काठमाडौं, नेपालमा राजतन्त्रको अन्त्य भइ लोकतन्त्र स्थापना भएको आज १३ वर्ष पुगेर १४ बर्षमा प्रवेश गरेकाे छ। आज विभिन्न कार्यक्रम आयोजना गरी  देशभर लोकतन्त्र दिवस मनाइँदैछ ।

तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत राजनीतीक दलहरुको माग बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए ।

तत्कालिन राजा राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई पटक पटक प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच १२ बुँदे समझदारी भयो ।

विसं २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लिएकाे थियाे । विसं २०६२ फागुनदेखि शुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लिएकाे थियाे।

नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आउने क्रम शुरु भयाे । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरुकाे माग बमाेजिम सहमतीमा आउन तयार भए। आन्दोलनरत दलले गरेकाे मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठक आह्वान गरेका थिए ।

स‌बिधान सभाकाे पहिलाे बैठकले लोकतन्त्र दिवस मनाउने भनी आजकाे दिन अर्थात बैशाख ११ लाइ प्रस्ताव र अनुमाेदन गरेकाे थियाे ।

यस्ताे छ प्रधानमन्त्रीकाे सन्देश :

लाेकतन्त्र दिवशकाे अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले एक सन्देश जारी गर्नुभएकाे छ । सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश लेख्दै प्रधानमन्त्री ओलीले आर्थिक सामाजिक रुपान्तरण गरी समग्र लोकतन्त्रलाई मजबुत बनाउन एकजुट हुन सबैलाइ आव्हान गर्नुभएकाे छ ।

उहाँले लेख्नुभएकाे छ – ‘लोकतान्त्रिक जनआन्दोलनमा जीवन उत्कर्ष गर्नुहुने शहीदहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । लोकतन्त्रलाई संवैधानिक संस्थाकरण गरेपछि हामी समृद्ध नेपाल निर्माणको यात्रामा छौं । न्याय सहितको आर्थिक सामाजिक रुपान्तरण गरी समग्र लोकतन्त्रलाई मजबुत बनाउन एकजुट हुन आव्हान गर्दछु ।’