काठमाडौं, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्याराकाे खोजी प्रक्रिया सुरू गरिएको बताउनुभएकाे छ। २६ औं मदन-आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले छानबिन प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने बताउनुभएकाे हाे ।
‘नेता मदन भण्डारी र जीवराज आश्रितको हत्याबारे छानबिन गर्न हामीले प्रक्रिया थालेका छौं,’ भण्डारीको सालिक अगाडि उभिएर गृहमन्त्री थापाले भन्नुभयाे – ‘छिट्टै हत्यारा पत्ता लाग्ने छ ।’
नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते चितवनको दास ढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो । जुन दुर्घटनालाई रहस्मय ठानिँदै आएको छ तर, २६ वर्षअघिको रहस्मय जीप दुर्घटनाको तथ्य अहिलेसम्म सतहमा आउन सकेको छैन । दुर्घटनाका साक्षी जीप चालक अमर लामाको हत्यापछि यो थप रहस्मय बन्न पुगेको छ ।