काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार भन्ने कुरा भ्रष्टहरुको परम शत्रु भएको बताउनुभएको छ । सोमबार राजधानीमा आयोजित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं स्थापना दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले भ्रष्टहरुलाई पैसा कहाँ लुकाउने भनेर छटपटी हुने बताउनुभयो ।
उहाँले भन्नुभयो ‘अख्तियारले थाहापाउला भन्ने छटपटी, राख्ने ठाउँ नभएर छटपटी हुन्छ, भ्रष्टाचारीलाई कहिल्यै सुविस्ता हुँदैन ।’ भ्रष्टचारी पापको भागिदार हुने र प्रतिफल पनि अर्काले खाने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई सवै मिलेर निर्मुल पार्नुपर्नेमा जोड दिनुभयो।
जनताले सरकारको स्थायित्वको लागि दुई तिहाईको बहुमत दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभयो, ‘अब अहिले पनि विकास नभए कहिले हुन्छ ?’ ‘अव आफ्नो ध्यान सुशासन र विकासमा गएको भन्दै ‘उहाँले सुशासन र विकासका लागि भ्रष्टाचार नियन्त्रण आवश्यक रहेको धारणा राख्नुभयो ।
आगामी दिनमा समय तोकेर गरीबी अन्त्य गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘अब ५–१० बर्षपछि नेपाल कमजोर र गरिब छ भन्नेकुरा स्वीकार हुँदैन, विश्वमै नेपाललाई एक मजबुत देशको रुपमा हामीले परिचय दिनुपर्छ ।’


















