काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपभोक्ता हित संरक्षण तथा आपूर्ति विभागले कोरोना भाइरस नियन्त्रणका लागि गरिएको ‘लक डाउन’ सबैको स्वास्थ्यका लागि भएकोले त्यसलाई पालना गर्न र यसको दुरूपयोग गरी हुनसक्ने गलत कार्यहरूबारे सजग रहन सबैलाई अपील गरेको छ । हिजो एक प्रेस विज्ञप्ति जारी गर्दै विभागले सो अपील गरेको हो ।
पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य क. मातृका प्रमुख रहेको पार्टीको केन्द्रीय उपभोक्ता हित संरक्षण तथा आपूर्ति विभागका उपप्रमुख तथा पार्टी केन्द्रीय सदस्य क. बलराम बाँस्कोटाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा नोवेल कोरोना भाइरस (कोभिड १९) विश्वभर माहामारीको रुपमा फैलिइरहेको र विश्वका शक्ति सम्पन्न तथा विकसित मुलुकहरुले पनि यसलाई सामना गर्न नसकिरहेको अवस्थामा यो रोग सिंगो मानव जातिका लागि अभूतपूर्व चुनौती बनेर उभिएको बताइएको छ ।
विभागले विज्ञप्ति मार्फत सम्पूर्ण पार्टी पंक्तिलाई महामारी नियन्त्रणमा सघाउन पनि निर्देशन गरेको छ ।
“महामारीबाट निम्ताएको यस विपद्पूर्ण अवस्थामा नेपाल सरकार, प्रदेश सरकार स्थानीय तहले आपसी सहअस्तित्व, समन्वय, सहकार्यका माध्यमबाट प्रभावकारी रुपमा जिम्मेवारीबोधका साथ सवै प्रकारका उपायहरु अवलम्बन र तिनै तहका सरकारका कामकारवाहीलाई नेकपाको सम्पूर्ण पार्टी कार्यकर्ता पंक्त्तिबाट रचनात्मक सहयोग गर्न विभाग हार्दिक अनुरोध गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिको पूर्ण पाठः
नोवेल कोरोना भाइरस (कोभिड १९) विश्वभर माहामारीको रुपमा फैलिइरहेकोछ । विश्वका शक्ति सम्पन्न र विकसित मुलुकहरुले पनि यसलाई सामना गर्न नसकिरहेको अवस्थामा यो रोग सिंगो मानव जातिको लागि अभूतपूर्व चुनौती बनेर उभिएको छ ।
महामारीको संक्रमणबाट जनताको जीवन सुरक्षाको लागि नेपाल सरकाले चालेका कदमहरु बाट नेपाल सरकार निकै सचेत भएको देखिएको छ । सम्पूर्ण नाकाबन्द गरी अत्यावश्यक काम बाहेकमा आवतजावतमा रोक लगाउँदै ‘लक डाउन’को घोषणा गरी आम नागरिकलाई घरमै बस्न गर्दै आएको आह्वान तथा सरकारबाट जनताको सुरक्षाका लागि चालिएका कदमहरु सकारात्मक र स्वागतयोग्य छन् । संकटको यस घडीमा सरकारले गरेको अनुरोध हामी सबैको हित र जीवनरक्षाका लागि हो भनी बुझरे त्यसको पूर्ण पालना गरिआउनु भएकोमा आम उपभोक्ताहरुप्रति हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछु ।
अब सरकारको मुख्य काम भनेको भारत तथा विभिन्न देशबाट नेपाल प्रवेश गरेकाहरुको पहिचान गर्ने, तिनलाई सेल्फ क्वारेन्टाइन तथा क्यारेन्टाइनमा राख्ने, उनीहरुको सम्पर्कमा रहेकाहरुको पहिचान गर्ने र भाइरस चेक गर्ने, पुन चेक गर्ने, पुन चेक गर्ने, संक्रमितहरुलाई आइसोलेसनमा राखी उपचार गर्ने नै हो । माहामारीको यस परिस्थितिमा संक्रमण निर्मूल भएको सुनिश्चित नभएसम्म ‘लक डाउन’लाई यसको उद्देश्य बमोजिम प्रभावकारी रुपमा पालना गराउनु र क्रमशः खुकुलो बनाउँदै जानुपर्छ । संक्रमणबाट बच्न अवलम्बन गर्नुपर्ने सरकारबाट जारी स्वास्थ्य सुरक्षाको पूर्वसावधानीहरुलाई पालन गर्न पर्याप्त सचेतना प्रदान गर्नुपर्ने, प्रदेश तथा स्थानीय स्तरमा संक्रमणको जाँच परीक्षण गर्न ल्याब, किट, पिपिई तथा प्राविधिक जनशक्तिसहित आवश्यक स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको तत्काल व्यवस्थापन गर्न र तिनको सुरक्षा र प्रोत्साहित गर्न अत्यावश्यक रहेको विभागको ठहर रहेको छ ।
महामारीले निम्ताएको यस विपद्पूर्ण अवस्थामा नेपाल सरकार, प्रदेश सरकार स्थानीय तहले आपसी सहअस्तित्व, समन्वय, सहकार्यका माध्यमबाट प्रभावकारी रुपमा जिम्मेवारीबोधका साथ सबै प्रकारका उपायहरु अवलम्बन र तिनै तहका सरकारका कामकारबाहीलाई नेकपाको सम्पूर्ण पार्टी कार्यकर्ता पंक्त्तिबाट रचनात्मक सहयोग गर्न विभाग हार्दिक अनुरोध गर्दछ ।
‘लक डाउन’को यस अवस्थामा दैनिक ज्याला-मजदुरी गरी जीवन निर्वाह गर्ने गरिवहरु तथा सरकारलाई विश्वास गरी पर्याप्त भण्डारको जोहो नगर्ने असल उपभोक्ताहरुको चुलोमा दैनिक उपभोग्य वस्तुको अभाव खड्किसकेको छ । तरकारी लगायतका लामो समय भण्डारण गर्न नसकिने कृषि उपजहरुको बजार व्यवस्थापन हुन नसकी रहेकोले यसबाट मर्कामा परेका गरिव साना-किसानको समस्याको तत्काल उचित व्यवस्थापन तथा प्रभावित किसानहरुलाई राहत प्रदान गर्न आवश्यक छ । यस अवस्थामा अत्यावश्यक वस्तुहरुमा समेत कृतिम अभाव, कृतिम मूल्यबृद्धि र कालोबजारी समेत सुरु भइसकेको छ । हाल ग्याँसमा देखिएको अभावको कारण आयल निगमको व्यवस्थापकीय कमजोरी र व्यवसायीको इमान्दारितामा पर्याप्त शंका रहेकोले त्यसको निवारण गर्न, अभाव श्रृजना नगर्न र आधा सिलिण्डर ग्याँस विक्रि गर्ने भनी गरिएको पछिल्लो निर्णयबाट उपभोक्ता माथि तौलमा ठगिन सक्ने भएकाले यसतर्फ जिम्मेवार बन्न सम्बद्ध पक्षसँग विभाग अनुरोध गर्दछ ।
‘लक डाउन’को यस विशेष परिस्थितिमा सरकारले अत्यावश्यक वस्तु वा सेवा बन्द नगर्न र घरघरमा पुर्याउन आदेश गर्नु आम उपभोक्ताको पक्षमा खुसीको कुरा भएको छ । तथापि अत्यावश्यक वस्तु र सेवाको बजार तथा आपूर्ति व्यवस्थापन गर्दा कोरोनाको संक्रमण फैलन सक्ने तथ्यप्रति समेत गम्भीर हुनुपर्ने, मूल्य, गुणस्तर र उपभोक्ताको समान र सहज पहुँचका लागि गर्नुपर्ने व्यवस्थापकीय चुनौतिलाई पनि त्यत्तिकै महत्त्वका साथ ध्यान दिन समेत विभाग सम्बद्ध पक्षसँग हार्दिक अनुरोध गर्दछ ।
यस विषम परिस्थितिमा स्थानीय बजार व्यवस्थापन गर्ने संवैधानिक जिम्मेवारी स्थानीय तहमा रहेकोले स्थानीय तहका जनप्रतिनिधिहरु क्रियाशीलता देखाई बजार व्यवस्थापनका सरोकारवालाहरुसँगको प्रभावकारी समन्वयबाट हरेक वडा तहमा आवश्यक संख्यामा संक्रमणमुक्त पसलहरु तथा घुम्ती पसलहरुको सञ्चालन गर्ने कार्यभार पूरा गरी उपभोक्तालाई दैनिक अत्यावश्यक वस्तु र सेवाको सुनिश्चितता गर्नु पर्दछ । त्यसका लागि स्थानीय तहहरुलाई आवश्यक पर्ने श्रोत-साधन, वस्तु वा सेवाको आपूर्ति, सुरक्षा र समन्वय नेपाल सरकार र हरेक प्रदेश सरकारले प्रदान गर्नुपर्नेतर्फ जिम्मेवार बन्न विभाग आग्रह गर्दछ ।
बलराम बाँस्कोटा
उप ‐प्रमुख