काठमाडौँ । म्याग्दी जिल्लाको संघीय प्रतिनिधि सभा तर्फ एक मात्र निर्वाचन क्षेत्रमा बाम गठबन्धनका उमेद्वार भुपेन्द्रबहादुर थापा विजयी भएका छन् ।
थापाले ४७ हजार ४४९ कूल खसेको मतमध्ये २३ हजार ३०८ मत ल्याएर लोकतान्त्रिक गठबन्धनका उमेद्वार खमबीर गर्बुजालाई २ हजार ३२८ को मतान्तर सहित विजयी भएका छन् । नेकपा (एमाले)का नेता थापा २०५४ सालमा म्याग्दी जिल्लाका जिल्ला विकास समितिको उपसभापतिमा निर्वाचित भएका थिए ।
त्यसरी नै म्याग्दीको प्रादेशिक सभा तर्फ निर्वाचन क्षेत्र ‘क’मा नेकपा (माओवादी केन्द्र)का बिनोद केसीले राप्रपा, नेपालका भिपप्रसाद गाैचनलाई पराजित गरी विजय हासिल गरेका छन् भने निर्वाचन क्षेत्र ‘ख’मा नेकपा (एमाले)की नेतृ नरदेवी पुनले नेपाली काँग्रेसका अमलाल फगामी पुनलाई पराजित गरी विजय हासिल गरेकी छन् ।
यससँगै म्याग्दीको सम्पूर्ण सिट बामगठबन्धनको कब्जामा गएको छ । त्यहाँ बामगठबन्धनमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) तथा लोकतान्त्रिक गठबन्धनमा नेपाली काँग्रेस र राप्रपा नेपाल सहभागी भई कडा प्रतिस्पर्धा गरिरहेका थिए ।