Dil Bahadur Ramtel ko School maa akhil
 

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले शहीद सप्ताहको पहिलो दिन आज जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलले पढेको गोरखा स्थित ब्रह्माचारिणी आधारभूत विद्यालय पुगेर २४ औँ स्मृति मनाएका छन् ।

तत्कालीन माओवादीले जनयुद्ध शुरु गरेपछि वि.स. २०५२ साल फागुन १४ गते गोरखाक‍ो सुलिकोटमा स्थानीय सेते रम्तेलका १४ वर्षीय छोरा दिलबहादुर रम्तेलको हत्या गरिएको थियो । तत्कालीन नेकपा ( माओवादी) ले रम्तेललाई जनयुद्धको प्रथम शहीद घोषणा गरेको थियो । तत्कालीन नेकपा (माओवादी) निकट पार्टी र समूहहरूले  सोदिनलाई पहिलो दिन मान्दै तत्कालीन झापा विद्रोहको क्रममा जेल सरुवाको नाममा झापाको सुखानीको जंगलमा लगेर नेत्र कुँई‍केल, विरेन राजवंशी, झप्सी मण्डल लगायतका योद्धाहरुको हत्या गरिएको फागुन २१ सम्मलाई शहीद सप्ताह को रूपमा मनाउने गरेका छन् । यसै क्रममा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच एकता भई गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पनि मुलुकभर विभिन्न कार्यक्रम गरी शहीद सप्ताह मनाउँदै छ । यो पार्टी एकता पछिको पहिलो शहीद सप्ताह हो ।

सोही क्रममा आज संयुक्त अखिलले शहीद दिलबहादुर रम्तेलले पढेको विद्यालयका सबै विद्यार्थीलाई कपि तथा कलम वितरण गर्‍यो । सोही अवसरमा शहीद रम्तेलका पिता सेते रम्तेल र ब्रम्हाचारिणी विद्यालयका सबै शिक्षकहरूलाई विशेष सम्मान समेत गरिएको अनेरास्ववियू (क्रान्तिकारी) का उपाध्यक्ष सुरेन्द्र बस्नेतले लेफ्ट रिभ्यु अनलाइनलाई बताए । कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेत र अनेरास्ववियु उपाध्यक्ष महेश बर्तौलाले शहीद रम्तेलको सपना पुरा गर्न निरन्तर लागिरहने बताए । कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी) का उपाध्यक्ष सुरेन्द्र बस्नेत, अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला , क्रान्तिकारीका उपाध्यक्षहरू तिलकराज भण्डारी, विजय गौतम , दिपेश पुन र महासचिव उत्तम अधिकारी लगायतको सहभागिता रहेको थियो ।