Pushpa KAmal Dahal, Chairman prachanda, Shikhar ko Dhungo
 

काठमाडौँ । नेकपाका अध्यक्ष प्रचण्डले अब देश एउटा नयाँ अभियानतिर लाग्ने बताउनुभएको छ ।

मङ्गलबार राजधानीको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित सरल सहयात्रीको शिखरको ढुङ्गा नामक उपन्यासको सार्वजनिकिरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अहिले आफूहरु पार्टी एकतामा आइपुगेको र दुई तिहाई बहुमत कम्युनिष्ट सरकार रहेको हुनाले देशमा राजनितीक स्थिरता कायम हुनुका साथै अब देश एउटा नयाँ अभियान तिर लाग्ने बताउनुभयो ।

संविधानको निर्माण र तिन तहको निर्वाचन सम्पन्न गरिसकेपछि एउटा क्रम टुङ्गिएको बताउँदै अध्यक्ष प्रचण्डले एउटा नयाँ क्रमको शुरुआत भएको धारणा राख्नुभयो । उहाँले यो नयाँ क्रम नयाँ क्रान्तिका रुपमा अगाडि आउने दावी गर्नुभयो ।

‘समाजवाद तिरको यात्रा एउटा नयाँ यात्रा हो । शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट समाजवादको आधार निमार्ण गर्ने र समाजवादी क्रान्तिको तयारी गर्ने एउटा महायात्रा हो, – उहाँले भन्नुभयो, – ‘यसमा आर्थिक समृद्धि हासिल नगरी समाजवाद सम्भव छैन । त्यसैले अबको दशक समाजवाद र्निमाणको दशक हुनेछ । यसलाई हामी फेरि अर्को शिखर चढ्ने दशक बनाउनेछौं ।

एक् फरक प्रसंगमा अध्यक्ष प्रचण्डले आफू पहिलो पटक सरकारमा गएर कुनै चमत्कार गर्न नसकेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, ‘पहिलो पटकको प्रधानमन्त्रीकाल मेरो लागि झिलिमिलीमै गयो । झिलिमिली हुँदाहुँदै नौ महिना बित्यो ।’ पहिले प्रधानमन्त्री बन्दा आकाङ्क्षा ठूलो भएपनि आकाङ्क्षा र अनुभवको बीचमा अन्तरविरोध भएका कारण आफू सफल हुन नसकेको टिप्पणी गर्नुभयो ।

उहाँले दोस्रो पटक अवसर पाउँदा त्यो अवसर आफ्ना लागि झिलिमिली नभएको अनुभव राख्नुभयो । उहाँले त्यो अवसर राष्ट्र र राष्ट्रिय एकता तथा परिवर्तनलाई संस्थागत गर्न एवं देशलाई नयाँ दिशा दिनका लागि योजनाबद्ध रुपमा अगाडि बढ्ने अवधिको रुपमा प्रयोग गरेको उल्लेख गर्नुभयो ।