काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विविधताले नेपालीलाई एक सुत्रमा बाँधेको बताउनुभएको छ । सोनाम ल्होछार–२८५५ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले नेपालका विविध जातीका चाडपर्व, भेषभुषा र संस्कृतिका साथै रहनसहन समेत बेग्ला बेग्लै प्रकारका रहेको उल्लेख गर्दै यिनै विविधताले नै नेपालीलाई एकताको सुत्रमा बाँध्न मद्दत गरेको उल्लेख गर्नुभएको छ । सरकारले सबै जातजातिका चाडपर्वहरुलाई उत्तिकै सम्मान गर्ने कुरा प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले नेपालमा राजनीतिक हक अधिकारको संघर्ष सकिएकोले सबैलाई विकास र समृद्धिमा जुट्न आह्वान गर्नुभएको छ ।
सरकारले अघि बढाएको समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान सफल पार्न सम्पूर्ण जाति र समुदायको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने प्रधानमन्त्री ओलीको सन्देशमा स्पष्ट छ ।
नेपालका सम्पदाहरुलाई पर्यटन व्यावसायको रुपमा विकास गर्न सकेमा हाम्रो संस्कृति जीवित रहने बताउँदै यस्ता सम्पदाको अवलोकनका लागि स्थानीय स्तरमा पुग्ने पर्यटक मार्फत आय आर्जन गर्न सकिने उहाँको सन्देशमा लेखिएको छ ।