Prachanda Voting माओवादी अध्यक्ष प्रचण्डद्वारा मतदान
 

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सात बजे आफ्नो मत प्रदान गरेका छन् । उनले भरतपुर महानगरपालिका वडा नं. १४, शान्तिपुरमा रहेकाे राष्ट्रिय आधारभूत विद्यालय स्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । पत्नी सीता दाहाल, छोरी गंगा दाहाल र परिवारका अन्य सदस्यहरुका साथमा बिहान सात बजे नै मतदान केन्द्रमा पुगेका प्रचण्ड सो केन्द्रबाट मतदान गर्ने पहिलो मतदाता बने ।

मतदान गरिसकेपछि प्रफुल्ल मुद्रामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले ‘यो निर्वाचन शान्ति प्रक्रियालाई टुंगो लगाएर देशलाई समृद्धिको नयाँ युगतर्फ अघि बढाउने ऐतिहासिक क्षण भएको’ बताउँदै सबैलाई उत्साहपूर्वक मतदान गर्न अपील गरे । ‘शान्ति प्रक्रियापछि पहिलोपटक आफ्नै वडामा मतदान गर्न पाउँदा आफूलाई खुशी र गर्वको महशुस भएको’ बताउँदै उनले ‘देशमा अब राजनीतिक स्थायित्व हुने र मुलुक आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने’ बताए ।
अध्यक्ष प्रचण्डले अब देशमा बामपन्थीको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै भने ‘अब समृद्धि र विकासको यात्रा सुरु भयो, राजनीतिक स्थायित्वको यात्रा सुरु भयो ।’ सरकार ५ वर्ष नटिकेर विकास हुन नपाएको उल्लेख गर्दै उनले ‘यस चुनावमा कुनै एक गठबन्धनको बहुमत आउने’ विश्वास व्यक्त गरे । ‘जसको भए पनि एउटा गठबन्धनको बहुमत आउनु पर्छ, यसपटक बामपन्थीको आउँछ,’ उनले भने । ‘मुलुक संघीयताबाट पछि फर्कन नसक्ने’ उल्लेख गर्दै दाहालले ‘स्थायी सरकार दिन नसके संघीयताको कार्यान्वयन चुनौतीपूर्ण भएको’ बताए । ‘पार्टी एकता गर्ने संकल्पसहित बाम तालमेल भएको’ उल्लेख गर्दै उनले ‘निर्वाचनपछि पार्टी एकता हुने’ विश्वास व्यक्त गरे ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गृह जिल्ला चितवनको क्षेत्र नं. ३ मा बाम गठबन्धनको तर्फबाट संघीय प्रतिनिधि सभा सदस्य पदका उमेद्वार रहेका छन् । उनी आफूले आफैलाई भोट हाल्न पाउने शीर्ष नेताहरु मध्ये एक हुन् ।