“मणिर्लुण्ठति पादाग्रे काच:शिरसि धार्यते।
क्रयविक्रयवेलायां काच:काच मणिर्मणि ।।” – चाणक्य
यसको अर्थ: कुनै परिस्थितिवश मणि रत्न खुट्टामा बाँधियोस् र काँच (शीशा) लाई शिरमा लगाइयोस् तर किनबेच गर्ने बेलामा काँचलाई काँचकै र मणिलाई मणि कै मूल्यमा हिसाब गरिन्छ ।
सन्दर्भ हिजोआज नेपाल कम्युनिस्ट पार्टीमा (नेकपा) मा नेतृत्व मूल्याङ्कन, आलोचना या गालीगलौजको हो । पार्टीमा “सामूहिक निर्णय व्यक्तिगत उत्तरदायित्व”को नीतिलाई स्थापित गर्ने वा “हरिभङ्ग राजा भिताभङ्ग काजी” बनाएर जाने भन्नेबारे तीव्र संघर्ष छ । पार्टी जीवनको पेचिलो संक्रमणको बेला पार्टी पंक्तिले गम्भीरतापूर्वक विधिमा रही छलफल गरेर गलत प्रवृत्तिलाई सच्याएर अगाडि बढ्ने कि कुखुराले मल खोस्रेझैँ खराब प्रवृत्तिलाई समातेर पार्टीमाथि आक्रमण गर्ने ?
आलोचना रुपान्तरण र निर्माणका लागि हुनुपर्छ तर फुट र ध्वंसका लागि होइन । जहाँसम्म मुख्य नेतृत्वमा रहुनु भएका क. प्रचण्डमाथि ज्यादतिपूर्ण र घटिया टिप्पणी भइरहेका छन्, त्यो सामान्यतयाः टाउकोमा हानेर शरीर मार्ने प्रतिक्रियावादी सिद्धान्त र नीति हो । हरेक कार्यकर्तालाई नेतृत्वको विधिमा रही आलोचना गर्ने हक छ । अराजक ढंगले खुइल्याउने हक छैन ।
क. प्रचण्डमा कमी कमजोरी छन् किनकि क. प्रचण्ड पनि मानिस नै हो । ‘एकको दुईमा विभाजन’ (one divides into two) को नियम क. प्रचण्डमा पनि लागू हुन्छ । आलोचनाको विषयमा वरिष्ठ पत्रकार रवि लामिछानेजीसँग सहमत छु । अरु नभनौँ ।
क. प्रचण्ड संकट (आन्तरिक होस् या बाह्य) को बेलामा चमत्कार देखाउने नेता हुन्, दृष्टिकोण हुन् । “चरा मार्ने गुलेली नहुनेले जनयुद्ध !” भन्नेहरुका अगाडि जनयुद्ध गरेर अन्तिममा ज्ञानेन्द्र सत्ता हातमा लिएपछि सात दललाई युद्धकै बिचमा साथ लएर जनयुद्ध र जन-आन्दोलनलाई फ्युजन गरी संविधानसभाको निर्वाचन संभव बनाउने नेतृत्व हो क. प्रचण्ड ।
पहिलो संविधानसभाले संविधान जारी नगरी भङ्ग भएर प्रतिगमनको खतरा बढेकै बेला दोस्रो संविधानसभा चुनाव संभव बनाउने सक्षम नेता हो क. प्रचण्ड । दोस्रो संविधानसभाबाट पनि संविधान जारी नहुने स्थिति पैदा भयो । ठिक त्यसैबेला तत्कालीन एमाले र नेपाली काँग्रेसका स्वर्गीय सुशील कोइरालाको सरकारलाई ढाल्ने तयारी गर्दै गर्दा संसदमा “संकटको बेला राष्ट्रिय एकता आजको आवश्यकता” भनेर एकता र सरकारलाई मद्दत गर्न आह्वान गरी सबैलाई चकित पार्ने नेता हो क. प्रचण्ड ।
कमरेड केपीलाई संविधान जारी गरेपछि प्रधानमन्त्रीमा समर्थन गर्ने र सुशील कोइरालाको अवधि लम्ब्याउने पहल नेपाली काँग्रेसलाई संविधान घोषणको जस जानेसम्मका कुरा सम्झाएर संविधान जारी संभव बनाउने नेता हो क. प्रचण्ड । संविधान घोषणा हुनै लाग्दा भारतको हस्तक्षेप हुँदा प्रधानमन्त्री कोइराला र कमरेड ओलीसमेतलाई साथ लिएर भारतको हस्तक्षेपलाई चिरेर संविधान जारी संभव बजाउने नेता हो क. प्रचण्ड ।
संविधान जारी भए पनि कार्यन्वयन गर्न नदिने भारतको षडयन्त्र चिरेर स्थानीय तहको चुनाव सम्पन्न भयो जबकि हुनुपर्ने पहिले संघको चुनाव हो । त्यस्तो किन गरियो भने जहाँबाट संभव छ, त्यहीँबाट संघीयता कार्यान्वयन गर्ने रणनीति अन्तरगत त्यसो भयो । यो संभव बनाउने पनि क. प्रचण्ड नै हो ।
आफैले महाविपत्ति सृजना गरी आफै खेल्ने विचारको नाम हो क. प्रचण्ड । जनयुद्ध त्यही महाविपत्ति थियो । २१औँ शताब्दीको जनवादको प्रवर्तक हुन् क. प्रचण्ड । रणनीतिमा दृढता र कार्यनीतिमा लचकताको नाम हो क. प्रचण्ड । मार्क्सवादलाई गतिमा बुझ्ने गतिशील नेता हुन् क. प्रचण्ड । क. प्रचण्डको लचकतालाई कमजोरी र दृढतालाई असंभव देख्नेहरु मार्क्सवादी हुन सक्दैनन् ।
क. प्रचण्ड एकको दुईमा विभाजन हुनु विज्ञानको नियम हो । क. प्रचण्डका पनि केही कमजोरी छन् । ती कमजोरी सच्याउनु पर्छ र हामीले मद्दत गर्नुपर्छ । क. प्रचण्डका उल्लेखित क्षमता र गुणका अगाडि कमजोरी नगण्य नै हुन् । क. प्रचण्ड संकटको बेला अगाडि बढ्ने क्षमता हो । त्यसैले काँच र मणि बेच्दा मूल्यबाट चिनिन्छ । ‘शिरमा पहिरिएको भए पनि, काँच काँच हो, मणि मणि !’ यसो भन्दा फरक पर्दैन कि?
(लेखक नेकपाका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य हुनुहुन्छ ।)