पेरु आयाकुचो सान कृस्टोबल डि हुआमाङ्गा न्यासनल युनिभर्सिटी दर्शनशास्त्रका प्राध्यापक डा. अबिमेल गुज्म्यान रेनोसो अर्थात् पेरु कम्युनिस्ट पार्टी साइनिङपाथ (सेनडेरो लुमिनोसो) का अध्यक्ष कमरेड गोञ्जालो गिरफ्तारीको यही सेप्टेम्बर १२ मा २९ वर्ष पुग्दैछ । छालाको क्यान्सरका बिरामी ८६ वर्षीय गोञ्जालोलाई पेरुको नौसेना आधार इलाकामा रहेको कालाओ जेलको पिँजडाघरमा सेप्टेम्बर १२, १९९२ देखि कैदी नम्बर १५०९ को बन्दी बनाएर राखिएको छ । सन् १९६४ मा पेरु कम्युनिस्ट पार्टीको दुई लाइनको संघर्ष रुसी अथवा चिनियाँ रुझानमा गोन्जालोले चिनियाँ रुझान रोजे । पछि सन् १९६९ मा गोञ्जालोको नेतृत्वमा विश्वविद्यालयका विद्यार्थीहरूसहित साइनिङ पाथको स्थापना भयो । विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीको पार्टी बनेकाले यसलाई पढन्तेहरूको पार्टी (पुएब्लो डेल लिब्रो) पनि भनियो । सन १९७८ मा संविधान सभाको चुनाव भयो, १९७९ मा संविधान बन्यो र १७ वर्षको सैनिक शासनपछि पेरुमा १९८० मा राष्ट्रपति चुनावको घोषणा भयो ।

अर्धसामन्ती देश पेरुमा किसान विद्रोहहरूको लामो शृङ्खला थियो । संविधान निर्माणमा पेरुका जनताको चित्त बुझेको थिएन । राष्ट्रपति चुनावको अघिल्लो रात मई १७, १९८० आयाकुचोको सानो गाउँ चुस्चीमा साइनिङ पाथका कार्यकर्ताले मतपत्र र मतदान सामग्री कब्जा गरी जनताहरूको अगाडि सार्वजनिक स्थानमा मतदान सामग्री जलाइदिए र त्यही दिन साइनिङ पाथले पेरुमा जनयुद्ध सुरु भएको घोषणा गर्यो । पेरुमा जनयुद्ध सन १९८० देखि १९९९ सम्म चलेको थियो । यो अवधिमा पेरुमा २,९०० सशस्त्र कारबाही भए । ४३,००० मानिसहरूको जनयुद्धमा ज्यान गयो भने २६,२५९ लाई बेपत्ता पारियो । सन् १९८५-९० मा पेरुको ३२ प्रतिशत भूभाग र ४९ प्रतिशत जनता साइनिङ पाथको नियन्त्रणमा थियो र यो समयलाई रणनीतिक सन्तुलन भनियो । सन् १९८८ मा पेरु कम्युनिस्ट पार्टी साइनिङ पाथको पहिलो महाधिवेशन भएको थियो, जुन महाधिवेशनबाट गोञ्जालो विचारको प्रादुर्भाव भयो । महाधिवेशनको लगत्तैपछि गोञ्जालोले एल डायरियो पत्रिकामार्फत एउटा लामो अन्तर्वार्ता दिएका थिए विश्वभरि चर्चित बन्यो ।
सन् १९९० जुन महिनाको एक बिहान पेरुको राजधानी लिमामा कम्युनिस्ट पार्टीको ७० वटा राता झन्डा समानान्तर फहराइएको खबर संसारभरि फैलियो । यसैलाई प्रेरणा मानी नेपालमा कमरेड रामवृक्ष यादव (मास्टर साहेब) ले एउटा चर्चित मैथिली गीत लेख्नुभएको थियो: पेरु में लाल झन्डा फहराइ रे कोइ माने न माने ।
पेरु जनयुद्धको प्रभाव विश्वभरि पर्यो । नेपाल पनि अपवाद रहेन । नेपाल कम्युनिस्ट पार्टी मशाल र मसाल पेरु कम्युनिस्ट पार्टी साइनिङ पाथसँगै रिम (रिभोल्युसनरी इन्टरनेशनल मुभमेन्ट) मा विश्वका १५ भन्दा बढी कम्युनिस्ट पार्टीहरूसँग सहयात्री थिए । पेरु जनयुद्धको समर्थनमा नेपालमा धेरै कार्यक्रम भए । गोञ्जालोको एल डायरियोको अन्तर्वार्ता नेपालीमा अनुवाद भयो, पेरुमा जनयुद्ध भन्ने पुस्तक नै प्रकाशित भयो, कैदी नम्बर १५०९ भनेर कथा, कविता र गीतहरू लेखिए ।
पेरुको जनयुद्ध नेपालको जनयुद्धको प्रेरणा बन्यो । सन् १९८६ मा काठमाडौँको पद्मोदय हाइस्कुलमा एउटा विचार गोष्ठी “महान सर्वहारा सांस्कृतिक क्रान्ति र पेरुको जनयुद्ध” पेरुभियाली जनक्रान्ति समर्थक समितिले आयोजना गरेको थियो । विचार गोष्ठीका हामी दुई वक्ता मुरारी अर्याल र म थियौँ । गोष्ठीको सभापतित्व शक्ति लम्सालले गर्नुभएको थियो । वरिष्ठ पत्रकार शक्ति लम्सालको केही वर्ष पहिला देहावसान भयो । मार्क्सवादी चिन्तक मुरारी अर्यालको केही महिना अघिमात्र कोरोनाको कारण मृत्यु भयो । आजको विश्वमा अग्रणी मार्क्सवादी चिन्तक गोञ्जालोको रिहाइका लागि आवाजहरू उठिरहेका छ्न् । अध्यक्ष गोञ्जालोको जीवन रक्षाका लागि आकाश र पृथ्वी हल्लाइ दिऊँ नारा लागिरहेका छन् । गोञ्जालो रिहाइ ऐक्यबद्धतामा हामी पनि सहभागी बनौँ । पेरु में गोन्जालो रिहाइ कराइ रे कोइ माने न माने ।
(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ ।)