daljit shripali, daljeet shreepali, prashanta, rukum, EX-PLA Commander
 

युवा तथा खेलाडी साथीहरु !

यो देश हाम्रो हो। देश र जनताको बढी माया हामीलाई नै छ । प्राकृतिक प्रकोप र महामारीले आफन्त र पराई, बालक, बृद्ध, गरिब, धनी भनेर छुट्याउँदैन । ”मेरो देशमा आउँदैन, अरु देशमा आउँछ, म बाँच्छु, ऊ मात्र मर्छ” – यो हुनै सक्दैन् ।

शक्तिशाली राष्ट्रहरूदेखि अल्पविकसित राष्ट्रहरु सबैमा कोरोना भाइरस (कोभिड-१९)को आतंक छ, संकट छ, खतरा छ। कोरोना भाइरस (कोभिड-१९) विरुद्ध विश्वका सबै राष्ट्र र सम्पूर्ण मानव समुदाय एकजुट भई लड्नुपरेको छ र जित्नैपर्ने छ ।

विश्वव्यापी महामारी कोरोना भाइरस विरुद्धको महाअभियानमा स्वदेश र विदेशमा रहनुभएका करिब एक करोड सात लाखभन्दा धेरै युवाहरु र देशका गहना भनी पहिचान बनाएका खेलाडीहरुले साथ दिनु आवश्यक छ ।

सामजिक दुरी कायम गर्ने, होम क्वारेन्टाइनमा रहने, विदेशबाट हवाई तथा पैदल यात्राबाट नेपाल आउनेहरु सबैलाई क्वारेन्टाइनमा राख्ने, लक-डाउन सफल पार्ने, बिरामीका लागि औषधी र आवश्यक सामग्रीहरु उपलब्ध गराउने, जनचेतनामूलक सुरक्षाका उपायहरु – मास्क लगाउने, स्यानिटाइजर वा साबुन-पानीले हात धुने कुराहरु – सिकाउने काममा युवा तथा खेलाडीहरुले सकृयता देखाउनु पर्छ । खाद्य, औषधी, आर्थिक समस्याहरु समाधान गर्न सहयोगी हातहरु फैलाउनु पर्छ ।

देशको संकट हटाउन र जनतालाई राहत दिने चुनौतीपूर्ण अवसर प्राप्त भएको छ। सरकारको मुख ताकेर मात्र पुग्दैन । सरकारका यससम्बन्धी योजनाहरुलाई सफल पार्न समर्थन र सहयोग गर्नुपर्छ ।

रोग-प्रकोप एक हप्तामै नियन्त्रण हुन्छ र लक-डाउन खुल्छ भन्ने केही ग्यारेन्टी छैन । महामारी कोरोना एउटा राष्ट्रबाट समाप्त भएर हुँदैन । यो त विश्वव्यापी विषय हो । कोरोनाबाट विश्व नै मुक्त हुनुपर्छ । तब मात्रै विश्व मानव समुदाय नाफाको जीवनमा खुसी मनाउनेछ ।

त्यसकारण युवा तथा खेलाडीहरुले तत्कालीन र दीर्घकालीन योजनाकासाथ देश र जनतालाई बचाउनेतर्फ लाग्नुपर्छ । मृत्युलाई जित्ने मनोविज्ञान युवा तथा खेलाडीहरुमा अलि बढी नै हुन्छ र हुनुपर्छ ।

उच्च सतर्कतासाथ आफू पनि बँच्दै र अरुलाई बचाउने उपाय सर्वप्रथम क्वारेन्टाइन नै हो । यसका लागि देशैभरी रहेका रंगशाला, कभर्ड हल, अफिसहरुलाइ क्वारेन्टाइन स्थल बनाउन सकिन्छ । प्रयोगमा नआएका उद्योग, कलकारखाना तथा सरकारी-निजी-सामुदायिक योजनामा निर्मित भवनहरुलाई क्वारेन्टाइन बनाउन सकिन्छ । यस्ता कुरामा युवा तथा खेलाडीहरुको विशेष ध्यान जान आवश्यक छ । उद्धार र राहत कार्यमा युवा तथा खेलाडीहरुको सकृयता प्राथमिकताको विषय हुनुपर्छ ।

श्रमिक तथा आश्रितहरु सबैलाई कम्तिमा तीन महिनाका लागि खाद्यान्नको व्यवस्था र घरभाडा फ्रि गरिदिने, घर, उद्योग, पसल भएकाहरुलाई बिजुली/पानी शुल्क मिनाहा गरिदिने, सरकारी कर नलिने, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने, उद्धार र राहतमा अहोरात्र खटिने सबैलाई सरकारबाट प्रोत्साहन र प्रसंशा व्यक्त गर्ने, विदेशबाट आएका सहयोगहरु एकद्वार प्रणालीबाट लागु गर्ने सरकारको नीति हुनुपर्छ किनकी यो राष्ट्रिय संकटको घडी हो । सरकारको यतिबेला गर्नुपर्ने काम नै यही हो ।

जनतालाई बचाउने राज्यको जिम्मा हो । तर जनता आफै पनि सावधान बन्नुपर्छ। साथ र सहयोग संकटकै बेला हो । सहयोग गर्ने, गडबडमा सचेत पार्ने, अनुगमनमा सकृया रहने र देश र जनताका निम्ति आँखाका नानी र मुटुका ढुकुढुकी हुन् – युवा तथा खेलाडीहरु ।

युवा तथा खेलाडी साथीहरु,

जनतालाई संकट परेको बेला कान बुजेर, आँखा चिम्लेर, हातमा दही जमाएर, कोठाभित्र आफू मात्रै बाँच्ने सपना लिएर नबस किनकी देश र जनताहरुले संकटको बेला तपाईंहरुलाई खोजिरहेका छन् । अन्तत: देश र जनताको जिम्मा तपाईंहरुकै काँधमा छ ।

(लेखक पूर्व युवा तथा खेलकुद मन्त्रीका साथै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता, जनमुक्ति सेना, नेपालका पूर्व डिभिजन भाइस कमाण्डर तथा दलित मुक्ति आन्दोलनका सम्मानित नेता हुनुहुन्छ – सं. ।)