काठमाडौं, सरकारले ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै प्रहरीले विप्लव समूहप्रति कडा निगरानी बढाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार अहिलेसम्म विप्लवका १७ नेता तथा कार्यकर्ता पक्राउ गरी कानूनी कारवाही थालिएको छ । उपत्यकाबाट पाँच कार्यकर्ता पक्राउमा परेका छन् । घोषणाअघि विभिन्न घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थप नौ जनामाथि कारवाही जारी छ ।
पक्राउ पर्नेमा उक्त समूहका पोलिटब्यूरो सदस्य मोहन कार्की समेत रहेका छन् । मुलुकभर नेपाल कम्युनिष्ट पार्टीको गतिविधिमाथि सुक्ष्म निगरानी गरी उच्च सतर्कता अपनाइएको तथा शान्ति सुरक्षा सबल र सुदृढ पारिएको प्रवक्ता सुवेदीले जानकारी दिएका छन् ।
सरकारले विप्लवको समूहसँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्न हुने व्यक्ति, संस्था र समूहलाई समेत कारवाही गर्ने निर्णय गरेको छ । विप्लव समूहका पछिल्ला गतिविधि राजनीतिकभन्दा पनि हिंसात्मक र आपराधिक देखिएको भन्दै सरकारले प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।
गृहमन्त्रालयले कानूनबमोजिम लिनुपर्ने इजाजत नलिई, नवीकरण नगराई वा इजाजतपत्र लिएको व्यक्तिको मृत्युपश्चात् हकवालाको नाममा नामसारी नगराइ वा अन्य जुनसुकै तरिकाले अवैध हातहतियार राखेको भए सरकारलाई बुझाउन चैत १ गतेदेखि लागू हुने गरी ३५ दिने सूचना समेत जारी गरेको छ ।
गत फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आपराधिक समूह भएको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेको थियो ।