“हामी जनतालाई आवश्यक खाद्यान्न हाम्रो देशमै उत्पादन गर्न सक्दछौं, अझ बढी पनि । तर दुर्भाग्य हामी भोकमरीका नाममा बाँडिएका खाद्यान्न खान बाध्य छौं, भिखारी जस्तै । यो साम्राज्यवादका कारण हो ।” — थोमस सांकारा ।
सन् १९८३ देखि सन् १९८७ सम्म बुर्किना फासोका राष्ट्रपति एवम् महान् क्रान्तिकारी, मार्क्सवादी, सैनिक क्याप्टेन तथा अफ्रिकी एकता अभियानका युवा नेता, थोमस सांकारालाई अफ्रिकाले कहिल्यै भुल्ने छैन । सन् १९८३ ले इतिहासमा एक क्रान्तिकारी योद्धा जसले सैनिक हस्तक्षेपबाट सत्ता कब्जा गरी अफ्रिकी गरिब जनताको शासन व्यवस्था ल्याउनुका साथै माथिल्लो भोल्टा ( बुर्किना फासो) का जनतालाई एक नयाँ जीवन दिए र देशलाई नयाँ नाम दिए, तिनै हुन् थोमस सांकारा ।
उनले फ्रान्सको अधीनमा रहेको भुपरिवेष्टित माथिल्लो भोल्टाको नयाँ नाम बुर्किना फासो (जसको अर्थ स्वाभिमानी जनताको भूमि हुन्छ) राखे । श्रमजीवी जनताका साथी सांकाराले देशलाई फ्रान्सबाट मुक्ति मात्र दिएनन्, शासनको केही समयमै गरिब जनतामा आशा र विकासको दियो बाले । क्रान्तिकारी सांकाराले सांस्कृतिक क्रान्ति पनि गरिछाडे ।
जन्म
उत्तरी माथिल्लो भोल्टाको सानो शहर याकोमा २१ डिसेम्बर, १९४९ मा संकाराको जन्म भएको थियो । माथिल्लो भोल्टा त्यस बखत फ्रान्स अधिनस्त स्वशासित राज्य थियो । १९६० मा फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरे पनि अधिनस्त रहेको यो मुलुकको नामाकरण सांकाराको राष्ट्रपतिकालमा भएको थियो । गरिब परिवारमा जन्मेका सांकाराले बाल्यकालदेखि नै साम्राज्यवादको ज्यादती र अत्याचार देख्नु र सहनु परेको थियो ।
शिक्षा
उनले माध्यामिक तहसम्म राजधानी शहरको क्वागाडुगु सैनिक विद्यालयमा अध्ययन गरेका थिए र स्नातक उपाधि प्राप्त गरेपछि माडागास्कारमा सैनिक एकेडेमीमा भर्ना भए । उनी विद्यार्थी छँदै त्यस बखत विद्यार्थी र मजदुरहरुको व्यापक प्रर्दशनका कारण त्यहाँका राष्ट्रपति नै सत्ताच्युत भएका थिए । उनकै अनुसार सानैदेखि उनको मनमा गोरा शासक र अफ्रिकी जनता बिचको भेदभावको खाडल तथा माथिल्लो वर्गका केटाकेटीले जिउने जीवन र सामान्य जनताका छोराछोरीले जिउने जीवनको अन्तरले चिसो पसेको थियो । माथिल्लो वर्गका केटाकेटीले साइकल चढ्दा आफू जस्तै अन्य अफ्रिकीले पनि कहिले साइकल चढ्ने भन्ने सोचले पूरै बाल्यकाल बितेको घटना उनको महत्त्वपूर्ण सम्झना थियो ।
सैनिक तालिमको क्रममा सांकाराले फ्रान्समा प्यारासुट एकेडेमीमा समेत तालिम लिएका थिए र फ्रान्समा रहँदा नै बामपन्थी विचारधाराका व्यक्तिहरुसँग उनको सम्पर्क थियो । सांकारा जब आफ्नो मुलुक फर्किए त्यसैसमय भोल्टा र छिमेकी देश मालीमा संघर्ष र युद्ध छेडियो । त्यस लँडाईमा निर्वाह गरेको सहयोगी भूमिकाका कारण युवा सांकारा प्रेसमा नायकको रुपमा छाएका थिए ।
‘कू’ नै ‘कू’ द्वारा शासनसत्ता
उनको देशमा सन् १९८० मा सैनिक ‘कू’ भयो । उनी सैनिकमा भएका कारण सैनिक सरकारमा सहभागी हुन उनलाई सोधियो तर सांकराले अस्विकार गरे । अनिच्छाका बाबजुद राष्ट्रपतिका सूचना सचिवको रुपमा उनले केही समय काम गरे । त्यसबेला माथिल्लो भोल्टामा चरम गरिबी, अशिक्षा, राजनीतिक अस्थिरता र भ्रष्टाचार थियो ।
कामबाट असन्तुष्ट सांकाराले ४ महिना नबित्दै पदबाट राजीनामा दिए । सांकरालाई गिरफ्तार गरियो । कोर्ट मार्सल बेहोर्नु पर्यो । तर शासन फेरियो । फेरी ‘कू’ भयो सैनिकबाटै । त्यस ‘कू’लाई पनि सांकराको समर्थन थिएन । तर प्रभावशाली व्यक्तित्त्वका कारण २ महिनापछि सांकारा प्रधानमन्त्रीमा नियुक्त भए । त्यसै समयमा सांकराले नयाँ दिल्लीमा आयोजित असंलग्न राष्ट्रहरुको शिखर सम्मेनमा भाग लिएका थिए ।
उनले प्रधानमन्त्री पदमा रहँदा समेत साम्राज्यवाद विरुद्ध आफूलाई दृढ रुपमा उभ्याए । सरकारमा रहेका सामाज्यवाद पक्षधरलाई यो नीति मन परेको थिएन । त्यसैले पुनः ‘कू’ भयो, सांकरा गिरफ्तार भए र सैनिक क्याम्पमा थुनिए । तर सांकारा धेरै लोकप्रिय भइसकेका थिए । उनको गिरफ्तारीको विरोधमा ३ दिन हजारौँ जनता सडकमा उत्रिए र सांकाराको मुक्तिको माग गरे । परिणाम स्वरुप सांकारा लगायत राजनैतिक बन्दी रिहा गर्न सैनिक सरकार बाध्य भयो । रिहा गरिएता पनि सांकरालाई नजरबन्दमा राखियो । तर सांकाराको साथी क्याप्टेन ब्लेज क्याओरेको नेतृत्वमा रहेको २५० जनाको टुकडी राजधानी भित्रियो र सांकरालाई नजरबन्दबाट मुक्त गरियो । राष्ट्रपति क्वेड्राडोको सरकार समेत फ्याँकियो ।
सांकाराद्वारा सत्ता कब्जा
उनले स्थापना गरेको ՙनेशनल काउन्सिल अफ द रिभोल्युसन՚ ले सत्ता सम्हालेपछि सांकारा ३४ बर्षको उमेरमा राष्ट्रपति भए । सांकराको राष्ट्रपतिकालमा, तत्कालीन समयमा जनसंख्या ७० लाख मात्र थियो, ९२ प्रतिशत जनता निरक्षर थिए । ९० प्रतिशत जनता गाँउमा बस्दथे र मुलुक पूरै कृषिमा आधारित थियो । मजदुरको संख्या २० हजार थियो, कर्मचारी (सरकारी) ४० हजार थिए र १० हजार व्यक्ति सार्वजनिक सेवामा कार्यरत थिए । ५० हजार व्यक्तिको भागमा १ जना डाक्टर पर्दथ्यो र बार्षिक आम्दानी प्रतिव्यक्ति १५० डलर थियो । बुर्किना फासोका जनता अत्यन्त शोषित, पीडित थिए । पिछडिएका थिए । त्यसैले सांकराको प्रयास राष्ट्रको पुनर्निर्माणतर्फ केन्द्रित भयो ।
दिनानुदिन कायापलट
उनले देशको राजनीतिक र अर्थव्यवस्थामा कायापलट गरे । सम्पूर्ण भूमि र खनिज सम्पदाको राष्ट्रियकरण गरे । उनको सैनिक शासन नै भए पनि, शासन भने जनतामाझ गरे । उनकै भनाइमा ՙहामी त्यो पहिलो सैनिक शासन हौँ, जसले आफ्नो हेडक्वाटर सैनिक किल्लामा स्थापना गरेनौँ ।՚
उनको शासनमा बुर्जुवा पार्टीहरुमाथि प्रतिबन्ध लगाइयो । तर वाम संगठनलाई भने खुल्ला रुपमा आफ्नो गतिविधि बढाउने छुट दिएयो । उनको आन्दोलन रगंभेद विरुद्ध र वर्ग संघर्षको निमित्त थियो । जनता विरुद्ध हुने कुनै पनि शासनलाई स्थायी रुपमा सञ्चालन गर्न नसकिने उनको धारणा थियो ।
उनले जम्मा ४ वर्षमा शाक्षरता प्रतिशत ७३ पुर्याए । एक करोड रुख रोपी मरुभुमीकरण हुनबाट बचाए । देशभर रेल र सडक बाटो विस्तार गरी वैदेशिक निर्भरता घटाए । कृषिमा जोड दिई पूरै परनिर्भर देशलाई आत्मनिर्भर बनाए । महिला अधिकारको क्षेत्रमा विश्वमै अनुकरणीय बनाए । महिलालाई देशका उच्च निकायमा मात्र होइन सेना, सरकारी जागिर, विद्यालय आदि क्षेत्रमा प्राथमिकता दिए । जर्वजस्ती विवाह र बहुविवाह प्रतिवन्ध गराए ।
सबै सरकारी महङ्गा गाडी बेची सस्ता गाडीमा सरकारी उच्च पदस्थ अधिकारीलाई चढ्न लगाई सस्तोमा चढेपनि यात्रा एउटै हो र ओर्लँदा भुँइमै टेकिन्छ भन्ने पाठ सिकाए । सरकारका अधिकारी र मन्त्रीको तलब घटाई उनीहरुलाई पनि इकोनोमी ल्कास (सस्तो) मा यात्रा गर्न बाध्य बनाए । ऋणमा डुबेका जनतालाई सामन्त र साहुको ऋणमुक्त बनाए । सामन्तको शोषणबाट किसानलाई मुक्त बनाउनुका साथै सबै खालका शोषणको अन्त्य गर्ने अभियान चलाए । ठुलो वैदेशिक ऋणको भार घटाए ।
सबै युवालाई सैनिक तालिम दिने अनिवार्य व्यवस्था बनाए । उनले शासनको एक वर्षमै सांस्कृतिक क्रान्ति सुरु गरे । विश्वलाई चकित पार्नेगरी महिला अधिकारको क्षेत्रमा काम गरे । उनले १ हप्तामा २५ लाख बालबालिकालाई पोलियोको खोप लगाएर विश्वमै नाम कमाए । जनता आवास, स्वाथ्य सेवा विस्तार तथा शिक्षामा क्रान्ति ल्याए ।
उनी क्रान्तिकारी र अन्तर्राष्ट्रवादी दुवै थिए । त्यसैले त उनलाई ‘अफ्रिकाको चे’ भनिन्छ । उनको समय पश्चिम अफ्रिकाभर क्रान्ति र समाजवादको उदय थियो । उनले पश्चिम अफ्रिका मात्र होइन, सम्पूर्ण अफ्रिकाको पक्षमा मुक्तिको आव्हान गरे ।
अन्त्यमा,
जनताको शोषण र स्रोतको दोहनमा आधारित साम्राज्यवादले उनलाई शत्रु ठान्यो । पश्चिमी अफ्रिकामा बढ्दै गएको क्रान्तिलाई रोक्न साम्राज्यवाद एकजुट भयो । घाना, माली, आइभेरी कोष्ट, नाइजर सबै क्षेत्रबाट घेराबन्दी भयो । जनतालाई नाकाबन्दीमा पारी भड्काउने काम भयो । उनी विरुद्ध षडयन्त्र भए । अन्त्यमा, फ्रान्सको नेतृत्वमा आइभेरी कोष्टको सहयोगमा सांकारालाई मार्ने योजना बन्यो । विस्तारै उनको घेरा साँघुरो बन्दै गयो । अनि १५ अक्टोबर १९८७ मा उनलाई आफ्नै राष्ट्रपति भवनमा मारी टुक्राटुक्रा पारियो । उनको नजिकका आफ्नै साथीलाई उनलाई मार्न प्रयोग गरियो । पशु वा कुकुरलाई जसरी उनको शवका टुक्रा एकान्तमा गाडियो । फेरि कठपुतली सरकार बनाइयो । उनको मृत्युपछि पनि परिवार र आफन्तमा आक्रमण गरियो, सम्पत्ति लुटियो । यसरी अफ्रिकी महादेशको एउटा मुक्तिको दियो निभ्यो ।