मानव समाजको इतिहास निरन्तर विकल्पको खोजीको इतिहास हो । मनिस र मानव समाजले निरन्तर विकल्पको खोजी गरिरहेको हुन्छ । जुन विकल्पहरू मानव समाजका लागि उपयोगी हुन्छन्, ती अनाइन्छन् र जुन अनुपयोगी सिद्ध हुन्छन्, ती परिवर्तन हुन्छन्, गरिन्छन् । अवलम्बन गरिएका विकल्पहरूको पनि सान्दर्भिकता सकिएपछि या त ती परिमार्जित हुन्छन् र केही थप समय चल्छन् या तिनको पनि अन्त्य हुन्छ । यही नै मानव समाजमा निरन्तर चलिरहने क्रम हो । निरन्तर सबैले देख्दै, भोग्दै र परिवर्तनमा आफूसमेत सामेल हुँदै आएको आजसम्मको मानव समाजको अनुभवसिद्ध कुरा नै हो ।
आजको विश्व इतिहास र हाम्रै देशको पनि इतिहासलाई हेर्ने र केलाउने हो भने वास्तवमा मानिसले, मानव समाजले अनेकौँ राजनीतिक परिवर्तन गरेर विभिन्न राजनीतिक पद्धतिलाई अवलम्बन गरे । कैयौँ सामाजिक अन्ध-मान्यता र रुढीवादलाई पञ्छाएर नयाँ वैज्ञानिक मूल्य मान्यताहरू पनि स्थापना गरे । यसक्रममा कैयौँ नयाँ परम्परा र मूल्य पद्धतिहरूको विकास पनि गरे र तिनमा पनि अझ थप नयाँ कुराहरू जोड्दै, थप्दै पनि आए । हामीले उत्पादन पद्धतिका हिसाबले पनि यस सम्बन्धमा हेर्यौँ र विश्लेषण गर्यौँ भने धेरै ठुलो आमूल र अपूर्व परिवर्तन आएको सहजै देख्न र बुझ्न सक्छौँ ।
आदिम उत्पादन पद्धति, सामन्ती उत्पादन पद्धति हुदै आज विश्व पुँजीवादी उत्पादन पद्धतिसम्म आइसकेको छ । अहिले विश्वव्यापी रूपमा चलिरहेको संघर्ष नै वास्तमा पुँजीवादी उत्पादन पद्धति र सामाजिक अर्थात् समाजवादी उत्पादन पद्धतिका बिचको संघर्ष हो । यसलाई स्पष्ट भाषामा भन्दा पुँजीको (नाफाको) केन्द्रीकरण र उत्पादनको (श्रमको) सामाजिकीकरण बिचको संघर्षकोरूपमा यो अभिव्यक्त छ । त्यसैले पुँजी र श्रम बिचको संघर्ष – पुँजीपति वर्ग र श्रमजीवी वर्ग बिचको संघर्ष हो । कुनै मनोगत रिस, राग, बैमनस्यता र वदला लिने मनोगत भावनाबाट प्रेरित र विकसित भएको कुरा होइन । परस्पर विपरीत तत्त्वको भौतिक या वस्तुगत उपस्थितिका कारण अनिवार्य बनेको कुरा हो, त्यसैले क्रान्ति अवश्यमभावी छ । यसलाई कसैले रोकेर रोक्न सकिँदैन भन्ने निष्कर्ष निस्किएको या निकालिएको हो । त्यसैले वर्ग संघर्षलाई व्यक्तिगत झैँझगडाको कुरा नभएर यसलाई निर्वैयक्तिक हुन्छ भनिएको हो ।
आज विश्वमा यो पुँजीवादी उत्पादन पद्धति जति सबलताकासाथ स्थापित भएको छ, त्यसलाई परिवर्तन गर्ने सामाजिक उत्पादनका शक्तिहरू पनि लागेपुगेसम्म जोडबल लगाइरहेका छन् । तर त्यो प्रयत्नलाई कमजोर तुल्याउन र आफूलाई बचाउनका लागि पुँजीवादले सबै किसिमका प्रतिक्रियावादी र प्रतिगामी शक्तिहरुसँग सम्झौता र साँठगाँठ गरिसकेको र गरिरहेको छ । यो आजको पुँजीवादको आम चरित्र नै बनिसकेको छ र हो । विकासको यसप्रकारको द्वन्द्वलाई सही किसिमले बुझ्दै अघि बढ्नाले समाज विकासको सही बाटो प्राप्त गर्न सहज हुन्छ । अन्यथा विकासका भावनात्मक नाराहरूको तेज धारमा बगेर जाने कुण्ठित या यथास्थितिवादी कुरा नै सामान्यरूपमा भइरहेको हुन्छ ।
समाजको सकारात्मक र उर्ध्वगामी आमूल परिवर्तन र विकासको सन्दर्भमा के कुरामा एकदमै प्रष्ट हुनु पर्दछ भने आर्थिक विकास या समृद्धिले मात्र मानिसलाई मनुष्यताको गरिमा प्रदान गर्नेछ भन्ने कुरा निश्चित छैन । आर्थिक विकास मानवीय गरिमाको कुनै प्रत्याभूति होइन किनभने एकपक्षीय आर्थिक विकासका कारण सामाजको बहुसंख्यक वर्ग विकासको पहुँचबाट बञ्चित रहन जान्छ र त्यसकारणले गर्दा मनुष्यको गरिमापूर्ण जीवनबाट टाढै रहन पुग्दछ या बाध्य हुन्छ । त्यसैले सामाजिक समानताका लागि आर्थिक असमानता मेटिनुपर्ने कुरा आएको हो र त्यसले सामाजिक समानता कायम गर्न आधारभूमि तयार गर्दछ भनिएको हो । वास्तवमा सामाजिक असमानताका विरुद्ध निरन्तर संघर्ष चल्दै आएको कारण नै यही हो ।
मानव समाजको संघर्षको इतिहास नै भन्ने हो भने यही विषमता हटाउने संघर्षको इतिहास हो र यसैलाई मार्क्सले – ‘वर्ग संघर्षको इतिहास’ भन्ने सार्थक संज्ञा दिएका हुन् । तर उत्पादनका साधनहरुमाथि हैकम जमाउने शक्तिहरूको एकाधिकारका कारण यो विषमता या असमानता विरोधी संघर्षले अहिलेसम्म समानताको मानव समाजको साझा सपना साकार तुल्याउन सकिरहेको छैन ।
आज त पुँजीवादी अत्याधुनिक कर्पोरेट आर्थिक विकासको बाटोका कारण सामाजिक कल्याण र सरोकारको विषयहरू नै ओझेलमा पर्दै गएको या परिसकेको अवस्थाबाट हामी गुज्रिरहेका छौँ । उदाहरणका लागि भन्नुपर्दा वस्तुतः खाद्यान्न सुरक्षाको नीति कर्पोरेट पद्धतिका लागि एकदमै अमान्य छ । यसका अतिरिक्त विपन्न वर्गलाई दिइने अनुदान या सब्सीडीलाई पनि यस पद्धतिले मन पराउँदैन । यसले त मजदुरहरूको अधिकार सुरक्षित राख्ने खालका श्रम कानुनहरूलाई नै बदल्न चाहन्छ र ‘हायर एण्ड फायर’ गर्ने नीति अवलम्बन गरेर श्रमिकहरूलाई जतिबेला पनि निष्कासन गर्नसक्ने खुल्ला स्थिति सिर्जना गर्न चाहन्छ र गरिरहेको छ । यसरी पुँजीवादको पकडमा उत्पादन पद्धतिलाई राख्ने र चलाउने कसरतमा सरकार बदल्ने, सत्ता बदल्ने र सामाजिक संघ-संस्था बदल्ने या विकल्प खोज्ने प्रक्रिया चलिरहेको छ, चलाउँदै आएको छ । चुनावहरू पनि यसै परिधिभित्र हुने गरेका छन् र हुन्छन् । यस्तो अवस्थामा परिवर्तनपछि पनि जनताको हालत उस्तै रहनु र अझ खस्किनु अस्वाभाविक हुँदैन किनकि कर्पोरेट शक्तिलाई मानेर चल्दा विपन्न, वञ्चित, वहिष्करण र असमानतामा परेका बहुसंख्यक जनता छुट्छन् । त्यसैले कुनै पनि चुनावको बेला चकाचौँध विकासका भावनात्मक नाराको तिरीमिरी ती जनतालाई देखाएर मत लिने काम हुँदै आएको हो र यस्तो भइरहन्छ । तर त्यस्ता निर्वाचनहरूले विषमता झेलिरहेका विपन्न वर्गका बहुसंख्यक श्रमजीवी जनताका समस्या हल हुने वातावरण फेरि पनि बन्दैन । त्यसले त कर्पोरेट जगतको जठराग्नि (पेटको भोक) अर्थात् आगोलाई मात्र शान्त पार्दछ ।
बहुसंख्यक विपन्न वर्गका जनताका लागि आधारभूत अर्थराजनीतिक आमूल परिवर्तन अवश्यंभावी छ । यस्तो ठोस जगबिनाको सतही र उपरि परिवर्तनले मात्र उत्पादनमा लाग्ने तर उत्पादनका साधनहरूबाट बञ्चित रहने आधारभूत वर्गले झेलिरहेको विपन्नता, बेरोजगारी, विकासविहीनता र त्यसबाट निरन्तर सिर्जित विषमताबाट मुक्त हुने स्थिति बन्दैन । यो कसैको मनोगत र भावनात्मक कुरा होइन, यथार्थ वस्तुगत जगतले सिर्जना गरेको कुरा हो । त्यसैले बहुसंख्यक विपन्न वर्ग र समुदायको हातमा मोबाइल, ल्यापटप, आइप्याड थमाइदिएर मात्र पुग्दैन । विज्ञान र प्रविधिको अत्याधुनिक विकासका उपलब्धिहरु उनीहरूले स्वामित्व लिएर ठोस उपयोग गर्नसक्ने अनुकूल र उचित मानवीय वातावरण बनाइनु सर्वोपरि र अत्यावश्यक छ । त्यसको निमित्त देशले आज विकल्पको खोजी गर्नु नै पर्दछ । त्यो जनताको जीवनस्तर, मानवीय गरिमा र गौरवसँग गाँसिएको आधारभूत विकल्पको खोजी हो । टालटुले कुरा गरेर जनता अल्मल्याउने विकल्प होइन । देशको साँच्चो अर्थमा समुन्नति चाहने प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारी लोकतान्त्रिक शक्तिहरूले गम्भीर रुपमा सोच्नुपर्ने कुरा नै आज यही हो ।
तर हामीकहाँ के विडम्बना रहँदै आएको छ भने हामी परिवर्तनका कुराहरूलाई संकीर्ण राजनीतिक स्वार्थ र सीमित परिधिभित्र राखेर मात्र हेर्ने र त्यसैमा रमाउने मूलतः यथास्थितिवादी प्रवृत्ति व्याप्त छ । परिवर्तन आम जनता, समाज र राष्ट्रका लागि हो भन्ने भावधारा नै हामीकहाँ विकसित हुन सकेन ।
यसको मूल कारण हो – पुरानो सन्दर्भहीन भइसकेको उत्पादन पद्धति र पराश्रयी मनोवृत्ति । यी दुई कारणले गर्दा हरेक परिवर्तनपछि उत्साहित आम जनतालाई निराश तुल्याउने काम पटकपटक हुँदै आएको छ र भइरहेकाे छ। हाम्रो पछिल्लो निकै ठुलो राजतन्त्रलाई नै विस्थापित गर्ने राजनीतिक परिवर्तनपछि पनि त्यही कुरा दोहोरिएको छ र अझ जटीलरूपमा परावलम्बी मनोवृत्ति देखापरेको छ । सामन्तवादबाट राष्ट्रिय पुँजीवादमा विकास हुनुपर्नेमा त्यो दलाल पुँजीवादमा विकास भएर गइरहेको आजको जुन सामन्ती-दलाल पुँजीवादी वर्गीय मनोवृत्ति विकिसत भएको छ, त्यो राष्ट्रिय हित, दूरगामी भविष्य तथा अग्रगामी परिवर्तन सबै कुराका लागि अत्यन्तै हानिकारक छ ।
हामीकहाँ पनि अहिले प्रायः सबैले समाजवादको दिशामा कम्तिमा शब्दमा नै सही आफूलाई अभिमुख गराउन खोजेको प्रतीत हुन्छ । कुनै तोडमोड नगरी सही रूपमा समाजवादलाई अपनाउने हो भने त्यो स्रोत-साधन र उत्पादनको सामाजिकीकरण बाहेक अरु केही हुँदै होइन । यो सामाजिकीकरणले एकातिर समभावको वातावरण बनाउने र मानव जाति सबै समान हुन् भन्ने कुराको उद्बोधन गराउँदछ भने अर्कोतिर समाजकाप्रति समान दायित्व र कर्तव्यबोधको भावना र सकारात्मक अग्रगामी मनोवृत्ति पनि जगाउँदछ । २१औँ शताब्दीको समाज समानता, न्याय र समुन्नतिको समाजवादी बाटोमा हिँड्नु बाहेक अरु कुनै मानवीय विकल्प पनि छैन । तर त्यो जनतालाई रङ्गीचङ्गी सपना देखाउने काल्पनिक समाजवाद होइन, उनीहरूको जीवन चाैतर्फीरूपमा समुन्नत तुल्याउने वैज्ञानिक समाजवाद एक मात्र भरोसायुक्त विकल्प हो । यस्तो समाजवाद त्यस पूर्वको नयाँ जनवादी क्रान्ति सम्पन्न नभई सम्भव नै हुँदैन ।
वैज्ञानिक समाजवाद तर्फ सही किसिमले जानका लागि आज बुझ्नु पर्ने मुख्य सार कुरा नै यही हो । यसैका लागि क्रान्तिकारी कम्युनिस्ट शक्तिहरू केन्द्रित र संघर्षशील हुनु आजको आवश्यकता हो । त्यस्ता शक्ति, समूह, व्यक्ति जो कोहीका बिच पनि कार्यगत, सहकार्यगत, मोर्चागत र पार्टीगत एकताको खोजी पनि यही आधारमा गरिनु सही हुन्छ । जुन विचारको प्रक्षेपण नेपालको सन्दर्भमा कमरेड पुष्पलालले गरेका हुन् र त्यसको सान्दर्भिकता आज पनि उत्तिकै छ र अझ बढ्न गएको छ ।
(लेखक नेपाल कम्युनिस्ट पार्टीका सहअध्यक्ष हुनुहुन्छ ।)