Karl Marx, कार्ल मार्क्स
 

महान् दार्शनिक

संसारमा हजारौं विचार छन् । ती विचार अघि सार्ने कैयन दार्शनिकहरु जन्मिए र अमर पनि बने । तर इतिहासमा संसारमै त्यस्तो कुनै अर्को दार्शनिक छैन जसको विचारको पछि संसारका लगभग आधा जनसंख्या लगातार १०० वर्षदेखि अझै पनि अनुयायी बनेका छन् । यो कुनै धर्म वा अन्धविश्वासमा परेर होइन वैज्ञानिक, समाजवादी र भौतिकवादी विचारको विश्वासका कारण हो ।

समाज, देश र विश्व कसरी बदल्ने तथा श्रमजीवी जनताको मुक्ति कसरी प्राप्त गर्ने भन्ने ऐतिहासिक द्वन्द्वात्मक भौतिवादी विचारका पछि करौडौं जनता ज्यानको बाजी लगाउन तयार बने । उनको कम्युनिस्ट घोषणापत्र पढेर लेनिन, माओत्सेतुङ, चे, फिडेल, संकारा, नुक्रुमा, हो ची मिन्ह जस्ता अमर मुक्ति योद्धाहरूका साथै अनेकन क्रान्तिकारीहरूले मार्गदर्शन पाए, जसले दृढ विश्वासका साथ उनको विचारको अनुशरण गर्दै विश्वमा धेरै देश र जनताको जीवनमा परिवर्तन ल्याए ।

आफू सँधै गरिबी, भोकमरी, देश निकाला र उपेक्षामा जीवन बिताए पनि विश्वका तमाम शोषित पीडित, श्रवजीवी, निम्न वर्गीय जनताको न्याय र अधिकार सहितको सुखी, सम्मानित र सम्पन्न जीवनको आशा मात्र होइन, मार्गचित्र देखाउने ती महान् दार्शनिक हुन् कार्ल हेनरी मार्क्स

मार्क्सको योगदान राजनीतिशास्त्र, अर्थशास्त्र, समाजशास्त्र र मानवशास्त्रका साथै अन्य थुप्रै विषयमा महत्त्वपूर्ण र अतुलनीय छ । गरिब जनताको मुक्ति आन्दोलनको पथप्रदर्शक, क्रान्तिकारी अर्थशास्त्री तथा वैज्ञानिक समाजवादी दार्शनिक कार्ल हेनरी मार्क्स, कम्युनिस्ट विचारधारका शुत्रधार वा जननी हुन् ।

जन्म र वाल्यकाल

Pramesh Pokharel प्रमेश पोखरेल
लेखक

अझै पनि आधा विश्वका लागि मई ५, १८१८ को मिति उत्सवको रुपमा रहेको छ । प्रुसियाको राइन (हाल जर्मनी) को ट्राएर शहरमा यसै दिन ती दार्शनिकको जन्म भएको थियो । कार्ल मार्क्सका पिता हेनरी मार्क्स र आमा हेनरी येट्रर हुन् । मध्यम वर्गीय धार्मिक यहुदी परिवारमा जन्मिएका मार्क्सका बाबु वकिल भए पनि फ्रान्सेली विचारकद्वारा प्रभावित व्यक्तित्व हुन् र यहुदी भएकै कारण उनलाई वकालत गर्न नदिँदा उनी धर्म परिवर्तन गर्न वाध्य भए र क्रिश्चियन बने ।

घरमै शिक्षाको वातावरण भएकोले ढिलो विद्यालय सूरु गरेका मार्क्सले लुथरन प्राथमिक विद्यालयमा पढे पनि केही वर्षमै हाई स्कुल पूरा गरे । १७ वर्षको उमेरमा फ्रेडरिक विल्हेम जिम्नासियमबाट स्नातक सकेपछि त्यसैवर्ष बर्न विश्वविद्यालयमा भर्ना भए । बाबुको इच्छा पूरा गर्न वकालत पढ्दै गरेका मार्क्सलाई भने दर्शन र कलामा बढी रुचि थियो । बर्नको १ वर्ष उनले पिउने, रमाइलो गर्ने, साथी बनाउने गरी बिताए, ऋणमै पर्ने गरी ।

मार्क्स बिग्रेको आभास पाएपछि उनका पिताले उनलाई बर्लिन विश्वविद्यालयमा लगे । त्यहाँ उनले विद्वानहरुको संगत गरे । त्यहीँबाट सन् १८४१ मा २३ वर्षको उमेरमा मार्क्सले विद्यावारिधि (पीएच्.डी) हासिल गरे ।

साहित्यमा रुचि भएका मार्क्सले विद्यालय जीवनमा थुप्रै कविताहरु पनि लेखे । उनले सानै उमेरमा पेशा छनौटबारे एक किशोरको विचार भन्ने प्रगतिशील विचारधाराद्वारा ओतप्रोत निबन्ध लेखेका थिए । उनी फ्रान्सेली र ल्याटिन भाषामा दक्ष थिए । तर उनी स्पेनी, इटालियन, डच, स्कान्डिनेभियन, रूसी र अंग्रेजी भाषा पढ्न र सामान्य बोल्न सक्थे । उनले अंग्रेजी भाषामा न्युयोर्क दैनिकमै केही समय लेख छपाएर जीवन चलाए ।

सन् १८३६ मा मार्क्स जेनी वेस्टफालेन, जो आफूभन्दा ४ वर्ष जेठी थिइन्, उनीसँग जोडिए र केही वर्षको प्रेमपछि १८४३ मा विवाह बन्धनमा बाँधिए । विद्यावारिधिपछि उनी हेगेलको विरोधी भएकोले अध्यापन गराउन पाएनन् र जर्मनमा राइन जाइटुङ र पछि फ्रान्समा जर्मन-फ्रान्स दस्तावेज भन्ने पत्रिकामा काम गर्न थाले ।

विश्वविद्यालय र क्रान्तिकारी मार्क्स

बर्लिन विश्वविद्यालयमा वैज्ञानिक अध्ययन र बौद्धिक विकासका लागि बढी सुविधा भएको हुनाले मार्क्सका बाबुले जबर्जस्ती मार्क्सलाई बर्लिन विश्वविद्यालयमा भर्ना गरे । बर्लिनमा मार्क्स निकै परिश्रम गर्न थाले । उनले मुख्यतयाः दर्शनशास्त्र र इतिहासको अध्ययन गरे । मार्क्सको साहित्य र कलाको पनि रुची थियो ।

मार्क्सले विद्यावारिधीको सोध ‘डेमोक्रिटसको प्रकृति दर्शन र एपिक्युरको प्रकृति दर्शन बिचको भेद’ विषयमा थियो । यो आध्यात्मवादी चिन्तनमाथिको प्रहार भएकोले प्रुसियनमा आफ्नो थेसिसको वास्तविक मुल्याङ्कन हुन सक्दैन भन्ने कुरा मार्क्सलाई थाहा थियो र उनले जीना विश्वविद्यालयमा आफ्नो थेसिस पठाई अप्रिल १८४१ मा दर्शनशास्त्रको विद्यावारिधि (डक्ट्रेट) को उपाधि प्राप्त गरे ।

देश निकालाको श्रृंखला

लेखन र पत्रकारिता मार्फत आफ्नो गुजारा चलाउन थालेका मार्क्स सन् १८४२ मा राइन जाइटुङ भन्ने पत्रिकाको सम्पादक रहेको बेला बर्लिन सरकारले पत्रिका प्रतिबन्ध गरेपछि फ्रान्स लागे । १८४५ मा उनी फ्रान्सबाट पनि देश निकाला भए ।

उनी त्यहाँबाट बेल्जियमको ब्रसेल्स पुगे र जर्मन श्रमिक पार्टीको स्थापना गरे । उनी कम्युनिष्ट लिगमा सक्रिय भए । उनले कम्युनिष्ट पार्टीको घोषणापत्र लेखे । त्यहाँबाट पनि निष्कासित भए र १८४८ जुनमा जर्मन फर्के र पुरानै पत्रिका निकाल्न थाले । फेरि पनि उनलाई देश निकाला गरेपछि उनी आफ्नो बाँकी जीवन त्यही बिताउने गरी इङ्‌गल्याण्ड लागे ।

लण्डनको जीवन र पहिलो अन्तर्राष्ट्रिय

लण्डनमा उनको एकमात्र जीविकोपार्जनको स्रोत पत्रकारिता थियो । उनले जर्मन र अंग्रजी दुवै प्रकाशनका लागि लेख्ने गर्दथे । सन् १८५२ देखि १८६२ सम्म उनले न्युयोर्क दैनिक ट्रिबुनका लागि लगभग ३३५ लेख छपाए । तर उनलाई पारिश्रमिक निकै कम रुपैयाँ दिइन्थ्यो । उनी आफ्नो कमाईबाट परिवारको गुजारा चलाउन असमर्थ थिए । लण्डनमा उनले सन् १८६४ मा अन्तर्राष्ट्रिय श्रमिक संघ (पहिलो अन्तर्राष्ट्रिय) को आयोजनामा सहयोग गरे । त्यसपछि भने उनी राजनीतिक गतिविधिमा प्रत्यक्ष रुपमा संलग्न कम भए ।

पारिवारिक जीवन

मार्क्सको जीवन र दर्शनमा उनकी प्रेमिका वा जीवन संगिनीको ठूलो योगदान छ । वालसखी जो ट्राएर शहरकै सबैभन्दा राम्री सुन्दरीको रुपमा चिनिन्थिन् र मध्यम परिवार भए पनि प्रेमका कारण आफ्नो परिवारको चाहना विपरीत मार्क्ससँग विवाह गरिन्, ती जेनी भोन वेष्टफालेन पनि क्रान्तिकारी थिइन् र उनको पनि यस अभियानमा ठूलो योगदान छ ।

मार्क्स र जेनीका सात सन्तान भए । उनका छोरासहित चार सन्तानको कुपोषण र भोकमरीका कारण बाल्यकालमै अकालमा मृत्यु भयो । बाँचेका तीन सन्तान छोरीहरू थिए – जेनी, लौरा र इलिआनोर । दुई छोरीले फ्रान्सका क्रान्तिकारीहरुसँग मार्क्सको सहमतिबिना नै प्रेम विवाह गरे । पछि दुवै ज्वाइँ त्यहाँका सांसदसम्म भए । इलिआनोर बेलायती श्रमिक संगठनमा संगठक बनिन् ।

मार्क्सका प्रकाशन तथा योगदान

मार्क्सको योगदान र मुख्य प्रकाशनको चर्चा परिचर्चाको संक्षेपीकरण अत्यन्त कठिन छ । उनका दर्जनौं कृतिहरु छन् । तीमध्ये केहीको हामी यहाँ चर्चा गर्नेछौँ ।

♦ आर्थिक र दार्शनिक दस्तावेज (इकोनोमिक एण्ड फिलोसोफिक म्यानुस्क्रिप्ट, १८४४) मार्फत विचलन वा अलगाव (एलिनेशन)को सिद्धान्त तथा कसरी पुँजीवादमा श्रमिकको शोषण हुन्छ र अलगाव हुन्छ भन्ने व्याख्या गरेका छन् ।

♦ जर्मन विचारधारा (जर्मन आइडियोलोजी), सन् १८४६ मार्फत भौतिकवादको विचार अघि सार्दै पदार्थले नै चेनताको सृजना गर्ने विचार तथा फायरवाखको भाववादको आलोचना गर्दै राजनीतिक अर्थशास्त्रीय विचार अघि सारेका छन् ।

♦ मार्क्सको महत्त्वपूर्ण योगदान भनेको सामाजिक वर्ग र वर्ग संघर्षको सिद्धान्त हो । उनले सबै समाजमा दुई विपरीत वर्ग रहने उनीहरु बिच निरन्तर संघर्ष रहने तथा त्यही वर्गसंघर्ष समाज परिवर्तनको कारण रहेको व्याख्या गरेका छन् ।

♦ उत्पादन व्यवस्था तथा समाज विकासको चरणको व्याख्या । उनले समाज विकासको चरणमा देखा पर्ने विभिन्न अर्थव्यवस्थाहरुको चर्चा गर्दै आदिम साम्यवाददेखि समाजवाद हुँदै साम्यवादसम्मको अर्थव्यवस्थाको व्याख्या गरेका छन् ।

♦ सन् १८४६ मा मार्क्स र एङ्गेल्सले बेल्जियमको ब्रसेल्समा एक राजनीतिक समूहको निर्माण गरे । त्यस्तै समूह पेरिसमा १८३६ देखि नै थियो । १८४७ मा यी दुईको एकताबाट कम्युनिस्ट लिगको स्थापना भयो । मार्क्स र एङ्गेल्सले कम्युनिस्ट लिगको घोषणापत्र १८४८ मा प्रकाशन गरे । संसारका श्रमजीवीको मुक्ति, संघर्षको रणनीति र कार्यनीतिको दस्तावेजले संसारमा क्रान्तिको जग बसाल्यो । त्यसैले कम्युनिस्ट घोषणापत्र मार्क्सको सबैभन्दा ठूलो योगदान हो ।

♦ दास क्यापिटल (पुँजी) । मार्क्स र एङ्गेल्सले राजनीतिक अर्थशास्त्रको आलोचनाको पहिलो भाग पुँजी १८६७ मा प्रकाशन गरे । त्यस्तै दोस्रो भाग १८८५ र तेस्रो १८९५ मा प्रकाशन भयो । यो विश्वमै राजनीतिक अर्थशास्त्रको महत्त्वपूर्ण दस्तावेज मानिन्छ ।

♦ मार्क्स स्वयम् पहिलो अन्तर्राष्ट्रियका प्रमुख नेता थिए । सन् १८६४ मा लण्डनमा अन्तर्राष्ट्रिय श्रमिक संगठन इन्टरनेशनल वर्किङ्ग मेन एसोसियसनको स्थापना गरी कम्युनिस्टहरुलाई एक ठाउँ ल्याउने कार्यको सुरुवात् गरे ।

♦ श्रम तथा अतिरिक्त मूल्यको सिद्धान्तको प्रतिपादन गरी पुँजीवादले गरेको श्रमको शोषण तथा नाफाको चक्रमा आधारित पुँजीवादको पर्दाफास गर्नु मार्क्सको अर्को योगदान हो ।

यसरी उनका विविध विषयमा अनेकन महत्त्वपूर्ण योगदान रहेका छन् । कार्ल मार्क्स एउटा त्यस्तो पुस्तकको लेखक हुन्, जुन पुस्तक पढेर संसारका श्रमजीवी पक्षधरहरु समाजवादी र क्रान्तिकारी बने र बन्दैछन् । आफू सँधै गरिबी र कुपोषणमा बाँचे पनि संसारका गरिब, शोषित, निम्न वर्गीय श्रमिक तथा किसानको मुक्तिको बाटो देखाउने जर्मन दार्शनिक, अर्थशास्त्री, पत्रकार तथा क्रान्तिकारी मार्क्सको योगदान अतुलनीय छ ।

मार्क्स र एङ्‌गेल्सको सहकार्य

Freidrick Engels, with Karl Marx's family
कार्ल मार्क्सकाे परिवारसँग फ्रेडरिक एङ्गेल्स

मार्क्स एङ्‌गेल्सबिना महान् बन्न सक्दैनथे । एङ्‌गेल्सलाई कतिपयले मार्क्सको जीवनमा आर्थिक सहयोगीको रुपमा मात्र चर्चा गर्दछन् । तर एङ्‌गेल्स त विचार र दर्शनमा खारिएका अर्का महान् दार्शनिक हुन् । मार्क्ससँग भेट हुनुपूर्व नै एङ्‌गेल्स धनी बाबुको छोरा भए पनि क्रान्तिकारी बनेर घर छोडेर हिँडेका थिए ।

उनी फ्रान्समा प्रुँधोको नजिक रहँदा मार्क्ससँग भेट भएको थियो । ‘राजनीतिक अर्थशास्त्रको आलोचनाको रूपरेखा’ शीर्षक कृतिपछि उनीहरुबिच पत्राचार सुरु भयो र मार्क्ससँग परिचय पनि । अगस्त १८४४ मा बेलायतबाट जर्मनी फर्कंदा एङ्‌गेल्सले पेरिसमा मार्क्ससँग भेट गरे । दश दिनको यस संसर्ग पछिगएर सबै सैद्धान्तिक क्षेत्रमा सहकार्यको रुपमा देखा पर्‍यो र त्यसै बेलादेखि आजीवन मित्रता र संयुक्त कार्य पनि सुरु भयो ।

मार्क्स र एङ्‌गेल्सको यस ऐतिहासिक मित्रताले क्रान्तिकारीहरुलाई असाधारण मित्रता र दुई महान दिग्गजहरुको सहयोगको पाठ सिकाउँछ । यही मित्रता र सहयोगले मजदुर वर्गलाई वैज्ञानिक क्रान्तिकारी सिद्धान्तद्वारा सुसज्जित पारेको थियो । सर्वहारा पार्टीको रणनीति र कार्यनीतिको जग बसालेको थियो ।

मार्क्स र एङ्‌गेल्स विश्व कम्युनिस्ट आन्दोलनका मार्गदर्शक हुन् । उनीहरुले देखाएको मार्गमा विश्वभरका कम्युनिस्टहरु हिँडिरहेका छन् । विश्व कम्युनिस्ट आन्दोलनमा कार्ल मार्क्सको सर्वाधिक योगदान रहेको छ भनिरहँदा विर्सन नहुने नाम हो एङ्‌गेल्स ।

मार्क्सले आफ्ना सहकर्मी एङ्‌गेल्ससँग मिलेर विश्व कम्युनिष्ट आन्दोलनको घोषणापत्र, पुँजी लगायत दर्जनौँ ऐतिहासिक कृतिहरु तयार पारे । जसले साम्यवादी आन्दोलनमा लाग्नेहरुका लागि सदासर्वदा मार्गदर्शन गर्दछ । शोषित वर्गको हितार्थ आफ्नो जीवन अर्पण गर्ने मार्क्सले फ्रेडरिक एङ्‌गेल्सको रुपमा आफ्नै जस्तो विचारधारा भएको एक अति भरपर्दो सहयोगी र साथी र आर्थिक रुपमा सहयोग गर्ने साथी भेट्टाएर मात्र मार्क्सले निर्धक्क लेख, रचना तथा विचार अघि सार्न सफल भए ।

मृत्यु

मार्च १४, १८८३, लण्डन, इंगलैण्डमा कार्ल मार्क्सको ६५ वर्ष नपुग्दै आफ्नै कुर्सीमै मृत्यु भयो । उनको सव (लाश) लण्डनको हाइगेट चिहानमा गाडियो र चिहानमाथि उनको टाउको र छातीको चित्र बनाइयो । मार्क्सको विचारको पहिलो सफल प्रयोग लेनिनले सोभियत क्रान्तिमा गरे ।

अन्त्यमा, जसरी डार्बिन र न्युटनको व्याख्याबिना जीवशास्त्र र भौतिकशास्त्र अपुरो हुन्छ, त्यसैगरी कार्ल मार्क्सको चर्चाबिना सामाजिक विज्ञान, राजनैतिक अर्थशास्त्र र दर्शनको अध्ययन अपुरो हुन्छ । कार्ल मार्क्स सर्वहारा क्रान्ति, द्वन्द्वात्मक भौतिक विज्ञान र समाजवादी विचारका जननी हुन् । उनले हेगेल, फायरवाख, ब्रुनो, प्रुँधो लगागत प्राचीन ग्रीक विज्ञान, तत्कालिन फ्रान्सेली समाजवादी विचार र बेलायती अर्थशास्त्रको सृजनात्मक र वैज्ञानिक विश्लेषणबाट अत्यन्त बृहत र वैज्ञानिक दर्शनको विकास गरे ।

संसारका सबै दर्शन जीवन र जगतको व्याख्या र विश्लेषणमा केन्द्रित छन् तर संसारलाई कसरी बदल्न सकिन्छ र परिवर्तन कसरी गर्ने भन्ने पहिलो महत्त्वपूर्ण दर्शन दिने व्यक्ति कार्ल मार्क्स नै हुन् ।

कार्ल हेनरी मार्क्स विश्वका सबैभन्दा प्रभावशाली विचारक हुन् जसले राजनीति र अर्थशास्त्र मात्र होइन सम्पूर्ण जीवन र जगतलाई भौतिकवादी विश्व दृष्टिकोणबाट हेर्ने मार्क्सवादी दर्शनको प्रतिपादन गरे ।

तर मार्क्सवादको जन्म मार्क्स र एङ्‌गेल्सको सहकार्यबाट मात्र संभव भएको हो । २८ नोभेम्बर १८२० मा जर्मनमा जन्मिएका फ्रेडरिक एङ्‌गेल्स पनि निकै प्रतिभाशाली व्यक्तित्व हुन् र यी दुईलाई मार्क्सवादको व्याख्यामा अलग्याउन सकिँदैन । मानव समाजले आजसम्म मात्र होइन, निरन्तर यी दुईलाई सम्झिरहने तथा मार्क्सवादलाई सँधै अंगाल्ने कुरामा दुईमत छैन । विश्वमा गरिबी र भोकमरी बढेको तथा पुँजीवादका कारण अनेकन मानवीय तथा पर्यावरणीय संकट उत्पन्न भएको संदर्भमा आजको मार्क्सवादको सृजनात्मक प्रयोगको अझ आवश्यकता महशुस भएको छ ।