प्रचण्ड, puspa kamal dahal, chairman prachanda,
 

सबैभन्दा पहिला ०५२ साल फागु १ गतेबाट सुरु गरिएको जनयुद्धको २४ वर्ष पूरा भएर २५ वर्ष प्रवेश गरेको छ । यो क्रममा हामी शान्ति प्रक्रियामा प्रवेश गरेको पनि १४ वर्ष पूरा भएको छ । हामी शान्ति प्रक्रिया को १५औँ वर्षमा प्रवेश गरेका छौँ । यो ऐतिहासिक सन्दर्भमा जनयुद्ध र जनआन्दोलनका महान् शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । यस क्रममा बेपत्ता पारिएका हजारौँ योद्धाहरुप्रति सम्मान व्यक्त गर्न चाहन्छु । हजारौँ घाइते अपाङ्ग र उहाँहरूको परिवारप्रति सम्मान व्यक्त गर्न चाहन्छु ।

कमरेडहरु,

हामी अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा छौँ । यहाँसम्म आउने क्रममा नेपालको कम्युनिस्ट आन्दोलनको विकासको दृष्टिकोणले पनि र नेपालको राजनीतिक आन्दोलनको विकासको दृष्टिकोणले पनि केही मौलिक विचार, नीति, कार्यक्रम र योजनाहरू अगाडि आएका छन् । यी मूलभूत सिद्धान्तमा आधारित नै छन् । ठोस परिस्थितिअनुसार नै आफ्नै ढंगले विकसित भएका छन् ।

२००७ साल वरिपरि जहानियाँ राणा शासनको विरुद्ध संघर्षको क्रममा त्यतिबेलाका आफूलाई प्रजातान्त्रिक भन्ने पार्टी नेपाली राष्ट्रिय काँग्रेसले हतियार उठाएको थियो । हतियारबन्द संघर्ष गरेको थियो । २०१७ सालपछि पनि काँग्रेसको नेतृत्वमा फेरि हतियार उठ्यो । त्यसले उल्लेख्य परिवर्तन गर्न सकेन तर हतियार उठ्यो । पञ्चायती तानाशाही आफ्नो उग्रचरणमा विकास भइराखेको अवस्थामा कम्युनिस्टहरूको नेतृत्वमा तत्कालीन युवाहरुले ०२८ सालमा झापा विद्रोह गरे । त्यो एउटा सशस्त्र संघर्ष नै थियो ।

त्यो राज्यद्वारा थोपरिएको अत्याचार, तानाशाही र निरंकुशताको विरुद्ध जनताकोतर्फबाट कम्युनिस्ट पार्टीको नेतृत्वमा गरिएको एउटा सशस्त्र आन्दोलन नै थियो । र, त्यसैको कडीकोरूपमा ०५२ साल फागुन १ गतेबाट तत्कालीन माओवादीको नेतृत्वमा जनयुद्ध उद्घोष भयो । यसको अर्थ ००७ सालको क्रान्ति होस् या ०२८ सालको विद्रोह होस् या ०५२ सालको माओवादी सशस्त्र विद्रोह, यी सबै घटनाक्राम एक अर्कासँग कुनै न कुनैरुपमा अन्तरसम्बन्धित रहेको छ । पहिलोबाट शिक्षा लिएर दोस्रो र दोस्रोबाट शिक्षा लिएर तेस्रोले उल्लेख्य प्रभाव पारेको नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलन या समग्र विकासमा यी आन्दोलन जोडिएका छन् ।

००७ सालको र २८ सालको विद्रोह र अनुभवबाट शिक्षा लिएर अझै संगठित र अझै व्यवस्थितरुपमा राजतन्त्रको विरुद्ध गणतन्त्रको निम्ति जनवादी क्रान्तिको पूर्णताको निम्ति सामन्ति राजतन्त्रको विरुद्ध र वैदेशिक हस्तक्षेपका विरुद्ध एउटा विद्रोहको रुपमा अगाडि आयो । नेपालको इतिहासमा त यो झण्डै १७ हजार मानिसको बलिदान हुने गरी संगत र सचेत विद्रोह थियो । यसका धेरै आयमहरू छन् । म अहिले त्यता जान चाहन्न ।

मेरो ध्यान कहाँनेर छ त भने जनयुद्धलाई विकसित गर्दै जाने क्रममा जनयुद्धकै बेलामा हामीले कमसेकम कम्युनिस्टहरूको नेतृत्वमा भएका सबैखाले आन्दोलन, विद्रोह, सशस्त्र र शान्तिपूर्ण सबैलाई जोड्नु पर्छ भन्ने निर्णय त्यतिबेला मेरै नेतृत्वमा तत्कालीन माओवादीको केन्द्रीय समितिको बैठकले गम्भीर छलफल गरेर निर्णय गरेको थियो । र, झापा विद्रोह र सुखानीका ती महान शहीदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुँकेल लगायत वीर शहीदहरू र जनयुद्धका ती महान शहीदहरु, पहिलो शहीद दिलबहादुर रम्तेलदेखि तात्कालीन पार्टीको सर्वोच्च पदमा पुग्नुभएको कमरेड सुरेश वाग्ले, केन्द्रीय समितिमा भएका मोहन गौतमलगायतका कमरेडहरूसँगसम्म जोडिनु पर्छ । सुखानी र माओवादी विद्रोह, झापा र माओवादी विद्रोह जोडिनु पर्छ । त्यसले एउटा नयाँ संश्लेषणतिर नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा लान्छ र लानुपर्छ भन्ने कुरा भनिएको थियो ।

म सबै कमरेडको ध्यानाकर्षण गराउन चाहन्छु । जनयुद्धको क्रममा हामीले फागुन १४ गते दिलबहादुर रम्तेल जनयुद्धको पहिलो शहीद भएको दिनबाट सुरु गरेर सुखानीका शहीदहरूसम्मलाई हामीले समेटेर शहीद सप्ताह मनाउने गरेका थियौँ । जतिबेला जनयुद्ध चलिराखेकै थियो । हामी कम्युनिस्ट पार्टीको नेतृत्वमा परिवर्तन, आन्दोलन र विद्रोह गर्ने कहीँ न कहीँ एक ठाउँमा गएर जुट्नुपर्छ भन्ने चेतना नेतृत्वमा थियो भन्ने कुरा म सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।

अहिले पार्टी एकता भएर नेकपा भएका छौँ । तर, यसका भ्रूणहरू विद्रोहकै बेलामा आन्दोलनकै बेलामा थियो । १२ बुँदे समझदारी र ऐतिहासिक जनआन्दोलनको सन्दर्भमा त्यो अझ बढी परिपक्व भयो । संविधान निर्माणको क्रममा झनै घनिभूत भयो । सरकार गठन र पार्टी एकताको संकल्पसहित गठबन्धन गर्दा र पार्टी एकता गर्दा त्यो अर्को उचाइमा पुग्यो । देशभरिका हाम्रा सदस्य कमरेडहरू, हाम्रा समर्थक जनसमुदायहरूलाई र अन्तर्राष्ट्रियरूपमा रहेका सबै कम्युनिस्ट र न्ययप्रेमी आन्दोलनका सहयात्रीहरूलाई म भन्न चाहन्छु कि सही विचार र सही नेतृत्वले इतिहासमा ठूलाठूला फड्कोहरु मार्न सक्छ ।

सही विचार र सही नेतृत्वले असम्भव जस्ता ठानिएका पनि सम्भव तुल्याउन सक्छ । किनभने केही बर्ष पहिलेसम्म नेपालमा यति छिटै संविधानसभा भइहाल्ला, संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा होला, आपसमा निकै तीतो कटुतापूर्ण र कहिलेकाँही शत्रुतापूर्ण संघर्षमा रहेका दुईटा मुख्य कम्युनिस्ट पार्टीहरू एकता होला र चुनावमा दुईतिहाइ बहुमत ल्याउनेगरी प्रस्तुत होलान् भन्ने केही वर्ष अघिसम्म मानिसले सोच्दैनथे । तर, म विनम्रतापूर्वक भन्न चाहन्छु, सही विचार र सही नेतृत्व छ भने ती असम्भव भनिएको कुरालाई सम्भव बनाउन सकिन्छ ।

जनयुद्ध आफै सुरुका दिनहरूमा हेर्दा धेरैलाई विश्वास थिएन । यो विस्तार होला र यसले एउटा ठूलो राजनीतिक विद्रोहको रुप लेला । यसले एउटा विशाल सेना निर्माण गर्नतिर जाला, संविधानसभा जन्माउला, यसले गणतन्त्र जन्माउन योगदान गर्ला भन्ने कुरामा विश्वास गर्न गाह्रो थियो तर भयो ।

टाउकोको मूल्य तोकेर जिउँदै वा मारेर ल्याएपछि धेरै पुरस्कार पाउने भनिएको पार्टीको नेतृत्वमा पनि शान्ति सम्झौता भयो । तत्कालीन एमाले र नेकपा माओवादी निकै तिखो संघर्षमा केही वर्ष गएकै हो । जनयुद्ध सुरु गरेर मैले झण्डै चार पाँच बर्षसम्म तिखो संघर्षमा उत्रिएको हो । एकले अर्कालाई सिध्याउने खालको प्रवृत्ति थियो । र, पाँच बर्षपछिबाट फेरि हामी दुवै कम्युनिस्टहरू वार्ता र सम्वादको प्रक्रियामा प्रवेश गर्यौं ।

आज म यो कुरा पनि स्मरण गर्न अर्थपूर्ण हुन्छ भन्ने ठान्दछु । कमरेड वामदेव गौतम, कमरेड युवराज ज्ञवाली एमालेकोतर्फबाट वार्तामा हुनुहुन्थ्यो । उहाँहरू हाम्रो आधार इलाकामा बसिराखेको बेलामा वार्ता गर्न आउनुभयो । उहाँहरूको पछाडि सेनाले हेलिकप्टेरबाट पिछा गर्ने र उहाँहरूलाई आक्रमण गर्ने प्रयास पनि भएका थिए त्यतिबेला । उहाँलाई सुरक्षितरूपमा रोल्पाको मुसेबाङ भन्ने ठाउँमा वार्ता गर्‍यौँ, सहमति गर्‍यौँ र हस्ताक्षर गर्‍यौँ । र, हामी मिलेर निरङकुश, तानाशाही विरुद्ध जानुपर्छ भन्ने एउटा समझदारी बन्यो ।

त्यो समझदारी तत्काल कतिपयलाई बेठिक जस्तो पनि लाग्यो होला । कहाँ आतंककारीसँग शान्तिपूर्ण राजनीतिमा नेतृत्व गरिसकेको पार्टी नेताहरू गएर वार्ता गरेर, सहमति गरेर हस्ताक्षर गर्नु भनेको कैयौँलाई अनौठो लाग्यो होला जस्तो लाग्छ । तर त्यो यस्तो विन्दु थियो, जुन विन्दुले हामीलाई एउटा ऐतिहासिक एकताको आधार निमार्ण गर्ने काम गर्यौं । त्यतिबेलाको राजनीतिमा गुजुल्टिएको राजनीतिलाई समाधान गर्न यसले काम गर्‍यो । त्यसकै जगमा १२ बुँदे समझदारी भयो । र, हामी एउटा मौलिक खालको परिस्थितिबाट गुज्रियौँ ।

एकातिर जनयुद्ध पनि चलिराखेको थियो । अर्कोतिर शान्तिपूर्ण जनआन्दोलन पनि चलिराखेको थियो । एकै साथ जिल्ला सदरमुकामहरूमा फौजी आक्रमण भइराखेको थियो । काठमाडौँका सडकहरूमा लाखौँ जनता सडकमा निस्किएका थिए । तात्कालीन सात राजनीतिक दल र विद्रोही माओवादीको समझदारीको आधारमा भएको हो । यस्तो दुनियाँमा कमै देख्न पाइन्छ । सबै ठाउँमा यस्तै हुन्छ भन्ने छैन । नेपालमा यस्तो वातावरण बनाइयो र बन्यो ।

हामी दुई कम्युनिस्ट पार्टी बिच संयुक्त मोर्चा बनाउने समझदारी भई नै सकेको थियो । नेपाली काँग्रेससँग पनि १२ बुँदे सहमति भयो । तत्कालीन नेता गिरिजाप्रसाद कोइराला र मेरो बिचमा झण्डै दिनदिनै जस्तो फोनमा कुरा हुन्थ्यो । र, उहाँले अलि आक्रमण बढाउनु पर्‍यो भन्नु हुन्थ्यो । फौजी आक्रमण अझै बढाइदिनु पर्‍यो भन्नुहुन्थ्यो । सदरमुकाम हान्नुपर्‍यो, ठूलठूला आक्रमण गर्नुपर्‍यो भन्नुहुन्थ्यो । यो कुरा विचित्रको थियो । यस्तो संसारमा कमै हुन्छ । यही विचित्रको परिस्थितिले नै नेपालमा २ सय ४० वर्षीय राजसंस्था ढल्यो । देश संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुग्यो । यही विचार हावी भएकै हुनाले एकता सम्भव भयो ।

अर्को नेतृत्व हुन्थ्यो भने अर्को विचार आउँथ्यो भने शान्ति प्रक्रियामा आउने कुरा सोचिँदैनथ्यो । त्यत्रो युद्ध, त्यत्रो हतियार, त्यत्रो सेना, आधार इलाका सबैले स्वीकारेको कुरा थियो । ८० प्रतिशत गाउँ माओवादी कब्जामा थियो भन्ने कुरा सत्य हो । यो सबै प्रकृयालाई रोकेर शान्ति प्रक्रियामा आउने कुरा सजिलो थिएन । यदि विचारप्रति विश्वास गहिरो नभएको भए आउन सम्भव थिएन । समकालीन विश्वलाई हेर्ने हो भने पनि थुप्रैले शान्ति प्रक्रियामा आउन खोजे तर सकेनन् ।

विश्वको विद्रोहबाट शिक्षा

तामिलहरु विद्रोह र फौजी हिसाबले निकै शक्तिशाली थिए । राष्ट्रिय मुक्ति आन्दोलनको एउटा सशस्त्र विद्रोह उचाइमा पुगेका थिए । शान्तिवार्तामा समेत बसेका थिए । सफल भएन । बढो भयानक अवसान हुन पुग्यो । त्यसको प्रमुख नेताकै हत्या भयो र सबै मारिएका थिए । अब कुनै अवशेष छैन । पेरुमा कम्युनिस्टहरूकै नेतृत्वमा सशस्त्र आन्दोलन र जनयुद्ध भयो । उत्कर्षमा पुग्यो तर त्यो शान्ति प्रक्रियामा रूपान्तरण हुन सकेन । जेल परिसकेपछि त्यसका प्रमुख नेता (गोञ्जालो) ले वार्ताका लागि पटक पटक चिठी लेख्नुभयो तर सरकारले सुनेन ।

त्यहाँ फुजीमोरी सरकारले पहिला वार्ता आह्वान गर्दा गोञ्जालोले “वार्ता हुन सक्दैन, सम्पूर्ण सत्ता हामीलाई दिने भए वार्ता हुन्छ, नत्र हुँदैन” भन्नुहुन्थ्यो । जब उहाँ गिरफ्तार भइसकेपछि अब आन्दोलन अगाडि जाँदैन वार्ता गर्नुपर्‍यो भने । प्रतिक्रियावादीले उहाँको कमजोरी बुझिहाले । अब किन वार्ता गर्ने ? उनीहरूको लिडरशिप सिद्धिहाल्यो । लिडरशिप नभएपछि आन्दोलन सिद्धियो भनेर वार्ता गर्न मानेन । परिणाम अहिले २७ वर्ष भयो, त्यहाँ आन्दोलन छैन । पार्टी पनि छैन । अहिले त्यहाँ साइनिङ पाथको पक्षमा कोही बोल्नसक्ने स्थिति छैन ।

तर, नेपालमा बढो विचित्र भयो । तपाईं हामी सबै सौभाग्यमानी भएका छौँ । नेपाली जनता महान् छन् । हामीले बढो विचित्रसँग शान्ति सम्झौता सम्पन्न गर्‍यौँ । शान्तिपूर्णरुपले संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्‍यौँ । लोकतान्त्रिकरुपले निर्वाचन लडेर त्यसमा पनि आफूलाई खरो उतार्दै लग्यौँ ।

हामी दुईवटा कम्युनिस्ट पार्टीको कुरा गर्ने हो भने तत्कालीन माओवादीले बहुमत नै ल्यायो । सबै भन्दा ठूलो पार्टी भयौँ । ठूलो हुँदा के हुँदोरहेछ भन्ने कुरा हामीले चुनावबाट अनुभव गर्‍यौँ । तत्कालीन एमाले सोच्दै नसोचेको सानो भयो । ०७० को निर्वाचनमा आउँदा नेकपा माओवादी सबैभन्दा सानो पार्टी भयो । एमाले फेरि तन्किएर ठूलो भयो । यी सबै अनुभवबाट पनि हामी गुज्रियौँ । संविधान निर्माण सरकार गठन र निर्वाचन प्रकृयामा र पार्टी एकतामा हामी आइपुग्यौँ । यो गम्भीर कुरा छ । हजारौँको बलिदानी छ । लाखौँका भावनाहरु जोडिएका छन् । करोडौँका आवश्यकताहरु जोडिएका छन् । त्यसकारण यसलाई यहीरुपमा बुझ्न जरुरी छ । यो विचार र नेतृत्वबिना भएको होइन ।

केही साथीहरु क्रान्ति र शान्ति आफै भयो जस्तो गरेर सोच्नुहुन्छ । केही साथीहरुले क्रान्ति गर्न रहर गर्नुभएको छ । मेरो जस्तै नक्कल गर्न थाल्नुभएको छ । यो नक्कल गरेर हुने कुरा होइन । एउटा ऐतिहासिक सन्दर्भमा एउटा ऐतिहासिक नेतृत्व र विचार जनताले विकास गरेपछि हुनेकुरा थियो । त्यसलाई टिकाउन पनि सक्नुपर्छ । चाहे श्रीलङ्का, चाहे पेरु, चाहे कोलम्बिया, चाहे फिलिपिन्स, चाहे टर्की, चाहे साउथ अफ्रिकाको विद्रोह र क्रान्ति दुनियाँभरको अनुभवको निचोड हामीले निकालेको हो ।

यी सबैको अनुभवबाट ‘हामीले हाम्रै मौलिकताको विशेषतामा शान्तिपूर्ण राजनीतिमा जानुपर्छ’, नेतृत्वले भनेको हो । ‘यो भन्दा बढी युद्ध गर्ने हो भने हाम्रो नियति पनि पेरु, श्रीलङ्का र अरु असफल सशस्त्र विद्रोहको जस्तै हुन्छ’ भन्ने निष्कर्षमा हामी पुगेको कारण आज हामी यहाँ छौँ । यो कुरा बुझिएन भने सम्पूर्ण परिवर्तनको पछाडि रहेको वैचारिक मान्यता र नेतृत्वको रणनीति नबुझिएको ठहरिन्छ । अर्को कुरा नेपालमा मौलिक तरिकाले जनवादी क्रान्ति सफल गरेका छौँ । यो जनवादी क्रान्ति न चीनको जस्तो, न रुसको जस्तो, न भियतनामको जस्तो, न क्युवाको जस्तो भयो । यो नेपालको जस्तो भयो ।

हिन्दुस्तानमा कम्युनिस्टको पतन र चीनमा माओको उदय

हिजो दोस्रो विश्वयुद्धको क्रममा कम्युनिस्ट पार्टीहरु विश्वभरि फैलिँदै गएका थिए । रुसमा समाजवादको निर्माण हुँदै थियो । जर्मनी नाजीसँग निकै ठूलो लँडाइ परिराखेको थियो । त्यसबेलामा तेस्रो विश्वमा कम्युनिस्ट क्रान्ति कसरी गर्ने भन्ने ठूलो बहस भयो । हिन्दुस्तानको कम्युनिस्ट पार्टी चीनको कम्युनिस्ट पार्टी भन्दा पुरानो पार्टी हो । सन् १९१९ बाटै सुरु भएको हो । चिनियाँ कम्युनिस्ट पार्टी १९२१ बाट सुरु भएको हो । तर जनवादी क्रान्तिको चरणमा हिन्दुस्तानको पार्टीले त्यहाँको नेतृत्व गर्न सकेन । त्यो साम्राज्यवादीको झण्डै-झण्डै पिछलग्गु जस्तो भयो । उनीहरुले आफ्नो देशको अंग्रजहरुको विरुद्धको लँडाइमा भारतको जनताको मनोभावनालाई समेट्न सकेन ।

रुसी सल्लाहमा ‘ब्रिटिसँग मिल्नुपर्छ, अंग्रेजसँग मिल्नुपर्छ’ भन्ने नीति थियो । त्यो रुसको आवश्यकता थियो । त्यो संसारको आवश्यकता थिएन । क्रान्ति कुनै निर्यात र आयातको वस्तु होइन । तर भारतीय कम्युनिस्ट नेताहरुले स्टालिनको सल्लाह अनुसार सशस्त्र संघर्ष पनि रोक्ने र उनीहरुसँग पनि सम्वाद गर्ने नीतिमा लागे । भारतीय काँग्रेसका नेता माहात्मा गान्धी जो अंग्रेज विरुद्धको आन्दोलनको नेताको रुपमा स्थापित थिए । भारतीय कम्युनिस्ट उनीहरुका विरुद्ध जाने जस्तो भएपछि जनवादी क्रान्ति गर्न सकेन ।

तर चिनियाँ कम्युनिस्ट पार्टी माओको नेतृत्वले स्टालिनको सल्लाहलाई अस्वीकार गरे । त्यहाँ जापानसँग मिल्नुपर्छ भन्ने थियो । माओले चीनको विशेषताअनुसार जापानसँग लडेर परास्त गरेर मात्र जनवादी क्रान्ति सम्भव हुन्छ भनेको हुनाले स्टालिनले चिनियाँ कम्युनिस्ट होइन भनेका थिए । यिनीहरु सामान्य विद्रोही किसान नेता मात्र हो भनेर टिप्पणी गरेका थिए । तर घटनाक्रमले के पुष्टि गर्‍यो भने माओत्सोतुङको नेतृत्वले लिएको कार्यदिशा सही थियो । माओको विचार सही थियो । नेतृत्व सही थियो भन्ने कुराको पुष्टि गर्यो । त्यसले जनवादी क्रान्तिलाई पूर्णतामा पुर्‍यायो । हिन्दुस्तानमा अहिले कम्युनिस्ट के कारणले कमजोर भयो भन्दा आन्दोलनको नेतृत्व लिन सकेन ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र कसरी सम्भव भयो ?

नेपालका समाजवादको पक्षमा लाग्ने कम्युनिस्टहरु सक्रियरुपले लाग्नुपर्छ । हामीले त्याग, तपस्या, समपर्ण र बलिदानका किर्तिमानहरु कायम गर्नुपर्छ । जनतासँग जोडिनु पर्छ । उत्पीडित, जनजाति, पिछडिएका वर्ग जाति क्षेत्र समुदाय सबैसँग जोडिनु पर्छ । उनीहरुका भावना, माग र आवश्यकताको च्याम्पेन भएर निस्कनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ । अहिलेको विश्व परिस्थिति, क्षेत्रीय परिस्थितिलाई हेरेर हामीले मिल्न सक्ने जति मिलेर अलग्याउनु पर्नेलाई अलग्याएर अनि विजय हासिल गर्ने नयाँ बाटो हिड्नु पर्छ भनेर सोच्यौँ । हामीले यो नसोचेको भए के हुन्थ्यो भन्ने कुराको कल्पना गर्‍यौँ भने बडो भयानक चित्र आउँछ ।

त्यसकारण हामीले रोल्पामा वामदेव र युवराजसँग सम्झौता गर्‍यौँ । सिलिगुडीमा काँग्रेस बाहेकका पार्टीहरुलाई बोलाएर छलफल गर्‍यौँ । संविधानसभामा जान्छौँ भन्यौँ । हामीले सबै जातजाति, वर्ग समुदाय उत्पीडनमा परेका समुदायलाई एक ठाउँमा ल्याउने कोशिस गर्‍यौँ । अहिलेको विश्व परिस्थिति हेर्दा एक्लैले सामन्तवादमाथि विजय हासिल गर्न सम्भव छैन । हामीलाई बुर्जुवाहरुको सहयोग लिनुपर्ने हुन्छ । हामीले प्रतिकृयावादी वर्ग हुँदाहुदै पनि उनीहरुसँग पनि सहकार्य गर्नुपर्छ भनेर सहमति गर्‍यौँ । बुर्जुवाहरुको पनि सहयोग लियौँ । तर कमाण्ड वा नेतृत्वमा बुर्जुवा हुन नपाओस्, कम्युनिस्टकै नेतृत्व होस् । प्रगतिशील वामपन्थीको नेतृत्वको साशन सत्ता होस् भन्ने हो । हामी आन्दोलनमा कम्युनिस्टको नेतृत्व कसरी स्थापित हुन्छ भन्ने कुरामा निकै सतर्क थियौँ । हामीले हिन्दुस्तान, चाइना, पेरुको थुप्रै आन्दोलन अध्ययन गर्‍यौँ । हामीले राजतन्त्र विरोधीको नेताकोरुपमा आफूलाई प्रस्तुत गर्‍यौँ ।

कांग्रेस नेताको रुपमा प्रस्तुत गर्न सकेन । काँग्रेस सम्झौतावादी, यथास्थितिवादी र बाध्य भएपछि अलिकति अगाडि सर्ने, नत्र चुप लागेर बस्ने । त्यसकारण मैले बेलाबेला मैले भन्ने गर्छु, इतिहासमा हिरोले मात्रै परिवर्तन गर्दैन, भिलेनको पनि भूमिका हुन्छ । नेगेटिभ हुन्छ तर रोल चाहिँ हुन्छ । भिलेनले साह्रै मुर्खता गरिदिएन भने हिरोलाई सफल हुन गाह्रो हुन्छ । साह्रै नै मुर्खता गर्छन् । ज्यादै प्रचार गर्छन् । अन्त्यमा हिरोको अगाडि सबै झुक्नुपर्ने हुन्छ । यहाँ पनि त्यस्तै भयो । यहाँ कम्युनिस्ट पार्टीप्रति सबै जुट्ने अवस्था सिर्जना भयो । अहिले हामी दुई तिहाइको नेतृत्व गरिराखेका छौँ । यी सबै जनताको चेतनाको कारणले सम्भव भयो । तर नेपालको जनवादी क्रान्ति चिनियाँ क्रान्ति जस्तो होइन । चिनियाँको जस्तो पूरै कम्युनिस्ट पार्टीले जितेको अवस्था छैन । पुरानो सेनालाई विघटन गरेर आफ्नो सेना स्थापना गरेको हामीले होइन । हामीले त सेना समायोजन, शान्त्रि प्रकृयाबाट आएका हौँ । हामीले संविधान सभा भन्यौँ ।

रुसमा त्यहाँ लेनिनले संविधानसभा भने भने तर क्रान्तिपछि त्यही संविधानसभा विघटन गरिदिए । हामीले विघटन गरेनौँ, विघटन भएकोलाई पनि फेरि ब्युतायौँ । यो नेपालको मौलिकताको एउटा पक्ष हो । र, हामीले संघीय लोकतान्त्रि गणतन्त्रमा लगिछोड्यौँ ।

विश्व कम्युनिस्ट आन्दोलनमा देखिएको रोग

कम्युनिस्टको एउटा रोग भनेको हामी आफै हौँ । विरोधीले त हामीलाई कहिल्यै पछार्न सकेन र सक्दैन पनि । आन्दोलन र क्रान्तिमा जहिले पनि कम्युनिस्टहरु विजयी भएर आए । तर सत्तामा पुगेपछि उनीहरुमा जुन किसिमको वैचारिक स्खलनको प्रकृया, सांस्कृतिक विचलन प्रकृया, त्यागको ठाउँमा स्वार्थ हावी हुँदै जाने प्रकृया बढ्यो, काल त्यही भयो । पहिलो विश्व युद्धमा एक करोड र दोस्रो युद्धमा तीन करोडले ज्यान दिएर बनाएको सोभियत संघ एउटा गोलीनै नपड्काई गुल्टिएर गयो । मुलुक पुँजीपतिको हातमा गयो । त्यहाँ कोही विदेशी सेना आएर हमला गरेर हटाइएको होइन । कम्युनिस्ट नेताहरुमै भएको भ्रष्टीकरण र सत्तामा पुगेपछि सत्ता स्वार्थ, अन्धो र मनोगत विश्लेषणले गर्दा विश्व कम्युनिस्ट आन्दोलनमा दुर्गति भोग्नुपर्‍यो ।

अन्त्यमा,

अब समाजवादतिर अगाडि बढ्ने कुरा पनि मौलिकतामै अगाडि बढ्ने हो । जनताको लोकप्रिय मतबाट हामी सुशासन स्थापित गरेर जनतालाई विकास निर्माण, सामाजिक न्याय, सुशासन, समतामूलक समाज निर्माण गरी समाजवादको बाटोमा पुग्न तत्पर छौँ । हामी महाधिवेशनसम्म जाँदा अझै परिमार्जन गर्छौं । यसलाई अझै विकसित गर्छौं । आजको दिन समाजवादका लागि हामी धेरै मेहनत र परिश्रम गरी जनताको राज्यसत्ता स्थापना गर्ने प्रण गर्छौँ । धेरै आन्दोलन गर्छौँ। तर, शान्तिपूर्ण तरिकाले गर्छौँ । बुर्जुवा पार्टी नेपालमा चाहिएको छैन । हामी वामपन्थी प्रगतिशील भएर मात्रै समाजवादी आन्दोलनको तयारी गर्छौँ ।

हामी नेपाली कम्युनिस्टहरुले यसमा निकै ध्यान दिन जरुरी छ । यसमा हामीले केही सञ्चित गरेका छौँ । हामीसँग विशाल नेता तथा कार्यकार्तमा बीसौँ बर्षको अनुभव छ । त्यसलाई नयाँ धारबाट परिचालन गरी नयाँ कम्युनिस्ट निर्माण गरी समाजवादको लक्ष्यमा पुग्छाैँ । यसका लागि पुरानै डगम्याटिक कम्युनिस्ट बनाउने पक्षमा म छैन । यदि त्यसो सोचिएको भए म अहिले पनि मोटो मशाल मै हुन्थ्यो । एकता केन्द्र विघटन गर्ने थिएन । माओवादीलाई शान्ति प्रकृयामा ल्याउने थिएन । माओवादी विघटन गरेर नेकपामा बनाउने थिइन । तर राष्ट्र र जनताको विश्वासप्रति र समाजवादको लक्ष्यप्रति हामी दायाँबायाँ हुन सक्दैनौँ । हामी त्यसलाई पूरा गरी नयाँ जनवादी व्यवस्थामा पुग्छौँ ।

(२५औँ जनयुद्ध दिवसको अवसरमा नेकपाको केन्द्रीय कार्यालय, धुम्बाराही, काठमाडौँमा आयोजित ‘जनयुद्ध तथा जनआन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली’ कार्यक्रममा पार्टी अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको सम्बोधनको सम्पादित अंश ।)