मार्क्सवादको वा वैज्ञानिक समाजवादको या द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको अनुसन्धान हुनुभन्दा अगाडि मानव समाजमा के मान्यता हाबी थियो, कुन मान्यताबाट प्रभावित थियो भन्दा उपल्लो वर्गलाई श्रमजीवीमाथि शासन गर्ने अधिकार प्राप्त छ र तल्लो वर्ग शासित हुन बाध्य छ । त्यो शासित हुनका लागि जन्मेको हो भने उपल्लो वर्ग शासन गर्नका लागि जन्मिएको हो भन्ने अलौकिक शक्तिले या कुनै त्यस्तो भाग्य भगवानले या कुनै तरिकाले शासितहरू शासित हुन बाध्य छन् । शासकहरू शासन गर्न स्वतन्त्र छन् भन्ने मान्यता स्थापित थियो ।
मार्क्सवादको आविष्कार भएपछि इतिहासमा पहिलोपटक त्यो मान्यतामाथि प्रहार गरियो – वैचारिक दार्शनिक सैद्धान्तिक राजनीतिक र सांस्कृतिक रूपले । र, भनियो विद्रोह गर्नु श्रमजीवी जनताको अधिकार हो । तल्लो वर्ग कुनै पनि हिसाबले शासित हुनको निम्ति जन्मेको होइन । मानव समाजले सृष्टि गरेका कुनै पनि कुराको प्रमुख हकदार, प्रमुख बाहक र सृष्टिलाई अगाडि बढाउने तागत भनेको श्रमजीवी वर्गको हो । श्रमद्वारा नै सबै मानव समाजको प्रगति सम्भव भएको हो र त्यस कारण इतिहासको निर्माता श्रमजीवी वर्ग हो । शोषित वर्ग हुन् । माथिल्लो वर्ग र कृत्रिम र जुका जस्तो रगत चुसेर र पिएर बाँच्ने वर्ग हो । त्यसलाई उल्ट्याइनु पर्छ । विद्रोहको अधिकार प्रयोग गरेर श्रमजीवी जनताले शासकहरूको त्यो मनोपोलिमाथि विजय प्राप्त गर्नुपर्छ भन्ने मान्यता स्थापित गरेको हो ।
मार्क्सवादको एउटा महान् क्रान्तिकारी छलाङ भनेको दर्शन र सिद्धान्तको क्षेत्रमा मानिसहरूले बुझ्ने परम्परालाई तोड्ने र परम्परा तोड्ने सबैभन्दा ठूलो कुरा यही नै हो । र, यो प्रक्रियासँगै विश्वमा ठूलो आँधीहुरी बतास आयो किनकि श्रमजीवी वर्गले त्यस्तो विचार, सिद्धान्तको हतियार र विद्रोह गर्ने अधिकार प्राप्त गर्यो। पहिला युरोपमा र विकसित देशहरू हुँदै क्रमशः तेस्रो विश्वका पछि परेका देशहरूमा पनि वर्ग सङ्घर्षको आँधी-हुरी चल्न थाल्यो । संसार थर्किन थाल्यो, अर्कै नयाँ एउटा आवाज विचार र मान्यताद्वारा। संसारभरि नयाँ क्रान्तिको आवाज घन्किन थाल्यो। र त्यही प्रक्रियामा एउटा त्यस्तो परिवेश तयार भयो, जतिबेला नेपालमा कम्युनिस्ट पार्टी स्थापना हुँदै थियो ।
कमरेड पुष्पलाल एउटा सामान्य संस्थापक मात्र होइन । उहाँ विचारक, इतिहासकार र चिन्तनको रूपमा हुनुहुन्छ । कम्युनिस्ट पार्टी स्थापनामा सामान्य चार पाँच जनामध्येको एक जना मात्र उहाँ होइन । त्योभन्दा पनि माथि भएर कम्युनिस्ट पार्टी स्थापनाका लागि उहाँले गरेको तयारी अद्भूत निकै ठूलो पहल र साधना गरेर नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नु भएको हो । त्यो त्यस्तो परिवेश थियो जतिबेला चीनमा भर्खरै सामन्तवादमाथि सर्वहारा वर्गको जीत भएको थियो । नयाँ जनवादी क्रान्ति सफल भएको थियो । ठूलो उत्साहको माहौल थियो । सोभियत संघमा समाजवादको निर्माण भइरहेको थियो । दोस्रो हिटलर, फासिज्ममाथि विजय हासिल गरेर समाजवादको निर्माण गरेर तीव्र गतिमा फैलियो । यता हिन्दुस्तानमा समेत कम्युनिस्टवादीको एउटा लहर चल्दै थियो । तेलंगना क्षेत्रमा ठूलो सशस्त्र किसान विद्रोह चलेको थियो र त्यसले त्यहाँका निजामहरुको मात्र होइन, भारतको पुँजीपतिले प्रतिक्रियावादी वर्गलाई हल्लाइरहेको स्थिति थियो । ठिक त्यो परिवेशमा अन्तर्राष्ट्रिय माहौलमा कमरेड पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । धेरै ठूलो मेहेनत र साधनापछि ‘कम्युनिस्ट घोषणा पत्र’को अनुवाददेखि कम्युनिस्ट पार्टीको संगठन विस्तार गर्नको निम्ति वर्गीय सचेततासहित वर्गीय पहलकदमी भयो ।
तर सँगसँगै कम्युनिस्ट पार्टीभित्र चल्ने बहस पनि एउटा अपरिहार्य प्रक्रिया हो । समाजमा चल्ने वर्ग सङ्घर्ष, वैचारिक धारा र प्रवृत्तिको सङ्घर्षको प्रतिविम्ब कम्युनिस्ट पार्टीभित्र आइराख्छ । जबसम्म कम्युनिस्ट पार्टी रहन्छ, तबसम्म पार्टीभित्र पनि सङ्घर्ष चलिराख्छ । हामी पनि कोही दुविधामा हुन जरुरी छैन । कम्युनिस्ट पार्टीभित्र सङ्घर्ष पार्टी बाहिर समाजमा चलेको सङ्घर्षको प्रतिविम्बको रिफ्लेक्सनको रूपमा हुने हो । त्यहाँ कहिले श्रमजीवी वर्गको निम्ति निष्ठावान् प्रवृत्ति हाबी हुन्छ । कहिले विजातीय प्रवृत्ति पनि हाबी हुने गर्छ र पार्टीहरूले रुपरंग बदल्दै जाने हुन्छ । अनि एकता, सङ्घर्ष, रूपान्तरण र फुट्सम्म पनि मार्क्स-एंगेल्सको समयमा समाजवादी आन्दोलनमा एकता कसरी पैदा हुन्छ । र, समाजवादी आन्दोलनमा फुट कस्तो बेला पैदा हुन्छ भन्ने कुरा मार्क्स र एंगेल्सले महत्त्वपूर्ण विचारहरू त्यतिबेलै संश्लेषित गर्नु भएको थियो ।
यस बारेमा पनि स्मरण गर्नु र अध्ययन गर्नु जरुरी छ भन्ने मलाई लाग्छ । एकता एउटा निश्चित मूल्य-मान्यता र विधि-पद्धतिको आधारमा हुने कुरा हो । र, त्यो एकता सङ्घर्षद्वारा हासिल गरिन्छ । एकता चोचोमोचो मिलाएर हुने कुरा होइन । सङ्घर्षकै माध्यमबाट एकता पनि बलियो हुने हो । पार्टीभित्र र बाहिर पनि हुने विचारको सङ्घर्षबाट एकता बलियो हुँदै जाने कुरा हो । सङ्घर्ष र बहसभन्दा बाहिर तथाकथित एकताको माला जपेर एकता हुने कुरा होइन । यो सङ्घर्षद्वारा हासिल गरिने कुरा हो । सङ्घर्षबाट एकता मात्र प्राप्ति हुन्छ भन्ने कुरा पनि होइन । इतिहासले पटकपटक देखाएको कुरा के हो भने एउटा सच्चा कम्युनिस्ट नेता र कार्यकर्ताले एकता, सङ्घर्ष, रूपान्तरण, नयाँ आधारमा नयाँ एकता हासिल गर्ने सोच र विधि लिनुपर्दछ । तर यसो गर्दा एकता मात्र हासिल नभएर पार्टी फुटाउन पनि सक्छ । यही आधारमा समाजवादी आन्दोलन अगाडि बढेको छ भन्ने कुरा त्यतिबेला एंगेल्सले पनि भन्नु भएको छ । त्यो कुरा विल्कुल वैज्ञानिक र सत्य साबित भएको छ । एकता, सङ्घर्ष र रूपान्तरण, नयाँ आधारमा नयाँ एकता विश्वले धेरै पटक देखेको छ । कोही आदर्शवादी भ्रममा हुनु पनि जरुरी छैन । नेतृत्वले आफ्नो उद्देश्य पूरा गर्नका लागि विचलित हुनुहुँदैन भन्ने मलाई लाग्छ।
आज हामी कमरेड पुष्पलालको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम गर्दैछौँ । स्वयम् पुष्पलालले के भोग्नुभयो भन्ने कुरा पनि महत्त्वपूर्ण छ । पुष्पलालले नेपालमा कम्युनिस्ट पार्टी स्थापना एउटा ऐतिहासिक र युगान्तकारी प्रक्रियाको थालनी गर्नुभएको हो । जसको प्रक्रियामा तपाईं हामी हुर्केका छौँ, जन्मेका छौँ । तर, स्वयम् पुष्पलाल २००८ सालपछि महासचिवबाट हटाइनु, २०१० सालमा महासचिव बन्नबाट रोकिनु, २०१४ सालमा उहाँकै नीति र विचार पारित हुने तर नेतृत्वमा रायमाझी हुने बडो विडम्बनापूर्ण स्थिति पुष्पलाल कमरेडले भोग्नुभयो । नीति एउटाको तर नेतृत्व त्यसका विरोधीको ।
तपाईं हामीले यसो हेर्यौँ भने अहिले पनि त्यस्तै भएको हो कि ? नीति र विचार एउटाको हुने तर नेतृत्व अर्कैको हुने भएको हो कि ? आज हामीले भोग्नुपरेको समस्याको चुरो त्यतै कतै छ कि भनेर हेर्न पनि जरुरी छ जस्तो मलाई लाग्छ । किनभने २०१४ मा पुष्पलालको जनवादी क्रान्तिको नीति पारित भएर पनि राजापरस्त रायमाझी आउने जुन प्रवृत्ति देखियो, त्यसबाट शिक्षा लिनुपर्ने र भविष्यमा त्यस्तो प्रवृत्ति नहोस् भनेर हेर्नुपर्ने छ ।
यदि त्यस्तै हुने हो भने ०१४ सालपछि जस्तो स्थिति आयो, त्यस्तै हुनेछ । २०१४ सालपछि नीति एउटा र नेतृत्व अर्को भएपछि त्यो कम्युनिस्ट आन्दोलन दुर्घटनामा जाने नै थियो । त्यसमा कसैको पवित्र इच्छा हुँदैमा रोकिने कुरा होइन । त्यसको आफ्नो वैज्ञानिक विधि छ, नियम छ। त्यहीअनुसार अघि बढ्छ । २०१७ सालमा दोस्रो महाधिवेशन केन्द्रीय कमिटीको हालत के भयो ? र, २०१९ को महाधिवेशनपछि कसरी पार्टी छिन्नभिन्न हुने स्थिति भयो भन्ने इतिहासलाई हेर्ने हो भने हामीले मार्क्स-एंगेल्सले भनेका ती अन्तर्निहित वैज्ञानिक वस्तुवादी सच्चाइ हामीले आफैले पनि हाम्रो कम्युनिस्ट आन्दोलनमा भोगेको देख्न सकिन्छ ।
र, त्यो प्रक्रिया पार्टीहरू पुनर्गठनका प्रयास भए । त्यसबाट कम्युनिस्ट पार्टी र आन्दोलन ध्वस्त भए त ? भएनन् । अर्को पुस्ताले फेरि झण्डा उठायो । फेरि नयाँ सिराबाट कम्युनिस्ट आन्दोलनहरू अगाडि बढाउने प्रयास भए । अगाडि बढे । त्यही क्रममा नेपालको कम्युनिस्ट आन्दोलन दुई धारका रूपमा अघि बढ्यो जसलाई २०७५ आएर हामी एकताबद्ध गर्ने ठाउँमा आइपुग्यौँ ।
निकै ठूलो उत्साह र निकै ठूलो भरोसा आम जनता र पार्टीभित्र पैदा भयो । तपाईं हाम्रो जिज्ञासा अब कम्युनिस्ट पार्टी के हुन्छ ? स्थायी कमिटीको बैठक, केन्द्रीय समितिको बैठक के हुन्छ ? महाधिवेशन हुन्छ कि हुँदैन ? एकता प्रक्रिया सफलतापूर्वक टुङ्गिन्छ कि टुङ्गिँदैन वा महाधिवेशनसम्म नपुग्दै पार्टी विभाजन त हुने होइन भन्ने तमाम आशंका तपाईंहरूको मनमा छन् भन्ने कुरा हामीलाई थाहा छ । देशभरका कार्यकर्ता र जनताका कुरा हामी अनुभूत गर्छौँ ।
हामीले गठबन्धन बनाएर एउटै उम्मेदवार बनाएर चुनावमा जाँदा घोषणापत्रका केही आधारहरू बनाएका थियौँ । हामीले उन्नत अर्थतन्त्रसहितको समृद्ध नेपालको एउटा सपना दिएका थियौँ । हामीले सामूहिक रूपमा नेपाललाई समाजवादी दिशातिर लान चाहन्छौँ भनेका थियौँ । हामीले यसरी अभियान चलाउँदै गर्दा जुन उत्साह पैदा भएको थियो, त्यसले जनतामा आशा र भरोसा पैदा भएको थियो । त्यहाँदेखि यहाँसम्म आउँदा हामीले त्यसलाई कति कायम राख्न सक्यौँ ? सक्यौँ कि सकेनौँ ? सकेनौँ भने के कारणले सकेनौँ ? के त्यस्तो कारण परेको छ ?
अहिले बिहानै बेलुकै समाचार सुन्दा कुन नहुने समाचार सुन्नुपर्ने हो भनेर जुन सन्त्रासयुक्त मन लिएर बस्नुपरेको अवस्था छ, यति छिटै, एकता प्रक्रिया नटुङ्गिँदै यस्तो अवस्था किन पैदा भयो ? आजको महत्त्वपूर्ण यक्ष प्रश्न यही छ । यसको जवाफ पार्टीमा खोज्ने प्रयास हामीले गरिरहेका छौँ ।
कम्युनिस्ट पार्टी भनेको ‘सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी’ लिएर चल्ने पार्टी हो । त्यस्तो सामूहिक नेतृत्व हामीले विकसित गर्न सक्यौँ कि सकेनौँ ? हेर्ने हो भने कता-कता दुई वर्षसम्म केन्द्रीय समितिको बैठक गर्न सकेनौँ । जबकि ६ महिनामा बैठक गर्नुपर्ने वैधानिक व्यवस्था छ । समस्या आउँदा सामूहिक रूपमा छलफल गर्ने र त्यसबाट जे निष्कर्ष आउँछ, त्यसको पालना गर्ने नीति लिएका थियौँ । त्यो नीति अपनायौँ कि अपनाएनौँ भन्दा बैठकै नबसेपछि सामूहिक छलफल र निष्कर्ष भन्ने नै भएन ।
पार्टी भनेको विवेक हो, सरकार भनेको सत्ता हो। कम्युनिस्ट पार्टीमा विवेकले सत्ताको नेतृत्व गर्नुपर्छ । त्यो भनेको पार्टीले सत्ता चलाउने हो । सरकारले पार्टीमाथि हैकम चलाउनेजस्तो स्थिति भयो भने त्यो तपाईं हाम्रो वैज्ञानिक मान्यताभन्दा बाहिरको कुरा हुन्छ । पछिल्लो दुई वर्षलाई हेर्दा कतै विवेकले सत्तालाई चलाउने नभई सत्ताले विवेकलाई चलाउने अवस्था भएको हो कि ? समूहको अधीनस्थ व्यक्ति हुनेभन्दा कतै व्यक्तिको अधीनस्थ समूह भएर जाने खतरा पो पैदा भएको हो कि ? तपाईंहरुले यसमा पक्कै विचार गर्नुभएकै होला । समूहको नेतृत्वमा, समूह अन्तर्गत व्यक्ति हुने हो । त्यसकारण सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीलाई कम्युनिस्ट पार्टीभित्र स्थापित गर्ने मार्क्सकै पालादेखि बहस गरिएको हो ।
हामीले जनतालाई सुशासन दिन्छौँ भन्यौँ । तर श्रृंखलाबद्ध रूपमा उठिरहेका प्रश्नहरू र भ्रष्टाचारबारे उठिरहेका प्रश्नहरूको निरूपणमा हामी कति सफल भयौँ ? वा भएका छैनौँ भन्ने प्रश्नहरू छ । हामीले विचारलाई प्राथमिकता दिने या पावरलाई भन्ने प्रश्नमा हामी कसरी गइरहेका छौँ ? अघि यहाँ कुरा आयो- हुँदा हुँदा हाम्रो पार्टीमा त बैठक बस्न पनि निकै ठूलो कसरत गर्नुपर्ने र बैठक बसिसकेपछि बैठकको ओज महत्त्व र गरिमालाई कायम राख्ने कि नराख्ने भन्ने डिबेटहरु पनि हामीले सुन्नु परेकै छ । पार्टीले सामूहिक रूपमा निर्णय गर्यो भने सापेक्षिक रूपमा सही हुन्छ।
राष्ट्रियताको सवालमा जब नक्साको कुरा उठ्यो, जब भारतले नेपालको भूभागलाई समेत राखेर नक्सा निकाल्यो, त्यो बेला कार्यकारीका रूपमा स्थायी समितिको बैठकको अध्यक्षता मैले गरिरहेको थिएँ । जब भारतले हाम्रो भू-भाग समावेश गरेर नक्सा निकालेको थाहा भयो, हामीले ‘अरूको एक इन्च पनि चाहिएन, हाम्रो एक इन्च भूमि पनि छोड्दैनौँ’ भनेर तत्काल आफ्नो भूमिसहितको नक्सा प्रकाशन गर्ने निर्णय स्थायी समितिबाट गर्यौँ । र, मैले सरकारलाई नक्सा प्रकाशन गर्न ढिलो गर्नु हुँदैन भनेर पुस महिनामा भनेको हो । त्यतिबेला सरकारले ‘नक्सा किन निकाल्ने, सिधै भूमि फिर्ता ल्याउने’ भन्ने कुरा आयो । तपाईंहरुलाई थाहा छ, माघ महिनामा बसेको केन्द्रीय समितिले पनि ‘छिटो नक्सा प्रकाशित गर्नुपर्छ’ भन्ने निर्णय गर्यो । सुझाव पनि दियो ।
तर, सरकारले त्यस किसिमको तयारी गरेको देखिएन । संसदमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दिन बिहान एकैछिन बसेको सचिवालय बैठकमा नक्सा प्रकाशित गर्ने कुरा नीति कार्यक्रममा पार्नै पर्यो भनेर भन्यौँ । अन्त्यमा त्यही बैठकमा रहनुभएका प्रधानमन्त्रीजी पनि त्यसमा सहमत हुनुभयो । त्यही बैठकबाट मूख्यसचिवलाई फोन गरेर प्रेसमा छापिइरहेको नीति तथा कार्यक्रममा नक्सा जारी गर्ने कुरा थप गर्न लगाइयो । त्यो पार्टीको निर्णय थियो । एकजना कमरेडले भन्नुभयो, पार्टीको निर्णय सरकारले मानिदिँदा कति राम्रो हुने रहेछ त । पार्टीको निर्णय सरकारले मानिदिँदा नक्सा प्रकाशित भयो, संविधान संशोधन भयो । सारा नेपाली गौरवान्वित भए । जनतामा राष्ट्रिय एकताको भावना देखियो, सब एकताबद्ध भए । पार्टीको निर्णयबेगर सरकारले निर्णय गर्न खोज्दा कति धेरै विवाद आए, कति धेरै अन्योल जन्मिए भन्ने कुरा राख्नु हुँदै थियो । त्यसो भएर पार्टीको निर्णय सर्वोपरि कुरा हो । त्यहाँ सामूहिक विवेकको कुरा अभिव्यक्ति भएको हुन्छ र त्यो विवेकलाई सरकारले पालना गर्दा राष्ट्रिय रूपमा त्यो कुरा निकै ठूलो विषय बन्छ ।
हामीले प्रधानमन्त्रीलाई त्यसमा धन्यवाद पनि भन्यौँ किनभने पार्टीले मात्रै निर्णय गरेर उहाँले नमानेको भए त्यो लागू हुन सक्दैनथ्यो । त्यसको वैधानिक हैसियतका निम्ति सरकार चाहिन्थ्यो । तर, यदि फेरि पार्टीको सामूहिक विवेकबाट भएको निर्णयलाई पालन गरेको सबै चाहिँ व्यक्तिको खल्तीमा हाल्ने प्रयास भयो भने त्यो इमानदार प्रयास हुन सक्दैन । त्यसले फेरि अर्को विभ्रम पैदा गर्छ । त्यस कारण यो सिङ्गो राष्ट्रले गर्व गर्ने कुरा हो । सबैको राष्ट्रिय एकताको प्रतिफल पनि हो । कम्युनिस्ट पार्टीको सामूहिक विवेकको प्रतिफल पनि हो । र, सरकारले पनि त्यसलाई वैधानिकता प्रदान गरेकाले सरकार पनि धन्यवादको पात्र छ । यो पो सही कुरा हो । अनि त्यही पार्टी जसले यो नक्सा प्रकाशित गर्ने निर्णय गराउन निरन्तर दबाब दिए, उनीहरू चाहिँ राष्ट्रघाती र दलाल, जुन सरकारले नक्सा प्रकाशित गर्न यति ढिलो गर्यो, त्यसको चाहिँ देवत्वकरण ? यो हुन सक्दैन । हामी सबैले बुझ्नुपर्ने कुरा छ यो । त्यस्तो भयो भने त्यहाँ इमानदारिता र पारदर्शिता हुँदैन । त्यहाँ विवेकले काम गरेको भन्ने हुँदैन । हामी यो कुरामा सबै सचेत हुनुपर्ने कुरा जरुरी छ । हामीले चुनावमा जे कुरा भनेका थियौँ, त्यसरी हामी जान सकेका छैनौँ ।
अहिले बैठक चलिरहेको छ । मैले सार्वजनिक रूपमा पहिले पनि भनेको छु, पार्टी संकटमा छ । साँचो कुरा के हो भने यहाँ अहिले सबै कुरा ठिकठाक छ भने कुरा मैले भनेँ भने त्यो सत्य होइन । पार्टी संकटमा छ । किनकि हाम्रो पार्टीको बैठक चलिरहेको समयमा निर्वाचन आयोगमा नेकपा एमाले नामको अर्को पार्टी दर्ताको प्रक्रिया हाम्रो पार्टीका अर्का अध्यक्षको पहल र सक्रियतामा भएको छ । त्यसकारण त्यसले सकंटकलाई व्यक्त गरेकै छ । यो सबैले देखेकै कुरा हो ।
अहिले देशभरि केही कार्यकर्तालाई नारा जुलुशमा लगाउने कोशिस भएको छ । तपाईंहरुले देखिराख्नु भएकै छ । हामी पार्टीलाई कसरी मिलाएर लैजाने, विवाद कसरी मिलाउने, राष्ट्रिय मुद्दाहरूमा कसरी एकताबद्ध भएर जाने भन्ने छलफल र बहस गरिरहेका छौँ, तर देशभरि जिन्दावाद र मुर्दावादका नारा लगाइएका छन् । देशभरिबाट साथीहरूले हामीलाई सोध्छन्, हामी के गर्ने ? हामीले धैर्य लिनुस् र पार्टी एकताको पक्षमा उभिनुस् भनेर भनेका छौँ । तर, त्यस खालका प्रचारहरू भएका छन् । यसबाट पार्टी संकटमा छ भन्ने देखाएको छ । पार्टी सामान्य स्थितिमा छैन ।
पार्टी एकताको प्रक्रियामा हामीले केही आधारहरू बनायौँ । सबैभन्दा पहिला वैचारिक राजनीतिक आधार । वैचारिक ढंगले मार्क्सवाद र लेनिनवादलाई हाम्रो पार्टीको निर्देशक सिद्धान्त हो भनेर सर्वसम्मतमा मानेका छौँ भने राजनीतिक कार्यदिशाको रूपमा जनताको बहुदलीय जनवाद, २१ औँ शताब्दीको जनवाद र माओवाद सम्बन्धी मान्यतालाई अबको नयाँ चरणमा विकसित गर्नुपर्छ परिमार्जित गर्नुपर्छ भन्दै समाजवाद उन्मुख जनताको जनवादलाई अहिलेको हाम्रो कार्यदिशा भन्यौँ । तर तपाईं हामीले अहिले फेरि कता-कता फेरि हामी पछाडि फर्किन खोजेका संकेतहरु देखिएका छन् । विभिन्न ठाउँमा कहिले २१ औँ शताब्दीको जनवाद जिन्दावाद भन्यौँ भने या माओवाद जिन्दावाद भन्यौँ भने अनि अर्कोतिर न महाधिवेशनको निम्ति छलफल खुल्ला गरेका छौँ । यस्तो अवस्थामा त्यसो भनियो भने त्यो अगाडि गएको ठहरिँदैन । त्यो पार्टी एकताको पक्षमा उभिएको ठहरिँदैन । पार्टी विभाजनतिर जबर्जस्त गइरहेको छ भन्नेतिर मात्र संकेत गर्छ ।
म नेता कार्यकर्ताको ध्यान आकर्षित गर्न चाहन्छु, हामीले जनताको बहुदलीय जनवादलाई निषेध गर्ने कुरा पार्टी एकता गर्ने बेला गरेका छैनौँ । हामीले राजनीतिक प्रतिवेदन पारित गर्ने बेलामा जनताको बहुदलीय जनवादले खेलेको ऐतिहासिक भूमिकालाई उच्च सम्मान गरिएको छ । मदन भण्डारीको राजनीतिक गतिशीलता र योगदानलाई उच्च मूल्याङ्कन गरिएको छ । २१औँ शताब्दीको जनवाद या माओवादको पनि उच्च मूल्याङ्कन गरिएको छ । हामीले अब पार्टी एकता गर्दा र अगाडि बढ्दा जनताको जनवादका आधारमा समाजवादउन्मुख सबै कुरालाई विकसित र परिमार्जित गर्नुपर्छ भनिएको छ । त्यस बाटोलाई छोडेर मैले ‘माओवाद जिन्दावाद’ भन्न थाले वा ‘२१औँ शताब्दीको जनवाद जिन्दावाद’ भन्न थालेँ भने या अर्कोले ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’ भन्न थाल्यो भने हामीले एकतालाई प्रवर्द्धन गरेको ठहरिँदैन । हामी कहीँ न कहीँ विभाजनतिर जान खोज्दैछौँ, एकताको भावनालाई सम्बोधन गर्नेतिर होइन भन्ने अर्थ दिन्छ । त्यसो नगरौँ । जुलुस ननिकालौँ ।
हामी पार्टीमा छलफल गरिरहेका छौँ । एकताको निम्ति छलफल भइरहेका छन् । हामी त्योभन्दा बाहिर जानु उचित छैन । हामी भनिरहेकै छौँ । मैले धेरै ठाउँमा भनेको छु । पार्टी भनेको विचार र विधि हो । पहिलो विचार हो, त्यसपछि विधि हो । विचारले मात्र पनि पार्टी बन्दैन । विधि मात्रले पनि पार्टी बन्दैन । विचार र विधि पद्धतिको संयोजन नै पार्टी हो । त्यसमाथि पनि कम्युनिस्ट पार्टी भन्ने बित्तिकै त्यसमा विचार र विधिको संयोजन नै गतिशीलताको आधार हो । त्यसकारण विचार विधिमा एकरूपता कायम गर्ने कोशिस हामीले गर्नैपर्छ । यो प्रयास चलेको छ । अब एकताप्रति तपाईंलाई माया छ भने तपाईंले एकतालाई क्षति पुग्ने गतिविधि गर्नुहुन्न । तपाईंलाई सामूहिक निर्णयप्रति विश्वास छैन भने व्यक्तिगत निर्णयलाई सर्वपरि ठान्नुहुन्छ । त्यसो ठानियो भने यो एकतालाई निरन्तर र विकसित गर्न सम्भव हुँदैन ।
अहिले चलेको बहस अन्ततः विचार, विधि, पद्धति, सामूहिक निर्णयको बहस वा के भन्ने बहस हो । समाजवादतिर हो कि पुँजीवादतिर हो भन्ने बहस यसभित्र अन्तरनिहित छ । हामीले अन्तरनिहित बहसलाई सारतत्त्वमा बाहिर लिनुपर्ने । त्यो सकिएको छैन । कता-कता पदको निम्ति लुछाचुँडी हो कि भन्ने देखिएको छ । त्यो वास्तवमा सच्चाउनुपर्ने भएको छ । हाम्रो विचार, विधि, पद्धति र समाजवाद कसरी निर्माण गर्ने भन्ने कुराको बहस हो । अबको समाजवादी अर्थतन्त्र कस्तो हुने, समाजवादी राजनीति कस्तो हुने समाजवादी संरचना कस्तो हुने समाजवादी संस्कृति कस्तो हुने भन्ने विषयमा अहिलेको बहस हो । वास्तविक अहिले चलिरहेको बहस त्यो हो । यही बहस अहिले चलिरहेको छ भन्ने कुरा आम नागरिकमा र कार्यकर्तामा लिन सकिएको छैन । यसलाई सच्याउनुपर्ने छ । अहिलेको बहस विचारको बहस हो ।
को व्यक्ति पदमा जाने को नजाने भन्ने बहस मुख्य रूपमा होइन । विचारसँग जोडिएर नेतृत्व पनि आउँछ । तर प्राथमिक कुरा र प्रधान कुरा विचार नै हो । म के भन्न चाहन्छु भने, कुनै पनि स्थितिमा पार्टी विभाजन हुनबाट रोक्न अन्तिम तहसम्म हामी प्रयास गर्दैछौँ । र, पार्टी विभाजन हुन दिइने छैन भन्ने विश्वास तपाईंलाई दिलाउन चाहन्छु । पार्टीलाई एकताबद्ध राखिने छ । पार्टीलाई विचार केन्द्रित बनाइने छ । र, विधि र पद्धतिमा चल्ने पार्टी बनाइने छ । यस बहसबाट स्पष्ट रुपमा विचार पनि आउने छ । विधि र पद्धतिमा चल्ने प्रक्रियालाई जन्म दिनेछ । त्यसकारण हामी आतिहाल्नुपर्ने स्थिति छैन ।
(नेकपाका संस्थापक महासचिव क. पुष्पलालको ४२औँ स्मृति दिवसका सन्दर्भमा २०७७ श्रावण ९ गते पुष्पलाल मित्रता केन्द्रले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का श्रद्धेय अध्यक्ष, पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बोधनको सम्पादित सामग्री ।)