सिमोन द बोवुआरसँग मेरो पहिलो भेट सन् १९७० मा भएको हो । जाँ पाल सार्त्रको अन्तरवार्ता लिन गएको समयमा सिमोनसँग पहिलो पटक दोहोरो देखाभेट भयो । सन् १९७० को दशकमा अर्धसैनिक अदालतमा विद्रोही माओवादी, विद्यार्थी र आन्दोलनकारीहरूमाथि विभिन्न मुद्दा चलाइएका थिए । राजनीतिक माहोल अस्थिर भएको समय थियो त्यो ।
त्यतिखेर म पेरिसमा विदेशी संवाददाताका रूपमा कार्यरत थिएँ । सन् १९६८ मा भएको आन्दोलनको प्रभावका विषयमा रिपोर्टिङ गर्नु मेरो कार्यक्षेत्र थियो । औद्योगिक र सामाजिक स्तरमा १९६८ को क्रान्तिले पारेका प्रभावका बारेमा समाचार तयार पार्नु मेरो जिम्मेवारी थियो ।
फ्रान्स र पश्चिम जर्मनीमा ‘क्रान्तिकारी हिंसा’ निकै ज्वलन्त मुद्दा थियो । सार्त्र खुलेर माओवादीका पक्षमा उभिएका थिए । कतिसम्म भने माओवादी प्रदर्शनकारीको समर्थनमा रहेको देखाउनकै लागि सार्त्र बाटोमा पर्चा बाँड्दै हिँड्थे । यही सन्दर्भमा क्रान्तिकारी हिंसामाथि केन्द्रित रहेर आधा घन्टाको अन्तवार्ता दिन उनी तयार भए ।
सार्त्रको कोठामा बसेर अन्तर्वार्ता लिइरहेको समयमा अचानक हामी बसेको ढोकाको ताल्चामा चाबी छिराइएको आवाज आयो । ढोका खोलेर सिमोन कोठाभित्र छिरिन् । कोठाभित्र छिर्नेबित्तिकै उनले मलाई नरुचाएजसरी हेरिन् । र, तुरुन्तै उनले सार्त्रलाई पत्रकार सम्मेलनमा जानुपर्ने स्मरण दिलाइन् ।
त्यसपछि उनी हाम्रो अन्तरवार्ता समाप्त हुने प्रतीक्षामा सार्त्रको डेस्कमा गएर बसिन् । उनी बिचबिचमा बसेको ठाउँबाट उठ्थिन् । सायद उनलाई हतार भइसकेको थियो । पत्रकार सम्मेलनको समय भइसकेको थियो ।
यो नै सिमोनसँग मेरो पहिलो अनुभव थियो । मैले सिमोनलाई पहिलो पटक देखेको समय । पहिलो देखादेखमा उनले मलाई निकै उपेक्षापूर्वक हेरेकी थिइन् । अन्तर्वार्ता सकिएपछि हामी तीनै जना लिफ्टबाट तल ओर्लियौँ । लिफ्टमा सार्त्रसँग कुराकानी हुँदा पनि सिमोनले मलाई उपेक्षा गरिरहिन् । मानौँ उनका लागि म त्यहाँ छैन ।
तर, मेरा लागि भने ‘द सेकेन्ड सेक्स’ की लेखिकासँगको पहिलो झलक यादगार रह्यो । किनभने त्यतिखेरसम्म यो किताबले संसारभर नारीवादी आन्दोलन चर्काउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिसकेको थियो । यही किताब पढेर महिलाहरू नारीवादी भइरहेका थिए । अझ हामीजस्ता भर्खर सक्रिय हुँदै गरेका महिलाका लागि त यो किताब मार्गदर्शक नै थियो । त्यसमाथि सिमोनको जीवन आफैमा स्वतन्त्रता, समता र विद्रोहको प्रतीक थियो ।
सन् १९७० मे ताका पेरिसमा राजनीतिक घटनाक्रम तीव्रताका साथ बदलिइरहेका थिए । राजनीतिक घटनाक्रमसँगै पेरिसको तापक्रम पनि बढेको थियो । त्यही बढिरहेको तापक्रमलाई थप चर्को बनाउन फ्रान्समा पहिलो पटक महिला संगठनको सुरूवात भयो । एमएलएफ (मोउवभेन्ट द लिबेरासियो देस फेमेस) नामक त्यो महिला संगठनमा म पनि सन् १९७० सेप्टेम्बरमा जोडिन पुगेँ ।
यो संगठनले गर्भपतन गर्न पाउनुपर्ने मागसहित भयंकर आन्दोलन थालनी गर्यो । सिमोनसहित ३ सय ४३ जना महिला (जसमा सार्वजनिक हस्ती पनि सामेल थिए) ले आफूले गर्भपतन गराएको कुरा सर्वाजनिकरूपमै स्वीकार मात्र गरेनन्, गर्भपतनलाई कानुनी मान्यता प्रदान गर्नुपर्ने माग पनि राखे । गर्भपतनलाई कानुनी मान्यता दिलाउन दबाब दिए ।
यो अभियान सुरू हुनु केही महिनाअघि मात्रै फ्रान्सको नारीवादी प्रकाशन ‘लान जेरो’ ले सिमोनमाथि गम्भीर आरोप लगाएको थियो । सार्त्र र पुरुषसँग सम्बद्ध प्रकाशन ‘द ला मोदेर्न’सँग जोडिएको भन्दै सिमोनमाथि त्यस्तो आरोप लगाइएको थियो ।
पुरूष र पुरूष सम्बद्ध प्रकाशनसँग जोडिएको भन्दै नारीवादीले नै सिमोनको आलोचना गरेका थिए । पुरूषका क्रियाकलाप र पुरुषसँग अन्तरंग सम्बन्धमा जोडिएका महिला नारीवादी संघर्षमा सक्रियताका साथ सहभागी हुन सक्दैनन् भन्ने त्यतिखेरको नारीवादी मान्यता थियो ।

सन् १९७० को अन्त्यतिर म सिमोनसँग राजनीतिक मोर्चामा काम गरेका महिलाको सम्पर्कमा थिएँ । महिला आन्दोलनसँग पनि जोडिएको यो समूहले फ्रान्सभर गर्भपतनका लागि गरैकानुनी (तत्कालीन कानुन अनुसार) सञ्जाल तयार पार्ने र त्यसको प्रचार प्रसार गर्ने काम गरिरहेको थियो ।
सरकारी दमनबाट जोगिन र हाम्रा क्रियाकलापमाथि कसैले शंका नगरून् भनेर त्यतिखेरका प्रख्यात हस्ती बस्ने घर वा अपार्टमेन्टमा बसेर काम गरिन्थ्यो । यो कामका लागि सिमोनले पनि धेरै पटक आफ्नो अर्पाटमेन्ट उपलब्ध गराएकी छन् ।
एमएलएफ समूहले नै सन् १९७०-७१ मा नारीवादी आन्दोलनलाई बलियो राजनीतिक शक्तिका रूपमा पनि स्थापित गर्यो । १९७२ मा ‘महिलामाथि हुने अपराधको भर्त्सना’ भन्दै ठुलो र्याली पनि निकालियो । बिस्तारै एमएलएफ महिला मुद्दामा शक्तिशाली संगठन बनेर उदायो ।
यही अवधिमा सिमोन र उनका अरू साथीहरू पनि आन्दोलनमा जोडिए । सार्त्र र पुरुष सम्बद्ध भनिएको पत्रिका ‘द ला मोदेर्न’ मा ‘दैनिक जीवनमा यौनवाद’ शीर्षकको स्तम्भ पनि प्रकाशित हुन थाल्यो । यसबाहेक सिमोनले कथित ‘स्त्रीत्व’, ‘नारीत्व’ वा ‘महिला प्रकृति’ भनिने विचारको डटेर खण्डन गरिन् । आलोचना गरिन् ।
बिस्तारै सिमोनसँग हाम्रो गहिरो सम्बन्ध जोडिँदै गयो । हाम्रा बैठक र सभामा पनि उनी समयमै पुग्थिन् । समय पालनमा उनी निकै कडा थिइन् । छलफल, बैठक र सभामा उनी आफ्ना धारणा प्रस्टसँग राख्थिन् । स्त्रीलाई कमजोर र हीन बनाउने प्रचलित मूल्य, मान्यता र परम्पराप्रति उनको विचार मात्र नभई व्यवहार पनि ध्वंसात्मक हुन्थ्यो ।
सिमोन र मबिच बिस्तारै गहिरो मित्रता बन्यो । मजस्तै अन्य नारीवादीको पनि सिमोनसँग गहिरो मित्रता हुने नै भयो । बैठक, छलफल, सभा र कार्यक्रमपछि सिमोनको अपार्टमेन्टमा साँझको खाना खानु हाम्रो दैनिकीजस्तै बन्यो । उनको अपार्टमेन्टम हामी नारीवादीहरु पालैपालो खाना पकाउँथ्यौँ । तर, सिमोनले कहिल्यै खाना पकाइनन् । उनलाई खाना पकाउन पटक्कै मन पर्दैनथ्यो ।
नारीवादी कार्यक्रमका लागि हामीलाई एउटा हल चाहिएको थियो । हलको भाडा दस हजार फ्य्रांक थियो । तर, हामीसँग आठ हजार मात्र थियो । बाँकी दुई हजार हामीले एउटा साप्ताहिक पत्रिकालाई ‘सिमोन द बोवुआरसँग साक्षात्कार’ शीर्षकको अन्तर्वार्ता बेचेर कमायौँ । यो अन्तर्वार्ता मैले सिमोनसँग खानपान गरेको समयमै गरेकी थिएँ ।
अचम्म त के भने यो अन्तर्वार्ताले इतिहास नै बनायो । सन् १९७२ को सुरुवातमा प्रकाशित यो कुराकानीले सुषुप्तरूपमा बलिरहेको महिला आन्दोलनको आगोमा इन्धन थप्यो । यो किताबमा भएको पहिलो अन्तरवार्ता त्यही हो । जसमा सिमोनले पहिलो पटक ‘म नारीवादी हुँ’ भनेर भनेकी छन् ।
सिमोनसँग सम्बन्ध गहिरो हुँदै गएपछि सन् १९७३ मा मैले पश्चिम जर्मनीको एक टेलिभिजनका लागि सिमोनको वृत्तचित्र पनि बनाएँ । सिमोन र सार्त्रसँगको कुराकानी यो पुस्तकको दोस्रो अध्यायमा समावेश छ । त्यो कुराकानी पश्चिम जर्मनीको टेलिभिजनमा प्रसारित पनि भएको थियो । मलाई थाहा भएसम्म सिमोन र सार्त्रलाई एकै ठाउँमा राखेर लिइएको पहिलो अन्तवार्ता त्यही हो ।
सिमोन र सार्त्र रोम आएको समय हामी छतमा बसेर निजी जीवनका कुरा गर्थ्यौँ । साँझपख छतमा बसेर हामी यो दुनियाँ र भगवान्को धज्जी पनि उडाउँथ्यौँ ।
सिमोनका अन्तरवार्ता, उनका विचार र मातृत्वसम्बन्धी उनको विचारप्रति निकै मानिस सहमत थिएनन् । र, सिमोनको विरोध गर्थे । मातृत्वसम्बन्धी सिमोनका विचारमाथि त विरोधको आँधी नै आउँथ्यो ।
पेरिस, फ्रान्स मात्र नभई विश्वभरबाट महिला र पुरुष दुवैले पत्र लेखेर मातृत्वप्रति हिंस्रक र उग्र विचार राखेको भन्दै सिमोनको आलोचना गर्थे । सिमोनलाई कुण्ठित र भयानक आइमाई भन्नेहरू पनि थिए । सिमोनका विचार, जीवन र उनको सम्झौताहीन प्रकृतिसँग परिचित नभएका मानिसले उनलाई बुझ्न मुस्किलै पर्थ्यो ।
सिमोनलाई बारम्बार आमा नभएकामा पछुतो लाग्छ या आमा नभएकोमा पश्चात्ताप हुन्छ कि भनेर प्रश्न गरियो । तर, सार्त्रलाई बुबा नबनेकामा पछुतो लाग्छ या किन बुबा बन्नुभएन भनेर कहिल्यै सोधिएन। यही विभेद, पक्षपात र असमानताकै कारण हुनुपर्छ, सिमोनको विचारमा मातृत्वप्रति धेरै तिक्तता देखिन्छ ।
मातृत्व महिलाको जीवनको परम् दायित्व होइन भन्ने गर्छिन् सिमोन । जैविकरूपले महिलाभित्र मातृत्वको क्षमता हुनुको अर्थ सामाजिक रूप (पालन, पोषण र स्याहार) मा पनि मातृत्वको दायित्व महिलाकै काँधमा हुनुपर्छ भन्ने होइन भन्ने तर्क गर्छिन् सिमोन ।
‘स्त्रीत्व, मातृत्व वा स्त्रीयोचित प्रकृति महिलाको प्राकृतिक स्वभाव नभई पितृसत्ताको भाष्यले महिलामाथि लादेको विचार हो भन्नेमा सिमोन दृढ थिइन् । उनी भन्ने गर्थिन्, ‘महिलाको उत्पीडन भएको छ । महिलाहरू आफै पनि प्रेम, भावना, स्त्रीत्व, मातृत्वका नाममा आफूमाथि उत्पीडन गर्ने अनुमति दिन्छन् ।’
महिलाहरूलाई स्त्रीत्वको पाठ पढाएर, महिला मस्तिष्कलाई अप्राकृतिक तवरमा दासत्वको साँचोमा फिट गरिन्छ भन्ने कुरा सिमोनले यो किताबमा समावेश भएका कुराकानीमा प्रस्टसँग भनेकी छन् । महिलामाथि लादिएको यो दासताबाट मुक्ति सम्भव छ भन्नेमा पनि सिमोनको दृढ विश्वास छ । स्त्रीत्वको चौघेराबाट बाहिर निस्केर पितृसत्तात्मक दुनियाँमा पुरूषोचित संस्कारसहित संघर्ष गर्नुपर्ने तर्क गर्छिन् सिमोन ।
किताबमा रहेको तेस्रो अध्यायमा सिमोन र मैले नारीत्व वा स्त्रीत्वको पुनर्जागरणको विरोधमा बोलेका छौँ । नारीत्व, मातृत्व, स्त्रीत्वका नाममा महिलालाई फेरि दास बनाउन भइरहेको प्रयासको विरोधमा सिमोनले सशक्त ढंगले आफ्ना विचार राखेकी छन् ।
किताबको अन्तिम अध्यायमा सिमोनले आफ्नो जीवनका निजी कुरा खोलेकी छन् । सिमोनसँगका यी कुराकानी पढेर तपाईँलाई सिमोन आफ्नो समयकी बलियो चिन्तक मात्र नभई इमानदार र निष्ठावान् महिला थिइन् भन्नेमा पनि विश्वास हुनेछ ।
सिमोनको ७० औँ जन्मदिनको अवसरमा सिमोन र मैले लामो कुराकानी गर्यौँ । निजी जीवन र वृद्धावस्थाका विषयमा उनले आफ्ना अनुभव सुनाइन् । त्यो कुराकानी पनि यो किताबमा पढ्न पाइनेछ ।
सार्त्रको मृत्युपछि सिमोनले लेखेको किताब ‘ला सेरेमोनी देजादियो’ मा उनले सार्त्र र आफ्नो जीवनका बारेमा लेखिन् । सार्त्रको बिमारी र मृत्युको पनि वर्णन गरिन् । सार्त्रका कमीकमजोरी समेत किताबमा लेखेको भन्दै सिमोनको आलोचना पनि भयो ।
सार्त्रजस्तो महान् व्यक्तिका कमीकमजोरी सार्वजनिक गरेको भन्दै सिमोनलाई गाली गरियो । आलोचना र गाली गर्नेहरूलाई सिमोनको जवाफ थियो, ‘सार्त्रका कमीकमजोरी पनि लेखिनुपर्यो ।
किनभने तिनै कमीकमजोरीसहित नै सार्त्र महान् भएका हुन् । तिनै कमीकमजोरीसहित नै सार्त्रको निर्माण भएको हो ।’
सिमोन र सार्त्रसँगको कुराकानीका क्रममा जब सार्त्र सिमोनका बारेमा बोल्न खोज्थे, सिमोन सार्त्रलाई रोक्दै भन्थिन्, ‘मेरो बारेमा कुरा नगर । आफूसँग सम्बन्धित कुरा मात्र गर ।’
महिला आन्दोलन आज सम्पूर्ण पश्चिमा विश्वमा निकै तीव्रताका साथ फैलिरहेको छ । महिला आन्दोलन उजागर हुनुका पछाडि जटिल ऐतिहासिक कारण छन् । सिमोन नभए पनि यो आन्दोलनको अस्तित्व रहन्छ । तर, सिमोनको सैद्धान्तिक दृष्टिकोण नहुने हो भने महिला आन्दोलनको जमिन सुख्खा हुन्छ । बौद्धिक स्वतन्त्रता, आत्मविश्वास, बौद्धिक जिज्ञासा र कठिन परिश्रम के हो भनेर थाहा पाउन सिमोनको जीवन र ‘द सेकेन्ड सेक्स’ किताब अध्ययन गर्नुपर्छ । ‘द सेकेन्ड सेक्स’को अन्तिममा सिमोन लेख्छिन्, ‘निःसन्देह एक दिन स्त्री र पुरूषले आपसी समता, भाइचाराको आवश्यकता स्वीकार गर्नेछन् ।’
मेरो बुझाइमा सिमोनको जीवन र काम महिला र पुरुष दुवैका लागि समान चुनौतीको प्रतीक हो । सिमोनका सिद्धान्त र बुझाइले महिलाको सामाजिक स्थितिका बारेमा गहिरो वैचारिक दृष्टि प्रदान गर्छन् । तर, यही दासत्वपूर्ण सामाजिक सामाजिक स्थितिलाई नै नियति मानेर त्यसैमा कैद भएर बस्नका लागि कुनै बहाना, माफी वा तर्कको छुट भने छैन ।
(१९८२ नोभेम्बर)
(एलिस स्वेर्जेरद्वारा सम्पादित पुस्तक ‘महिलासँग गुमाउनका लागि केही छैन’बाट ।)
र, यो पनि पढ्नुहोस्ः
सिमोन द बोवुआरको एक महत्त्वपूर्ण पुस्तक ‘महिलासँग गुमाउनका लागि केही छैन’
आफ्नै पुस्तक ‘महिलासँग गुमाउनका लागि केही छैन’बारे सिमोन द बोवुआर