प्रकाश-बाबुराम
 

गोरखा । राष्ट्रिय मात्रै नभै अन्तराष्ट्रिय रुपमा समेत चर्चामा रहेको गोरखा जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट संघीय प्रतिनिधि सभामा तीब्र र रोचक प्रतिस्पर्धाको बिचबाट अन्ततोगोत्वा नयाँ शक्तिका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई (पीएचडी) ले विजय हात पारेका छन् । उनले ३१ हजार ९०७ मत प्राप्त गर्दै नेकपा (माओवादी केन्द्र)का बरिष्ठ नेता तथा आफ्नै सरकारका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’सँग ६ हजार ८७४ को फराकिलो मतान्तरले विजयी भएका छन् । मंसिर २२ गतेको मतगणनामा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले अग्रता लिए पछि पराजय स्विकार गर्न तयार रहने आशयका साथ ट्विट गरेका थिए ।

यस पटकको निर्वाचनमा नयाँ शक्ति पार्टीको यो पहिलो जित हो । यो बाहेक संघीय प्रतिनिधि सभातर्फ नयाँ शक्तिको अन्यत्र कतै पनि अग्रता रहेको छैन । अर्को शव्दमा भन्नुपर्दा पुराना सबै राजनीतिक दलहरुको बिकल्प दिने भनेर तामझामका साथ स्थापना भएको नयाँ शक्ति पार्टीको भने देशभर हरिबिजोग भएको छ ।

बाम गठबन्धनको घोषणा कार्यक्रममा सहभागी भएर नयाँ शक्तिका लागि १५ प्रतिशत सिट दाबी गरेका भट्टराईले बामगठबन्धनलाई कम्युनिस्ट केन्द्र निर्माण गर्न खोजेको आरोप लगाउँदै २ दिन पछि परित्याग गरी लोकतान्त्रिक गठबन्धनमा सहभागी भएका थिए, जहाँ उनले आफ्नो एकल सिट बाहेक अन्यत्र कतै पनि आफ्ना उमेद्वारहरुलाई जिताउने गरी तालमेल गरेनन् ।

उनले मंसिर १० गते गोरखाको निर्वाचन सम्पन्न भए पछि मंसिर २१ गते निर्वाचन हुने क्षेत्रहरुमा आफ्ना उमेद्वारहरुलाई जिताउन कुनै पहल गरेनन् । बरु पार्टीका लागि समानुपातिक तर्फ मात्रै मत माग्दै प्रचार प्रसार गरेका थिए । आफूले निर्वाचन जित्नका लागि काँग्रेस र राप्रपा जस्ता प्रतिगामी शक्तिहरुसँग तालमेल गरेका भट्टराईलाई नयाँ शक्तिकै कार्यकर्ताहरुबाट स्वार्थी, आत्मकेन्द्रित तथा व्यक्तिवादी भएको र आफ्नो पार्टीका प्रत्यक्ष तर्फका अरु कुनै पनि उमेद्वारलाई जिताउन पहल नगरेको आरोप लागेको छ । उनकाे यस्ताे गतिविधिबाट रुष्ट भएर केही दिन अघि मात्रै मकवानपुरका लाेकिप्रिय नेता तथा पूर्व सभासद् प्रल्हाद लामिछानेले नयाँ शक्ति परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गरेका थिए भने अन्य क्षेत्रका समेत धेरै नेता कार्यकर्ताहरु नयाँ शक्ति परित्याग गरी नेकपा (माअाेवादी केन्द्र) प्रवेश गरेका थिए ।

गोरखा जिल्लाको क्षेत्र नं. २ को प्रदेश ‘क’ मा नयाँ शक्तिकै हरिशरण आचार्य र ‘ख’ मा नेपाली काँग्रेसका प्रकाशचन्द्र दवाडी विजयी भएका छन् ।

नारायणकाजीको बधाईः

नारायणकाजी श्रेष्ठकाे ट्विट
नारायणकाजी श्रेष्ठकाे ट्विट

गोरखा क्षेत्र नं. २ का बाम गठबन्धनका उमेद्वार तथा नेकपा (माओवादी केन्द्र)का वरिष्ट नेता नारायणकाजी श्रेष्ठले आफ्ना विजयी प्रतिस्पर्धी बाबुराम भट्टराई (पीएचडी)लाई बधाई दिएका छन् । सामाजिक सञ्जालमा ट्विट गर्दै उनले लेखेका छन्, “गोरखा २ का आदरणीय मतदाताको निर्णयलाई शिरोधार्य गर्दै विजयका निम्ति डा. बाबुराम भट्टराईलाई हार्दिक बधाई । निर्वाचनमा मलाई समर्थन र सहयोग गर्नु हुने मतदाता, बाम गठबन्धनका नेता कार्यकर्ताहरु, आफन्तजन, शुभेच्छुकहरु सबैलाई आभार तथा धन्यवाद ।”

उनले अर्को ट्विट मार्फत् श्रेष्ठले मानव मुक्ति र स्वतन्त्रताको यात्रामा निरन्तर सकृय रहने प्रण गर्दै लेखेका छन्, “मेरो क्षेत्रको निर्वाचन परिणाम जे जस्तो भए पनि देश, जनता, सत्य र न्याय प्रतिको निष्ठामा अबिचलित रही मानव मुक्ति र स्वतन्त्रताको यात्रामा निरन्तर सकृय रहनेछु । सम्पूर्ण नेपाली जनता र गोरखाका जनताको सेवामा समर्पित रहनेछु ।”