Maxim Gorki, Maxim Gorky, म्याक्सिम गोर्की, मेक्सिम गोर्की
 

महान् समाजवादी लेखक म्याक्सिम गोर्कीको जन्म सन् १८६८ मा निझनी नभ्गरोद रुसमा भएको थियो । म्याक्सिम गोर्कीको बुवाको नाम म्याक्सिम बेस्कोभ हो भने आमाको नाम भार्भारा पेस्कोभ हो । गोर्की चार वर्षका हुँदा उनका पिताले यो संसारबाट विदा लिए भने उनी सात वर्षको हुँदा उनकी माताको मृत्यू भयो । बालककालमा केही समय उनी बुढा बा (बाजे) र बुढी आमा (बज्यै)को छत्र छाँयामा बसेका थिए ।

म्याक्सिम गोर्कीको बालककाल अत्यन्त गरिबी र दुःखमा बित्यो । बुढा बाले गर्दै आएको लुगा रङ्गाउने पेसा नचलेपछि उनको बाल्यकाल पनि कष्टप्रद हुनपुग्यो । खानेकुराको अभाव हुनपुग्यो, तसर्थ आठ वर्षका गोर्की पनि कामको खोजीमा घरबाट निस्कन पुगे । उनले जुत्ता सिउने काम पनि सिके तर परिस्थिति गोर्कीको अनुकूल हुन सकेन । आफूले गर्न थालेको काम पनि छाडेर नौवर्षे बालक गोर्की अज्ञात र असिमित गन्तव्यतर्फ आफ्नो पाइला चाले । थाहै नभएको विश्वतर्फ आफूलाई अगाडि बढाए ।

Shishir Shrestha Milan Afanta
लेखक

अभिभावकविहीन गोर्की स्वतन्त्र हिँडे । सानै उमेरमा आफ्नो घर र अभिभावकबाट टाढा बस्नुको पीडा उनले बुझे । उनी विभिन्न मानिसहरूको घरको नोकर पनि बने । भुँइ पुछ्ने र भाडा माझ्ने काम गर्न पनि पछि परेनन् तर पनि उनी जीवनदेखि निराश भएनन्, निरन्तर मेहनत गर्दै गए । उनले जीवनक्रममा आफूलाई माया गर्ने मानिसको साथ पनि पाए । उनले अक्षर चिन्न र स्कूलको मुखसम्म देख्न भए पनि पाए । तर पनि आफ्नो गरिबीको कारण विद्यालयको निरन्तर अध्ययन गर्न भने पाएनन् । तथापि गोर्कीमा अध्ययनको भोक भने अत्यन्तै थियो । विद्यालयको अध्ययनलाई निरन्तरता दिन नसके पनि प्रसिद्ध लेखकहरुका किताब अध्ययन गर्ने इच्छा उनमा पलायो । गोर्की आफूले संकलन गर्न सकेका पुस्तकहरू खोजेर आफै पढ्ने प्रयास गरे । तसर्थ यिनी सानै उमेरमा ज्ञानी व्यक्ति हुन पुगे ।

बाउन्न घुस्सा र त्रिपन्न ठक्कर सँहदै, अनेक दुःख कष्टलाई पचाउँदै गोर्की रूसको विभिन्न क्षेत्रमा पुगे । देशको सामाजिक भिन्नता, भौगोलिक भिन्नता, जारशाही शासनबाट दिक्क भएका जनताबाट उनी साक्षात्कार भए । समाज फेर्न चाहनेहरूसँग संगत गर्न पुगे । राजनीतिक मानिसहरूको सम्पर्कमा आए । देशका विभिन्न भागमा पुगेर यिनले धेरै ज्ञान समेट्न सफल भए । गोर्कीले लेखक कोरालेङकोबाट पर्याप्त प्रेरणा पाएका थिए । गरिब परिवारमा जन्मिएका गोर्की एक कुशल लेखक बन्न पुगे । यिनले जीवनका यर्थाथ समेटेर कथा पनि लेखे । रूसी जनताको चाहना जागरुक बनाएर उपन्यासहरू रचना गरे । यिनी जार शासनबाट मुक्ति चाहने राजनीतिक सामाजिक जनवादी मजदुर पार्टीको सदस्य बने ।

म्याक्सिम गोर्कीको पारिवारिक जीवनमा आँखा लगाउने हो भने गोर्की अठ्ठाइस वर्षको हुँदा उनले एउटी युवतीसँग विवाह गरे तथापि उनको यो सम्बन्ध सुखद नरहेको कुरा उनको जीवनकालको अध्ययनबाट थाहा पाउँदछौँ । हुन त आफ्नो विवाहको समयमा उनी केही धनी भइसकेका थिए । तर पनि पारिवारिक जीवनको खुसी यिनले पाएनन् । अन्ततः उनी कृति प्रकाशन गर्न नै तल्लिन रहे । प्रकाशन संस्था खोले । अरु रचनाकारका किताब छाप्न पनि उनी पछि परेनन् । गोर्कीले धनका साथै प्रसिद्धी पनि कमाउन पुगे । आफ्नो जमानाका नामुद लेखकहरुलाई पनि आफ्नो कलमको अगाडि फिका सावित गर्न उनी पछि परेनन् ।

महान् समाजवादी लेखक म्याक्सिम गोर्कीले आफ्नो जीवनमा धेरै पुस्तहरू प्रकाशित गरेका छन् । सन् १९०८ मा प्रकाशित ‘आमा’ उपन्यास उनको सबैभन्दा महत्त्वपूर्ण कृति बन्न पुग्यो । यो उपन्यास पचासभन्दा बढी भाषामा छापिएको छ, भने यो करोडौँप्रति बिक्री भइसकेको छ । गोर्कीका अन्य कृतिहरूमा तीन मान्छेहरू (१९०१), स्वीकारोक्ति (१९०८), आस्रामोनोभिख व्यवसाय (१९२५) आदि उपन्यास हुन् भने नाटकहरु आरामप्रिय नागरिकहरु (१९०२), निकृष्ट खाल्डो (१९०२), ग्रिष्मकालिन जनता (१९१५) आदि लेखे । उनका प्रसिद्ध कथाहरूमा नुनिलो सिमसारमा (१८९३), बाजेको गीत (१८९५), आँधीमय पेत्रेल चराको गीत (१९०१) पर्दछ । उनले मेरो बाल्यकाल (१९१३), बोरा विश्वविद्यालयहरू आदि आत्मकथा लेखेर रुसी साथै विश्व साहित्यको भण्डार भरेका छन् ।

यस्ता महान् लेखक म्याक्सिम गोर्की आज हाम्रो सामु छैनन् । तथापि उनका कृतिहरूले उनलाई सदा सर्वदा कलमप्रेमीका माझ अमर बनाएका छन् । जारशाही विरोधी जनताका लेखक म्याक्सिम गोर्की आज पनि विश्वभर अत्यन्त प्रिय छन् । उनको महान् लेखकीय जीवनप्रति हाम्रो साधुवाद छ ।