकार ग्रहण गर्दै गयो र राज्यको उत्पत्ति भयो । एङ्गेल्सले आफ्नो पुस्तक परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्तिमा यी विषयहरूमा सविस्तार र शानदार ढङ्गले उल्लेख गर्नु भएको छ । सो सम्बन्धमा एङ्गेल्सका रचनाहरू बढी वैज्ञानिक देखिन्छन् ।

राज्यको उत्पत्ति जसरी भयो त्यसको विलोप हुनु पनि अवश्यम्भावी छ भन्ने विषयमा एङ्गेल्स लेख्नुहुन्छ- ‘राज्य अनादि कालबाट आएको छैन । यस्ता समाज पनि देखिए जसले विना राज्य नै आफ्नो काम चलाए । जसलाई राज्य र राज्यसत्ताको कुनै पनि प्रकारको ज्ञान थिएन । आर्थिक व्यवस्थाको एक निश्चित अवस्थामा पुगेपछि जो समाजको वर्गहरूमा विभाजन हुनुका साथै, अनिवार्य रूपले जोडिएको थियो, यसै विभाजनको कारण राज्य अनिवार्य बन्दै गयो । अब हामी उत्पादनको विकासको यस्तो अवस्थातर्फ तेजीसाथ अगाडि बढिरहेका छौँ, जसमा यी वर्गहरूको अस्तित्व अनावश्यक मात्र होइन, अपितु, उत्पादनका लागि निश्चितरूपले एक बाधा बन्न जान्छ । वर्गहरूको त्यति नै अवश्यम्भावी ढङ्गले विनाश हुनेछ जति अवश्यम्भावी ढ‌ङ्गले तिनको जन्म भएको थियो । त्यसका साथै राज्य पनि अनिवार्य रूपले विलुप्त हुनेछ । जसले समाज जे उत्पादकहरूको स्वतन्त्र तथा समान सहयोगको जगमा उत्पादनको संगठन गर्नेछ, त्यसै समाजले राज्यको पूरै मेसनरीलाई उठाएर त्यसको ठाउँमा राखिदिनेछ, जुन त्योबेला त्यसका लागि सबैभन्दा उपयोगी हुनेछ, अर्थात् त्यसले राज्यलाई हाते चर्खा र काँसका बञ्चराका साथसाथै प्राचीन वस्तुहरूको सङ्ग्रालयमा राखिदिनेछ’ (एङ्गेल्स)।

कम्युनिष्ट पार्टीहरू र कम्युनिष्टहरूको ध्येय र लक्ष्य सबै प्रकारका सामन्तवादी, पुँजीवादी, साम्राज्यवादी सबै प्रकारका प्रतिक्रियावादीहरूका शक्तिहरूबाट राज्यसत्ता कब्जा गर्दै, क्रान्ति सम्पन्न गर्दै अन्ततः समाजवाद हुँदै साम्यवाद (राज्य विलोपको अवस्था) सम्मको निरन्तर यात्रालाई अगाडि बढाएर मात्रै मार्क्सवाद मूल मर्म र सारतत्त्वलाई ग्रहण गरेको अर्थ लाग्छ ।

सामाजिक क्रान्ति

सामाजिक क्रान्ति भनेको पुरानो समाजका सबै प्रकारका सैद्धान्तिक, राजनैतिक, वैचारिक, आर्थिक, सामाजिक, सांस्कृतिक गठबन्धनहरू र पुराना सम्बन्धहरूलाई बलपूर्वक तोडेर नयाँ सैद्धान्तिक, वैचारिक, राजनैतिक, आर्थिक, सामाजिक सांस्कृतिक सम्बन्धहरूलाई स्थापित गर्नु हो । क्रान्ति द्वन्द्वात्मक ढङ्गले सम्पन्न हुने कुनै आकस्मिक घटना होइन । सामाजिक विकासको निश्चित चरणमा विद्यमान सामाजिक जीवनका भौतिक अवस्थाका कारणले उत्पन्न हुने विभिन्न प्रकारका अन्तर्विरोधहरूको परिणामस्वरूप उत्पन्न हुने नियमित र स्वभाविक प्रक्रिया हो। पुराना उत्पादन सम्बन्धहरूलाई बचाइराख्न चाहने प्रतिक्रियावादी वर्गहरू एकातिर र नयाँ उत्पादन सम्बन्धको विकासको ढोका खोल्न चाहने कम्युनिष्ट क्रान्तिकारीहरू र प्रगतिशील शक्तिहरू अर्कोतिर खडा भई भीषण संघर्षहरू सञ्चालन हुन्छन्, त्यो संघर्ष नै क्रान्ति हो ।

मार्क्स भन्नुहुन्छ- ‘विकासको एक निश्चित चरणमा पुगेपछि समाजका भौतिक उत्पादक शक्तिहरू तत्काल विद्यमान उत्पादन सम्बन्धहरू जसलाई कानुनी भाषामा सम्पत्ति सम्बन्ध भन्न सकिन्छ र जस अन्तर्गत रहेर उनीहरूले त्यसबेलासम्म काम गर्दै आएका हुन्छन् – सँग टकराउन थाल्दछन् । ती सम्बन्धहरू उत्पादक शक्तिको विकासका निमित्त अनुरूपकताको अवस्थाबाट बाधकको रूपमा फेरिन्छन् तब सामाजिक क्रान्तिको युग सुरू हुन्छ । आर्थिक आधारमा परिवर्तन ल्याउनुका साथै सि‌ङ्गो विशाल माथिल्लो संरचनामा धेरथोर तीव्रताका साथ परिवर्तन हुन पुग्दछ’ (Marx, Preface of Contribution to the Critique of Political Economy (Marx-Engels Selected Works) P. 181-182. 1988) ।

कम्युनिस्ट आन्दोलनको इतिहासमा सामाजिक क्रान्तिहरू बल प्रयोगको आधारमा हुने गरेका छन् । मार्क्सलाई उद्धृत गर्दै एङ्गेल्स भन्नुहुन्छ, ‘मार्क्सका शब्दमा प्रत्येक यस्ता पुराना समाजका लागि जसको गर्भमा नयाँ समाजका अंकुर बढिरहेका छन्, बल प्रयोगले बच्चा पैदा गर्ने ‘सुडेनी’ को काम गर्दछन्, बल त्यो औजार हो जसको मद्दतबाट सामाजिक गतिले पुराना, मृत, आश्भिभूत राजनीतिक रूपहरूलाई तोडेर आफ्ना लागि बाटो बनाउँछ’ (ड्युहरिङ मत खण्डन पृष्ठ २९५- प्रगति प्रकाशन मास्को, १९८५) ।

वर्ग संघर्षको बलपूर्वक राज्य सत्ता कब्जा गर्ने अवधारणाका सम्बन्धमा लेनिन यसरी अभिव्यक्त गर्नुहुन्छ ‘केन्द्रीकृत राज्यसत्ता जुन बुर्जुवा समाजको विशेषता हो, निरंकुशताको पतनको युगमा उत्पादन भएको थियो । राज्यको यो मेसिनरिका लागि दुई संस्थाहरू विशेषरूपमा लाक्षणिक छन्- नोकरशाही र स्थायी फौज । आफ्ना रचनाहरूमा मार्क्स र एङ्गेल्सले बराबर के कुरा बताउनु भएको छ भने यी संस्थाहरू हजारौँ शत्रुहरूद्वारा बुर्जवा वर्गका साथ आबद्ध रहेका छन् (लेनिन संकलित रचना दस खण्ड मेँ ७ खण्ड पृ. ४५ र ४६ प्रगति प्रकाशन मास्को, १९८४) ।

बल प्रयोगको सन्दर्भमा माओको मान्यता यस्तो रह्यो, ‘राज्यसम्बन्धी मार्क्सवादी सिद्धान्तअनुसार सेना राज्य सत्ताको मुख्य तत्त्व हुन्छ । रूसी कम्युनिस्ट पार्टीले बन्दुकहरूले समाजवादको सृष्टि गरे । हामीले एक जनवादी गणराज्यको सृष्टि गर्नेछौँ । साम्राज्यवादका युगमा वर्ग संघर्षका अनुभवहरूबाट के शिक्षा मिल्दछ भने केवल बन्दुकको बलमा नै मजदुर वर्ग र श्रमजीवी जनसमुदायले सशस्त्र पुँजीपति वर्ग र जमिन्दारहरूलाई हराउन सक्तछन् । यस अर्थमा हामी के भन्न सक्तछौँ भने केवल बन्दुकको माध्यमबाट नै सम्पूर्ण दुनियाँको रूपान्तरण गर्न सकिन्छ’ (माओत्से तुङ सैनिक संकलित रचनाएँ पृ. ३९४/९५ प्रकाशन पेकिङ, १९६९) ।

(साभारः नेकपा (माओवादी केन्द्र) का पूर्व केन्द्रीय सदस्य क. ऋषिराम शर्माको यो लेखलाई हामीले उहाँको ‘मार्क्सवादी दर्शन र नेपालको कम्युनिष्ट आन्दोलन’ पुस्तकबाट साभार गरेका हौँ – सम्पादक ।)