केपी बा, Prime Minister KP Sharma Oli Left Review Online
 

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अहिले पार्टीको विरूद्ध व्यापक षड्यन्त्र भइरहेको र राजनीतिलाई विस्थापित गराई अराजनीतिक प्रवृत्ति बढाउने खेल भइरहेको बताउनु भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जनवर्गीय संगठन प्रेस संगठन, नेपालका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा उहाँले आज सो कुरा बताउनु भएको हो । अन्तर्राष्ट्रिय रूपमा कम्युनिस्टहरूले धक्का खाइ्हेकोबेला नेपालमा केन्द्रदेखि स्थानीय तहसम्म असाधारण बहुमत रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसप्रति नकारात्मक भाव फैल्याउन देश–विदेशसम्म खेल भइरहेको बताउनु भयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेतृत्वलाई विरोध गर्न पार्टीमा नयाँ नयाँ कवि जन्मिएको भन्दै स्थायी समिति सदस्य भीम रावलप्रति व्यङ्य गर्दै भन्नुभयो, ‘पार्टीको नेता भएर पार्टीकै सफलतामा बोल्न नसक्ने, विरोधमा मात्रै बोल्दा कसैको प्रेस्टिज माथि उठ्दैन,’ उनले भने, ‘कुण्ठामात्रै बोकेर पार्टीमा बस्दा कसैको भलो हुँदैन। पार्टीको सरकारले राम्रो काम गर्दा बोल्न नसक्ने?’

नेता रावलले केही दिनअघि सम्पन्न नेकपा स्थायी समितिको बैठकमा नेकपा र राजपाबीच भएको राष्ट्रिय सभा निर्वाचनमा तालमेलसम्बन्धी सहमतिको व्यङ्य गर्दै ‘धुँवाले छोपिँदै दियो’ शीर्षकमा कविता वाचन गर्नु भएको थियो । बैठकमा सहभागी नभएका ओलीले कविताको जवाफ शनिबारको कार्यक्रममा दिनुभएको छ ।

उहाँले प्रदेश २ मा २०७४ मा भएको राष्ट्रिय सभा निर्वाचनमा नेकपाले एक स्थानमा पनि नजितेको स्मरण गराउँदै अहिले राजपासँग सहमति भएपछि दुई सिट जित्ने पक्का भएको बताउनु भयो । ‘राम्रो काम गर्दा विरोधीले त विरोध गर्थे नै, आफ्नैले पनि विरोध गरे,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कसैलाई कोही मान्छे मन पर्दैन होला। आनीबानी व्यवहारका कमजोरी देखे भन्नुस्। सही नीतिले देश सञ्चालन गरेका छौं। फेरि विरोध किन?’

उहाँले सरकारले गरेका राम्रा कामको फेरिहस्त पनि सुनाउनु भयो । ‘निरंकुशता ढालिएको छ, संविधान बन्न नदिँदा बनाइएको छ। नाकाबन्दी खोलिएको छ। भूपरिवेष्टितबाट हटाइएको छ। अनि विरोध किन,’ ओलीले भन्नुभयो । ७० वर्षको अनुभवले मुलुक चलाएको भन्दै प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा डुब्‌न नदिने पनि बताउनुभयो ।

विरोधीले कुनै राजनीतिक इस्यु नपाएपछि खुद्रा विषयमा विरोध गरेको बताउँदै गुठी विधेयकमा सरोकारवालाभन्दा पनि गैरसरोकारवालाको उछलकुद धेरै भएको ओलीको भनाइ छ।

प्रधानमन्त्री ओलीले थप्नुभयो ‘हामीलाई नेपाली भनेरै बिर्साउने खेल भयो। तराई, पहाडमा विभाजित गर्ने खेल भयो,’ ओलीले भन्नुभयो, ‘धर्म, जात, भाषाका नाममा लडाइयो। चीनलाई सयौं वर्षसम्म अफिममा फसाए। रूवान्डामा शताब्दीसम्म हुतु र तुत्सीको नाममा लडाए। हाम्रो देशमा पनि मुस्लिम र हिन्दुको नाममा लडाउन खोजियो। त्यसलाई हामीले असफल बनायौं।’