तुल्सीलाल अमात्य नेपाली कम्युनिस्ट आन्दोलनका शिखर पुरुष मध्येका एक हुन् । उनकै शब्द सापटी लिँदा आज अत्यन्तै सान्दर्भिक हुने देखियो, “कम्युनिस्ट आन्दोलनलाई निस्तेज र समाप्त पार्नका लागि कम्युनिस्ट पार्टीभित्रै अब्बल कम्युनिस्टको चरित्र प्रदर्शन गर्दै दलाल, पुँजीवाद, नोकरशाह, गुण्डागर्दीलाई प्रश्रय दिँदै नेतृत्व तहसम्म पुग्न प्रयासरत रहन्छन् र नेतृत्वमा पुगेपछि समग्र मजदुर, किसान र सर्वहारा वर्गप्रति अनुदार भएर प्रस्तुत हुन्छन् ।” यी शब्दहरू सापटी लिँदै गर्दा वर्तमान सरकारको नेतृत्व गर्न पुगेका धर्म राज ढकालको हत्या अभियोगमा १४ वर्ष जेल सजायँ भोगेका खड्गप्रसाद ओली यिनै प्रवृत्तिका नेतृत्वकर्ता हुन् भन्न सकिन्छ ।
नेपालको इतिहासमा खड्गप्रसाद ओलीलाई पश्चिमा पुँजीवादीहरू र दक्षिणपन्थीहरूको दलाली गर्ने, कम्युनिस्ट आन्दोलनलाई बदनाम गर्ने र समाप्त पार्ने एक घिनलाग्दो खलपात्रको रूपमा दर्ज गर्ने निश्चित छ ।

एकातिर धमाधम मन्दिरहरू बन्दैछन् । पशुपतिमा सुनका जलहरीहरू राखिँदैछन् । धरहराको टुप्पोमा शिव लिङ्गले स्थान पायो । देशैभरि भ्यू टावरको प्रतिस्पर्धा नै चल्यो । बाटो घाटो पनि बन्दैछन् । तर कोरोनाले थिलथिलो बनाएका नागरिक भोकभोकै छन् । एकसरो कपडाले आङ ढाक्न पाएनन् । टाउको लुकाउने छतको व्यवस्था हुन सकेन । बैंकले पेलेका नागरिकहरूले न्याय पाएनन् । किसानको हित हुने कुनै पनि राहत आएन । मजदुरका लागि कुनै राहत भएन र पनि कम्युनिस्टको खोल ओढेको सरकार फिटिक्कै लाजै नमानी कुर्सीमा बसिरहेको छ । यो प्रवृत्तिलाई कम्युनिस्ट पार्टीभित्र हुर्किएको वा खड्गप्रसाद ओलीको नेतृत्वमा हुर्काइएको दलाल, पुँजीपति, नोकरशाह र गुण्डाहरूको झुण्ड भन्दा फरक पर्ने छैन ।
मन्दिर, मस्जिद, गुरूद्वारा, चर्च लगायत धार्मिक स्थलको विकास हुनु राम्रै हो । यस्ता विकासे कार्यक्रमले पर्यटन स्थलहरूको बृद्धि हुन्छ नै तर यत्रो ठुलो कोरोनाको आपत् परेको मुलुकमा पहिला राम मन्दिरको आवश्यकता थियो कि अस्पताल ? पशुपतिमा सुनको जलहरी आवश्यकता थियो कि नागरिकका लागि आङ ढाक्ने कपडा ? धरहराको आवश्यकता थियो कि अक्सिजन ग्याँस प्लान्ट ?
यस्ता यक्ष प्रश्नको उत्तर कम्युनिस्टको खोल ओढेको सरकारबाट मैले खोजेको होइन । न मैले सरकारलाई यसो गरोस् भनेर सुझाव नै दिन खोजेको हुँ । यो गैरजिम्मेवार सरकारबाट मैले सकारात्मक क्रियाको अपेक्षा गरेको पनि छैन र खड्गप्रसाद ओली यसैका लागि छानिएका एक पात्र मात्र हुन् ।
मानव जीवनमा धर्मले अत्यन्तै संवेदनशील अर्थ राख्ने गर्दछ । मानव सभ्यता सँगसँगै धर्मको पनि विकास भयो र सभ्य समाजको विकासका लागि धर्मको नाममा बनेको अलिखित पहिलो कानुन वा संविधान नै धर्म हो । धर्मले केवल प्राणी जगतको मात्र होइन, पूरै ब्रम्हाण्डका लागि मानवलाई सकारात्मक प्रतिबद्धताको सपथ दिलाउँछ ।
यसो गरेमा धर्म लाग्छ: अरूलाई दुःख नदिने, अन्न फलाउने, दान दिने, स्त्रीलाई सम्मान, रोगीको उपचार इत्यादि । यसो गरेमा पाप लाग्छ: अरूलाई दुःख दिएमा, अन्न बाली नष्ट गरेमा, दान नगरेमा, स्त्रीलाई सम्मान नगरेमा, रोगीको समयोचित उपचार नगरेमा इत्यादि ।
यो नै मानव सभ्यताको पहिलो संविधान र कानुन पनि हो । यही धर्मरूपी कानुनलाई शोषकहरूले आफू-अनुकूल ब्याख्या गर्दै मालिक र दासको ब्याख्या गरेर आफूलाई शासक र नागरिकलाई शासित बनाएर राखे । धर्मको त्रास नागरिकमा लादेर चरम शोषण दमन भए । त्यसका विरूद्ध विद्रोह भएपछि नै, पुँजीवादको जन्म भएको हो भनेर ठोकेर भन्न सकिन्छ र अगाडिको गन्तव्य भनेको कम्युनिस्टहरूको नेतृत्वमा समाजवाद हुनुपर्थ्यो र हुनुपर्छ ।
विडम्बना एकथरी कम्युनिस्टलाई नराम्रोसँग झुक्याइयो, खड्गप्रसाद ओलीजस्ता कम्युनिस्ट विरोधी पात्रलाई अगाडि सारेर सिङ्गो कम्युनिस्ट आन्दोलनलाई कैयन् वर्षपछाडि धकेल्ने प्रयास भयो । मजदुर किसान र सर्वहारा वर्गलाई माछा-माछा भ्यागुतो उखानमा परिणत गरियो ।
मन्दिर, मस्जिद, गुरूद्वारा, चर्च बनिरहँदा नागरिक रोग, भोक, शोक र नाङ्गै हुनुपर्छ भनेर कसैले वकालत गर्छ भने त्यो कसरी कम्युनिस्ट हुनसक्छ र ? वा मुखले जनताको हितमा कुरा गरेर नथाक्ने र कामले केवल मन्दिर, जलहरी स्थापना गर्दै हिँड्ने यस्ता गैर-कम्युनिस्ट व्यवहारलाई समर्थन गर्ने तपाईँ कसरी कम्युनिस्ट ? आफैलाई एकपटक सोध्नुहोस् र चित्त बुझेमा म कम्युनिस्ट हुँ भन्नुहोला । नत्र मार्क्सले कहाँनेर नागरिकलाई पाखा लगाएर मन्दिर र जलहरी बनाउनु भनेका रहेछन् देखाउनुहोला ।
सत्ताको शिखरमा पुग्नकै लागि मार्क्सवाद-लेनिनवादको भजन गाएर सत्तारुढ भएपछि मार्क्सवाद-लेनिनवादको लाइन चटक्क छोडेर मूर्तिवाद र जलहरीवादको लाइन समात्ने गद्दार कम्युनिस्टको टीका लगाउन उद्यत तपाईँ र सामन्तीहरू बिच आधारभूत फरक नै के रह्यो र ? अब फेरि नवसामन्तहरूका विरूद्ध फरक किसिमबाट संघर्ष गर्नुको विकल्प रहेन र रहने छैन ।
ठुला व्यापारी आर्थिक सल्लाहकार, गुण्डालाई मन्त्री, भ्रष्टाचारमा लिप्तहरूको ढाकछोप, सानातिना विकासे कार्यक्रममा पनि चरम भ्रष्टाचार के यिनै हुन् त कम्युनिस्टका मार्गनिर्देशक सिद्धान्त ? हो भने भन्नुहोला म सच्चा कम्युनिस्ट हुँ । खड्गप्रसाद ओली व्यक्ति हत्याका आरोपित यसरी सत्तामा पुगेपछि नेपाल र नेपालीप्रति नै गद्दारी गर्ने एक तुच्छ खलपात्र मात्र होइनन् । सिङ्गो विश्वभरका कम्युनिस्टहरूले चिन्नुपर्ने कुख्यात चरित्र पनि हो । यही चरित्रलाई संसारभरिका कम्युनिस्ट पार्टीभित्र हुर्काइन्छ र अन्ततः कम्युनिस्ट आन्दोलनलाई नै समाप्त पारिन्छ । नेपाल यही प्रयोगको सिकार भएको छ र त्यसलाई खड्गप्रसाद ओलीले नेतृत्व गरेका छन् ।
खड्गप्रसाद ओलीले बडो चलाखीपूर्ण तरिकाबाट धर्मलाई अगाडि सारेर भोट बैंकको आधारमा सत्तामा टिकिरहन सकिन्छ भन्ने मनोविज्ञान विकसित गर्न खोजेको पाइन्छ । यो मनोविज्ञान सामन्तवादी राजाहरूले पनि प्रयोग गरेका दृष्टान्त र इतिहास पाइन्छ । यसपटक खड्गप्रसाद ओलीले पनि सोही मार्ग समातेका छन् । यो बडो खतरनाक मार्ग हो । यसमा जनतालाई धर्मको मर्ममा प्रहार गरेर लामो समयसम्म जनतालाई भ्रममा राख्न सकिन्छ भन्ने विश्वास उनमा पलाएको हुनुपर्छ । त्यसैले त उनी पशुपतिमा सुनको जलहरी चढाउन पुग्छन्, ठोरीमा मूर्ति ठड्याउन पुग्छन् । धरहराको टुप्पोमा महादेवको लिङ्ग पुज्दछन् ।
धर्मको आडमा गरिने कम्युनिस्ट विरोधी चरित्रलाई नङ्ग्याउन अब चुप लागेर बस्नेबेला सकिएको छ । एकपछि अर्को गर्दै कम्युनिस्ट चरित्रमाथिको प्रहारलाई केवल जनतामा सचेतनाको माध्यमबाट मात्र निस्तेज पार्न सकिन्छ । प्रत्येक नागरिकलाई धर्मको आडमा भइरहेको अपराधको भण्डाफोर गर्न झक्झकाउनु पर्छ । नत्र यस्ता खड्गप्रसाद ओलीहरूले थुप्रै मूर्तिहरूको पूजा गर्दै जनतालाई झुक्याउने प्रयास गरिरहने छन् । यसैको आडमा जघन्य अपराध भ्रष्टाचार गरिरहने छन् । नेपालको नक्सा केकमा काटेर खाइरहने छन् । खाद्य, कपडा र बासको आसमा निर्जन मूर्ति पुज्न बाध्य तुल्याइरहने छन् ।
(लेखक वामपन्ती नेता तथा तुलसीलाल अमात्यका अनुयायी हुनुहुन्छ ।)