Bishnu Poudel विष्णु पौडेल
 

काठमाडौँ । नेकपाका महासचिव विष्णु पौडेलले फागुन १ गते जनयुद्ध दिवस मनाउन निर्देशन दिनुभएको छ । पार्टीभित्रको संभावित विवादको चर्चा परिचर्चाले बजार तताईरहेको बेला महासचिव पौडेलले जनयुद्ध दिवश मनाउने निर्देशनसँगै एकताको सन्देश दिनुभएको हो।

महासचिव पौडेलले आईतवार रुपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रममा मन्तव्य राख्दै भेनेजुएलाबारे सचिवालयले जारी गरेको विज्ञप्ति नै आधिकारिक रहेकाले अनावश्यक विवाद नगर्न अनुरोध गर्नुुभयो । यस विषयमा दुई अध्यक्ष ओली र प्रचण्ड एकमत भएकाले शंका र आशंका अनावश्यक रहेको उहाँको भनाई थियो ।

महासचिव पौडेलले फागुन १ गते केन्द्र, प्रदेश र स्थानीय तहमा जनयुद्ध दिवस मनाइने उल्लेख गर्दै त्यसको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । महासचिवकै निर्देशनअनुसार विद्यार्थी संगठनहरुले संयुक्त रुपमा जनयुद्ध दिवसको तयारी थालेका छन् ।

केन्द्रमा पार्टी एकता भएको एक बर्ष बित्न लाग्दा पनि तल्लो तहमा एकता नहुँदा कार्यकर्ता र शुभचिन्तकमा निराशा छाइरहेको थियो । त्यसमाथि भेनेजुयला संकट र अमेरिकी हस्तक्षेपबारे दुई अध्यक्षका भिन्न मतले पार्टीभित्र र बाहिर तरङ्ग पैदा भएको थियो । यस्तो बेला नेकपाका महासचिवले आधिकारिक रुपमै जनयुद्ध दिवस मनाउने निर्देशन गरेसँगै पार्टीमा बलियो एकताको सन्देश गएको छ ।

२०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीको नेतृत्वमा महान् जनयुद्धको शुरुवात गरिएको थियो । १० वर्षसम्म चलेको सशस्त्र जनयुद्धले जनआन्दोलन मार्फत अढाई सय पुरानो राजतन्त्रको अन्त्य गरी देशमा गणतन्त्र स्थापना गरेको थियो ।

यसै सन्दर्भमा फागुन १ गते नेकपाको भातृ संगठन जनसाँस्कृतिक महासंघ नेपालको आयोजनामा राजधानीको प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमलाई नेकपाका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने बताइएको छ ।