पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतले ‘शहीद सप्ताह’को शुभारम्भ गर्दै महान जनयुद्धका प्रथम शहीद क. दिलबहादुर रम्तेलसहित जनयुद्ध र जनआन्दोलनका महान् शहीदहरुको स्मरण गरिएको हो ।
नेकपाको जिल्ला पार्टी कार्यालय कुश्मामा आज महान जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलले शहादत प्राप्त गरेको दिन एक कार्यक्रमको आयोजना गरी उहाँको साथै तत्कालीन झापा विद्रोहका शहीदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, बिरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुँईकेल लगायतको स्मृरण गर्दै शहीद सप्ताहको शुरूवात गरिएको हो ।
कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य गुप्तबहादुर हमालले शहीदको बलिदानबाटै मुलुक अहिले परिवर्तनको दिशामा अघि बढेको बताउनुभयो । उहाँले शहीदहरुको योगदानलाई कम्युनिष्टहरुले कहिल्यै भुल्न नहुने बताउनुभयो । जुनसुकै परिवर्तनका लागि पनि कोहि न कोहि व्यक्ति शहीद बन्नुनै पर्ने भएकाले राष्ट्रले उनीहरुको सदैव सम्मान गर्नुपर्ने बताउनुभयो । नेता हमालले मुलुकको सम्पूर्ण बागडोर यतिबेला नेकपाले सम्हालिरहेको बताउँदै अबको पाँच वर्षमा मुलुकको विकासले फड्को मार्ने बताउनुभयो । उहाँले पहिलो वर्ष सरकारले देखिने गरी काम गर्न नसके पनि आधारहरु तयार पारेको बताउँदै अब भने तीब्र गतिमा मुलुकको समृद्धि र विकासका लागि काम हुने बताउनुभयो ।
कार्यक्रममा नेकपाका प्रदेश कमिटी सदस्य मेघनाथ सुवेदीले शहीदहरुले कोरेको मार्गमा पार्टी सदैव हिँड्नुपर्ने बताउनुभयो । उहाँले नेकपाले सँधै शहीदहरुको सम्मान गर्ने बताउँदै अब यो मुलुकको परिवर्तनका लागि नेकपाको बिकल्प नभएको बताउनुभयो । उहाँले मुलुकको समृद्धि र विकास गर्नका लागि नै जनताले नेकपालाई दुई तिहाई मत दिएको बताउँदै जनताको आशा, उत्साह र अपेक्षालाई मर्न नदिने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी. पौडेलले शहीदहरुकै बलिदान र विगतका विभिन्न आन्दोलनले मुलुकमा परिवर्तन आएको बताउनुभयो । उहाँले तीन तहका सरकार बन्नु पनि महान जनयुद्ध र जनआन्दोलनकै उपज भएको बताउँदै तीनै तहमा ‘शहीद सप्ताह’ मनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपाका जिल्ला नेता भक्त कुँवर, कुश्मा नगर कमिटी संयोजक शंकर गिरी लगायतले बोल्नुभएको थियो । सो अवसरमा शहीदहरुको तस्विरमा माल्यार्पण पनि गरिएको थियो ।