पोखरा, कर्मचारी समायोजनमा गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा पदस्थापन भएका सहसचिव दुर्गाप्रसाद दवाडीले आज पदबहाली गरेका छन् ।
यसअघि राष्ट्रिय किसान आयोगको सदस्य सचिवको रुपमा कार्यरत रहेका चितवनका दवाडीको कर्मचारी समायोजन प्रक्रियामा संघमा समायोजनपछि प्रदेश कृषि मन्त्रालयमा पदस्थापन गरिएको हो । मन्त्रालयमा उनलाई मन्त्री लेखबहादुर थापामगर, निर्वतमान सचिव शरदचन्द्र श्रेष्ठ, कृषि विकास निर्देशनालयका निर्देशक डा. विमल थापा, मन्त्रालयका महाशाखा प्रमुखहरु, कर्मचारी लगायतले स्वागत गरेका थिए ।
पदवहालीपछि सचिव दवाडीले मन्त्रालयले तर्जुमा गरेका कार्यक्रमलाई परिणाममुखी हिसाबले अघि बढाउने बताए । उनले भने, ‘प्रदेशमा धेरै कार्यक्रम भएको देखियो । सकेसम्म अलिकति आउटपुटलाई हेरेर कार्यक्रम अघि बढाउने सोच छ । कार्यक्रमले के फाइदा दिन्छ र दिगोपना हेरेर अघि बढाउँछौँ।’
प्रदेश मन्त्रालय स्थापनादेखि मन्त्रालयको सचिवको रुपमा कार्यरत शरदचन्द्र श्रेष्ठको संघमा समायोजन भएको छ । साविक क्षेत्रीय कृषि निर्देशनालयको निर्देशकको रुपमा कार्यरत श्रेष्ठ प्रदेश कृषि मन्त्रालय स्थापनापछि सचिव भएर १३ महिना काम गरे ।
श्रेष्ठको कार्यकालमा कृषि तथा पशुपन्छी विकासका लागि प्रदेशमा मोडल फार्म, नमूना कृषि गाउँ कार्यक्रम लगायतका योजना अघि बढेको थियो ।
प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले कर्मचारी समायोजनबाट एक जना अनुभवी सचिवलाई मन्त्रालयबाट विदाई गर्नुपरेको बताए ।
प्रदेशको पशुपन्छी तथा कृषि विकासमा श्रेष्ठको योगदान स्मरण गर्दै मन्त्री थापाले भने, ‘शरद सरले मन्त्रालय स्थापनादेखि जुन योगदान गर्नुभयो, त्यो मन्त्रालयका लागि अविस्मरणीय छ । उहाँको योगदानबाट धेरै दूरगामी महत्त्वका काम भएका छन्, कर्मचारी समायोजनको बाध्यताले उहाँजस्तो एक जना अनुभवी व्यक्तिलाई हामीले विदाई गर्नुपर्ने अवस्था आयो।’