काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता तथा निवर्तमान उपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने मन्त्रिपरिषदको निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन् । दाङ क्षेत्र नं. २ बाट सङ्घीय प्रतिनिधि सभा सदस्यमा निर्वाचित महरा प्रदेश नं. ५ को राजधानी दाङमा बनाउने पक्षमा थिए । तर, सरकारले अकस्मात रुपन्देहीलाई अस्थायी मुकाम तोकेपछि बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले आपत्ति जनाएका हुन् ।
विज्ञप्तीको पूर्ण पाठः
प्रेस वक्तव्य
आज नेपाल सरकारले प्रदेशहरुको अस्थायी राजधानी तोकेको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । देशका विभिन्न भागहरुमा प्रदेश राजधानीको विषयलाई लिएर भइरहेको सशक्त विरोध प्रदर्शन र कार्यक्रमको सन्दर्भमा सरकारले कतिपय प्रदेशका अस्थायी राजधानी विवेकसम्मत र सन्तुलित रुपमा तोक्न नसक्नु सरकारको असक्षमता पुष्टि भएको छ ।
प्रशासन पुनःसंरचना आयोगको सिफारिस, कतिपय सरकारी उच्च निकाय र राष्ट्रिय–अन्तर्राष्ट्रिय सुझाव र सल्लाहलाई समेत लत्याउँदै गरिएको सरकारको यो निर्णय मनोमानी र स्वार्थप्रेरित हुन पुगेको छ । देउवा सरकारको यो असन्तुलित, अविवेकी, अदूरदर्शी, असंवेदनशील र असक्षम निर्णय हो । म यो निर्णयको विरोध र घोर भत्र्सना गर्दछु । यसबाट देउवाको उत्पीडित क्षेत्रको सन्तुलित विकास गर्ने खोक्रो आदर्श उदाङ्गिएको छ र यो निर्णय उत्पीडकहरुको स्वार्थद्वारा प्रेरित भएको पुष्टि हुन्छ ।
५ नम्बर प्रदेशको राजधानी दाङ सुरक्षित, समदूरी र पूर्वाधारसहित पर्याप्त स्थान भएकाले उचित र सन्तुुलित हुनुपर्दछ भनी त्यस क्षेत्रका जनसमुदायले गरिरहेको आन्दोलनको म दृढतापूर्वक समर्थन गर्दछु र सरकारलाई तुरुन्त निर्णय सच्याउन अनुरोध गर्दछु ।
३ माघ, २०७४
कृष्णबहादुर महरा
प्रतिनिधि सभा सदस्य
दाङ क्षेत्र नं. २