balbikash samaj program
 

काठमाडौँ,  नेपाल सरकार श्रम, रोगजार तथा सामाजिक सुरक्षा मन्त्रालयले बालश्राम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना  कार्यान्वयनार्थ एक दिवसीय योजना तर्जुमा अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेकाे छ । बाल विकास समाजको आयोजना, मन्त्रालयको सहकार्य र युनिसेफको सहयोगमा अभिमूखीकरण कार्यक्रम आयाेजना गरिएकाे हाे ।

वि.स. २०७५-२०८५ गरी दश वर्षको अवधिमा नेपाललाई बालश्रममुक्त देशको रुपमा परिवर्तन गर्ने सोच र लक्ष्यका साथ सो गुरुयोजना लागू गर्न लागिएकाे मन्त्रालयले जनाएकाे छ । गुरुयोजना कार्यान्वयनका लागि आउनसक्ने चुनौति र संभावनाका साथै ऐन, नियम र कानुनमा आवश्यक परिवर्तन वा सुधारका लागि यस्ताे अभिमूखीकरण कार्यक्रम सञ्चालन गरिएकाे बताइएकाे छ।

बालश्रम अन्त्यका लागि  गुरुयोजनालाइ प्रभावकारी ढ‌ंगले कार्यान्वयन गर्नुपर्नेमा सहभागीहरुले जाेड दिएका छन् ।  बालश्रम निवारण चुनौतिपूर्ण रहेको उल्लेख गर्दै उनीहरुले बालश्रमलाई निवारण गर्ने भन्दा पनि न्यूनिकरण गर्न सकिने धारणा राखे ।

कार्यक्रममा युनिसेफका बाल संरक्षण अधिकृत शिवशंकर डङ्गोल, मन्त्रालयका उपसचिव सुजन जोजिजू, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक लालमणि ओझा, झलक गौतम, वरुण कुमार झा लगायतले बाेल्नुभएकाे थियाे ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका फोकल पर्सन मणिनाथ गोप र मन्त्रालयकी शाखा अधिकृत राजकुमारी खत्रीले मन्त्रालयको रणनीति र भावि योजना तथा गुरुयोजना कार्यान्वयनका चरणहरु कसरी पुरा हुन्छन् भन्ने विषयका कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे ।

स्वास्थ्य सेवा बिभागका उपस्वास्थ्य प्रशासक डा. झलक गौतमले श्रममा परेका बालबालिकाको स्वास्थ्य तथा कुपोषणको अवस्था अत्यन्तै कमजोर हुने बताउँदै यसतर्फ केन्द्रित हुनेगरी कार्ययोजना निर्माणमा जोड दिनु पर्ने सुझाव दिनुभयाे ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको सहकार्य तथा युनिसेफ नेपालको आर्थिक सहयोगमा वाल बिकास समाजले नेपालका ४ वटा महानगरपालिकाहरु, ४ वटा उपमहानगरपालिकाहरु र ६ वटा नगरपालिकाहरुसहित काठमाडाैं उपत्यकामा बालश्रम निवारण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

बालश्रम मूक्त पालिकाहरु घोषणा गर्न सहयोग गर्ने अभिप्रायले सुरु गरिएको कार्यक्रम देशका बिभिन्न जिल्ला तथा नगरपालिकाहरुमा सञ्चालन भइरहेका छन् ।