(भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एउटा पारमाणविक सम्झौतालाई अन्तिम रूप दिन जापान जानुअगाडि जापानी भाषामा एउटा ट्विट गरेका थिए, जसका बारेमा सञ्चार माध्यमहरूमा खुबै चर्चा भएको थियो । तर ठिक त्यही समय (अगस्त २८) मा जापानको फुकुसिमा निवासी एक महिला युकिको ताकाहासीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एउटा पत्र लेखेकी थिइन्, जसमा उनले परमाणु ऊर्जाले भारतको संस्कृति र अन्ततोगोत्वा भारतलाई नै ध्वस्त गर्ने हुनाले जापानसँग पारमाणविक सम्झौता नगर्न अपिल गरेकी थिइन् । यो ऐतिहासिक महत्त्वको पत्रलाई भने मूलधारका भारतीय सञ्चार माध्यमले त्यति धेरै महत्त्व दिनु जरुरी ठानेन । सबैभन्दा पहिले अङ्ग्रेजी भाषामा DiaNuke.Org नामक वेभसाइटमा प्रकाशित याे पत्रलाई हामीले प्रकाशित गरेका छौँ । यसकाे अनुवाद नहेन्द्र खड्काले गर्नुभएकाे हाे– सम्पादक)
श्रीमान् नरेन्द्र मोदी,
प्रधानमन्त्री, भारत
सम्माननीय प्रधानमन्त्रीज्यू,
मेरो घर फुकुसिमामा छ । म भारत–जापान आणविक सम्झौतामा हस्ताक्षर गर्ने र तपाईंको देशमा आणविक ऊर्जा संयन्त्रहरूको सङ्ख्या बढाउने तपाईंका योजनाहरूलाई लिएर आफ्नो गम्भीर चिन्ता जाहेर गर्न चाहन्छु ।
के तपाईंलाई फुकुसिमा दाइ–इचीको वर्तमान स्थिति के छ भन्ने थाहा छ ?
कृपया फुकुसिमा आउनुहोस् र आफै हेर्नुहोस्, यहाँ के भइरहेको छ । यहाँ परमाणु दुर्घटना सुरु भएको तीन वर्षभन्दा बढी भएको छ, तर यो अहिलेसम्म अन्त्य भएको छैन । वास्तवमा यो त समस्याहरूको सुरुवात मात्रै हो ।
रेडियोधर्मी पानी समुद्रमा बगिरहेको छ र बल्ल अहिले यसलाई रोक्ने तरिकाहरूको बारेमा अनुसन्धान सुरु गरिएको छ । विकिरणको स्तर यति धेरै छ कि प्लान्टका विशेषज्ञहरूले वैधानिक एक्सपोजरका सीमाहरू समेत नाघेर गएका छन् र यो विपदलाई नियन्त्रणमा ल्याउनका लागि यहाँ पर्याप्त कर्मचारीहरू छैनन् । हामीलाई भनिएको छ कि फुकुसिमा दाइ–इचीको सञ्चालनलाई बन्द गर्नका निम्ति ३० वर्ष लाग्नेछ, तर वर्तमान अवस्थामा यो भन्न असम्भव छ कि यो दुर्घटना कहिलेसम्म नियन्त्रणमा आउनेछ ।
फुकुसिमाका मछुवाराहरूले आफ्नो जीविका गुमाएका छन् । सुनामी आउँदा आफ्ना डुङ्गाहरू बचाउनका लागि आफ्नो जीवनको जोखिम मोलेका ती मानिसहरूले समुद्रमा रहेको रेडियो विकिरणका कारणले अब माछा समात्नसमेत सक्दैनन् । कसैलाई थाहा छैन, के समुद्र फेरि उस्तै होला, के यो पुनः जीवनदायी समुद्र बन्न सक्ला ?
फुकुसिमाका किसानहरू पनि विकिरणका कारणले पीडित भइरहेका छन् । यदि कुनै इलाकालाई एक पटक सङ्क्रमणमुक्त बनाइयो र अस्थायी रूपले विकिरणको प्रभाव कम हुन थाल्यो भने पनि फेरि त्यो बढ्न थालिहाल्छ । के यस्तो दिन कहिल्यै आउला, जब हाम्रो यति धेरै प्रदूषित भएको धरती पुनः एक पटक उर्वर हुन सकोस् ?
एक पटक कल्पना गर्ने कोसिस गर्नुहोस् त, तपाईंको जीवनमा यति धेरै महत्त्व राख्ने आफ्नो काम (पेसा) गुमाउनु परे तपाईंलाई कस्तो महसुस हुँदो हो । एउटा यस्तो अनिश्चित भविष्यमा जिउन कति कठिन हुँदो हो ।
एक लाखभन्दा धेरै मानिसहरूलाई पुस्तौँपुस्तादेखि बस्दै आएको आफ्नो घर छोड्न बाध्य पारियो किनभने अब उनीहरूको घर ‘सङ्क्रमित क्षेत्र’ भित्र परेको थियो । कयौँ मानिसहरूले स्वास्थ्य समस्याहरूबाट जोगिनका निम्ति स्वेच्छिक रूपले पनि आफ्नो घर छोडेका थिए ।
परिवारहरू बिथोलिएका छन् र धेरै मानिसहरू स–साना अस्थायी टहराहरूमा कोचिएर बस्न बाध्य भएका छन् । यो परमाणु विपत्तिमा हामीले हाम्रा जीवनहरू, हाम्रा जीविकाहरू, हाम्रा घरहरू गुमाएका छौँ ….. ती सारा चिजहरू गुमाएका छौँ, जसका लागि मानिसहरू जिउँछन् ।
म दाबाका साथ भन्न सक्छु, तपाईंहरू यही सोच्नुहुन्छ कि यो पारमाणविक दुर्घटनामा त कोही पनि मरेनन् । यदि यो केवल भूकम्प वा सुनामी मात्रै भएको भए यसमा फसेका मानिसहरूलाई बचाउन सकिन्थ्यो । तर यो पारमाणविक दुर्घटना भएकाले उद्धारकर्ताहरू उच्च विकिरणयुक्त क्षेत्रमा प्रवेश गर्नै सकेनन् । उनीहरूले फसेका मानिसहरूले सहयोगका निम्ति गरेका चीत्कारहरू त सुन्न सक्थे तर तिनको कुनै जवाफ दिन सक्दैनथे ।
जापानमा हामीलाई ४० वर्षदेखि भनिँदै आएको छ कि पारमाणविक ऊर्जा केन्द्रहरू ‘पूर्ण रूपमा सुरक्षित’ छन् । तर यो दुर्घटना आइलाग्यो । त्यति मात्रै होइन, यो दुर्घटनाको कारण अहिलेसम्म पनि पूर्ण रूपले पत्ता लाग्न सकेको छैन र विपत्ति निरन्तर जारी छ । कसैलाई थाहा छैन कि यो कहिले रोकिने छ ।
हामीले थाहा पायौँ कि ‘परमाणु ऊर्जालाई स्वच्छ ऊर्जा’ भनिनु एउटा झुट हो । परमाणु ऊर्जा केन्द्र (आणविक भट्टी) लाई लगातार चिस्याउनु पर्छ । यसका लागि समुद्रको पानी उपयोग गरिन्छ र चिस्यान प्रक्रिया पुरा भएपछि त्यसलाई अत्यन्तै धेरै तापमानसहित पुनः समुद्रमा पम्पद्वारा फिर्ता पठाइन्छ । परमाणु ऊर्जा भट्टीहरूको कारणले समुद्रको तापक्रम बढ्छ । यो एउटा तथ्य हो कि फुकुई प्रिफेक्चरका आणविक ऊर्जा भट्टीहरू बन्द गरेपछि वरिपरिको समुद्रको प्राकृतिक पर्यावरण पुनर्जीवित भएको छ ।
परमाणु ऊर्जा धेरै खर्चिलो पनि हुन्छ । इन्धन र मर्मत–सम्भारका खर्चहरू त सुरुदेखि आउने नै भए, यदि त्यहाँ कुनै एउटा मात्रै दुर्घटना भयो भने क्षतिपुर्तिका रूपमा धेरै ठूलो धनराशि भुक्तान गर्नुपर्छ ।
र अन्तमा, फ्रान्सजस्ता विकसित देशहरूले समेत अहिलेसम्म पारमाणविक फोहोरलाई विसर्जित गर्ने कुनै बाटो पत्ता लगाउन सकेका छैनन् । जापानमा त हामीले यसलाई आओमोरी प्रान्तस्थित रोक्कासो–मुरा सुविधा केन्द्रमा थुपार्दै आएका छौँ । यसभन्दा अर्को कुनै उपाय नै छैन ।
र, परमाणु दुर्घटनामा ठूलो मात्रामा फोहोर उत्पन्न हुन्छ । रेडियोधर्मी तत्त्वहरूले प्रदूषित माटो (जमिन) र अन्य वस्तुहरूलाई त जलाउन सकिएला, तर त्यसपछि बाँकी रहने उच्च रेडियोधर्मी विकिरणयुक्त खरानीलाई के गर्ने ? यतिबेला त्यसलाई या त सडक–किनारमा नभए फुकुसिमाका थोत्रा घरहरूको बलेसीमा त्यत्तिकै छोडिएको छ ।
रेडियोधर्मी तत्त्वहरू त्यस्ता वस्तुहरू हुन्, जुन मानिसहरूको नियन्त्रणमा रहँदैनन् । यस सत्यलाई मानव जातिले चेर्नोबिल र फुकुसिमाबाट सिक्नु आवश्यक छ ।
रुखमाथि चढ्नु, नदी किनारमा पल्टेर आराम गर्नु, समुद्री तटमा खेल्नु । यस्ता सामान्य कुराहरू पनि अब मेरो सहरमा सम्भव छैन । अब मेरा बच्चाहरूले कदापि ती कामहरू गर्न पाउने छैनन् किनभने ती रेडियो विकिरणले घेरिएका छन् । कसैलाई थाहा छैन कि यसले भविष्यमा तिनीहरूलाई कस्तो प्रभाव पार्नेछ ।
आमाहरूलाई डर छ कि उनीहरूको दुधमा पनि कतै रेडियोधर्मी तत्त्वहरू मिसिएका त छैनन् । विकिरणको प्रभावमा आएका किशोरीहरूलाई आशङ्का छ कि उनीहरूले कहिल्यै बच्चा जन्माउन नसक्ने त हैनन् ।
यो एउटा विज्ञानको कथामा आधारित उपन्यास जस्तो लाग्दछ, तर यो फुकुसिमामा वास्तविक जीवनको सत्य हो । र, केवल फुकुसिमा मात्रै हैन, रेडियोधर्मी पदार्थका मिहीन कणहरू सिङ्गो पूर्वी जापानभर फैलिएका छन् । हावामा सास लिँदा सुरक्षित महसुस गर्नु । खाना खाँदा सुरक्षित महसुस गर्नु । घाँसमा पल्टिँदा सुरक्षित महसुस गर्नु । यी दैनिक जीवनका कुराहरू हाम्रो अस्तित्वका नियमित हिस्सा हुन्, जुन अब हामीले गर्न सक्दैनौँ ।
के तपाईं भारतमा यही गर्न चाहनुहुन्छ ? म तपाईंको देशमा कहिल्यै पुगेकी छैन तर मलाई भारतीय वस्तुहरू, विशेष गरेर भारतीय खाना मनपर्छ र यही अभिरुचिले मलाई केही सूचनाहरू जुटाउन र भारतको बारेमा धारणा बनाउनेतिर डोर्याएको छ ।
मलाई लाग्छ कि भारत एउटा संस्कृतिले सम्पन्न देश हो । परमाणु ऊर्जाले यो संस्कृतिलाई ध्वस्त गरिदिने छ । किन ? किनभने यसले मानिसहरूको जीवनलाई ध्वस्त गरिदिन्छ, जुन संस्कृतिसँग हातमा हात मिलाउँदै अगाडि बढ्छ । फुकुसिमामा बिल्कुल यही भएको हो र म त्यसलाई भोग्ने साक्षी हुँ; जुन कुरा मैले यहाँसमक्ष पूर्ण इमादारिताका साथ भनिरहेकी छु ।
भारतको उज्ज्वल भविष्यका निम्ति पारमाणविक ऊर्जा आवश्यक छैन । यदि तपाईंलाई साँच्चिकै यो जरुरी लागेको छ भने कृपया तपाईं फुकुसिमा आउनुहोस्, परीक्षण गर्नुहोस् र यहाँको वास्तविकतालाई आफ्नै आँखाले हेर्नुहोस् ।
तपाईंको विश्वासी,
युकिको ताकाहासी