ललितपुर । विप्लव समूहका मेची–कोशी ब्युरो इन्चार्जसहित एक दर्जन नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले नेपालमा एउटै शक्तिशाली कम्युनिस्ट पार्टी बनाउने र नयाँ परिस्थितिको आवश्यकता अनुसार विचार राजनीतिलाई परिमार्जित गरेर संसारलाई नयाँ समाजवादको मोडेल दिने नेतृत्वको सपना भएको बताउनुभयो ।
अध्यक्षले बाँकी रहेका सबै कम्युनिस्ट पार्टी र समूहहरु एकजुट भई यो महान् उद्देश्य पूरा गर्न लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कम्युनिस्ट पार्टीको झण्डामुनि रहेका साथीहरुलाई केन्द्रित गर्नुपर्छ र एउटै बलियो केन्द्र बनाउनुपर्छ अनि मात्रै सामाजिक रुपान्तरण, विकास र समृद्धि तिर देशलाई लैजान सकिन्छ । हामी विभाजित हुँदा प्रतिक्रियावादीले फाइदा उठाउने हो । हामी एकजुट हुँदा नै हामी बलियो हुने हो ।’ जो जहाँ ब्युँझियो त्यहीँबाट उठेर हिँड्ने हो, सबै ब्युँझाउँछु भन्न थाल्दा सम्भव नहुने उहाँको भनाई थियो ।
उहाँले भन्नुभयो, ‘हामीले विशाल पार्टीको आधार तयार गरिएको छ, यहाँ सबै अट्छन् ।’ अध्यक्ष प्रचण्डले कम्युनिस्ट आन्दोलनमा लामो समय योगदान गरेका वरिष्ठ नेताहरुलाई पनि नेकपामा आउन आव्हान गर्नुहुँदै उहाँहरुको योगदानको कदर नेकपामा हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विचार त्यहाँ दुःख गरेर केही हुनेवाला छैन । कोही लेखेर बस्नुहुन्छ, कोही साहित्य, कोहीले कला संस्कृति, कोही दर्शनशास्त्र र कोहीले सौन्दर्यशास्त्रका विषयमा लेखेर बस्नुहुन्छ ।’
पार्टी प्रवेश कार्यक्रममा नेता तथा कार्यकर्ताको नेतृत्व गरी आउनुभएको मेची-कोशी ब्युरो सदस्य तथा झापा ब्युरो इन्चार्ज सौगात आचार्यले आफूहरुले हतियार नै उठाएर मात्र समाजवाद आउँछ भन्ने कुरा आफूहरुलाई नलागेको बताउनुभयो । उहाँले जुन व्यवस्था ल्याए पनि फेरि युद्ध गर्ने र मानिस मर्ने नभए हुन्थ्यो भन्ने जनताले आफूहरुलाई दिएको सुझावका कारण आफूहरु शान्तिपूर्ण राजनीतिमा आएको बताउनुभयो ।













