Sustainable agriculture field
 

हाम्रो देश अति सुन्दर, प्राकृतिक रुपमा र जैविक विविधताले धनी मुलुक हो । यसलाई साम्राज्यवादी र बिस्तारवादी शक्तिहरुले कसरी आक्रमण गरिरहेका छन् भन्ने खुल्दै गएको छ ।

म पनि नेपाल सरकारको जागिर खाएर तिनीहरुको मतियार भई देश बर्बाद बनाउन सघाउ गरिरहेको रहेछु । जब म प्रमुख माटो विज्ञ भएँ तब मात्र मलाई भ्रममुक्त हुने अवसर प्राप्त भयो । साम्राज्यवादी र बिस्तारवादीहरु कसरी खेति प्रणालिबाटै विश्व कब्जा गर्न गइरहेका छन् । वर्णशंकर बिउ, अनुवंश परिवर्तित बिउ (जिएमओ), रासायनिक मल, रासायनिक विषादीको प्रयोग गराई बिउ माथि मात्र कब्जा हैन, माटो मृत बनाई हामीलाई सँधै उनीहरुको अधिनमा राख्न खोजेका छन् ।

यो कुरा जबसम्म आम किसानलाई बुझाउन सकिँदैन, तबसम्म हाम्रो कृषि परनिर्भर भइरहन्छ । यसर्थ आज म कसरी माटो बिगारी हाम्रा कृषकहरुलाई जीवन मरणको दोसाँधमा राखेका छन्, स्पष्ट पार्न चाहन्छु । यो सन्देश छिटो भन्दा छिटो आम किसान माझ पुर्‍याउन जरुरी छ ।

विगत इतिहास कोट्ट्याएर हेर्ने हो भने ठुला ठुला लँडाईहरु भएको पाइन्छ तर आजको लँडाई भौतिक भन्दा बौद्धिक लँडाई भइरहेको छ । यो बौद्धिक लँडाई अन्तर्गत कृषिमा किसानको अधिकार समाप्त पार्ने पनि एक हो । जस्तै किसानको बिउमा अधिकार, किसानको मलमा अधिकार आदि । यो कसरी गर्ने त ? यसको प्रयोग बिउ र मलमा गरिरहेको पाइन्छ ।

किसानलाई बढी उत्पादन दिन्छ, रोग किराले आक्रमण गर्दैन भनेर उनीहरुको स्वस्थकर माटो र स्वास्थबर्द्धक रैथाने बिउ भनेर आफ्नो कब्जा जमाउन स्वयं कृषकलाई प्रलोभनमा पारी बिउमा परनिर्भरतामा पुर्‍याउने तथा किसानलाई रसायनिक मल तथा बिषादीको धुरन्धर प्रयोग गराई उनीहरुको माटो मृत बनाउने र आफ्नो कम्पनिको बिषादी र रासायनिक मल नकिनी नहुने बनाउने ।

यो परनिर्भरतामा लागि ठूलो सङ्ख्यामा रहेको किसान समुदायलाई कब्जामा ल्याउने र आफ्नो धन्दा बढाउने । यसलाई हाम्रो जस्तो देशले चिर्न सकेमा मात्र देश आत्मनिर्भर हुन्छ । के यो सम्भव छ ? सम्भव छ । यसतर्फ हाम्रा वैज्ञानिकले अनुसन्धान गर्नु पर्‍यो ।

प्राङ्गारिक खेतिबाट दिगो र आत्मनिर्भर कृषि सम्भव छ । हामीले प्रयोग गरिरहेको रासायनिक मलबाट प्रतिवर्ष करिब १२ अर्ब रकम विदेश गइरहेको छ । उक्त रकम बचाउन सकिन्छ ।

Durga Prasad Dawadi
लेखक

रासायनिक मल हाम्रो देशको उत्पादन हैन । रासायनिक समिश्रणबाट तयार गरिएको युरिया, डि. ए. पि. र पोटास विदेशी कम्पनिहरुबाट उत्पादित कृषकहरुले सबभन्दा बढी खरिद गरि प्रयोग गर्ने वस्तु हो । अझ व्यावसायिक कृषकहरुले अत्यधिक रासायनिक विषादी समेत प्रयोग गर्दछन् । यसबाट हाम्रो देशले हाल प्रतिवर्ष रासायनिक मल खरिदमा मात्र करिब रु १२ अर्ब रकम विदेशी कम्पनीहरुलाई बुझाइरहेको छ । यो रकम बचाउन मात्रै सकेमा हामी आत्मनिर्भरतामा पुग्न सक्छौँ । यो रकम हामीले बचाउनु पर्‍यो, किसानलाई सम्झाउनु पर्‍यो, र आम कृषकहरुलाई रासायनिक मल र विषादी बहिस्कारको अभियानमा लगाउनु पर्‍यो ।

कृषकहरु सोध्न सक्नेछन्ः के गर्ने त ? विकल्प के त ? यसको विकल्प गोबर मल, कम्पोस्ट मल सहितका प्राङ्गारिक मल नै हो । कृषकहरुले भन्न सक्नेछन्, केही मतियार विज्ञ समेतले यसको विरोध गर्नेछन्, कसरी सम्भव छ ? यो सम्भव छ । हामीले कृषकलाई सम्झाउनु पर्‍यो । यो सम्भव देखाइदिनु पर्‍यो कि गोबर र अन्य प्राङ्गारिक मलबाट बढी फाइदा हुन्छ ।

रासायनिक मल दिनानुदिन महंगो भइरहेको छ । आज भन्दा १० वर्ष पहिले प्रति किलो युरिया केवल रु १० मा पाइन्थ्यो भने, हाल रु २५ प्रति किलो पर्दछ । त्यस रुपैयाँमा सरकारले करिब ७० प्रतिशत अनुदानमा उपलब्ध गराएको देखिन्छ । अनुदान नकटाई विश्लेषण गर्दा प्रतिकिलो युरियाको करिब रु ८० पर्न जान्छ । उक्त रकम हाम्रो देशले सोझै विदेशी कम्पनीलाई बुझाइरहेको छ । देशभित्रका कैयौँ कृषि वैज्ञानिक तथा नीति निर्माताहरु समेतलाई विभिन्न प्रलोभनमा पारेको पाइन्छ, जसको समाचार विभिन्न समयमा प्रकाशित भएको समेत पाइन्छ ।

रासायनिक मल हरेक वर्ष बढाउँदै नगएमा उत्पादन घट्न जान्छ । हरेक वर्ष बढाँउदै जाँदा उत्पादन खर्च बढेर जान्छ । रासायनिक मलले माटोको तापक्रम बढाउँछ, जसको कारण खेतमा सिँचाई बढी दिनु पर्दछ । गहुँ बालीमा प्राङ्गारिक मलमात्रै राखी खेति गरेमा ३ पटक सिँचाई गरेमा पुग्दछ भने रासायनिक मल प्रयोग गरेको खण्डमा ५ पटक सिँचाई गर्नु पर्दछ, जसले पानीको खर्च समेत बढ्छ ।

त्यति मात्र हैन जति जति जमिनको पानी तान्दै जान्छौँ, त्यतित्यति जमिनमा पानीको सतह घट्दै जान्छ । पहिले पहिले केवल २० फिटमा पानी भेटिन्थो भने सोही जमिनमा ८०० देखि ९०० फिट पानीको सतह घटिसकेको छ । यसमा युरिया मलको भूमिका पनि छ । किसानलाई बुझाउनु पर्‍यो रासायनिक मलको कारण एकातिर मलको मात्र बढाउनु पर्‍यो, त्यहाँ खर्च बढ्यो । अर्कोतर्फ पानीको मात्रा बढ्छ, त्यहाँ खर्च बढ्छ । जहाँ सिँचाई छैन, त्यहाँ डिजेलको प्रयोगबाट पम्पसेट चलाउनु पर्‍यो । त्यहाँ डिजलको खर्च बढ्यो । कुनै समयका प्रति लिटर डिजल रु २० मा पाइन्थ्यो भने हाल त्यसको मूल्य बढेर १२५ रुपैयाँ प्रति लिटर भैसकेको छ । यसरी मूल्य बढ्दा बढ्दा किसान आत्महत्या गरी मर्ने अवस्था आइसकेको छ ।

रासायनिक मलहरुमा बिरुवालाई आवश्यक पर्ने १ वा २ तत्त्व मात्र पाइन्छ । यिनै तत्त्वलाई मात्र हेर्दा समेत युरिया मल प्रयोग गर्ने कृषकले युरिया मलमा हुने नाइट्रोजनको करिब २० देखि २५ प्रतिशत मात्र बिरुवाले लिन सक्छ र बाँकी नाइट्रोजन चुहिएर वा उडेर जान्छ । जुन चुहिएएर जान्छ, त्यो पानीको मुहानमा जान्छ र पानी विषाक्त बनाउँछ । युरिया, डि.ए.पि., पोटास लगायतका रासायनिक मलहरू तथा अन्य रासायनिक विषादीहरु बिरुवाले सोस्दछ र बिरुवाका सम्पूर्ण अंगहरु विषाक्त भएका हुन्छन्‌, जुन हामीले खाँदा उक्त विष हाम्रो शरीरमा समेत फैलन जान्छ । जसबाट आमाको दुधमा समेत विष भेटिएको अवस्था भएको छ । यही विषादीको कारणबाट मानिसमा क्यान्सर, डाइबेटिज, हाइपरटेन्सन जस्ता १४८ भन्दा बढी रोग लागिरहेको छ । त्यसैले किसानलाई सम्झाउनु, बुझाउनु र प्रशिक्षित गर्नु आवश्यक छ । एकातर्फ यो विदेशी चिज हो, त्यसैले बन्द गरौँ । अर्कोतर्फ यसले शरीर रोगी बनाउँछ र पैसा बढी खर्च हुन्छ, त्यसैले बन्द गरौँ ।

(लेखक  गण्डकी प्रदेशको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हुनुहुन्छ ।)