बुटवल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले असामाजिक, अपराधिक तत्वबाट मुलुकलाई खतरा कायमै रहेको बताउनुभएको छ ।
भैरहवामा आयोजित प्रदेश ५ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अपराधिक तत्वलाई निस्तेज गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
मुलुकको शान्ति सुरक्षामा आपराधिक तत्व, असामाजिक तत्व र प्राकृतिक प्रकोप पनि चुनौतीका रुपमा रहेको उल्लेख गर्दै उहाँले ती सबैलाई नियन्त्रण गर्न सुरक्षा रणनीति बनाएर अघि बढ्ने बताउनुभयो । संविधान भन्दामाथि गएर कसैले अपराधिक गतिविधि सञ्चालन गर्न खोजे सरकार चुप लागेर नबस्ने उहाँको जिकीर थियो ।
सीके राउतसँगको ११ बुँदे सहमति पछि अनेक हल्ला चलिरहेको भन्दै गृहमन्त्री वादलले मधेसका बारेमा जनमत संग्रह हुनै नसक्ने बताउनुभयो । संविधानमै उल्लेख नभएको जनमतसंग्रह हुन नसक्ने उहाँको जिकीर थियो ।
राउतले स्वतन्त्र मधेसको एजेण्डा त्याग्ने सहमति भएको दाबी गर्दै उहाँले अखण्ड वा स्वतन्त्र मधेसका लागि जनमत संग्रह हुनै नसक्ने उल्लेख गनुर्भयो ।
सिके राउतको स्वागतार्थ उनका सर्मथकले जनकपुरमा निकालेको प्रर्दशनलाई गृहमन्त्री थापाले अन्तिम बिदाईको खुशीयालीको संज्ञा दिनुभयो । ‘उहाँका कार्यकर्ताहरुसम्म सहमतिको कुरा नपुगेको हुनसक्छ, उहाँले भन्नुभयो–’जे भएपनि यो उहाँहरुले उठाएको स्वतन्त्र मधेशको एजेण्डाको अन्तिम बिदाई हो, जनमतसंग्रह वा स्वतन्त्र मधेश राख्नेबारे अरु कुनै सहमति भएको छैन ।’
सरकारले विखण्डनकारी शक्तिसँग सम्झौता गरेको र स्वतन्त्र मधेश गठबन्धनले आत्मसर्मपण गरेको भन्ने दुवैखालका बाहिरी हल्ला निराधार भएको दाबी गर्दै मन्त्री थापाले राष्ट्रलाई बिखण्डनबाट बचाउन सरकारले सम्झौता गरेको र त्यसमा सरकार सफल भएको धारणा राख्नुभयो ।
संविधान विरोधी तत्वलाई निस्तेज पार्ने बताएका गृहमन्त्री थापाले देशलाई विखण्डन गर्ने तत्वलाई राजनीतिक मुलधारमा ल्याउन सरकार सफल भएको उल्लेख गर्नुभयो । सरकार शान्ति सुरक्षा कायम गर्न सफल भएको दाबी गर्दै गृहमन्त्री थापाले विप्लव समूहलाईअराजक गतिविधि र हिंसा रोकेर वार्तामा आउन आह्वान पनि गर्नुभयो ।
सरकारले विभिन्न समूहलाई वार्तामा आउन आव्हान गरिसकेको भन्दै उहाँले वार्तामा नआए निस्तेज पारेर शान्ति सुरक्षा कायम गरिने उल्लेख गर्नुभयो ।
यस्ताे छ गाेष्ठिकाे तालिका
पहिलो दिन आइतबार नेपाल प्रहरीका प्रहरी प्रमुख सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान प्रमुख गणेश अधिकारी सहभागी गोष्ठीमा प्रदेश ५ का १२ जिल्लाको सुरक्षा अवस्थाको जानकारी लिइएको थियो ।
सो अवसरमा प्रदेश ५ मा अर्धभूमिगत विप्लव नेतृत्वको नेकपाको सुरक्षा चुनौती बढेको जिल्ला स्थित प्रहरी प्रमुखहरुले जानकारी गराएका थिए । आइतबार नेपाली सेना बाहेकका प्रहरी प्रमुखले सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए ।
दाेश्राे दिन, सोमबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीले जिल्लाको सुरक्षा अबस्थाबारे जानकारी गराउने कार्यक्रम छ ।
सुरक्षा गोष्ठीमा गृह मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, प्रदेश ५ का १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री, प्रदेश ५ का प्रमुख सचिव लगायतको सहभागिता छ ।