KP Oli
 

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाका चुनाव सार्ने सबै प्रयासहरु असफल भएको दाबी गरेका छन् ।

भक्तपुर जिल्लाको क्षेत्र नं. २ को बालकोटबाट मत प्रदान गरेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता ओलीले प्रधानमन्त्री देउवाले चुनाव सार्न हरसंभव प्रयत्न गरेको आरोप लगाउँदै भने, ‘उहाँका प्रयासहरु असफल भए । उहाँले आफ्ना सहयात्रीहरुलाई अदालत धाउन लगाउनेदेखि मतपत्र छाप्न नभ्याउनेसम्मका अनेक समस्या खडा गर्नुभयो । त्यो समस्या लिएर अदालतमा पठाउने लगायतका तमासा पनि गर्नु भयो, तर हामीले चुनाव बाहेक अरु कुरामा ध्यान दिएनौँ ।’

सोही कुराकानीको क्रममा पूर्व प्रधानमन्त्री ओलीले ‘चुनावको बेला सयौँ ठाउँमा बम पड्काएर व्यक्तिको हत्या तथा उमेद्वार घाइते हुँदा पनि सरकारले कम कसले हानेको हो भनेर अहिलेसम्म भन्न नसकेको’ आरोप समेत लगाए । उनले ‘चुनाव सम्पन्न भइसकेकोले अब देश राजनीतिक स्थिरताको बाटोमा अघि बढ्ने’ दावी गरे ।