कार्ल मार्क्सको "पुँजी", कार्ल मार्क्स, Karl Marx, Das Capital, पुँजी
 

कार्ल मार्क्स मार्क्सवादका प्रवर्तक हुनुहुन्छ । कार्ल मार्क्स वैज्ञानिक साम्यवादका सिद्धान्तकार हुनुहुन्छ । उहाँले आफ्ना अनन्य मित्र तथा सहयोगी फ्रेडरिक एङ्गेल्सको सहयोगमा मार्क्सवादको प्रतिपादन गर्नु भयो । मार्क्स–एङ्गेल्सद्वारा लिखित कम्युनिष्ट घोषणापत्र सन् १८४८ फेब्रुअरी २१ तारिखका दिन घोषणा गरेपश्चात मार्क्सवादको प्रतिपादन हुन पुग्यो । मार्क्सवाद एक वैज्ञानिक सिद्धान्त हो । मार्क्सवाद एउटा गतिशील सिद्धान्त हो र मार्क्सवाद सर्वहारावर्गको मुक्तिको सैद्धान्तिक पथप्रदर्शक सिद्धान्त हो, मार्गदर्शक सिद्धान्त हो ।

पहिलो चरणमा यो मार्क्सवादको चरणको विकास भयो । मार्क्सवादको गुणात्मक विकासको दोस्रो चरणमा लेनिनवादको विकास भएको छ । मार्क्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरणमा माओवादको विकास भएको छ । र, निरन्तर सृजनात्मक विकासको गतिमा अगाडि बढिरहेको छ । यसरी आज अन्तर्राष्ट्रिय सर्वहारावर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिंगो अभेद्य इकाइका रूपमा मार्क्सवाद–लेनिनवाद–माओवाद रहेको छ । माओवादलाई आजको विश्वको मार्क्सवाद लेनिनवादका रूपमा ग्रहण नगरी कोही पनि सच्चा कम्युनिष्ट बन्न सक्तैन । यहाँनेर ध्यान दिन अति जरुरी छ कि आजको विश्वको मार्क्सवाद–लेनिनवाद भएकाले नै संसारभरका प्रतिक्रियावादीहरू तथा संशोधनवादीहरूले माओवाद एवं माओवादीहरूमाथि सैद्धान्तिक रूपमा भ्रम सिर्जना गर्ने र भौतिक रूपमा भीषण हमला गरिरहेका छन् ।

यहाँनेर अर्को ध्यान दिनैपर्ने जरुरीको कुरा के छ भने मार्क्सवाद–लेनिनवादको स्थापना कम्युनिष्ट क्रान्तिकारीहरूद्वारा सबैखाले प्रतिक्रियावाद, संशोधनवाद र अवसरवादका विरुद्धको भीषण वर्गसंघर्ष र वैचारिक संघर्षका क्रममा भएको हो, त्यसरी नै आज माओवादको स्थापना पनि नियम संघर्षका बीचबाट भइरहेको छ, तर जगचाहिँ माक्र्सवाद नै हो ।

अतः प्रस्तुत आलेख मार्क्सवादको प्रतिपादन, विकास र रक्षाको सवालमा कार्ल मार्क्सको महत्त्वपूर्ण एवं अतुलनीय योगदानहरूमा केन्द्रित गरिएको छ ।

कार्ल मार्क्सको जन्म सन् १८१८ मई ५ तारिखका दिन जर्मनीको प्रसिया अन्तरगत ट्रियर शहरको एक वकिल परिवारमा भएको थियो । उहाँका बुबा हेनरिख मार्क्स र आमा हेनरियेंट्टा मार्क्स (हल्याण्ड) हुनुहुन्थ्यो । उहाँको परिवारमा चार दाजु भाइ र पाँच दिदी बहिनी हुनुहुन्थ्यो । मार्क्स माइला छोरा हुनुहुन्थ्यो ।

Hasta Bahadur KC
लेखक

मार्क्सको विवाह सन् १८४३ जुन १९ तारिखका दिन जर्मनीको सानो शहर क्रेश्चनारवमा जेनी बेष्टफालेनसँग भएको थियो । मार्क्सका सन्तानहरूमा चार छोरी (जेनी, लाउरा, फ्रान्चिस्का, एलेओनोरा र दुई छोरा (एडगार र गिदो) थिए ।

सन् १८८३ मार्च १४ तारिखका दिन कार्ल मार्क्सको मृत्यु भएको थियो । सन् १८८३ मार्च १७ तारिख शनिवारका दिन लण्डनको हाइगेट चिहानमा मार्क्सको शव गाडियो, जहाँ जेनी मार्क्सको अस्तु पनि राखिएको थियो ।

अप्रिल १८४१ मा मार्क्सले भियना विश्वविद्यालयबाट दर्शनशास्त्रमा डाक्टरी (विद्यावारिधी) प्राप्त गर्नु भएको थियो । डेमोक्रेटिक प्रकृति दर्शन र एयकुलरको प्रकृति दर्शनबीचको विषयमा मार्क्सले थेसिस लेख्नु भएको थियो ।

सन् १८४२ नोभेम्वरमा क्लोन स्थित राइन (Rhieinsche zeitung) पत्रिकाको कार्यालयमा मार्क्स र एङ्गेल्सका वीच पहिलो पटक भेट भयो । त्यतिवेला मार्क्सले राइन पत्रिका (Rhieinsche zeitung) र नयाँ (Rhieinsche zeitung) को सम्पादकत्व गर्नु हुन्थ्यो ।

मार्क्सलाई ग्रीक, ल्याटिन, जर्मनी र अंग्रेजीको उत्कृष्ट ज्ञान थियो भने इटालियन र स्पेनिस भाषामा लेख्न र पढ्न सक्नु हुन्थ्यो ।

अभाव र गरिवीका कारण मार्क्सका छोराछोरीहरूले अकालमै मृत्युवरण गर्न पुगेका थिए । सन् १८५० मा सानो छोरा गिदो, सन् १८५२ मा साहिँली छोरी फ्रान्चिस्का (१ वर्षको उमेरमा) सन् १८५५ मा जेठो छोरा एडगार (८ वर्षको उमेरमा) र सन् १८८३ मा जेठी छोरी जेनी (३८) वर्षको उमेरमा मृत्यु भएको थियो ।

सन् १८८१ डिसेम्वर २ का दिन मार्क्सको जीवनसंगिनी जेनी मार्क्सको पनि मृत्यु भएको थियो । कार्ल मार्क्स सर्वहारावर्गको महाने सिद्धान्तकार हुनुहुन्छ । कार्ल मार्क्स मार्क्सवादका प्रतिपादक हुनुहुन्छ । उहाँले जुन मार्क्सवादको प्रतिपादन गर्नु भयो, त्यो विश्व इतिहासमा एउटा युगान्तकारी परिघटना थियो । त्यसले विश्व कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनका लागि साम्यवाद प्राप्तिको संघर्ष गर्नका निम्ति सैद्धान्तिक राजनीति र सांगठनिक रूपले उत्प्रेरित हुन गयो ।

सन् १८४७ मा लण्डनमा सम्पन्न कम्युनिष्ट लिगको दोस्रो महाधिवेशनले कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सलाई कम्युनिष्ट घोषणापत्रको मस्यौदा लेख्ने जिम्मेवारी सुम्प्यो । मार्क्स–एङ्गेल्सले एक वर्ष लगाएर कम्युनिष्ट पार्टीको घोषणापत्र तयार पार्नु भयो र सन् १८४८ फेब्रुअरी १२ तारिखका दिन लण्डनबाट मार्क्स एङ्गेल्सद्वारा कम्युनिष्ट घोषणापत्र जारी गर्नु भयो । त्यस पश्चात विश्व सर्वहारावर्गले मार्क्सवादका रूपमा, मार्क्सवादी दर्शनको रूपमा आफ्नो मुक्तिको सैद्धान्तिक अस्त्र प्राप्त भयो । यस विषयमा स्वयं मार्क्स–एङ्गेल्स संकलित रचनाहरू भाग ३, पृष्ठ १२ मा – “जसरी दर्शनले सर्वहारा वर्गमा आफ्नो भौतिक हतियार प्राप्त गर्दछ, त्यसरी नै सर्वहारावर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार प्राप्त गर्दछ ।” दर्शनका विषयमा मार्क्सले “प्रत्येक सच्चा दर्शन आफ्नो समयको बौद्धिक सारतत्व हो” भन्नु भएको छ ।

मार्क्सवाद र मार्क्सवादी दर्शनमा सर्वहारावर्गले संसारलाई ठिकसित बुझाउने र त्यसलाई फेर्ने एक अचूक बौद्धिक अस्त्रका रूपमा भेटाएको सन्दर्भमा यसको महत्त्वको बारेमा आफ्नो संकलित रचनाहरू भाग १९, पृष्ठ २५ मा लेनिनद्वारा लेखिएको छ, “मार्क्सको दर्शन एउटा यस्तो परिपूर्ण दार्शनिक भौतिकवाद हो, जसले मानव जातिलाई र खास रूपले मजदुरवर्गलाई ज्ञानका शक्तिशाली औजारहरू प्रदान गरेको छ ।”

वास्तवमा मार्क्सको दर्शन सर्वहारावर्ग र त्यसका राजनीतिक तथा सैद्धान्तिक प्रतिनिधिहरूको हातमा एउटा प्रभावशाली र शक्तिशाली हतियार सावित भएसके पछि त्यसमा द्वन्द्वात्मक भौतिकवाद भनिएको उक्त दर्शन सम्पूर्ण मार्क्सवादी सिद्धान्तको आधार बन्न पुगको सन्दर्भमा मार्क्सवादको दार्शनिक पक्षको महत्त्वलाई कमरेड माओले आफ्नो चुनिएका रचनाहरू अंग्रेजी संस्करण भाग ५, पृष्ठ १६० मा अगाडि लेख्नुहुन्छ,

“मार्क्सवाद ज्ञानका अनेक शाखाहरूबाट बनेको छः मार्क्सवादी दर्शन, मार्क्सवादी अर्थशास्त्र र मार्क्सवादी समाजवाद अर्थात वर्ग संघर्षको सिद्धान्त तर जग चाहिँ माक्र्सवादी दर्शन हो । यदि यसलाई मनन गरिएन भने हाम्रो एउटा साझा भाषा वा साझा तरिका हुने छैन, हामी चीजहरूलाई स्पष्ट नपारिकन यताउताको कुरा उठाई तर्क मात्र गरिहेका हुनेछौं । द्वन्द्वात्मक भौतिकवादलाई मनन गरिसकेपछि, थुप्रै दुःखकष्टबाट जोगिने छ र धेरै गल्तिहरू हट्नेछन् ।”

मार्क्स–एङ्गेल्सद्वारा कम्युनिष्ट घोषणापत्र जारी भए पश्चात तत्कालीन दुनियाँमा हलचल पैदा गरिदियो । यस विषयमा कम्युनिष्ट घोषणापत्रको शुरुमै मार्क्सले लेख्नुभएको छ –

“युरोपमा एउटा हाउ घुमफिर गरिरहेको छ– साम्यवादको हाउ । यस हाउलाई धपाउन भनेर पोप र जार, मेटर्निख र गीजो, फ्रेन्च उग्रवादी र जर्मन पुलिस अर्थात् पुरानो युरोपका सारा सत्ताधारीहरू एक भएका छन् ।
कुन यस्तो विरोधी पार्टी छ जसलाई सत्ताधारीहरूले कम्युनिस्ट भनी बद्नाम नगरेको होस् ? कुन यस्तो विरोधी पार्टी छ जसले आफूभन्दा धेरै प्रगतिशील विरोधी पार्टीहरूलाई र आफ्ना प्रतिक्रियावादी विरोधीहरूलाई समेत कम्युनिस्ट भएको घृणित आरोप नलगाएको होस् ?
तथ्यबाट दुई कुरा प्रष्ट हुन्छ । युरोपका सारा सत्ताधारीहरूले साम्यवादलाई अब एक शक्ति मानिसकेका छन् । अब कम्युनिस्टहरूले सम्पूर्ण संसारको अगाडि आफ्ना विचारहरू, आफ्ना उद्देश्यहरू, आफ्ना प्रयासहरू खुलस्त बताउनुपरेको छ र साम्यवादको हाउसम्बन्धी दन्त्यकथाको सट्टामा पार्टीको आफ्नो घोषणापत्र प्रस्तुत गर्नुपरेको छ ।” – कार्ल मार्क्स–फ्रेडरिक एङ्गेल्स, संकलित रचनाएं (हिन्दी) तीन खण्डोंमे, खण्ड १, भाग १, पृष्ठ १२९, प्रगति प्रकाशन मास्को ।

विश्वविख्यात कम्युनिष्ट घोषणपत्रको मस्यौदा तयार पारेर जसरी घोषणा समेत स्वयं मार्क्स-एङ्गेल्स गरेर मार्क्सवाद र मार्क्सवादी दर्शनका क्षेत्रमा मार्क्स–एङ्गेल्सले ज्यादै महत्त्वपूर्ण र अतुलनीय योगदान गर्नु भयो ।

मुख्यतः कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्स दुवैको संयुक्त प्रयासबाट मार्क्सवादको प्रतिपादन भयो । यस विषयमा लेनिनले अगाडि लेख्नु हुन्छ,

“मार्क्सवाद मार्क्सका विचारहरू र उनको शिक्षाको व्यवस्थित श्रृंखला हो । उन्नाइसौं शताब्दीमा मार्क्सवादका तीन संघटक तत्त्वको उल्लेख गर्दै संसारका तीन अधिकतम उन्नत देशहरूमा पैदा भएका तीन मुख्य विचारधाराहरू शास्त्रीय जर्मन दर्शन, शास्त्रीय अंग्रेजी राजनीतिक अर्थशास्त्र र सामान्य फ्रान्सेली क्रान्तिकारी शिक्षाहरूसँग संलग्न फ्रान्सेली समाजवादलाई मार्क्सले अगाडि बढाउनु भयो र तिनलाई आफ्नो प्रतिभाले परिपूर्ण बनाउनु भयो ।” – लेनिन, संकलित रचनाएँ दश खण्ड मे खण्ड ५ पृष्ठ २६, प्रगति प्रकाशन भएको १९८२ ।

मार्क्सवाद सर्वहाराक्रान्तिको विज्ञान हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाज साम्यवाद यसका आधारभूत मान्यता हुन् भन्ने कुरा विज्ञानद्वारा मार्क्सले निक्यौल गरेर, मार्क्सवाद तथा मार्क्सवादी दर्शनका क्षेत्रमा ठूलो योगदान पुर्‍याउनुभयो ।

Frederick Engels फ्रेडरिक एङ्गेल्स
कार्ल मार्क्सका अनन्य मित्र फ्रेडरिक एङ्गेल्स

कार्ल मार्क्सले प्राचीन युनानको सहज भौतिकवाद र द्वन्द्ववाद काण्टदेखि हेगेलसम्म विकसित हुँदै गएको जर्मनशास्त्रीय दर्शन, हेगेलको द्वन्द्ववाद र फायरवरवको भौतिकवादको गम्भीर अध्ययन गर्नु भै हेगेलमा द्वन्द्ववादको चरम विकास भएको थियो तर उनी आदर्शवादी थिए । त्यस्तै फायरवारवमा भौतिकवादको राम्रो विकास भएको थियो तर उनी अधिभूतवादी र धार्मिक–नैतिक–क्षेत्रमा आदर्शवादी थिए । यही परिपेक्षमा मार्क्स-एङ्गेल्सले हेगेलको आदर्शवादीको विरोध गर्दै उनको द्वन्द्ववादलाई अंगिकार गर्नुभयो । त्यस्तै उहाँहरूले फायरवारवया विद्यमान अधिभूतवाद र आदर्शवादको विरोध गर्दै उनको भौतिकवादलाई अंगाल्न भयो । यसरी मार्क्स–एङ्गेल्सले द्वन्द्ववाद र भौतिकवादलाई परिमार्जन, संश्लेषित र एकीकृत बनाउँदै नयाँ दर्शनको आधारशीला तयार पार्नु भयो । अर्थात मार्क्स-एङ्गेल्सले हेगेल र फायरवारवको ‘टाउकोले टेकेको दर्शनलाई सुल्टयार खुट्टाले टेकेर उभिने’ बनाई दिएर द्वन्द्वात्मक भौतिकवादको विकास गर्नु भयो । साथै मार्क्सले समाज विज्ञानका रूपमा ऐतिहासिक भौतिकवादको आविष्कार गरेर वर्ग, वर्गसंघर्ष, इतिहासमा बल प्रयोग भूमिका कुरा र इतिहासदेखि आजसम्मका इतिहास वर्गसंघर्षको इतिहास हो” भने संश्लेषण गर्दै उत्पादन सम्बन्ध रहने, समाज विकासका नियमहरू ठोस गर्दै सामाजिक क्रान्तिकारीद्वारा राज्यको उत्पतिदेखि राज्यको विलोपीकरण सम्मको वैज्ञानिक सिद्धान्त प्रतिपादन गरेर दर्शनको क्षेत्रमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई स्थापित गर्नु यस पश्चात दार्शनिक फाँटमा यसले नयाँ क्रान्ति ल्याई दियो र यस भन्दा पहिलेका सम्पूर्ण दर्शनहरू पछाडि पर्न गए र दुनीयाँमा नयाँ हलचल पैदा गरिदियो । यस एङ्गेल्सको साथ र सहयोगमा मार्क्सको महत्त्वपूर्ण योगदान रहन गयो ।

भ्लादिमिर इल्यिच लेनिनले मार्क्सवादका तीन श्रोतको उल्लेख गर्नु भएको छ र यसैका आधारमा मार्क्सवादमा तीन संघटका अंग पनि निर्मित भएका छन् । जस्तो कि दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीन संघटक अंग हुन् ।

अर्को कुरा दर्शनशास्त्र प्रकृति समाज र चिन्तनका गतिका सामान्य नियमहरूको अध्ययन गर्ने विज्ञान हो र यसलाई मार्क्सले नितान्त नयाँ ढंगले विकसित गर्नु भएको छ । राजनीतिक अर्थशास्त्र उत्पादन सम्बन्धहरूको अध्ययन गर्ने विज्ञान हो र यसलाई पनि मार्क्सले नयाँ ढंगले विकासित तुल्याउनु भएको छ । पुँजीवादी अर्थशास्त्रीहरूले राजनीतिक अर्थशास्त्रलाई बस्तुहरूको आफ्नो सम्बन्धको अध्ययन गर्ने विज्ञानका रूपमा लिएका थिए तर यसको उल्टो माक्र्सले मानिसहरूको पारस्परिक सम्बन्धको अध्ययन गर्ने विज्ञानको रूपमा राजनीतिक अर्थशास्त्रलाई स्थापित गर्नु भयो । र मूल्याको श्रमसिद्धान्तलाई मार्क्सले नयाँ व्याख्या, परिष्कार र अतिरिक्त मूल्यको सिद्धान्तको खोजका आधारमा समृद्ध तुल्याउनु भयो । वैज्ञानिक समाजवाद एक यस्तो सामाजिक तथा वैचारिक व्यवस्था हो, जुन वर्ग संघर्ष, बलप्रयोगको भूमिका, सर्वहारावर्गको अधिनायकत्त्व र वर्गहरूको विलोपको सिद्धान्तमा आधारित रहेको छ । मार्क्सले काल्पनिक समाजवादका विरुद्ध वैचारिक संघर्ष चलाउँदै वैज्ञानिक समाजवादको विज्ञानलाई स्थापित गरेर महत्त्वपूर्ण योगदान गर्नु भयो ।

मार्क्सपूर्वका काल्पनिक समाजवादी तथा साम्यवादीहरूले पुँजीवादी उत्पादनबाट मजदुरहरूको मुक्तिको सपना अवश्यैदेखे तर त्यसलाई वैज्ञानिक सिद्धान्तको रूपमा लिन सकेका थिएनन् । हेगेलको इतिहासलाई अधिभूतवादबाट मुक्तगरी द्वन्द्ववादको रूप त अवश्यै प्रदान गरे तर इतिहास सम्बन्धि उनको धारणा मूलतः आदर्शवादी थियो । यो स्थितिमा मार्क्सले इतिहासको भौतिकवादी मान्यताको आविष्कार गर्नु भयो । र मार्क्सले अगाडि भन्नु भयो “अपितु यसको उल्टो त्यसको सामाजिक अस्तित्वले त्यसको चेतनालाई निर्धारण गर्दछ ।” इतिहासको यो भौतिकवादी मान्यतालाई आधार बनाउँदै मार्क्स–एङ्गेल्स कुन निष्कर्षमा पुग्नु भयो भने आदिम युगलाई छोडेर समस्त विगतको इतिहास वर्गसंघर्षको इतिहास हो ।

साथै मार्क्स-एङ्गेल्सले प्रकृति विज्ञान र इतिहासको क्षेत्रमा वास्तविक अन्तः सम्बन्धका ठाउँमा काल्पनिक अन्तः सम्बन्ध प्रस्तुत गर्ने आदर्शवाद र अधिभूतवादका विरुद्ध संघर्ष चलाउँदै ती दुवै क्षेत्रका वैज्ञानिक नियमहरूलाई राम्रोसँग उत्पादन गर्नु भएको छ । प्रकृति समाज र चिन्तनमा विद्यमान गतिका सामान्य नियमहरूको खोज गर्नु नै यो उद्घाटनको वास्तविक कुञ्जी बन्न गएको छ । यस प्रकारको अध्ययन र खोजले एकातिर प्रकृति दर्शन र इतिहास दर्शनको प्रभुत्वबाट प्रकृति विज्ञान र समाज विज्ञानका विविध शाखाहरूलाई मुक्त गरी तिनलाई स्वायत्त विज्ञानहरूको हैसियत प्रदान गर्‍यो भने अर्कोतिर एक विशिष्ट सकारात्मक विज्ञानका रूपमा दर्शनशास्त्रलाई अन्तर्वस्तु तथा रूप दुवै दृष्टिले परिमार्जित गरी नयाँ ढंगले विकासित गर्ने काम भयो । यस प्रकारको नयाँ संश्लेषणबाट सर्वहारावर्गको वैचारिक शास्त्रका रूपमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको प्रादुर्भाव हुन पुग्यो, त्यो पुरानो ढंगको दर्शनशास्त्र न भै नयाँ विश्वदृष्टिकोण बन्न पुग्यो । यसमा मार्क्सको महत्त्वपूर्ण योगदान रहयो ।

मार्क्सले समाज विज्ञानका तीनवटै क्षेत्रमा खासगरी दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा महत्वपूर्ण योगदान गर्नु भयो । शुरुमा त मार्क्सले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन, त्यसका साथै राजनीतिक अर्थशास्त्रका अतिरिक्त मूल्यको सिद्धान्त र वैज्ञानिक समाजवादमा वर्गसंघर्ष, सशस्त्रसंघर्ष र सर्वहारावर्गको अधिनायकत्त्वलाई पनि स्थापित गरे भयो ।

मार्क्सका योगदानहरूलाई छोटकरीमा यसरी राख्न सकिन्छ कि दर्शनका क्षेत्रमा उहाँले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद प्रतिपादन गर्नु भयो । यसमा मार्क्सले जर्मन दर्शनशास्त्रका अग्रणीहरू खास गरी हेगेल, काण्ट र फायरबाखलाई गहन ढङ्गले अध्ययन गर्नु भयो । काण्टको अज्ञेयवादका विरुद्ध पनि लँडाइ लड्नु भयो । त्यस्तै गरी फायरवास का अधिभूतवादी भौतिकवादका विरुद्ध लँडाई लड्नु भयो । साथै हेगेलका आदर्शवादी द्वन्द्ववादका विरुद्धमा पनि लँडाई लड्नुभयो । फायरवारको भौतिकवाद र हेगेलको द्वन्द्ववादलाई लिएर मार्क्सले द्वन्द्वात्मक भौतिकवाद बनाउनुभयो । ऐतिहासिक भौतिकवाद मार्क्सको नयाँ आविष्कार हो । ऐतिहासिक भौतिकवाद मार्क्सको मौलिक आविष्कार हो । यो दर्शनशास्त्रको क्षेत्रमा माक्र्सले गरेको आविष्कार हो ।

दोस्रो योगदान मार्क्सले राजनीतिक अर्थशास्त्रका क्षेत्रमा अतिरिक्त मूल्यको सिद्धान्त प्रतिपादन गर्नु भयो । मानव समाजमा एउटा मुठ्ठीभर वर्गले बहुसंख्यक श्रमजीवी वर्गलाई कसरी शोषण गर्दछ भन्ने कुरा पत्ता लगाउनु भयो । नीजि सम्पत्तिको उन्मूलन गरेर नै शोषणका अन्त्य हुनसक्छ, समाजवाद आउन सक्छ र त्यसपछि साम्यवादमा पुग्न सक्छ । सामुहिक उत्पादन र नीतिविचरणको अन्तर्विरोध पत्ता लगाएर उत्पादन सम्बन्ध र उत्पादन शक्तिबीच चल्ने संघर्षबाट नै समाजवाद प्राप्त हुन्छ भन्ने कुरा मार्क्सले राजनीतिक अर्थशास्त्रका क्षेत्रमा पत्ता लगाउनु भयो । त्यसका साथै मार्क्सले वैज्ञानिक समाजका क्षेत्रमा खास गरी समाजमा वर्गहरू हुन्छन् भन्ने कुराले पहिले नै थाहा थियो तर मार्क्सले त्यसलाई कसरी हल गर्नु पर्छ भन्ने कुरा चाँहि वर्ग संघर्ष गर्नु पर्छ, वर्गसंघर्षका लागि आफ्नै पार्टी निर्माण गर्ने प्रक्रिया अघि बढाउनु भयो । त्यसका साथै वर्गसंघर्ष एउटा चरणमा प्रवेश गरिसकेपछि सशस्त्र संघर्षमा जानै पर्छ र सशस्त्र संघर्षले मात्र क्रान्तिको छिनोफानो गर्दछ भन्दै मार्क्सले के भन्नु भएको छ भने इतिहासबाट प्राप्त शिक्षा जस्तैः फ्रान्सको वर्गसंघर्ष, पेरिस कम्युन शिक्षा लिँदै उहाँले सर्वहारावर्गको अधिनायकत्त्व आवश्यक हुन्छ भन्नुभयो । साथै सर्वहारावर्गको अधिनायकत्त्व किन आवश्यक हुन्छ भन्ने कुरामा मार्क्सले ८ चारवटा कुरा अगाडि सार्नुभयो । नम्बर एकमा वर्गविभेद अन्त्य गर्नका लागि, नम्बर दुईमा वर्ग विभेद उत्पन्न हुने उत्पादन सम्बन्धमा आधारित सामाजिक सम्बन्धहरूको उन्मूलन गर्नका लागि र चार नम्बरमा सामाजिक सम्बन्धबाट पैदा हुने विचारहरू जो छन् तिनीहरूलाई क्रान्तीकरण गर्नका लागि सर्वहारा वर्गको अधिनायकत्त्व हुने कुरा मार्क्सले स्थापित गर्नु भयो । अन्त्यमा पुँजीवादबाट समाजवाद हुँदै साम्यवादमा पुग्नका लागि संक्रमणकाल हो भनेर विश्व सर्वहारा श्रमजीवी वर्गलाई यिनै दर्शनहरू मार्क्सले जुन दिनुभयो । यी तत्त्वहरू नै मार्क्सका मुख्य योगदान हुन् ।

जहाँसम्म मार्क्सवादको प्रयोगको कुरा छ, त्यसमा मार्क्सवादको पहिलो प्रयोग पेरिस कम्युनमा गएर भयो । ऐतिहासिक भौतिकवादले जुन वर्ग संघर्ष सशस्त्र संघर्ष र सर्वहारावर्गको अधिनायकत्व मान्यता र नियमलाई स्थापित गरेको छ, त्यसमा पेरिस कम्युनमा गएर पहिलो पटक कार्यान्वयनमा आयो । पेरिस कम्युन इतिहासको एउटा परिघटना थियो, पेरिस कम्युनका बारेमा अन्तर्राष्ट्रिय थुप्रै डकुमेन्टहरू, आएका छन्, मूल्याङ्कन गरिएका छन् । पेरिस कम्युन छोटै अवधिसम्म मात्र टिकेको भए पनि त्यो विश्व सर्वहारावर्गको महान् आदर्श थियो ।

ऐतिहासिक भौतिकवाद त्यसको सारतत्त्व वर्ग संघर्ष, सशस्त्र संघर्ष र सर्वहारार्वगको अधिनायकत्त्व सम्बन्धी मान्यता जुन मार्क्सले कम्युनिष्ट घोषणापत्रबाट शुरु गर्नु भएको थियो, पेरिस कम्युनको संश्लेषण गर्ने बेलासम्म ऐतिहासिक भौतिकवादका महत्त्वपूर्ण सिद्धान्तहरू परिपक्क भएर, आएको देखिन्छ । उदाहरणका लागि कम्युनिष्ट घोषणापत्रमा सर्वहारावर्गको अधिनायकत्व भन्ने शब्द छैन । शासक वर्गका रूपमा संगठित सर्वहारा वर्ग भन्ने छ । त्यसलाई अलिपछि गएर फ्रान्समा वर्ग संघर्ष लेख्ने क्रममा संगठित सर्वहारा वर्ग भन्ने छ । त्यसलाई अलि पछि गएर फ्रान्समा वर्ग संघर्ष लेख्ने सिलसिलामा त्यही सर्वहारावर्गको अधिनायकत्वसँग सम्बन्धित कुरामा अलिपरसम्म मार्क्स जानु भयो । पछि गएर अठारौं ब्रुमेयरमा जाँदाखेरी अब सर्वहारावर्गले संघर्ष गर्‍यो भने पुरानो राज्यसत्तालाई चक्नाचुर पारेर नयाँ राज्यसत्ता ल्याउँछ भन्ने मान्यता मार्क्सले विकसित गर्नु भयो । त्यसरी ठयाक्कै पेरिस कम्युनमा जाँदाखेरि पहिलो कुरा मार्क्सले के भन्नु भयो भन्दा पेरिस कम्युन कार्यनीतिक रूपमा संसदीय होइन् । गैरसंसदीय व्यवस्थाले दोस्रो नम्बरमा पेरिस कम्युनले के गर्‍यो भने पहिलेसम्म त राज्यसत्ता ध्वस्त पार्ने होइन एउटा वर्गको हातबाट अर्को वर्गको हातमा लिने कुरा हो भनिन्थ्यो तर जब पेरिस कम्युनमा पुगेपछि सर्वहारावर्गले पुरानो राज्यसत्ता ध्वस्त पारेर नयाँ राज्यसत्ता स्थापना गर्नुपर्छ भन्ने कुरा ल्याई दियो । तेस्रो कुरा त्यो सर्वहारावर्गको अधिनायकत्त्वको प्रयोगको कुरा थियो । त्यसपछि सर्वहारावर्गको अधिनायकत्त्व के हो भन्ने कुराको जवाफमा पेरिस कम्युनमा गएर हेर है भन्ने सम्मको अवस्था भयो । यसको अर्थ के हो भने ‘कम्युनिष्ट घोषणापत्र’देखि लिएर ऐतिहासिक भौतिकवादको मान्यता वर्गसंघर्ष, सशस्त्र संघर्ष र सर्वहारावर्गको अधिनायकत्त्वको मान्यतालाई पेरिस कम्युनसम्म जाँदा के कुरा पुष्टि भयो भने कम्युन त सकियो तर मार्क्सले के भन्नु भयो भने ‘कम्युन जस्तै गरियो भने त्यो समाप्त भयो भने पनि कम्युनले जुन सर्वहारावर्गको मुक्तिको आदर्श थालनी गरेको थियो त्यो मर्दैन । जबसम्म एउटा उत्पीडित वर्ग मुक्त हुँदैन तवसम्म पेरिस कम्युन बारम्वार ब्युँझिदै जानेछ” भन्नु भयो । मार्क्सले भनेजस्तै सन् १९१७ मा रुसको महान् अक्टुबर क्रान्तिमा पेरिस कम्युन नयाँ ढंगले देखा पर्यो । त्यस्तै चीनमा महान नयाँ जनवादी क्रान्ति हुँदै संसारका विभिन्न मुलुकहरूमा थुप्रै क्रान्तिहरू सम्पन्न भए । ती क्रान्तिहरूमा को प्रक्रियामा पेरिस कम्युन देखा पर्‍यो । सारमा के थियो भने मार्क्सले ऐतिहासिक भौतिकवादको जुन संश्लेषण र गर्नु भएको थियो त्यो पेरिस कम्युन हो भन्ने पुष्टि हुन पुग्यो ।

मार्क्सवाद सर्वहारा वर्ग-क्रान्तिको विज्ञान हो । मार्क्सवाद परिवर्तनशील (Dynamic) सिद्धान्त पनि हो । यसको सृजनात्मक ढंगले विकसित हुँदै अगाडि बढ्छ । मार्क्स स्वयंले के भन्नु भएको थियो भने “मार्क्सवाद कुनै जडसूत्र होइन, यो कार्यमा पथप्रदर्शक सिद्धान्त हो” भनेर भन्नु भएको थियो । त्यस अनुसार मार्क्सको बेला जुन अवस्था देखा परेको थियो त्यो अवस्थामा मार्क्स–एङ्गेल्सले के बताउनु भएको थियो भने युरोपका केही देशहरू, जर्मनी, बेलायत, देशहरूमा क्रान्ति हुन सक्छ । समाजवाद आउन सक्छ र पुँजीवादको विकास भए पछि संभार भर एकै साथ समाजवाद आउँछ र समाजवादमा पुग्ने ढोका खोल्छ भन्ने कुरा मार्क्स-एङ्गेल्सले वताउनु भएको थियो । तर सन १९०० पछि बीसाैँ शताब्दीको शुरुवातसम्म आइ पुग्दा पुँजीवाद सडेगलेको पुँजीवाद भन्नु साम्राज्यवादलाई र समाजवादी क्रान्तिका लागि आवश्यक पूर्वाधारहरू तयार, भएका कुनै एउटै देशमा समाजवादी क्रान्ति गरेर, साम्यवादतिर अगाडि बढ्ने संश्लेषण गर्नु भयो ।

पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु, उत्पादक शक्ति, सर्वहारा आन्दोलन तथा ज्ञान–विज्ञानको विविध क्षेत्रमा थप विवाद हुँदै जानु यस प्रकारको नयाँ परिस्थिति अनुरूप मार्क्सवादलाई नयाँ उचाइमा विकसित गर्नु पर्ने ऐतिहासिक आवश्यकताको विचबकाट लेनिनद्वारा लेनिनवादको प्रतिपादन भयो । प्रकृति विज्ञानमा प्रगति हुँदै जानु, इलेक्ट्रोनको खोज भयो, सापेक्षतावादको सिद्धान्त प्रकाशमा आयो । त्यो स्थितिमा कैयौ आदर्शवादी प्रकृति वैज्ञानिक र दार्शनिकहरूले ‘पदार्थ लोप भयो’ भन्दै भौतिकवादमाथि प्रहार हुन थाल्यो । एकातिर यो परिस्थिति र अर्कोतिर साम्राज्यवादको जन्मका कारण मजदुर आन्दोलनमा अभिजात वर्गको प्रादुर्भावबाट संशोधनवाद प्रकट भयो र त्यसले मार्क्सवादको गम्भीर तोडमोड गर्न थाल्यो । साम्राज्यवाद र संशोधनवादको चिरफार गर्दै क्रान्तिका कामहरूलाई अगाडि वढाउनु पर्ने आवश्यकताको परिपूर्ति लेनिनवादवाट हुन पुग्यो । त्यही परिस्थितिमा माक्र्सवादको ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै लेनिनले रुसमा पुँजीवादी जनवादी तथा समाजवादी क्रान्ति सम्पन्न गरेर मार्क्सवाद का सफल प्रयोग गर्नु भयो । अर्थात लेनिनकै नेतृत्व सन् १९१७ अक्टुवर २५ का दिन महान् रुसी अक्टोबर समाजवादी सम्पन्न गर्नु भयो । महान् ससी अक्टोबर समाजवादी क्रान्ति एउटा युगान्तकारी परिघटना थियो । अक्टोबर क्रान्तिले नयाँ युगको सूत्रपात गरेको थियो । त्यसको प्रभाव विश्वभरका सर्वहारा श्रमजीवी वर्ग र उत्पीडित राष्ट्रहरूमा पर्न गयो । संसारका धेरै मुलुकहरूमा लगातार रूपमा कम्युनिष्ट पार्टिहरू स्थापना हुन पुगे । सन् १९४९मा माओत्सेतुङको नेतृत्वमा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । कोरिया, भियतनाम, कम्बोडिया, क्युवा आदि देशमा जनवादी तथा समाजवादी क्रान्तिहरू सम्पन्न भए । पूर्वी युरोपका २० औँ देशहरूमा रुसी मोडेलको समाजवाद स्थापना हुन पुग्यो । यसरी पेरिस कम्युन हुँदै यहाँसम्म पृथ्वीको बहुमत हिस्सा र जनसंख्यामा क्रान्तिहरू सम्पन्न भए । यसरी मार्क्सवादको सफल प्रयोग भयो । यद्यपी रुस, चीन लगायतका समाजवादी देशहरूमा प्रतिक्रान्ति हुन गयो र पुँजीवादको पुनस्थापना हुन भयो । यसले विश्व कम्युनिष्ट आन्दोलन र विश्व समाजवादी शिविर रक्षात्मक स्थितिमा पुग्यो । तर यी परिघटनाहरू क्षेणिक हुन् । त्यसपछि पेरु, नेपालमा सशस्त्र जनयुद्धहरू संचालन भए । क्रान्तिको सफलताको नजिकै पुगिसकेकै बेला क. गोञ्जालोको गिरफ्तारीका कारण पेरुको क्रान्तिले सेटव्याक खान पुग्यो भने, नेपालमा दश वर्षसम्म सञ्चालन गरिएको जनयुद्धले त्यसको मुख्य नेतृत्वमा वैचारिक विचलन पैदा भएर त्यसले वर्गीय र राजनीतिक रूपमा देशी विदेशी प्रतिक्रियावादी एवं साम्राज्यवादी तथा विस्तारवादीहरूका सामु आत्मसमर्पण गरेर नवसंशोधनवाद को वाटो हुँदै प्रतिक्रियावादमा पतन मात्र होइन, प्रतिक्रियावादी सत्ताको नेतृत्व समेत गर्न पुगे पछि महान् १० वर्ष जनयुद्धले गंभीर प्रकारको धोका खानु परेको छ । तर पनि माओवादी आन्दोलनभित्रबाट महान् नेपाली जनवादी क्रान्तिका कार्यभारहरू पुरा गर्ने उद्देश्यले क्रान्तिकारी माओवादी पार्टीहरू पुनगर्ठन गरेर क्रान्तिको तयारीको कामलाई अगाडि वढाउने कार्य भइरहेका छन् । नेपाली क्रान्ति आवश्यक भनिन्छ ।

भारतमा सशस्त्र जनयुद्ध सशक्त रूपमा संचालन भइरहेको छ । फिलिपिन्सका माओवादीहरूले सशस्त्र जनयुद्ध संचालन गरिरहेको छन् । टर्कीमा पनि त्यहाँका माओवादीहरूले सशस्त्र जनयुद्धको थालनी गर्ने तयारी गरिरहेको अवस्था छ ।

मार्क्स–एङ्गेल्सको मार्क्सवादको जन्म, विकास र रक्षामा ज्यादै महत्त्वपूर्ण योगदान पुर्‍याउनु भयो । मार्क्सवादको जन्मसँगै संशोधनवादको जन्म र विकास भएर आयो । मार्क्सको समयमा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा अन्तर्विरोध मार्क्सवाद र अराजकतावादका विचमा थियो । मार्क्सकै समयमा मार्क्स र बाकुनिनवीच संघर्ष चल्यो । यो संघर्ष मार्क्सवाद र अराजकतावादका वीचको संघर्ष थियो । कार्ल मार्क्सले बाकुलिननको अराजकतावादी प्रवृत्ति संग संघर्ष गर्नु परेको थियो ।

बाकुनिनले पहिलो अन्तर्राष्ट्रिय (सन् १८६४–१८७६) मा घुसेर अन्तर्राष्ट्रियको केन्द्र कब्जा गर्ने खोजेका थिए र मार्क्सका विरुद्ध भीषण संघर्ष छेडेका थिए । आफ्नो विघटनकारी हर्कतका कारण बाकुनिनलाई सन् १८७२ को हेग कांग्रेसमा पहिलो अन्तर्राष्ट्रियबाट निष्काशन गरिएको थियो । पहिलो अन्तर्राष्ट्रियको विघटनको मुख्य कारण अराजकतावाद थियो ।

कार्ल मार्क्सको संघर्ष आफ्नो समयमा बाकुनिनसँग मात्र सिमित रहेन, उहाँले निम्न पुँजीवादी अराजकतावादी प्रुँधोसँग पनि संघर्ष गर्नु परेको थियो । प्रुँधोको फ्रान्सिसी अराजकतावादी मार्क्सवाद विरोधी निम्न पुँजीवादी समाजवादी मत थियो । प्रुँधोवादका विरुद्धको संघर्ष प्रथम अन्तर्राष्ट्रियमा मार्क्सवादको विजयसँगै सम्पन्न भएको थियो । मार्क्स–एङ्गेल्सले भीषण संघर्षको वीचवाट मार्क्सवादको विकास र रक्षा गरेर ठूलो योगदान गर्नु भएको थियो । र संघर्षकै बीचबाट क्रान्तिकारी मार्क्सवादको विकास भएको हो । यस विषयमा फ्रेडरिक एङ्गेल्सले भन्नुभएको छ – “सर्वहारा वर्गको विकास जहाँ कहीँ पनि आन्तरिक संघर्षको बीचबाट नै अगाडि बढ्छ, जस्तो कि मार्क्स र म आफैले पनि अरु कसैसँग भन्दा बढि नक्कली समाजवादीहरूका विरुद्ध जीवनमा कठिन लडाइ लडेका थियौँ ।”

Freidrick Engels, with Karl Marx's family कार्ल मार्क्सकाे परिवारसँग फ्रेडरिक एङ्गेल्स
कार्ल मार्क्सकाे परिवारसँग फ्रेडरिक एङ्गेल्स

यस अतिरिक्त कार्ल मार्क्सले लगातार १५ वर्ष लगाएर महान् कृति ‘पुँजी’ लेख्नु भएको थियो । विश्व सर्वहारावर्गका महान् नेता कार्ल मार्क्स शुटमा तरुण हेगेल्‌पन्थीका सम्पर्कमा रहनु भयो । सन् १८४१ मा डेमोक्रेटिक्सको प्रकृति दर्शन र एपिक्युरसको प्रकृति दर्शनका बिचको अन्तर भन्ने विषयमा डाक्टर विद्यावारिधिको उपाधि पाउनु भएको थियो ।

सन् १८४४ मा फायरवाखको भौतिकवादी दर्शनको बाटो हुँदै क्रान्तिकारी जनवादबाट सर्वहारा विश्वदृष्टिकोणमा संक्रमण र पहिलो लेखको रूपमा हेगेलको न्याय दर्शनको समिक्षा र यहुदी प्रश्नको सम्बन्ध भन्ने लेखमा समाजमा सर्वहारावर्गको भूमिका के हुनुपर्छ भन्ने बारे प्रष्ट पारेका थिए । सन् १८४४ मा आर्थिक, दार्शनिक पाण्डुलिपीहरू, सन् १८४५ मा एङ्गेल्ससँग ‘पवित्र परिवार’ ‘फायरवाख माथि एउटा निबन्ध’ सन् १८४५ मा जर्मन विचारधारा नामक कृति मार्क्स-एङ्गेल्सले लेख्नु भएको थियो । सन् १८४७मा पियरे प्रुँधोद्वारा लिखित मार्क्सवाद विरोधी ‘दरिद्रहरूको दर्शन’को खण्डन गर्दै दर्शनको दरिद्रता सन् १८४८मा कम्युनिष्ट घोषणापत्र जस्ता महत्वपूर्ण कृतिहरूको रचना गर्नु भएको थियो । त्यस्तै सन् १८४८–१८५० मा फ्रान्समा वर्ग संघर्ष, सन् १८५० मा वुर्जुवा राजतन्त्र ध्वंस हुनुपर्ने अपरिहार्य आवश्यकताको सम्बन्धमा लुई बोनापार्टको १८ औं ब्रुमेर, सन् १८५२ मा ‘गोथा कार्यक्रमको आलोचना’ र सन् १८७५ मा पेरिस कम्युनजस्ता महत्त्वपूर्ण कृतिहरूको रचना गर्नु भयो । सन् १८६७ मा मार्क्सले ‘पुँजी’को रचना गर्नु भयो । यस महान् ग्रन्थको तेस्रो खण्डको प्रकाशन भने सन् १८८३ मार्क्सको मृत्युको दुई वर्षपछि सन् १८८५ मा एङ्गेल्सले प्रकाशित गरि दिनु भयो ।

कार्ल मार्क्सका मननीय उक्तिहरू यस प्रकार रहेका छन्ः

♦ हामीले त्यस्तो पेशा रोज्नुपर्छ, जसबाट मानव जातिको बढी सेवा गर्न सकियोस् । हामी यस पेशाको थिचाइमा परेर निराश हुन्नौं किनभने यो आम हितको लागि गरिने त्याग हो । त्यसबेला हामीले कुनै तुच्छ, सङ्कृर्ण, अहङ्कारपूर्ण उल्लासको अनुभव गर्ने छैनौँ । लाखौँ मानिसको सुख नै हाम्रो सुख बन्नेछ ।

♦ साँच्चै भन्ने हो भने म सबै महान देवताहरूलाई घृणा गर्छु । आकाश–पातालका सबै देवताहरूका विरुद्ध संघर्ष गर्नु नै प्रगतिशील दर्शनशास्त्रको उच्चतम आदर्श हो ।

♦ धर्म जनताको लागि अफिम हो ।

♦ कुनै मेशिन आफै पूँजी बन्न सक्दैन । मेशिन त्यसबेलासम्म पूँजी बन्दैन, जबसम्म यो अर्काको श्रमको शोषण गरी पूँजीजीविको सेवा गर्ने सामाजिक शक्तिमा परिणत हुँदैन ।

♦त्यो राष्ट्र कदापि स्वतन्त्र हुन सक्दैन, जसले अन्य राष्ट्रको उत्पीडन गर्दछ ।

♦ बर्तमान अतितको सन्तान र भविष्यको जननी हो ।

♦ कम्युनिष्टहरू त्यस्तो निजी सम्पत्ति उन्मूलन गर्नचाहँदैनन्, जुन मानिसहरूले आफ्नै परिश्रमले कमाएका छन् । उनीहरू यस्तो सम्पत्ति उन्मूलन गर्न चाहन्छन्, जसले पराई श्रमको शोषण गर्ने सम्भावना प्रदान गर्दछ । (कम्युनिष्ट घोषणापत्र) ।

♦ जब राजगद्दीले प्रतिक्रान्ति गर्छ, जनताले क्रान्तिद्वारा यसको जवाफ दिने अधिकार राख्दछन् ।

♦ ती जनता जो स्वतन्त्र बन्न चाहन्छन्, आफूलाई युद्धका सामान्य तरीकाहरूमा नै सीमित राख्न सक्दैनन् । आम बिद्रोह, क्रान्तिकारी संग्राम, यत्रतत्र छरिएका छापामार दलहरू यिनै तरीकाले मात्र अल्पसंख्यक जनताले ठूलो राष्ट्रमाथि विजय प्राप्त गर्न सक्छन् । यिनै तरीकाले मात्र कमजोर सेनाले बढी शक्तिशाली र बढी सुसंगठित सेनालाई जित्न सक्छ ।

♦ एकपटक क्रान्तिको बाटोमा पाइला टेकेपछि पराजयबाट समेत नयाँ शक्ति संगालिँदोरहेछ र यस्ता मान्छेहरू जति–जति इतिहासको प्रवाहमा बग्दै जान्छन्, त्यत्तिकै उनीहरू दृढ हुँदै जाँदा रहेछन् ।

♦ विदेशी भाषा जीवन संघर्षको लागि हतियार हो ।

♦ मजदुरहरूसँग सफलताको एउटा तत्त्व छ, त्यो हो संख्या । परन्तु संख्या तबमात्र निर्णायक हुन्छ जब जनसाधारण संगठनमा एकतावद्ध हुन्छन् र ज्ञानले उनीहरूको नेतृत्व गर्छ ।

♦ आजसम्मको समाज विकासको इतिहास मूलतः वर्गसंघर्षको इतिहास हो ।

♦ अवश्य पनि लेखकले जीविकोपार्जन गर्नुपर्छ ताकि ऊ बाँच्न र लेख्न सकोस् । तर यस्तो कहिल्यै हुनुहुँदैन कि ऊ धन कमाउनकै लागि बाँचोस् र लेखोस् ।

♦ सर्वहारावर्ग पुँजीवादी समाजको चिहान खन्ने मलामी हो ।

♦ विज्ञानमा फराकिलो सम्म परेको बाटो हुन सक्दैन । त्यही मात्र विज्ञानको उज्ज्वल टाकुरासम्म पुग्न सक्छ । जो थकाइको त्रासविना यसको ढुंगैढुंगा भएको गोरेटोमा घिस्री–घिस्री अघि बढ्न तयार हुन्छ ।

♦ नयाँ संकटपछि मात्र नयाँ प्राप्तिको प्रादूर्भाव हुनसक्छ । (मार्क्स-एंगेल्स) ।

♦ साहित्य यथार्थवादी हुनुपर्छ । साहित्यले यथार्थ जीवनको चौतर्फी र गहन चित्रण गर्नुपर्छ ।

आज मार्क्सको मृत्यु भएको १३५ वर्ष पूरा भएको छ भने एङ्गेल्सको मृत्यु भएको १२३ वर्ष पुरा भइसकेको छ । र, मार्क्सको जन्म भएको २०० वर्ष पुरा भइसकेको छ र विश्वभरका सर्वहारा श्रमजीवी वर्गले मार्क्सको २००औँ वर्ष गाँठ भनाइरहेका छन् । “मान्छेले मान्छेमाथि गर्ने सबै खाले शोषण, उत्पीडनको सदाको लागि अन्त्य गर्ने” महान विचार दिनु हुने मार्क्स-एङ्गेल्सको प्रासङ्गिता आज पनि उत्तिकै छन् र मानव जातिले मानववाटै हुने सबैखाले शोषण उत्पीडनको अन्त्य नभएसम्म रहिरहने छ ।

विश्वका तमाम खाले बौद्धिक एवं दार्शनिक सर्वेक्षणले मार्क्सलाई सन् १००० देखि २००० सम्मको अवधिका सहस्राब्दी पुरुष मानेका छन् ।

विश्व सर्वहारावर्गका महान गुरु तथा नेता र वैज्ञानिक साम्यवादका सिद्धान्तकार कार्ल मार्क्सले सन् १८८३ मार्क्स १४ का दिन दिउँसो २ बजेर ४५ मिनेट जाँदा अन्तिम स्वास फेरेर भौतिक रूपमा यस धरतीबाट विदा लिनु भएको थियो ।

(लेखक नेकपा (क्रान्तिकारी माओवादी) का नेता हुनुहुन्छ ।)