क. घनश्याम भुसाल, Ghanshyam Bhusal
 

बुटवल, सत्तारुढ नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टीलाई अँध्यारोमा राखेर गरिने सम्झौता खतरनाक हुने बताउनुभएकाे छ ।

एक सातासम्म आफ्नो निर्वाचन क्षेत्रमा बसेर काठमाडौँ फर्कने क्रममा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै नेता भुसालले  सिके राउतसँग भएको सम्झौता सकारात्मक भए पनि प्रक्रियागत रुपमा गलत भएको  टिप्पणी गर्नुभयाे ।

सिके राउतलाई लोकतान्त्रिक गणतन्त्रको मुल प्रवाहमा ल्याउने सम्झौता सकारात्मक भएपनि पार्टी भित्र छलफल नगरिनु गलत भएको उहाँकाे तर्क थियाे । विप्लव समूहलाई राजनैतिक र सैद्धान्तिक ढंगले हल गर्न सकिने अवस्था हुँदाहुँदै प्रतिबन्ध लगाइएको भन्दै  विप्लवहरुले पनि चन्दा आंतक, लुटपाट र हत्या हिंसा रोक्नुपर्ने उहाँकाे सुझाव  थियाे  ।

नेता भुसालले १० महिनासम्म पार्टी  एकता टुंग्याउन नसक्दा राम्रो सन्देश नगएको बताउनुभयाे । पार्टी एकता टुंगो लाग्न अझै ४ देखि ६ महिना लाग्ने  उहाँकाे भनाइ छ।

‘१० महिनासम्म एकता प्रक्रियालाई तलसम्म टुंग्याउन सकेका छैनौं, एकता नहुनुका पनि आफ्नै कारण छन्, त्यसैले बाहिर धेरै कुरा गरेका छैनौं ।’ भुसालले भन्नुभयाे – ‘तर अब ४/६ महिनामा यसले पूर्णता पाउँछ ।’

तत्कालिन एमाले र माओवादी दुई पार्टीबीचको एकता टुंगो नलाग्दा विकासले गति लिन नसकेको पनि उहाँको भनाइ थियाे ।